वैदेशिक रोजगारीलाई महामारीको तगारो, सामाजिक विश्रृङ्खलताको जोखिम
वैदेशिक रोजगारीमा जान तम्तयार युवाको बाटो कोरोनाभाइरस महामारीको दुष्प्रभावले छेकेको छ। अहिलेको स्थिति लम्बिँदै जाँदा यसले निम्त्याउने परिणाम गम्भीर हुन सक्छ।
कोरोनाभाइरसको कहर नआएको भए धनुषाको मिथिला बिहारी नगरपालिका–९ को कटरहित नयाँ टोलका उमेश यादव (२१) वैदेशिक रोजगारीका लागि कतार पुगिसकेका हुन्थे। गत वर्ष कोरोनाभाइरसको संक्रमण फैलिनुअघि नै यादवले वैदेशिक रोजगार कम्पनीका एजेन्टलाई राहदानी बुझाएर भीसा आउने समय कुरिरहेका थिए। तर, महामारीका कारण उनको कम्पनीले कामको माग रद्द गर्यो र उनी यतै रोकिए।
“कहिले भीसा आउला र रोजगारीमा जान पाइएला भनेर पर्खिरहेको छु,” यादवले हिमालखबर सँग भने, “यता (देशमा) काम छैन, विदेश नगएर के गर्नु?”
१८ वर्ष कतारमा काम गरेर एक वर्षअघि मात्रै नेपाल फर्केका धनुषाको मिथिला बिहारी नगरपालिका–९ को कटरहित नयाँ टोलका सञ्जित यादव करीब ८० घर भएको टोलका ३० देखि ४० जनासम्म युवा वैदेशिक रोजगारीका लागि एजेन्टलाई पासपोर्ट बुझाएर बसेको बताउँछन्।
यादवका अनुसार, एजेन्टले डेढ लाख तिरेपछि उडाइदिन्छु भनेको छ, जुन रकम ऋण काढेर तिर्न पनि उनी मन्जुर छन्। उनलाई बिनाकारण वैदेशिक रोजगारीमा जाने हुटहुटी जागेको होइन। उनका बिरामी दाइको उपचारमा लागेको करीब रू.६ लाख ऋणको भार उनको टाउकोमा छ, जसको ब्याज मात्रै मासिक रू.१५ हजार बुझाउनुपर्छ। यो रकम वैदेशिक रोजगारीबाट कमाएर तिर्ने उनको सपना छ। अर्को, उनका धेरैजसो साथीभाइ विदेशमै छन्। उनीहरूले वैदेशिक रोजगारीको कमाइबाट पक्की घर बनाएको देखेर उनको मन लोभिएको छ। “यता खान–बस्नकै धौधौ छ, विदेशमा कम्तीमा ऋण तिर्ने कमाइ त हुन्छ,” यादव भन्छन्।
१८ वर्ष कतारमा काम गरेर एक वर्षअघि मात्रै नेपाल फर्केका सोही स्थानका सञ्जित यादव करीब ८० घर भएको टोलका ३० देखि ४० जनासम्म युवा वैदेशिक रोजगारीका लागि एजेन्टलाई पासपोर्ट बुझाएर बसेको बताउँछन्। “गाउँका सबै केटाहरू कहिले विदेशको काम खुल्छ भनेर पर्खिबसेका छन्, अहिलेको महामारीका कारण मात्र उनीहरू रोकिएका हुन्,” उनी भन्छन्।
मिथिला बिहारी नगरपालिका– ४ को पुष्पलपुरका सरोज महतो सुडी (२६)को वैदेशिक रोजगारीको बाटो पनि कोरोनाभाइरसले छेकेको छ। ६ वर्षअघि मलेसिया गएर दुई वर्षअघि फर्किएका सुडी अहिले गाउँमै ट्याक्टर चलाउने काम गर्छन्, जसबाट मासिक रू. १५ हजार आम्दानी हुन्छ। तर, यो कमाइले उनलाई चित्त बुझेको छैन। “रासनपानी, लत्ताकपडा र आमाको उपचारका लागि यति रकमले त पुग्दैन। विदेशमा त अलि धेरै कमाइ हुन्छ, घर राम्रोसँग चलाउन सकिन्छ,” उनले भने।
कोरोनाभाइरस संक्रमण महामारीको प्रभावले थलिएका अधिकांश क्षेत्रले बिस्तारै लय समातिरहेका छन्। तर, देशको अर्थतन्त्रलाई बलियो टेवा दिँदै आएको वैदेशिक रोजगारी कहिले पूर्ववत् अवस्थामा फर्किने हो, भन्न गाह्रो छ। वैदेशिक रोजगारीको ढोका नखुल्दा यादव र सुडीजस्ता हजारौं युवा बेरोजगारीमा धकेलिएका छन्।
