‘माणिकलाल दाइ’, जो कैयौं वामपन्थीका गुरु थिए
देश सबैको साझा हो भन्ने दर्शन बोक्नेहरू पनि आ–आफ्नै सीमित र एकांकी घेराबाट बाहिर निस्कन नसक्दाको परिणाम हो, प्रा. माणिकलाल श्रेष्ठलाई नेवारका रूपमा मात्रै देख्नु।
भक्तपुरस्थित भव्य पाँच तले मन्दिर बनाउन राजा भूपतीन्द्र मल्लले एक भारदारको घरलाई अधिग्रहण गरे। यस घटनापछि ती भारदार अर्थात् दुःखीराम भारोले निराश भएर ‘रामायण’ ग्रन्थ लेखे। उनै दुःखीराम भारोका सन्तान रहेछन्, प्रा. माणिकलाल श्रेष्ठ। जसलाई हामीले चैत पहिलो साता गुमायौं।
यो प्रसंग सम्झनुको कारण हो, प्रा.श्रेष्ठको श्रद्धाञ्जली सभा। २१ चैत बिहान विभिन्न १८ वटा संघसंस्थाले काठमाडौंमा प्रा.श्रेष्ठको श्रद्धाञ्जली सभा आयोजना गरे। मार्क्सवादी बुद्धिजीवी, लेखक एवं समालोचक प्रा.श्रेष्ठको ३ चैतमा उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्रमा निधन भएको थियो। श्रद्धाञ्जली सभा आयोजक संस्थाहरू सबै नेवार जाति, भाषा, साहित्य तथा संस्कृतिसँग सम्बन्धित थिए।
अघिल्लो दिन आयोजित श्रद्धाञ्जली सभाका आयोजक पनि नेवार समुदायसँग सम्बन्धित संस्थाहरू नै थिए। नेवार मात्रै किन? प्रा.श्रेष्ठको योगदान नेवार जातीय क्षेत्रमा मात्रै हो र? अथवा अन्य समुदायका लागि उनी सरोकार नै नभएका व्यक्तित्व हुन् र? जवाफ दिनुअघि राज्य र समाजका प्रत्येक तह र तप्कालाई यी अहं प्रश्न सोध्नैपर्छ।
प्रा.श्रेष्ठको योगदान नेवार जाति, भाषा, साहित्य र संस्कृति लगायत अन्य क्षेत्रमा हुनु स्वाभाविक हो, किनभने उनी नेवार पनि हुन्। नेवार समाजमै हुर्केकाले पनि साथीसंगत नेवार समुदायकै बढी हुनु स्वाभाविक हो। नेवार समाजले उनलाई आफ्नो गौरवको विषय ठान्नुलाई अस्वाभाविक मान्नु हुँदैन। तर, यतिकै भरमा उनलाई अन्यले नेवार जातीय समुदाय विशेषमा सीमित गरेर हेर्नु र बुझ्नु लघुताभास हो।
पञ्चायत कालमा राजा महेन्द्रले राष्ट्रिय एकताका नाममा ‘एक भाषा, एक भेष’को नीतिलाई अगाडि सारेर एकल जातीय व्यवस्थालाई संस्थागत गर्न खोजे। त्यही व्यवस्थामा विश्वास गर्नेहरू अझै पनि नेपाल विविध जातजाति, भाषाभाषी र संस्कृतिको समुच्च राज्य हो भन्ने हृदयदेखि स्वीकार गर्न तयार छैनन् वा राजा महेन्द्रको राष्ट्रवादको धुकधुकी बोकेरै अघि बढ्न चाहन्छन्।
देश सबैको साझा हो भन्ने दर्शन बोक्नेहरू पनि आ–आफ्नै सीमित र एकांकी घेराबाट बाहिर निस्कन नसक्दाको परिणाम हो, प्रा. माणिकलाल श्रेष्ठलाई नेवारका रूपमा मात्रै देख्नु। ब्राह्मण–क्षेत्री समुदायबाहेक अरूलाई राष्ट्रिय स्तरको व्यक्तित्व देख्न नसक्नु पनि अर्को विडम्बना हो।
प्रा.श्रेष्ठको योगदान नेवार जाति, भाषा, साहित्य र संस्कृति लगायत अन्य क्षेत्रमा हुनु स्वाभाविक हो, किनभने उनी नेवार पनि हुन्। नेवार समाजमै हुर्केकाले पनि साथीसंगत नेवार समुदायकै बढी हुनु स्वाभाविक हो। नेवार समाजले उनलाई आफ्नो गौरवको विषय ठान्नुलाई अस्वाभाविक मान्नु हुँदैन। तर, यतिकै भरमा उनलाई अन्यले नेवार जातीय समुदाय विशेषमा सीमित गरेर हेर्नु र बुझ्नु लघुताभास हो।
