बर्दियामा किन बाघले मान्छेमाथि लगातार आक्रमण गरिरहेको छ?
बर्दियामा गएको साउनयता मात्र बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको कारण वा बासस्थानमा भएको मानवीय अतिक्रमणले आक्रमण बढेको हो भन्ने विषय अहिले बहसमा उठेको छ।
२२ चैतमा हात्ती चराउन गएको बेला बाघले आक्रमण गर्दा बर्दिया राष्ट्रिय निकुञ्जका माहुत पुलिसराम थारूको मृत्यु भयो। बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गएको साउनयता बर्दियामा बाघको आक्रमणबाट मृत्यु हुने उनी १०औं व्यक्ति हुन्।
बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढेपछि ‘बाघ ठूलो कि मानिसको जीवन’ भन्ने बहस शुरू भएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य तथा बर्दियाका स्थानीय मोहम्मदकर खाँ मानिसभन्दा वन्यजन्तुलाई महत्त्व दिएर काम गरिएको बताउँछन्। “मानिसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, वन्यजन्तु भन्दा मानिसको जीवन ठूलो हो, यो कुरा सरकारमा बस्नेले कहिले बुझ्ने?” उनी भन्छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बर्दियामा रहेका बाघको आनीबानी तथा तिनीहरूले गर्ने शिकारको क्यामेरा ट्र्यापिङ मार्फत अध्ययन शुरू गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ भन्छन्, “बाघले गर्ने शिकार र राजमार्गमा हुने मुभमेन्टबारे गरिने अध्ययनले केही निचोड आउने विश्वास छ।”
समस्या बाघमा कि मानिसमा ?
सन् २०१८ मा गरिएको गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ थियो। यसअघि २०१४ को गणनामा त्यहाँ ५० वटा बाघ भेटिएका थिए। चार वर्षमा भएको संख्या वृद्धिले संरक्षणकर्मीलाई उत्साहित बनायो। सँगै बाघको आक्रमण बढेपछि बाघको संख्या वृद्धिलाई मात्र प्राथमिकता दिन नहुने आवाज उठ्न थालेको हो।
सन् २०१० मा रुसको सेन्ट पिट्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जाहेर गरेको थियो। त्यतिबेला नेपालमा १२१ वटा बाघ थिए। सन् २०१८ को गणनाअनुसार नेपालमा २३५ बाघ छन्।
मानव–वन्यजन्तु द्वन्द्वले सरकारको संख्या वृद्धि गर्ने लक्ष्यलाई पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्याएको छ। संरक्षणको क्षेत्रमा क्रियाशील विज्ञहरू भने बाघको संख्या वृद्धिका कारण मात्रै मानिसमाथि आक्रमण बढेको विश्लेषण गर्नु गलत हुने बताउँछन्।
तर, मानव–वन्यजन्तु द्वन्द्वले सरकारको संख्या वृद्धि गर्ने लक्ष्यलाई पुनर्विचार गर्नुपर्ने ठाउँमा पुर्याएको छ। संरक्षणको क्षेत्रमा क्रियाशील विज्ञहरू भने बाघको संख्या वृद्धिका कारण मात्रै मानिसमाथि आक्रमण बढेको विश्लेषण गर्नु गलत हुने बताउँछन्।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बाघको संख्या वृद्धि भएकै कारण मात्र मानिसमाथि आक्रमण भएको भन्न नसकिने बताउँछन्। उनका अनुसार, अहिलेसम्मका घटनामा बाघले मानव बस्तीमा आएर मानिसलाई आक्रमण गरेको छैन। त्यसकारण मान्छेकै लापरवाहीले घटना भएको उनी बताउँछन्। श्रेष्ठ भन्छन्, “निगुरो टिप्न, घाँसदाउरा गर्न जंगलमा जाँदा बाघको बासस्थानमा व्यवधान भयो भने आक्रमण गर्छ। बाघको बासस्थान क्षेत्रमा मानवीय क्रियाकलाप कम गर्नुपर्छ। सामुदायिक वनमा साँझ-बिहान जान भएन।”
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को बर्दियास्थित कार्यालयका प्रमुख डा. रविन कडरिया पनि बाघको बासस्थानमा मानिसको चाप बढ्दा आक्रमण भएको बताउँछन्। गत साउनयता भएका १० वटा घटनामध्ये पाँचवटा बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वाइल्डलाइफ स्याङ्चुरीलाई जोड्ने जैविक खातामार्गको सामुदायिक वन क्षेत्रभित्र भएका छन्। यो वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग हो।
जैविक मार्गमा बाघको आक्रमणमा परी मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। दुवै महिला घाँस काट्न गएको बेला आक्रमणमा परेका थिए। एक पुरुष भने माछा मार्न गएको बेला हराएका थिए। पछि, बाघले आक्रमण गरेको अवस्थामा शव भेटिएको थियो। बाँकी दुई पुरुषलाई वनभित्र च्याउ टिप्न गएका बेला बाघले आक्रमण गरेको थियो।
बाँकी पाँचमध्ये एक जनालाई पूर्व–पश्चिम राजमार्गमा राति मोटरसाइकलमा यात्रा गर्दा बाघले झम्टेर लगेको थियो। दुई जनालाई मध्यवर्ती क्षेत्रमा गाईभैंसी चराउँदा आक्रमण गरेको थियो। एक महिला निकुञ्जमा निहुरो टिप्न गएका बेला आक्रमणमा परेकी थिइन्। बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी भने हात्तीलाई घाँस काट्ने क्रममा आक्रमणमा परेका थिए।
एनटीएनसी प्रमुख डा. कडरिया निकुञ्जमा बाघको संख्या बढेसँगै मानिसले आफ्नो आनीबानी परिवर्तन गर्नुपर्ने बताउँछन्। “बाघको संख्या बढेको छ, कमजोर भाले बाघहरू जंगलको किनारामा आएका छन्। बाघ त पशु हो, उसले आनीबानी परिवर्तन गर्दैन,” उनी भन्छन्, “जैविक खातामार्गमा बाघ रैथाने भए। त्यो वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्र हो। त्यहीँ घटना भइरहेका छन्।”
किन गर्छ आक्रमण ?