२०७६ चैतयता २०७७ फागुन मसान्तसम्मको एक वर्षमा करीब ४९ हजार कामदार मात्रै पहिलो पटक वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। यो नियमित समयको तुलनामा असाध्यै थोरै हो। सामान्य अवस्थामा पाँच जना वैदेशिक रोजगारीमा गएकोमा कोरोना काल शुरू भएपछि एक जना मात्रै वैदेशिक रोजगारीमा गइरहेका छन्।
वैदेशिक रोजगारी विषयका अध्येता समाजशास्त्री डा. गणेश गुरुङ वैदेशिक रोजगारीमा पुगेको क्षतिले बेरोजगारीसँगै गरीबी बढाउन पनि भूमिका खेल्ने बताउँछन्। “वैदेशिक रोजगारीको लय टुट्दा समाजमा ठूलै अर्थ–राजनीतिक हलचल आउनसक्छ,” डा. गुरुङले भने।
रोकिएको बाटो
कोरोनाभाइरस संक्रमणले गन्तव्य मुलुकहरूमा प्रभाव पार्दा गत वर्षको चैतअघि नै वैदेशिक रोजगारीमा असर देखिन शुरू भएको थियो। २०७६ चैतमा कोरोनाभाइरसको संक्रमण रोकथाम गर्न बन्दाबन्दी लागू गरिएपछि त वैदेशिक रोजगारीको ढोका असारसम्मै ठप्प भएको थियो।
२०७६ चैतयता २०७७ फागुन मसान्तसम्मको एक वर्षमा करीब ४९ हजार कामदार मात्रै पहिलो पटक वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। यो नियमित समयको तुलनामा असाध्यै थोरै हो। जस्तो, २०७५ चैतदेखि २०७६ फागुनसम्म २ लाख ५२ हजार कामदार पहिलो पटक वैदेशिक रोजगारीका लागि गएका थिए। यसको अर्थ, सामान्य अवस्थामा पाँच जना वैदेशिक रोजगारीमा गएकोमा कोरोना काल शुरू भएपछि एक जना मात्रै वैदेशिक रोजगारीमा गइरहेका छन्। यद्यपि, यो बीचमा बिदामा आएका ५० हजारभन्दा धेरै कामदार फेरि विदेशकै काममा फर्किएका छन्।
वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार, प्रमुख गन्तव्य मुलुकहरूबाट छिटपुटबाहेक कामदारको माग नै आइरहेको छैन। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङका अनुसार, बहराइन, कुवेत, मलेसियाजस्ता गन्तव्य मुलुकबाट कामदारको माग ठप्पप्रायः छ भने साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतारजस्ता देशबाट झिनो मात्रै माग आइरहेको छ। “श्रम गन्तव्य देशहरूकै स्थिति अन्योलपूर्ण छ, कामदारको माग पहिले जसरी फेरि आउला कि नआउला भन्नै नसकिने स्थिति छ,” तामाङ भन्छन्।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, गत फागुन महीनामा मलेसिया र कुवेतमा वैदेशिक रोजगारीका लागि एक जना पनि गएनन्। यी दुवै देशमा अध्यागमनमै कामदारलाई अनुमति दिन बन्द गरिएको छ। यूएई, कतार, साउदी अरेबियासहितका विभिन्न देशमा गरी फागुनभरिमा जम्मा ९ हजार १४६ जना मात्र वैदेशिक रोजगारीका लागि गए।
वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराई अहिले छिटपुट आइरहेको कामदारको माग कोभिड–१९ को महामारी शुरू हुनुअघिकै भएको बताउँछन्। “पुरानै मागअनुसारका छिटपुट कामदार गएका हुन्, नयाँ माग त निकै कम छ,” उनले भने।