नेपाललाई विविध जातजातिको साझा फूलबारीका रूपमा आत्मसात् गर्ने हो भने यहाँका सबै जाति, भाषा, साहित्य र संस्कृतिलाई नेपाली भनेर पनि बुझ्नुपर्छ। यी विविधताको विकास भनेको समग्रमा नेपाल र नेपालीको विकास हो। प्रा.श्रेष्ठको व्यक्तित्व र कृतित्व पर्गेल्दा जीवनभर उनले नेपाल र नेपालीका लागि सोचेको र काम गरेको देखिन्छ। तर, उनको निधनपछि नेवारका रूपमा मात्रै देख्नु दुःखद कुरा हो।
२७ असोज, १९८९ मा जन्मिएका उनी ४ वर्षको उमेरमा ऐतिहासिक स्कूल महावीर इन्स्टिच्यूटमा भर्ना भएका थिए। प्रारम्भिक शिक्षा शहीदद्वय गंगालाल श्रेष्ठ र चिनियाँलाल सिंह, कवि सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर मानव र टंकविलास बज्राचार्यजस्ता राजनीतिक व्यक्तित्वहरूबाट प्राप्त गरे। १९९६ सालको राजनीतिक काण्डका कारण इन्स्टिच्यूट बन्द भएपछि दरबार हाइस्कुलमा भर्ना भएका उनले २००३ सालमा एसएलसी उत्तीर्ण गरे। त्रिचन्द्र कलेजबाट बीएससी, कलकत्ता विश्वविद्यालयबाट सन् १९५६ मा अंग्रेजी साहित्यमा एमए र कानून विषयमा एलएलबी उत्तीर्ण भएका थिए।
प्रारम्भिक जीवनमा संगत पाएका व्यक्तित्वहरूको प्रभावले नै उनको जीवन डोर्याएको देखिन्छ। नेपालमा मार्क्सवादी कम्युनिष्ट सिद्धान्तको जग बसाल्नमा विशिष्ट योगदान दिएका थोरै नेपालीमा प्रा.श्रेष्ठ पनि एक हुन्। वाम बुद्धिजीवी श्याम श्रेष्ठका अनुसार, कम्युनिष्ट पार्टीको घोषणापत्र नेपाली भाषामा अनुवाद गर्न पुष्पलाललाई प्रा.श्रेष्ठले नै सघाएका थिए। अंग्रेजीबाट नेपाली मात्रै होइन, नेपाल कम्युनिष्ट पार्टीका सामग्रीहरू अंग्रेजी भाषामा पनि अनुवाद गर्थे।
नेपालमा मार्क्सवादी कम्युनिष्ट सिद्धान्तको जग बसाल्नमा विशिष्ट योगदान दिएका थोरै नेपालीमा प्रा.श्रेष्ठ पनि एक हुन्। वाम बुद्धिजीवी श्याम श्रेष्ठका अनुसार कम्युनिष्ट पार्टीको घोषणापत्र नेपाली भाषामा अनुवाद गर्न पुष्पलाललाई प्रा.श्रेष्ठले नै सघाएका थिए।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि अहिलेसम्म पनि वामपन्थी विचारधारा बोक्नेहरूका सल्लाहकार वा गुरूका रूपमा चिनिन्छन्। कम्युुनिष्ट पार्टीसँग आबद्ध हुनुको तात्पर्य अनेकौं चिरामा विभाजित कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न थियो। तर, यसमा उनलाई सफलता मिलेन। तथापि उनी कम्युनिष्ट राजनीतिमा सक्रिय भइरहे।
२०१४ सालमा सम्पन्न तत्कालीन काठमाडौं नगरपालिकाको निर्वाचनमा उनले आफ्नै पार्टीका उम्मेदवार शम्भुराम श्रेष्ठविरुद्ध बागी उम्मेदवारी दिई जित हासिल गरे। पार्टीको नीतिमा रहेको भाषिक अधिकारको विषय नगरपालिकाको चुनावी घोषणापत्रमा झिकिएपछि असहमति जनाउँदै बागी उम्मेदवारी दिनुपरेको उनी सुनाउने गर्थे। निर्वाचित भएपछि नगरपालिकामा नेपाल भाषालाई पनि कामकाजको भाषा बनाउन सफल भए।
