स्वास्थ्य अनुसन्धानमा किन महत्त्वपूर्ण छ आचारसंहिता?
अनुसन्धान गर्दा मानिसहरूको सहभागितालाई कसरी न्यायोचित बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने विषयलाई आचारसंहिताको पाटोले सुनिश्चित गर्छ, जुन स्वास्थ्य सम्बन्धी अनुसन्धानमा अझ विचारणीय हुन्छ।
नयाँ-नयाँ समस्या निम्तिने र त्यसको उपचार पद्धतिको खोजी निरन्तर चल्ने भएकाले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको विशेष महत्त्व हुन्छ। अध्ययन/अनुसन्धान नहुँदो हो त हामीले कुनै पनि स्वास्थ्य समस्याबाट निकास पाउन निकै मुश्किल पर्थ्योl कुनै नयाँ कुरा पत्ता लगाउन, नयाँ सोच वा कार्यक्रमको प्रभावकारिता जाँच्न र कहाँ कस्तो आवश्यकता छ भन्नेजस्ता यावत् पक्ष बुझ्न अनुसन्धानको खाँचो पर्छ। स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्त्व के छ भन्ने कुरा एक वर्षयता विश्वलाई सताइरहेको कोरोनाभाइरस संक्रमण महामारीले टड्कारो रूपमा देखायो र महसूस गरायो।
अनुसन्धानका प्रकृति र प्रकार धेरै भए पनि सामान्य रूपले बुझ्दा स्वास्थ्य क्षेत्रमा दुईथरी अनुसन्धान हुन्छन्। एक, कुनै उपचारको विकास (जस्तै: औषधि/खोप/सामग्री) सम्बन्धी अनुसन्धान। दुई, स्वास्थ्य समस्या, प्रणाली, मानिसहरूको स्वास्थ्य सम्बन्धी व्यवहारजस्ता विभिन्न पक्ष र यिनमा कसरी परिवर्तन र सुधार ल्याउन सकिन्छ भनेर गरिने अनुसन्धान। कोरोनाभाइरसको खोप विकास गर्न प्रयोगशालामा र मानिसहरूमा गरिने अनुसन्धान एक प्रकारको हो भने हात धुँदा झाडापखालाजस्ता रोग न्यूनीकरणमा कत्तिको प्रभावकारी हुन्छ भनेर गरिने अनुसन्धान अर्को थरी होl हामीले थाहा पाउँदापाउँदै कति धेरै उपचार पद्धति, स्वास्थ्य सम्बन्धी व्यवहार परिवर्तन भएका छन्। यी सबै अनुसन्धानकै देन हुन्l
अनुसन्धानका प्रकृति र प्रकार धेरै भए पनि सामान्य रूपले बुझ्दा स्वास्थ्य क्षेत्रमा दुईथरी अनुसन्धान हुन्छन्। एक, कुनै उपचारको विकास (जस्तै: औषधि, खोप, सामग्री) सम्बन्धी अनुसन्धान। दुई, स्वास्थ्य समस्या, प्रणाली, मानिसहरूको स्वास्थ्य सम्बन्धी व्यवहारजस्ता विभिन्न पक्ष र यिनमा कसरी परिवर्तन र सुधार ल्याउन सकिन्छ भनेर गरिने अनुसन्धान।
विश्वसनीय र भरपर्दो अनुसन्धान गर्न धेरै कुरामा ध्यान दिनुपर्छl अनुसन्धानका विविध प्राविधिक पक्षमध्ये एउटा महत्त्वपूर्ण पाटो हो, आचारसंहिता। अनुसन्धान गर्दा मानिसहरूको सहभागितालाई कसरी न्यायोचित बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने विषयलाई आचारसंहिताको पाटोले सुनिश्चित गर्छl
