भारतमा एक महीनामा ४० लाख संक्रमित थपिने प्रक्षेपण, मुम्बईमा बन्दाबन्दी गरिँदै
कोभिड–१९ को दोस्रो लहर चलिरहेको भारतमा अर्को महीनासम्म ४० लाख संक्रमित थपिने प्रक्षेपण गरिएको छ। संक्रमण बढ्न थालेपछि मुम्बईमा बन्दाबन्दी गर्न लागिएको छ।
भारतमा पछिल्लो २४ घन्टामा १ लाख ५२ हजार ६८२ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या १ करोड ३३ लाख ५५ हजार ४६५ पुगेको छ।
त्यस्तै, कोरोनाबाट एकै दिन ८३८ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६९ हजार ३०५ पुगेको छ।
संक्रमणको क्रम अझै एक महीनासम्म बढ्ने भारतको पब्लिक हेल्थ फाउन्डेसनले प्रक्षेपण गरेको छ। फाउन्डसेनका महामारीविज्ञ डा. गिरिधर बाबुले १ मेसम्म कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने बताएका छन्।
उनका अनुसार अर्को महीनासम्म भारतमा ४० लाख संक्रमित थपिनेछन्। “अबकाे एक महीनासम्म दैनिक १ लाख ८० हजारदेखि ३ लाखसम्म संक्रमित थपिनसक्छन्। हाम्रो प्रक्षेपणमा मे १ सम्म ४० लाख नयाँ संक्रमित थपिनसक्ने देखिएको छ,” डा. गिरिधरले द हिन्दूसँग भनेका छन्।
अहिले भारतमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ। बेलायती, ब्राजिल र दक्षिण अफ्रिकाको भेरियन्ट देखिएको जनाएको छ। नयाँ भेरियन्टले गर्दा आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने संक्रमितको संख्या बढिरहेको छ।
महामारीविज्ञ डा. गिरिधरले पहिलो लहरभन्दा अहिले गम्भीर बिरामीको संख्या बढिरहेको बताए। “कोरोना संक्रमितमध्ये ५ देखि १० प्रतिशतलाई भेन्टिलेटर आवश्यक पर्नेछ,” उनले भने।
अहिले भारतमा दैनिक डेढ लाखभन्दा बढी संक्रमित थपिँदै गएका छन्। जसले गर्दा केही शहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ।
कोरोनाको केन्द्र बनेको महाराष्ट्रमा बन्दाबन्दीको तयारी गरिएको छ। महाराष्ट्रमा सोमबारदेखि १५ दिनका लागि बन्दाबन्दी गर्न लागिएको द इन्डियन एक्सप्रेसले जनाएको छ। कोरोनाको चेन ब्रेक गर्न अन्तिम उपायका रूपमा बन्दाबन्दी गर्न लागिएको हो।
महाराष्ट्रमा पछिल्लो २४ घन्टामा ५५ हजार ४११ संक्रमित थपिएका छन्। जसमध्ये ९ हजार ३३० संक्रमित मुम्बईमा पुष्टि भएका छन्।
यससँगै छत्तिसगढ, दिल्ली, गुजरात, तमिलनाडु, मध्यप्रदेश, उत्तरप्रदेश, उत्तराखण्ड र पश्चिम बंगालमा पनि कोरोना संक्रमण बढ्दै गएको छ।
कोरोनाको दोस्रो लहर चलेसँगै भारतमा रहेका नेपाली घर फर्किन थालेका छन्। केही दिनदेखि सीमानाकामा घर फर्किने नेपालीको संख्या बढ्दै गएको छ।