उनी सिद्धान्तनिष्ठ थिए। आफ्नो सिद्धान्तमा अडिग रहँदा कतिपय साथीभाइ तथा आफन्तजनसँगको सम्बन्धमा चिसोपन पनि आएको थियो। श्रद्धाञ्जली सभामा मल्ल के. सुन्दरले भने, ‘‘त्यतिबेला प्रा.श्रेष्ठको विवाह पार्टीकै एक महिलासँग गर्ने पार्टी निर्णय भइसकेको थियो। ती महिलाले उहाँलाई पार्टीविरुद्ध नजान र उम्मेदवारी फिर्ता लिन दबाब दिइन्, तर आफ्नो सिद्धान्तप्रति अडिग हुँदा प्रेमसम्बन्ध नै टुट्न पुग्यो।”
कम्युुनिष्ट पार्टीको इतिहासमा संस्थापकहरूको नामलाई लिएर एक खालको विवाद हुने गरेको छ। मोतीदेवी श्रेष्ठलाई संस्थापक मान्ने कि नमान्ने भन्ने प्रश्नको जवाफ केही वर्षअघि उनले महाबौद्धस्थित महांकाल माध्यमिक विद्यालयमा दिएको एउटा प्रवचनमा पाउन सकिन्छ। भारतको कलकत्तामा नेपाल कम्युुनिष्ट पार्टीको स्थापनाका लागि सम्पूर्ण काममा संस्थापक सदस्यकै हैसियतमा मोतीदेवी श्रेष्ठ सरिक थिइन्। स्थापनाको दिन एक व्यक्तिलाई सुरक्षित रूपमा अन्यत्र पुर्याउन पार्टीले उनलाई खटायो। जसले गर्दा उनी भेलामा उपस्थित हुन सकिनन्। प्रा.श्रेष्ठका अनुसार यो कुरा पार्टीमा सीमित व्यक्तिलाई मात्रै थाहा थियो।
देशमा पछिल्लो परिवर्तन अर्थात् गणतन्त्रको स्थापना, संघीयता, स्वायत्तता, धर्म निरपेक्षता आदि विषयवस्तुको ‘थिंकट्यांक’का रूपमा पनि प्रा. श्रेष्ठलाई बुझ्न सकिन्छ। यी शब्दहरू बोल्नु मात्र पनि कुनै बेला विद्रोही करार हुने समयमा उनी व्याख्या नै गर्थे। यी शब्दहरू बोकेर नेतृत्व गर्नेहरूका लागि मार्गदर्शक नै थिए। अन्तर्राष्ट्रिय डबलीमा उभिएर सैद्धान्तिक विवेचना गर्न सक्ने उनी नेपाली बौद्धिक क्षेत्रका लागि पनि बिर्सिन नहुने व्यक्ति हुन्। प्रा. श्रेष्ठको विशेषता तीक्ष्ण स्मरणशक्ति पनि हो।
पहिल्यैदेखि प्रा.श्रेष्ठका रचनाहरू पढिरहेको भए पनि पहिलो पल्ट उनलाई सुनेको पञ्चायत कालमा नेपाल ल क्याम्पसको कौसीमा आयोजित प्रगतिशील साहित्यसम्बन्धी कार्यक्रममा हो। पारिजात लगायत प्रगतिशील सर्जकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उनी प्रगतिशील साहित्यकै विषयमा बोल्दै थिए। उनको भाषणले तानेको थियो।
पञ्चायत कालमा उनको गीतमा प्रतिबन्ध पनि लागेको थियो। प्रतिबन्धमा परेको उनको एउटा गीतमा राजा रणबहादुर शाहको बेलाको अवस्थालाई चित्रण गरिएको थियो। जसमा काठमाडौंमा बिफरको महामारी फैलिएको र नाबालक राजकुमार गीर्वाणयुद्धविक्रम शाह पनि संक्रमित होलान् भन्ने भयले स्थानीय बालबालिकालाई बाहिर पठाएको स्थिति दर्साइएको थियो। राजाको आलोचना गरिएको यो गीत शासकको अत्याचारविरुद्ध साहित्यबाट अभिव्यक्त दिएको र प्रगतिशील साहित्यको एउटा ऐतिहासिक नमूना मानिएको थियो।
पञ्चायत कालमा श्रेष्ठको गीतमा प्रतिबन्ध पनि लागेको थियो। प्रतिबन्धमा परेको उनको गीतमा राजा रणबहादुर शाहको बेलाको अवस्थालाई आलोचनात्मक ढंगले चित्रण गरिएको थियो।