सामान्य रूपमा आचारसंहिता भनेको दर्शनशास्त्रको एउटा हाँगा हो, जसले व्यक्तिको नैतिक आचरणको कुरा गर्छ; सही र गलत व्यवहारको मार्ग निर्देशन गर्छl नेपाली बृहत् शब्दकोषमा 'आचारसंहिता' शब्दको अर्थ 'आचार वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्या' उल्लेख छ। तर, बोलीचालीको भाषामा वा अध्ययन-अनुसन्धानको परिवेशमा आचारसंहिताको यो अर्थ र प्रयोग विरलै सुनिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले 'आचारसंहिता' शब्द प्रयोग गरे पनि प्राय: अध्ययन-अनुसन्धान अंग्रेजी भाषामै हुने भएकाले यसको नेपाली प्रयोग-रूपान्तरणमा त्यति ध्यान नपुगेको हुनसक्छ।
यस लेखको उद्देश्य स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्दा आचारसंहिताका कस्ता सिद्धान्त प्रयोग हुन्छन् र यी सबै गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका कस्तो हुन्छ भनेर प्रकाश पार्नु होl यसबाट प्राज्ञिक कार्यमा लागेका व्यक्ति वा संस्थाहरूलाई नयाँ जानकारी नभए पनि जनसाधारणलाई अनुसन्धानको पक्षबारे केही कुरा बुझ्न सहयोग पुग्ने अपेक्षा छ।
आचारसंहिताका तीन सिद्धान्त
अनुसन्धान गर्दा आचारसंहिता प्राय: सहभागी या उत्तरदाताको गोपनीयता कायम राख्नेमा सीमित भएको देखिन्छ। जुन एउटा महत्त्वपूर्ण पक्ष भए पनि यसले समग्र बुझाइको प्रतिनिधित्व गर्दैनl मानिस संलग्न हुने अनुसन्धानहरूलाई ध्यानमा राखेर सन् १९७९ मा प्रकाशित बेल्मन्ट रिपोर्टका अनुसार, अनुसन्धान गर्दा तीन मुख्य सिद्धान्तमा ध्यान दिनुपर्छ। स्वास्थ्य अनुसन्धानका क्षेत्रमा यी सिद्धान्तहरूले निकै महत्त्व राख्छन् र अनुसन्धाताको व्यवहारलाई निर्देशित पनि गर्छन्। स्वास्थ्य अनुसन्धानमा प्रचलित यी आधारभूत सिद्धान्तबारे यहाँ संक्षेपमा चर्चा गरिएको छ।
अनुसन्धाता र अनुसन्धानका सहभागीहरूबीचको सम्बन्धको बारेमा हामीकहाँ पर्याप्त छलफल नै भएको सुनिँदैन। आफ्नो अनुसन्धानका सहभागीहरूलाई केवल आफूलाई आवश्यक सूचना र जानकारी दिने स्रोतका रूपमा लिँदा उनीहरूप्रति सम्मान गर्न हामी चुकिरहेका हुन्छौं।
तीन सिद्धान्तमध्ये एउटा सिद्धान्त हो, अनुसन्धानका सहभागीप्रति सम्मान। मानिस संलग्न हुने अनुसन्धानहरूमा मानिस केन्द्रमा रहने भएकाले व्यक्तिको सम्मानलाई विशेष ध्यान दिनुपर्ने यो सिद्धान्तको मर्म हो। अनुसन्धाताले अनुसन्धानका सहभागीहरूलाई उनीहरूले बुझ्ने गरी अनुसन्धानबारे र संलग्न व्यक्तिलाई नै किन रोजिएको भन्नेबारे राम्रोसँग बुझाउन जरुरी हुन्छl हामीले अनुसन्धानको क्रममा प्राय: व्यक्तिहरूले 'जो पनि प्रश्न सोध्न आउँछन्, तर हुने चाहिँ केही होइन' भनेको सुनिन्छ। अर्थात् मान्छे आउँछन्, कुरा गर्छन्, फोटो खिचेर लैजान्छन्, तर किन भनेर थाहा नभएको पनि प्रशस्त सुन्ने गर्छौंl