यूएई, कतार, साउदी अरेबियासहितका विभिन्न देशमा गरी फागुनभरिमा जम्मा ९ हजार १४६ जना मात्र वैदेशिक रोजगारीका लागि गए। वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराई अहिले छिटपुट आइरहेको कामदारको माग कोभिड–१९ को महामारी शुरू हुनुअघिकै भएको बताउँछन्।
स्वाभाविक रूपमा वैदेशिक रोजगारीको बाटो रोकिँदा र आन्तरिक रोजगारी सिर्जना नहुँदा लाखौं युवा जनशक्ति बेरोजगार भएकाे छ। उनका अनुसार, बितेको एक वर्षमा कम्तीमा तीन लाखभन्दा धेरै युवा वैदेशिक रोजगारीमा जान रोकिए। श्रम बजारमा नयाँ थपिएका लाखौं युवाले रोजगारी पाएनन् भने आन्तरिक र वैदेशिक रोजगारी गुमाउने युवाका लागि पनि विकल्प भएन। “रोजगारीका हिसाबले अहिले हाहाकार नै छ, यत्रो जनशक्तिलाई कसरी र कहाँ व्यवस्थापन हुन्छ भन्ने थाहा छैन,” वैदेशिक रोजगार व्यवसायी संघका तामाङ भन्छन्।
कोरोनाभाइरसको संक्रमण शुरू भएपछि सरकारी तवरबाटै दक्षिण कोरियाको रोजगारीमा जाने तयारीमा रहेका युवा पनि अन्योलमा छन्। २०७६ फागुनपछि नै ईपीएस प्रणालीमार्फत कामदार जान रोकिएको छ। विभागका निर्देशक भट्टराईका अनुसार, कामदार सम्झौता आइसकेका, बिदामा आएका आदि गरी १० हजारभन्दा बढी कोरिया जानुपर्ने कामदार रोकिएका छन्।
वैदेशिक रोजगारविज्ञ डा. गुरुङ लाखौं युवाका लागि वैदेशिक रोजगारीको बाटो थुनिँदा समाजमा गहिरो अर्थ–सामाजिक समस्याहरू निम्तनसक्ने जोखिम देख्छन्। उनका अनुसार, वैदेशिक रोजगारीको बाटो छेकिँदा घर व्यवहार चलाउने रकमको स्रोत हुँदैन र गरीबीको दर बढ्नसक्छ। तीन दशकअघि ४२ प्रतिशत रहेको गरीबी अहिले करीब १८.७ प्रतिशतमा ओर्लिनु पछाडि वैदेशिक रोजगारीबाट भएको आम्दानी प्रमुख रहेको गुरुङ तर्क गर्छन्। वैदेशिक रोजगारीको अवसर खुम्चिने बित्तिकै श्रम आय गर्न नपाएका कारण गरीबीको रेखामाथि उक्लिएका परिवारहरू फेरि गरीबीकै दलदलतिर फर्कने सम्भावना बढ्छ।
अर्कातिर, रोजगारीको अवसर नपाएका युवाहरूमा छाउने गहिरो निराशाले सामाजिक विश्रृङ्खलता बढ्ने जोखिम पनि हुने गुरुङ बताउँछन्। “त्यस्ता निराश युवालाई आकर्षित गरेर राजनीतिक तरलताको बेला जुनसुकै खालका समूहले लाभ लिनसक्छन्, यो डरलाग्दो हुनेछ,” डा. गुरुङले भने।
विदेशको कमाइको भरथेग
धनुषाको मिथिला बिहारी नगरपालिका–९ कटरहित नयाँ टोलमा धमाधम पक्की घर बनिरहेका छन्। एक दशकअघि टाटीले बारिएका झुप्राझुप्री घर मात्रै रहेको कटरहितमा अहिले पक्की घरको संख्या धेरै भइसकेको छ। वैदेशिक रोजगारीको आम्दानीले यो गाउँको अनुहार बदलेको स्थानीय सञ्जित यादव बताउँछन्।
वैदेशिक रोजगारीका जति दुष्परिणामको कुरा गरे पनि स्वदेशमा रोजगारीको अवसर नभएका युवालाई यसले दिएको आड सानो छैन। विदेशमा काम गरेर आएको रकमले घरव्यवहार चलाउन, ऋण तिर्न, घरजग्गा खरीद गर्न वा बालबच्चाको शिक्षादीक्षा र उपचारका लागि भरथेग गर्दै आएको छ।
