'राजनीतिज्ञहरूसँग कहिल्यै निहुँ नखोज्नू !'
गुलजार भारतका प्रख्यात कवि, गीतकार, पटकथा लेखक र फिल्म निर्देशक हुन्। १८ अगस्ट १९३४ मा पञ्जावको दीना गाउँ (हाल पाकिस्तान) मा जन्मिएका उनको वास्तविक नाम सम्पूर्ण सिंह कालरा हो। भारत र पाकिस्तानको विभाजनपछि उनको परिवार भारतको पञ्जावस्थित अमृतसर आयो। त्यसपछि मुम्बई पसेका उनको संघर्ष र सिर्जनाको सिलसिला शुरू भयो र गुलजारको नामबाट ख्याति कमाए। फिल्म क्षेत्रमा उनको प्रवेश गीतकारका रूपमा भएको थियो। उनले विमल राय निर्देशित फिल्म 'बन्दनी' (सन् १९६३) मा संगीतकार एसडी बर्मनसँग काम गर्दै गीति यात्रा शुरू गरेका थिए। त्यसपछि आरडी बर्मन, सलिल चौधरी, विशाल भारद्वाज, एआर रहमान लगायत थुप्रै संगीतकारसँग उनले सहकार्य गरे। 'आशीर्वाद' (१९६८), 'खामोशी' (१९७०) र 'आनन्द' (१९७१) जस्ता फिल्ममा संवाद र पटकथा लेखेका गुलजारले सन् १९७१ मा 'मेरे अपने' बाट फिल्म निर्देशनमा पाइला राखेका थिए। त्यसपछि उनले 'परिचय' (१९७२), 'कोशिश' (१९७२), 'अचानक' (१९७३), 'मौसम' (१९७५), 'आँधी' (१९७५), 'अंगुर' (१९८२), 'इजाजत' (१९८७), 'लिबास' (१९८८), 'माचिस' (१९९६), 'हु तु तु' (१९९९) लगायत फिल्म निर्देशन गरे। राष्ट्रिय स्तरमा फिल्मफेयर अवार्ड, दादासाहेब फाल्के अवार्ड लगायत थुप्रै पुरस्कार पाएका गुलजारले फिल्म 'स्लमडग मिलिनियर' (२००८) का लागि लेखेको 'जय हो' गीतबाट सर्वोत्कृष्ट गीतकारको ओस्कर अवार्ड र ग्रामी अवार्ड जितेका थिए। लेखन र फिल्म क्षेत्रबाट ठूलो प्रसिद्धि कमाएका उनका कवितामा ससाना कुरामाथि गहिरो सोच र दर्शन भेटिन्छ। सम्बन्धको मिठास र तिक्तता तथा प्रकृतिलाई अझ गहिराइमा बुझ्न उनका कविताहरूले सघाउँछन्।
एउटा कविता
सजिलो छैन यो बाटो,
जुन बाटोमा हात छुटाएर तिमी
यसै फन्किएर एक्लै निस्किएकी छ्यौ
यो डरले, शायद बाटो भुल्छ्यौ कि कतै
हरेक मोडहरूमा कविताहरू उभ्याएर राखेको छु मैले !
थाक्यौ भने यदि—
र जरुरत पर्यो भने तिमीलाई,
कुनै एउटा कविताको औंला समाएर फर्की आउनु !
कवितासँग कहिलेकाहीँ
कहिलेकाहीँ जब म बस्छु भुइँमा
आफ्नै कविताहरूको अगाडि
अर्धवृत्त बनाएर
हालचाल सोध्ने गर्छु कि
एउटा कविको साथमा समय कट्छ कसरी ?
उनीहरू घुरेर हेर्छन् मलाई
प्रश्न गर्छन्
तिमी भएकाले हामी छौं
या हामी हुनुले तिमी ?
ती सारा कविताहरू
जो म सम्झने गर्थें
मेरो जीनको कारणले छन्
उनीहरू बुझ्छन् तर कि
उनीहरूको कारण छ मेरो नापनक्शा
यो अनुहार उनीहरूबाट पाएको हुँ मैले
बानीव्यहोरा उनीहरूबाटै मिलेको हो मलाई
हालचाल के सोधूँ म ?
कि एउटा अर्को कविता अगाडि आउँछ
छोएर मेरो निधार सोध्छ
भन यदि कुनै अन्योल छ भने
के छेउमा बसूँ म ?
मद्दत गरूँ ?
र केलाइदिऊँ तिम्रा समस्याहरू ?
उदास देखिन्छौ
अर्को अगाडि आएर भन्छ
जो भन्न सक्दैनौ कसैलाई
मेरो कानमा खुसुक्क भनिदेऊ रहस्य आफ्नो
तर यदि एउटाले सुन्छ भने सबैले सुन्नेछन्
यो रहस्य फेरि रहस्य रहनेछैन
रिसाएर भन्छ अर्को क्रोधित कविताले मलाई
कहिलेसम्म लिनु म आफ्नो गलामा तिम्रो आवाजको टर्राेपन
एउटा अर्को सानो कविताले भन्छ
पहिले पनि भनिसकेको हो कवि
उकालो उक्लँदा यदि तिम्रो श्वास बढ्यो भने
मेरो काँधमा राखिदेऊ केही बोझहरू म उठाउनेछु
मौनजस्तो एउटा कविता
जो पछाडि बसेर क्वारक्वार्ती हेरी मात्रै रहन्छ मलाई
थाहा छैन किन हो, उसको आँखाको रङ ममा गएको छ
अलग–अलग छन् सबैको बानीव्यहोरा
तर कहीँ न कहीँ ती सबै बानी मभित्र छन्
मलाई यो अनुभूति भइरहेछ
कि जब म यिनीहरूलाई सिर्जना गर्दै थिएँ
यिनीहरूले पनि मलाई सिर्जना गरिरहेका थिए।
भगवान् २
पर्खालको यतापट्टि छु म
यतापट्टि घमाइलो छ, छ हरियाली पनि !