अनुसन्धाता र अनुसन्धानका सहभागीहरूबीचको सम्बन्धबारे हामीकहाँ पर्याप्त छलफल नै भएको सुनिँदैन। आफ्नो अनुसन्धानका सहभागीहरूलाई केवल आफूलाई आवश्यक सूचना र जानकारी दिने स्रोतका रूपमा लिँदा उनीहरूप्रति सम्मान गर्न हामी चुकिरहेका हुन्छौं। त्यसैले अनुसन्धानमा सुसूचित मञ्जुरीनामा पत्र हुन एकदमै जरुरी छ, जसले सहभागीलाई अनुसन्धानबारे, अनुसन्धान गर्ने व्यक्ति, समूह वा संस्थाबारे, स्वैच्छिक सहभागिताबारे, अनुसन्धानबाट प्राप्त जानकारी कहाँ र कसरी प्रयोग गरिन्छ लगायत जानकारी दिन्छ।
औषधि/खोपजस्ता उपचार सम्बन्धी अनुसन्धानमा भाग लिँदा सहभागीलाई के कस्ता हानिनोक्सानी हुन सक्छन् भन्नेबारे प्रष्ट रूपमा बताउनुपर्छ, जसका आधारमा सहभागीले आफ्नो सहभागिताबारे निर्णय लिन सक्छन्। अनुसन्धानका सहभागीले आफूलाई लागेका कुनै जिज्ञासा वा प्रश्न छन् भने अनुसन्धाता वा सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्ने कुरा पनि सुसूचित मञ्जुरीनामा पत्रमा हुन्छ। हाम्रो परिवेशमा अनुसन्धानको विषय र प्रकृति हेरेर मौखिक वा लिखित मञ्जुरीनामा लिने गरिन्छl अनुसन्धान गर्दा सहभागीलाई अनुसन्धानबारे लेखिएको जानकारीपत्र तथा अनुसन्धाता र सहभागी दुवैले हस्ताक्षर गरेको मञ्जुरीनामाको एक प्रति दिनुपर्ने भए पनि हाम्रो अनुसन्धान संस्कृतिमा यो अभ्यास विरलै देखिन्छl
हामीले स्वैच्छिक मञ्जुरीनामाको कुरा गर्दा आफैंले राम्रोसँग मञ्जुरी दिन नसक्ने, तर अनुसन्धानका लागि महत्त्वपूर्ण समूहहरू जस्तै बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएका बिरामीहरूलाई कसरी संलग्न गराउने भनेर गृहकार्य गर्न जरुरी हुन्छ। साथै, कारागारजस्ता ठाउँहरू जहाँ सहभागीहरूले स्वैच्छिक मञ्जुरीनामा दिन मुश्किल हुन्छ, त्यहाँ पनि विशेष ध्यान दिनुपर्छl
अर्को सिद्धान्त हो, सहभागीलाई सकेसम्म हानि नपुर्याउने। अनुसन्धाताले अनुसन्धानमा सहभागी भएका कारण सहभागीहरू कुनै पनि किसिमका शारीरिक वा मानसिक जोखिममा नपरून् भन्ने सुनिश्चितता गर्नुपर्छ। क्लिनिकल अनुसन्धानहरू जस्तै, औषधि सम्बन्धी अनुसन्धानहरूमा सहभागीहरूलाई हुनसक्ने हानि न्यून गर्ने कुरामा बढी ध्यान दिइने भए पनि अन्य व्यावहारिक अनुसन्धानहरूमा पनि यस विषयमा उत्तिकै विचार गर्नुपर्छl उदाहरणका लागि, संवेदनशील र जटिल विषय (हिंसा, द्वन्द्व)हरूमा अनुसन्धान गर्दा सहभागीहरूको संवेदनामा चोट पुर्याउने वा अन्य कुनै किसिमका क्षति हुनसक्नेबारे ध्यान दिन जरुरी हुन्छ।