यादवका अनुसार, उनको गाउँका एकाध घरबाहेक सबैजसो घरका युवा वैदेशिक रोजगारीमा गएका छन्। यादव आफैं १८ वर्ष कतारमा काम गरेर गत वर्ष नेपाल फर्किएका हुन्। कतारमा कमाएको रकमबाट उनले घरव्यवहार मात्रै चलाएनन्, जग्गा खरीद गरे र अहिले पक्की घर बनाउँदै छन्। खोलाले उनको ५ कठ्ठा जग्गासहितको घर बगाइदिएपछि निरुपाय भएका यादवलाई वैदेशिक रोजगारीले भरथेग गरेको हो। “वैदेशिक रोजगारी नभएको भए मेरो के हालत हुन्थ्यो, कल्पनै गर्न सकिँदैन,” यादव भन्छन्।
वैदेशिक रोजगारीका जति दुष्परिणामको कुरा गरे पनि स्वदेशमा रोजगारीको अवसर नभएका युवालाई यसले दिएको आड सानो छैन। विदेशमा काम गरेर आएको रकमले घरव्यवहार चलाउन, ऋण तिर्न, घरजग्गा खरीद गर्न वा बालबच्चाको शिक्षादीक्षा र उपचारका लागि भरथेग गर्दै आएको छ।
कटरहितका हरेकजसो घरका एक न एक जना विदेशमा छन्। स्थानीय रामइकवाल यादव वैदेशिक रोजगारीमा जाने पुरानामध्ये एक हुन्। उनी २०५३ सालतिरै विदेश गएर तीन वर्ष बसेर फर्किएका हुन्। वैदेशिक रोजगारीमा कमाएको रकमबाट उनले डेढ कठ्ठा जग्गा किनेर घर बनाएका छन्। अहिले पनि उनका दुई छोरामध्ये जेठो मलेसिया र कान्छा कतारमा छन्। उनीहरूको आम्दानीबाट नातिनातिनालाई उनले बोर्डिङ स्कूलमा पढाउन सकेका छन्।
“वैदेशिक रोजगारीका केही नराम्रा पाटा भए पनि बेरोजगारी समस्या समाधान गर्न, शिक्षा, स्वास्थ्यमा गर्ने खर्चसहित परिवारको गरीबी घटाउन विदेशको कमाइले ठूलो योगदान दिएको छ।” - डा. महादेव साह, प्रमुख, सफ्टटेक कलेज, जनकपुर
कटरहितकै विन्देश्वर यादवका पाँचमध्ये चार छोरा वैदेशिक रोजगारीमा छन्। घरैमा रहेका उनका कान्छा छोरा रवीन्द्र पनि पाँच वर्ष विदेशमा बसेर दुई वर्षअघि मात्रै नेपाल फर्किएका हुन्। कोरोनाभाइरसको महामारी नभएको भए विदेश नै गइसक्ने रवीन्द्र बताउँछन्। छोराहरूको विदेशको कमाइले विन्देश्वरको परिवारले गाउँमा जग्गा किनेको छ, पक्की घर बनाएको छ। “घर खर्च चलाउन, औषधोपचार गर्न अहिले अरूको भर पर्नुपर्दैन,” विन्देश्वर भन्छन्।
कटरहितको छेवैको गाउँ रामनगरमा खत्वे, धानुक, बिन लगायत जातिका मानिस बस्ने ३० घरजति छन्। जिल्ला वन कार्यालय धनुषामा कार्यरत स्थानीय शंकर झा हरेक घरका कोही न कोही वैदेशिक रोजगारीमा पुगेको बताउँछन्। वैदेशिक रोजगारीले यी परिवारको आर्थिक प्रगतिमा ठूलो मद्दत मिलेको बताउँदै उनी भन्छन्, “केही वर्षअघिसम्म यी विपन्न परिवारले साँझ–बिहान भरपेट खानै पाउँदैनथे, अहिले पक्की घर बनाएर ठाँटले बसेका छन्।”
तराई–मधेसको विषयमा कलम चलाउने विश्लेषक चन्द्रकिशोर वैदेशिक रोजगारी मधेसको अनपेक्षित यथार्थ र आवश्यकता भइसकेको बताउँछन्। स्वदेशमा रोजगारीको अभाव र बढ्दो उपभोगको प्रवृत्तिले वैदेशिक रोजगारीलाई बाध्यताका रूपमा विकास गरिरहेको उनी बताउँछन्। “विदेश जाने प्रवृत्ति यति व्यापक छ, वैदेशिक रोजगारीमा जान उमेर नै बढाएर नागरिकता बनाइरहेका छन्,” उनी भन्छन्।