बाघले सितिमिति आक्रमण गर्दैन। विज्ञहरूका अनुसार, बच्चासँगै भएको पोथी बाघ, पोथी र भालेबीच संसर्गको अवस्था, बूढो र शिकार गर्न अशक्त तथा आफ्नो क्षेत्र बनाउने क्रममा भाले–भाले बाघबीच लडाइँ हुँदा कमजोर भएको बाघ आक्रामक हुन्छ। त्यसबाहेक मानसिक रूपमा समस्यामा भएको बाघले पनि मानिसलाई आक्रमण गर्दछ।
दुई पटकभन्दा बढी मानिसलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त रूपमा लिइन्छ। मानिसलाई आक्रमण गरेपछि त्यस बाघको निगरानी शुरू गरिन्छ। दोस्रो पटक पनि आक्रमण गरेपछि त्यसलाई नियन्त्रणमा लिइन्छ।
दुई पटकभन्दा बढी मानिसलाई आक्रमण गर्ने बाघलाई समस्याग्रस्त रूपमा लिइन्छ। मानिसलाई आक्रमण गरेपछि त्यस बाघको निगरानी शुरू गरिन्छ। दोस्रो पटक पनि आक्रमण गरेपछि त्यसलाई नियन्त्रणमा लिइन्छ।
पछिल्लो पटक निकुञ्जका माहुत पुलिसराम थारूमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको डा. कडरियाले बताए। उक्त बाघले थारूभन्दाअघि अरू दुई जनालाई आक्रमण गरिसकेको थियो। त्यो बाघलाई अहिले सदर चिडियाखाना जाउलाखेलमा राखिएको छ।
बर्दियामा लगातार मानिसमाथि आक्रमण भएपछि बाघको बासस्थानमा समस्या भएको हुनसक्ने विज्ञहरू बताउँछन्। वन्यजन्तु विज्ञ डा. शान्तराज ज्ञवाली बाघको बासस्थान, आहारा र पानीका स्राेत लगायत विषयमा अध्ययन जरुरी रहेको बताउँछन्। “बासस्थानमा बाधा भएर नै बाघ आक्रमणमा उत्रिएको हुनसक्छ,” ज्ञवाली भन्छन्, “त्यसबाहेक आहारा र पानीको समस्याले एकातर्फ एकीकृत भएका हुनसक्छन्। यी सबै विषयमा अध्ययन जरुरी छ।” चितवनमा गैंडाको वासस्थान पूर्वबाट पश्चिमतर्फ स्थानान्तरण भएजस्तै बर्दियामा पनि बाघको आहारा जनावरको बासस्थान परिवर्तन भएको हुनसक्ने ज्ञवालीको विश्लेषण छ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफका) संरक्षण कार्यक्रम प्रमुख शिवराज भट्ट पनि बाघको आहारा जनावर सबै ठाउँमा समान छन् कि छैनन् भन्ने अध्ययन हुनुपर्ने बताउँछन्। “बाघको संख्या पनि बढ्यो, मान्छेको संख्या र गतिविधि पनि बढ्यो, त्यसकारण द्वन्द्वका घटना भएका छन्,” भट्ट भन्छन्, “आहारा प्रजाति सबै ठाउँमा समान नभए बाघ बाहिर आउँछ र मान्छेलाई आक्रमण गर्न सक्छ।”
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ भने बाघका लागि बर्दियामा आहारा प्रजातिको कमी नभएको बताउँछन्। बर्दियामा धेरैजसो बाघको बासस्थान कर्णाली नदीको तट र समथर भूभागमा छ। त्यहाँ आहारा प्रजातिको समस्या नभएको श्रेष्ठ बताउँछन्।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटर प्रतिभाग ९५ आहारा प्रजाति छन्। आहारा प्रजातिको हिसाबले बर्दिया सबैभन्दा उपयुक्त स्थान भएको उनको भनाइ छ। बर्दिया राष्ट्रिय निकुञ्जको गेरुवा र लालमाटी क्षेत्रमा पानीको समस्या छ। त्यहाँ १५२ वटा बोरिङ राखिएका छन्। त्यसमध्ये ४५ वटा सोलार जडित बोरिङ हुन्।
एनटीएनसी प्रमुख कडरिया पनि आहाराकै कमीका कारण बाघले मानिसमाथि आक्रमण गरेको भन्न नमिल्ने बताउँछन्। “उभिएको मान्छेलाई पनि बाघले आक्रमण गरेको छैन। निहुरिएको वा कुनै काम गर्दै गरेको मान्छे आक्रमणमा परेको छ, यसकारण बाघले आफूलाई खतरा महसूस गरेर आक्रमण गरेको हुनसक्छ,” उनी भन्छन्, “आहाराकै कमीका कारण आक्रमण गर्ने भए गाउँमै पसेर गर्नुपर्थ्यो। त्यसो भएको छैन।”