सबै किसिमका अनुसन्धानमा सहभागीहरूलाई पहिचान नखुल्ने र सूचनाको गोपनीयता राख्नेबारे सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ। त्यसमा पनि संवेदनशील विषयहरू जस्तै, परिवार नियोजनका साधनको प्रयोग, किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, एचआईभी/एड्स जस्ता विषयहरूमा अनुसन्धान गर्दा अझै बढी ध्यान पुर्याउनुपर्छl हाम्रो अनुसन्धानमा सहभागी भएकै कारण सहभागीहरू कुनै प्रकारको समस्यामा पर्नु वा समाज तथा परिवारबाट दुर्व्यवहारको शिकार हुनु हुँदैनl गर्भ राख्न नचाहेको कुरा वा श्रीमान्/घरपरिवारको मञ्जुरीबिना परिवार नियोजनको साधन प्रयोगको कुरा घरका अन्य सदस्यको उपस्थितिमा दोहोर्याएर सोध्दा हामीले सहभागीलाई कस्तो जोखिममा पार्दै छौं भनेर सोच्न जरुरी हुन्छl त्यसैले अन्तर्वार्ता वा छलफल गर्ने स्थान र समय सहभागीहरूका लागि सुरक्षित र भरपर्दो हुनुपर्छl
सबै किसिमका अनुसन्धानमा सहभागीहरूलाई पहिचान नखुल्ने र सूचनाको गोपनीयता राख्नेबारे सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ। त्यसमा पनि संवेदनशील विषयहरू जस्तै, परिवार नियोजनका साधनको प्रयोग, किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, एचआईभी/एड्स जस्ता विषयहरूमा अनुसन्धान गर्दा अझै बढी ध्यान पुर्याउनुपर्छ।
अनुसन्धानको तेस्रो सिद्धान्त हो, न्याय। अनुसन्धानका लागि सहभागीहरूको छनोट अनुसन्धानको डिजाइन र आवश्यकताका आधारमा र निष्पक्ष रूपमा हुनुपर्छl आफूलाई मात्र सहज हुने गरी वा व्यवस्थापन गर्न सजिलो हुन्छ भन्ने नहेरी जुन उद्देश्यका लागि अनुसन्धान भइरहेको हो, त्यसको प्रतिनिधित्व सुनिश्चित हुने गरी अनुसन्धान हुन जरुरी हुन्छl जस्तै: कुनै समूह, जाति वा वर्गलाई अनुसन्धानमा सजिलै सहभागी गर्न सकिन्छ वा सजिलैसँग मञ्जुरीनामा लिन सकिन्छ भनेर उनीहरूमा मात्रै अनुसन्धान गरिनु गलत प्रवृत्ति होl
त्यस्तै, सहभागीको उत्तर वा अनुभव प्रभावित हुने गरी अनुसन्धानमा सहभागी हुन व्यक्तिहरूलाई कुनै किसिमको प्रलोभनमा पारिनु पनि हुँदैन। अनुसन्धानको उपलब्धिले सकभर सहभागीहरू र सम्बद्ध समाजलाई फाइदा पुग्नुपर्छ र सकेसम्म अनुसन्धानका नतिजा सहभागीहरूले बुझ्ने गरी उनीहरूसम्म पुग्ने व्यवस्था गर्नुपर्छ। हाम्रो परिवेशमा अनुसन्धानका नतिजाहरू नीतिनिर्माता, सरकारी सरोकारवालाहरू वा आफ्ना क्षेत्रका सहकर्मीहरूमाझ प्रसारित गरिन्छ। तर, अनुसन्धानको के कस्तो नतिजा आयो भनेर आफ्ना सहभागीहरूमा पुर्याउने अभ्यास अझै बसिसकेको छैनl
परिषद्को आचारसंहिता समीक्षा विधि
नेपालमा स्वास्थ्य अनुसन्धानको प्रवर्द्धन र नियमन गर्ने उद्देश्यले २०४८ सालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गठन भएको होl परिषद्को एउटा प्रमुख जिम्मेवारी स्वास्थ्य सम्बन्धी अनुसन्धानहरू नियमसंगत छन् कि छैनन् भन्ने हेरेर अनुसन्धानका लागि स्वीकृति दिनु हो। यसको एउटा महत्त्वपूर्ण पाटो अनुसन्धानहरूको आचारसंहिताको पाटो सुनिश्चित गर्नु होl
