‘बीआरआईमा यूरोपको सामूहिक सम्झौता हुन सक्छ’
जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले यूरोपेली यूनियनका प्रमुख मुलुकले चीनको अगुवाइमा रहेको बेल्ट एन्ड रोड अभियान (बीआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।
यूरोपेली अधिकांश मुलुकले बीआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् । यो अभियानले एसियालाई यूरोपसँग सडक र रेलमार्गले जोड्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी योजनाका रूपमा रहेको बीआरआईमा चीन बढी हाबी भएको भन्दै पश्चिमा राष्ट्रले आशंका व्यक्त गरिरहेका छन् ।
फ्रान्स र जर्मनीले भने विदेशी फर्महरूलाई प्रतिस्पर्धी वातावरण तयार गर्न चीन अग्रसर हुनुपर्ने शर्त अघि सारिरहेका छन् ।
यूरोपेली कतिपय मुलुकले इटालीलाई बीआरआईमा सम्झौता गर्नुअघि सोच विचार गर्न आग्रह गरे पनि इटालीले गत मार्चमा चीनको यस बीआरआईमा सहभागी हुने सम्झौता गरिसकेको छ ।
मन्त्री अल्टमायरले जर्मनी, फ्रान्स, स्पेन र बेलायतले बेइजिङमा आयोजित बीआरआई सम्मेलनमा सहभागिता जनाएको बताए । उनले बीआरआईमा सहभागी हुँदा यूरोपका ठूला मुलुकहरूले सामूहिक रूपमा मात्र सम्झौता गर्न सक्ने स्पष्ट गरे ।
मन्त्री अल्टमायरले चिनियाँ राष्ट्रपतिको भनाइबाट आफूहरू निकै उत्साहित रहेको बताए । बीआरआईले स्वतन्त्र व्यापार, बहुपक्षीयता र दिगोपन सहितको विकासलाई जोड दिएको छ ।
अल्टमायरले भने, “चीन एउटा साझेदार र प्रतिस्पर्धी मुलुक पनि हो, त्यसैले यूरोपेली मुलुकहरूले आफ्ना सरोकारका विषयलाई परिभाषित गर्नु आवश्यक छ ।