जनकपुरको सफ्टटेक कलेजका प्रमुख तथा अर्थ–राजनीतिक विश्लेषक डा. महादेव साह मधेसका युवाको सपना वैदेशिक रोजगारी बनिसकेको देख्छन्। वैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको तर्क गर्दै साह भन्छन्, “यसका केही नराम्रा पाटा भए पनि बेरोजगारी समस्या समाधान गर्न, शिक्षा, स्वास्थ्यमा गर्ने खर्चसहित परिवारको गरीबी घटाउन विदेशको कमाइले ठूलो योगदान दिएको छ।”
अर्थ–सामाजिक परिवर्तन
सर्लाहीको हरिवन नगरपालिका–४ तीनघरेकी चनमाया घिसिङको काँधमा घर सम्हाल्ने जिम्मेवारी आएको डेढ दशक भइसक्यो। उनका श्रीमान् वैदेशिक रोजगारीमा हिंडेपछि घर चलाउने, बालबच्चा हुर्काउने, समाजमा घरमूलीका हैसियतले व्यवहार चलाउने जिम्मा उनैले सम्हाल्दै आएकी छन्। उनकी छिमेकी सीमा सिङ्दनका श्रीमान् पनि वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएको डेढ वर्ष भयो।
घरभित्रको जिम्मेवारी मात्र होइन, घरमूली रहेका श्रीमान् नहुँदा सामाजिक विषयमा छलफल गर्न सरिक हुने, समाजसँगको लेनदेन र अरू व्यवहार चलाउने, सामाजिक विषयमा राय दिने जिम्मेवारी पनि महिलाकै काँधमा आइपर्छ। ब्यांकमा गएर श्रीमान्ले पठाएको रकम झिक्ने, कारोबार गर्ने वा खर्च गर्ने जिम्मेवारी महिलाको हुन्छ।
तीनघरेकै गुल्मती खातुनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। त्यसैले घरबाहेकको सामाजिक गतिविधिमा पनि भाग लिने जिम्मा उनको काँधमा छ।
विश्लेषक चन्द्रकिशोर वैदेशिक रोजगारीका कैयौं अँध्यारा पाटा हुँदाहुँदै पनि यसले मधेसको सामाजिक जीवनमा ठूलो फेरबदल ल्याएको बताउँछन्। युवाहरू वैदेशिक रोजगारीमा गएका कारण घर चलाउने जिम्मा आफ्नो काँधमा आएका कारण महिलाको नेतृत्व क्षमता विकास गर्न सघाएको उनी बताउँछन्। “विगतमा किराना गर्ने (बजार जाने), लेनदेन गर्ने लगायतकाे जिम्मा पुरुषको मात्र हुन्थ्यो, अब त्यो महिलाको काँधमा आएको छ,” विश्लेषक चन्द्रकिशोरले भने।
वैदेशिक रोजगारीले व्यवसाय र उद्यम गर्न पनि बल पुर्याएको छ। जस्तै, १३ वर्ष यूएईमा बसेर दुई वर्षअघि मात्रै नेपाल फर्किएका धनुषाको मिथिला नगरपालिकाको नक्टझिजका समसुद्दीन राइनले गाउँमै रू.५ लाख लगानीमा कुखुरा पालन शुरू गरेका छन्। कुखुरा पालनबाट महीनाको रू.१६ हजार आम्दानी गरिरहेका उनी अब वैदेशिक रोजगारीमा नफर्कने बताउँछन्। कतारमा १८ वर्ष बसेर फर्किएका कटरहितका सञ्जित यादवले पनि गाउँमा माछा र बाख्रा पालन व्यवसाय थालेका छन्।
उदयपुरको बेलका नगरपालिका चन्द्रपुरका गणेश दाहालले एक दशक वैदेशिक रोजगारीमा बिताएर फर्किएपछि दुई वर्ष अगाडिबाट गाउँमै कृषि फार्म शुरू गरेका छन्। तीन जना मिलेर करीब डेढ करोड रुपैयाँ लगानीमा खोलिएको ५ बिघाको फार्ममा सात वटा भैंसी छन्, तीन कोठाको होमस्टे पनि छ। कुरिलोसहितका तरकारी खेती, कालिज पालन, कुखुरा पालन पनि गरिएको छ।
आगामी वर्षदेखि ड्रागन फ्रुटको खेती गर्ने तयारीमा रहेका दाहाल भन्छन्, “वैदेशिक रोजगारी अब पुग्यो, जे गर्नु छ देशमै गर्ने हो। अहिले नै त फाइदा आइसकेको छैन, तर बिस्तारै लगानी अनुसारको प्रतिफल आउला भन्ने आशा छ।”