हामीले सन् २०१०-२०१२ मा अध्ययन गर्दा आईआरसीको संख्या २० मात्रै थियो। अहिले भने सो संख्या बढेर ५१ पुगेको परिषद्को वेबसाइटमा उल्लेख छl यसले स्वास्थ्य संस्थाहरूमा हुने अध्ययन-अनुसन्धानको सम्भावित वृद्धितर्फ पनि इंगित गर्छ।
परिषद्को कार्यकारी समितिले आचारसंहिता हेर्ने निकाय इथिकल रिभ्यु बोर्ड (ईआरबी) गठन गर्छ, जसले परिषद्मा आवेदन दिएका अनुसन्धानहरूको समीक्षा गरेर स्वीकृति दिन्छ। अनुसन्धाताले तोकिएको ढाँचामा अनुसन्धान सम्बन्धी जानकारीहरू तथा तोकिएको शुल्क (अनुसन्धानको कुल बजेटका आधारमा फरक-फरक) परिषदको वेबसाइट मार्फत स्वीकृतिका लागि आवेदन दिएपछि यसमा समीक्षकहरूको प्रतिक्रिया आउँछl
आवेदनले तोकिएका आवश्यकताहरू पूरा गरेको छ कि छैन भन्ने परिषद्बाट आन्तरिक रूपमा हेरेर अनुसन्धानको विषयवस्तु समीक्षाका लागि उपुयक्त समीक्षकलाई पठाउँछ। समीक्षकको टिप्पणी र प्रतिक्रिया अनुसार जवाफ दिने गर्दा यो प्रक्रियामा एक/दुई महीना लाग्ने गर्छ। समितिका सदस्यहरूलाई कुनै विशेष परिस्थितिमा निर्णयमा पुग्न थप जानकारी चाहिएमा अनुसन्धातालाई प्रस्तुतिका लागि बोलाउने पनि प्रचलन छl नेपालमा हुने स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूबारे सन् २०१० देखि २०१२ सम्म अध्ययन गर्दा (यो लेखकसमेत संलग्न) धेरैजसो अनुसन्धाताले परिषद्ले समीक्षा गर्न लिने समय र शुल्कबारे असन्तुष्टि व्यक्त गरेका थिए। यो विषय परिषद्ले हरेक वर्ष आयोजना गर्ने 'एनएचआरसी समिट'मा पनि उठ्ने गर्छ। समयको हिसाबले विगतमा भन्दा चुस्त देखिए पनि छोटा प्रकृतिका अध्ययनहरू (जस्तै: मूल्यांकन, बेसलाइन) का लागि यो समय लामो लाग्ने केही अनुसन्धाताको भनाइ छ।
माथि छलफल गरिएका आचारसंहिताका सिद्धान्तहरू प्रतिविम्बित हुने गरी परिषद्को आवेदन फारममा पनि आफ्नो अनुसन्धानमा सहभागीको सहभागिता कस्तो, कति पटक र केका लागि हुने, सहभागीलाई कुनै किसिमको जोखिम हुन्छ कि हुँदैन र त्यसको न्यूनीकरण कसरी गरिन्छ, सहभागीलाई कस्तो फाइदा हुन्छ, सुसूचित मञ्जुरीनामा कसले र कसरी लिन्छ र नेपाली संस्कृति र मूल्य-मान्यता अनुसार संवेदनशील छ कि छैन लगायत जानकारीहरू उल्लेख गर्नुपर्छ। अनुसन्धानको स्वीकृति प्राप्त गरेपछि आफ्नो अनुसन्धानबारे नियमित अद्यावधिक गर्नुपर्ने नियम रहेकोमा यसको कार्यान्वयनमा परिषद्ले ध्यान दिनुपर्ने देखिन्छ। परिषद्ले आफूले स्वीकृति दिएका अनुसन्धानहरूको अनुगमन गर्ने भए पनि अनुसन्धानको बढ्दो संख्याले यसलाई व्यापक बनाउने चुनौती पनि सँगै छl
