घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति लगायत विशिष्ट पदाधिकारी टुँडिखेलमा (तस्वीरहरू)
नेपाली सेनाले आइतबार काठमाडौँको टुँडिखेलमा परम्परागत घोडेजात्रा पर्व मनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले घोडेजात्रा अवलोकन गरेका थिए।
उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले थोरै अतिथि मात्र बोलाइएको नेपाली सेनाले जनाएको छ। गत वर्ष कोरोना महामारी रोक्न बन्दाबन्दी गरिएकै दिन ११ चैतमा घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको र स्थानीयबासीले विभिन्न उपायले त्यसलाई संहार गरेको जनविश्वास छ। राक्षसको प्रेतात्मा फेरि जागा हुनसक्ने कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।