यी तमाम गतिविधिमा एउटा उल्लेख्य पक्ष हो, रचनालाई पर्गेल्नु र त्यसमा भएको सकारात्मक पक्षलाई केलाउँदै उत्साहित पार्नु। उनी आफैंले पनि एक पल्ट कविता लेखेका थिए। त्यसलाई कसैले साहित्य नभएर ‘नारा’ भएको टिप्पणी गरेपछि निरुत्साहित भएर कविता लेखनबाट हात झिकेका थिए। यसरी साहित्यबाट अरू विचलित नहोऊन् भनेर सकारात्मक पक्षलाई पनि खोतल्ने गरेका थिए। उनका पुस्तक थोरै मात्र प्रकाशित छन्, तर छरिएर रहेका लेखरचना, भूमिका, अन्तर्वार्ता आदिको संकलन हुनु नितान्त जरुरी छ।
मैले कुनै पनि सभा समारोहमा माणिकलाल श्रेष्ठका मन्तव्यहरू छुुटाउने गरेको थिइनँ। यसको खास कारण उनको विषयवस्तुुमाथि पकड र प्रकाशमा नआएका कैयौं महत्त्वपूर्ण विषयहरू संस्मरणका रूपमा व्यक्त हुनु हो। कतिपय सन्दर्भमा मन्तव्यपछि छुट्टै भेटेर थप जानकारी पनि प्राप्त गरेको छु। कनिष्ठ व्यक्तिसँग पनि बोल्न र सोधेको विषयमा कति पनि झिँजो नमानी स्वाभाविक रूपमा जवाफ दिनु उनको विशेषता हो।
राजनीति र साहित्यका अलवा उनी पत्रकारितामा पनि सक्रिय थिए। नेपाली पत्रकारिता क्षेत्रले बिर्सन नहुने नाम हो, प्रा.माणिकलाल श्रेष्ठ। शहीद चिनियाँलाल श्रेष्ठका दाजु फत्तेबहादुर सिंहको सम्पादनमा प्रकाशित हुने ‘नेपाल भाषा पत्रिका’मा आबद्ध उनी २०१३ देखि २०१५ सालसम्म सह–सम्पादक थिए। २०१३ देखि २०१६ सालसम्म ‘नेपाल पत्रकार संघ’ को महासचिव थिए। त्यस्तै, २०१४ सालको ऐतिहासिक प्रेस कमिसनमा उनी पत्रकारहरूको प्रतिनिधित्वको निर्वाचित सदस्य थिए। यही कमिसनले नेपालमा पत्रकारिता विकासका निम्ति पहिलो ऐतिहासिक प्रतिवेदन प्रस्तुत गरेको थियो।
सबै उमेर र समूहका व्यक्तिहरूबीच उनी ‘माणिकलाल दाइ’ले परिचित थिए। यसै विषयमा उनी बरोबर कविकेशरी चित्तधर हृदयको प्रसंग सुनाउने गर्थे। नेपाल भाषा साहित्य क्षेत्रमा समालोचना सम्बन्धी गतिलो ग्रन्थको अभाव परिपूर्तिका लागि कवि हृदयले उनलाई अनुरोध गरेका थिए। तर, बेफुर्सदीका कारण लेख्न सकिरहेका थिएनन्।
यो ग्रन्थ लेख्न दबाब दिनकै लागि चित्तधर दिनहुँ उनको घरमा आउँथे। लामो–लामो दाह्री पालेका वृद्ध कवि घरमा आउँदा बाहिरैबाट ‘माणिकलाल दाइ’ भनेर बोलाउँथे। युवा श्रेष्ठलाई वृद्ध मान्छेले ‘दाइ’ भनेर सम्बोधन गर्दा छरछिमेकी आश्चर्यचकित हुन्थे। यसरी तयार भएको थियो, ‘समालोचनाया सिद्धान्त’। साहित्य लगायतका विषयवस्तुमा उनका लेखरचनाहरू पत्रिपत्रिकामा निर्बाध रूपमा प्रकाशित भइराख्थे। बेलाबेलामा हुने साहित्य सम्मेलनहरूमा पनि उनी समालोचना गरिरहन्थे।
उहिल्यै पाँच तले मन्दिरका लागि दुःखीराम भारोको घर अधिग्रहणजस्तो प्रा.श्रेष्ठको धनसम्पत्ति अधिग्रहण भएन। तैपनि उनले स्वतस्फूर्त रूपमा आफ्नो जीवन कम्युनिष्ट आन्दोलन, देश र समाजमै समर्पित गरे। कविकेशरी चित्तधर हृदयले भन्ने गरेझैं प्रा. माणिकलाल श्रेष्ठ सबैका ‘माणिकलाल दाइ’ थिए। भौतिक रूपमा नरहे पनि उनका सत्कर्मले सबैका ‘माणिकलाल दाइ’का रूपमा स्मरणमा रहिरहनेछन्।