अनुसन्धानका लागि आचारसंहिताको स्वीकृति परिषद्बाट 'इथिकल रिभ्यु बोर्ड' (ईआरबी)ले दिन्छ। यस्तै, देशभर विभिन्न स्वास्थ्य संस्थाहरू र स्वास्थ्य सम्बन्धी शैक्षिक संस्थाहरू मार्फत संस्थागत समीक्षा समिति (आईआरसी)ले आफू मातहत हुने अनुसन्धानहरूलाई स्वीकृति दिन्छ। तर, अन्तर्राष्ट्रिय कोष मार्फत प्रायोजित, आफ्नो संस्थाभन्दा बाहिरको र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानलाई आईआरसीले स्वीकृति दिन पाउँदैन। त्यस्ता अनुसन्धानका स्वीकृति केवल ईआरबीले मात्र दिन पाउँछl
पछिल्लो समय सामाजिक विज्ञान सम्बन्धी अध्ययन-अनुसन्धानका लागि पनि परिषद्को आवश्यकता महसूस गरेर काम भए पनि त्यसले मूर्त रूप अझै लिइसकेको छैन।
हामीले सन् २०१०-२०१२ मा अध्ययन गर्दा आईआरसीको संख्या २० मात्रै थियो। अहिले भने सो संख्या बढेर ५१ पुगेको परिषद्को वेबसाइटमा उल्लेख छl यसले स्वास्थ्य संस्थाहरूमा हुने अध्ययन/अनुसन्धानको सम्भावित वृद्धितर्फ पनि इंगित गर्छl कुनै पनि संस्थामा आईआरसी गठन भएपछि ईआरबीबाट स्वीकृति लिनुपर्ने, हरेक तीन वर्षमा नवीकरण गर्नुपर्ने र ईआरबीमा हरेक ६ महीनामा प्रगति विवरण पेश गर्नुपर्ने प्रावधान छ। ईआरबी र आईआरसीको सम्बन्ध कस्तो छ, आईआरसी कसरी कार्यरत छ, आईआरसीको क्षमता वृद्धिका लागि के कस्ता कार्य भइरहेका र आवश्यक छन् तथा ईआरबी र आईआरसीले अनुसन्धान संस्कृति र अनुसन्धानको आचारसंहिता कार्यान्वयनमा कसरी टेवा पुर्याइरहेका छन् भनेर छुट्टै अध्ययन गर्न सकिन्छl
समग्रमा, नेपालमा स्वास्थ्य अनुसन्धानमा आचारसंहिताको क्षेत्र, बुझाइ र अभ्यास फराकिलो हुँदै गएको छ। सम्भवत: आचारसंहिताको क्षेत्रमा संस्थागत हिसाबले बितेको ३० वर्षदेखि नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मात्रै कार्यरत छ। अन्य विधाका अनुसन्धान प्रवर्द्धन र आचारसंहिता नियमन गर्ने संस्था वा निकायबारे हामीले विरलै सुनेका छौंl पछिल्लो समय सामाजिक विज्ञान सम्बन्धी अध्ययन/अनुसन्धानका लागि पनि यस्तै परिषद्को आवश्यकता महसूस गरेर काम भए पनि त्यसले मूर्त रूप अझै लिइसकेको छैनl यस हिसाबले पनि परिषद् आचारसंहिता अनुसन्धानको संस्कृतिलाई अझै फराकिलो, विकसित, समन्वयकारी र संस्थागत गर्ने अभिभारासहित अनुसन्धानको क्षेत्रमा जिम्मेवार र नेतृत्वदायी भूमिकामा छ।
(खत्री विगत एक दशकदेखि स्वास्थ्य क्षेत्रसम्बन्धी विषयहरूमा अनुसन्धाताका रूपमा कार्यरत छिन्l टाटा सामाजिक विज्ञान संस्थान, मुम्बईबाट सामाजिक कार्यमा स्नातकोत्तर गरेकी उनको स्वास्थ्य क्षेत्रको अनुसन्धानका साथै लैंगिक मुद्दा र विकासको अर्थ-राजनीतिमा चासो छl)