शीत पनि झर्छ पत्ताहरूमा,
आइहाले अल्छ्याहा कुहिरो
हाँगामा बसेर घण्टौं उँघिरहन्छ,
बर्साद् लामा तारहरूमा सर्कसवालाले जसरी नाच्दै
आँखाहरूबाट हराउँछ,
जुनै मौसम आउँछ, सबै रस दिने गर्छ !
तर, यो कमजोर पर्खालको उतापट्टि
किन यति साह्रो मौनता छ
को हो जो आवाज त निकाल्दैन तर—
पर्खालमा कान थापेर बसिरहन्छ।
थिम्पू
अघिल्लो पटक पनि आएको थिएँ जब
तब यही पहाडले
तल उभिएको थिएँ,
मलाई भनेको थियो–
“तिमीहरूको कद किन यति पुड्को ?
आऊ,
हात समाऊ मेरो
मेरो तिघ्रा टेकेर माथि आऊ आऊ,
अनुहार राम्ररी त हेरूँ !
तिमी कस्तो देखिन्छौ ?
के छ भने
जसरी मेरा कमिलाहरूलाई तिमी
अलग–अलग चिन्न सक्दैनौ
मलाई पनि तिमीहरू सबै एकैजस्तो लाग्छ
एउटै फरक छ !
मेरो कुनै कमिला
तिम्रो शरीरमा चढ्यो भने
औंलाले समाएर
फ्याँकेर त्यसलाई मारिदिने गर्छौ तिमी ।
म त्यसो गर्दिनँ।
मेरा उत्तिसहरू हेर,
कद कति अग्ला–अग्ला छन् यिनीहरूका ।
तिमीभन्दा सात गुणा त होला नै
केही त दश या बाह्र गुणा पनि ।
उमेर हेर उनीहरूको कति धेरै
सदियौं जिउँदो रहने गर्छन्।
भन्छौ, भन्नलाई त तिमी
तर आफूभन्दा ठूलोको इज्जत गर्दैनौ तिमी
यसैले तिमीहरूको कद यति पुड्को हुने गर्छ।
त्यति एक्लो पनि छैन म
जति तिमी सम्झिने गर्छौ ।
तिमीहरू मान्छे नै हौ
जो भीडमा रहेर पनि
एक्लो–एक्लो लाग्ने गर्छौ।
बादलहरूको लस्कर गुज्रन्छन् जब यताबाट हुँदै
अँगालो हालेर भेटेरै मात्रै जान्छन्
झरना पनि झर्छ जब
पाउ छोएर मात्रै बिदा हुन्छ
मौसम पाहुना हुन् मेरा
आउँछन् जब, महीनौं बसेर जान्छन्
किसिम–किसिमले सम्बन्ध निर्वाह गर्छन्।
देख्छु—
कति सानो–सानो उमेरको लागि
भेटिन्छौ तिमीहरू र बिछोडिन्छौ
सपना अनि आशाहरू पनि कति साना–साना, उमेरजत्रा
यसैले के तिमीहरूको कद यति पुड्को, हो?"
सुल्ताना डाँकुको अन्तिम पत्र, छोराको नाममा
जबसम्म सास थियो...
तीस वर्षसम्म, छोरा, मैले चोरी गरेँ
खोसेँ - जब चोरी गर्न मुश्किल थियो
हत्या गरेँ - जब खोस्न सम्भव थिएन
ती सबै खत्तम भएपछि फेरि - फाँसीको फन्दा पहिरिएँ
यति नै वर्षहरूपछि त तिम्रो पनि पालो आउनेछ, यो याद राख्नू
६ वर्षको बच्चाले बाबाको पेशा शुरू गर्नु आवश्यक नै हो
तर याद राख्नू, राजनीतिज्ञहरूसँग कहिल्यै निहुँ नखोज्नू
उनीहरूका बच्चाहरू पाँचै वर्षदेखि सिक्न थाल्छन्।
अनुवाद र कवि परिचयः सुदीप पाख्रिन
युवा कवि सुदीप पाख्रिन पूर्वी नेपालको धरानका हुन्। 'आदिम मौनता' र 'दगुरिहिंड्ने बाटो' कवितासंग्रह प्रकाशन गरेका पाख्रिनले कृष्णभूषण बल युवा सिर्जना पुरस्कार २०७५ पाएका छन्। कविता सिर्जनासँगै अनुवाद गर्न रुचाउने उनले पछिल्लो समय गुलजारका कविताहरू अनुवाद गरिरहेका छन्।