पञ्चायती
घरमा सन्नाटा थियो। मृत्युको सन्नाटा। कसैको एक्लो जवान छोरा अनाहकमा मारिएपछि त्यस घरमा हुने सन्नाटा। यस्तो सन्नाटा जहाँ बुवा र आमालाई सान्त्वना दिन वा सम्झाउन घरभरि मानिस तथा आफन्तहरू त छन्, तर कसैको पनि मुखबाट एकै शब्द निस्कन सकेको छैन।
आँगनमा परालले बुनेको पटिया ओछ्याइएको छ। त्यही पटियामा असोरामा अडेस लागेर महावीर मरिक बसेको छ। उसले टाउकोमा हात राखेको छ। उसका केही साथीहरू ऊसँगै बसेका छन्, तर कसैको हिम्मत छैन, भन्ने- ‘भो महावीर, छोड्दे चिन्ता! जानै छ एक दिन सबैलाई। बस, ढिलो र चाँडोको कुरा त हो।’
फुलिया मरिक असोरामै पल्टेकी छिन्। उनको वरिपरि महिलाहरू छन्। एकजनाले उनको अनुहारमा बेनाले हम्किँदै छिन्। धेरैजसो समय त फुलिया बेहोस नै भएकी छिन्। जब होस आउँछ, उनी चिच्याउन थाल्थिन्- ‘रे बिरजु? रे बौवा? केना के छोइडके चैल गेला रे बेटा!’
फुलियामा रुने समेत तागत थिएन। जब उनी चिच्याउँथिन्, उनको साटो त्यहाँका महिलाहरूमा रुवाबासी चल्थ्यो। उनको चिच्याइले छाती चिरिन्थे होला ती महिलाहरूका।
त्यो सन्नाटा नजिकैको खोरका सुँगुरहरूले अनुभव गरेका थिए। नत्र अरू बेला अनावश्यक कराइरहने तिनीहरू शान्त थिए। बेलाबेला त्यहाँ हुने रुवाबासीको बेला भने उनीहरू पनि थोरै कराउँथे अनि शान्त हुन्थे।
OOO
जति सन्नाटा असनपुर छेवैको त्यस डोमबस्तीमा थियो, त्यसको विपरीत त्योभन्दा बढी चलायमान र मानिसहरूको चहलपहल गोलबजारका डोमहरूको टोलमा थियो। दुई टोलका बीच सीधा डगहर र खुला खेतबाहेक केही थिएन। उताको चहलपहल यताबाट प्रष्टै देखिन्थ्यो।
त्यो चहलपहल त्यहाँ हुन लागेको पञ्चायतीको थियो। पाण्डव मरिक त्यसका वादी थिए। प्रतिवादी थिए महावीर मरिक।
बिरजु अनाहकमा मारिएको थियो। घरका भित्ताहरूबाट अझैसम्म बिरजुको हाँसो, अट्टहास वा रोदनको चिच्याई गइसकेका थिएनन् होला, रातिराति छोराको आवाज सुनेर ब्युँझँदै उसकी आमा बाहिर चौरीतिर दौडन थाल्थिन्।
बरको रूखमुनि दरी र त्रिपाल ओछ्याइएका थिए। माइजनलाई बस्नका लागि भनेर एउटा छुट्टै प्लास्टिकको कुर्सी मगाइएको थियो। मासुका लागि बिहानै सुँगुर मारिएको थियो। पाण्डव मरिकको घरअगाडिको दुरामा मासु पाकिरहेको थियो। दश ग्यालिन रक्सी आइसकेको थियो।
सुँगुर त पाण्डव मरिकको आफ्नै थियो। घरमै आएर दश हजार दिन व्यापारी तयार भएकै हो। अझै एक महिना राख्दा पन्ध्र हजारको त हुन्थ्यो नै। दुई हजारको त रक्सी नै थियो। चिउरा र मसला गरेर पन्ध्र हजारजति त खर्च भएकै थियो।
पैसाको चिन्ता थिएन। पाण्डवलाई विश्वास थियो कि पञ्चायती जित्ने उसैले हो। समाजको नियमको उल्लङ्घन महावीर मरिकले गर्यो। लागेको खर्च त महावीर मरिकबाट पाइहाल्थ्यो। यस्तै सोच्दो थियो, त्यहीबेला मानौं कि उसको छोरा उसैको अगाडिबाट गयो। उसकै छोराको उमेरको त थियो बिरजु। उसले मनमनै आफूलाई अपराधी झैं मान्यो।
‘पञ्चायतीले जेसुकै फैसला गरोस्! जरिवानाको पैसा लिन्नँ म।’ पाण्डवले मनमनै खर्चको हिसाब–किताब गर्न थाल्यो, ‘प्रहरी र विसनाथ बाबुलाई मिलाउन मात्र एक लाख लाग्यो। माइजनको भाग अझ बाँकी नै छ...’
आफू जिन्दगीमा कहिल्यै रिमझिम होटल नछिरे पनि विसनाथ र पुलिसहरूले खाएको बीस हजारको बिलको पैसा पाण्डवले नै तिरेको थियो। सो अलग भो।
‘सालाहरूले बीस हजारको के खायो होला? यदि अलिअलि महावीरसँग लिन पाए त राहतै हुन्थ्यो...’
आँखा चिम्लनेबित्तिकै रगतपच्छे भएर लडेको बिरजु, आत्तिएर रुँदै चिच्याउँदै गरेका उसका बुवा र आमाको झलक आँखाका सामुन्ने आउन थाले।
‘मेरो त गएको सम्पत्ति हो। भोलि फेरि कमाउन सक्छु। उसको त जवान छोरा गयो। त्यो पनि एक्लो छोरा। कहाँबाट ल्याउँछ उसले? जानेर त गरेको होइन, तर अन्जानमै भएको पनि सानो पाप त होइन। भो ऊसँग पैसा लिन्नँ...’
‘मेरो त गएको सम्पत्ति हो। भोलि फेरि कमाउन सक्छु। उसको त जवान छोरा गयो। त्यो पनि एक्लो छोरा। कहाँबाट ल्याउँछ उसले? जानेर त गरेको होइन, तर अन्जानमै भएको पनि सानो पाप त होइन। भो ऊसँग पैसा लिन्नँ...’
‘बाबु, माइजन चैल अइल।’ छोराले बोलाएपछि पाण्डव झसङ्ग भयो।
माइजनलाई अलि अगाडि नै बोलाइएको हो ता कि पञ्चायती शान्तिपूर्वक सम्पन्न होस् ! त्यो विषयमा सल्लाह गर्न पाइयोस्!
पाण्डव हतारहतार उठेर माइजनलाई स्वागत गर्न गयो। माइजनलाई कुर्सीमा बसाएर ऊ आफू भुइँमै बस्यो।
‘एकटा बात ठिक भेलौ कि थाना फौजदारी पहिने मिला लेला। गौवा सब जरे हम बात कर लेने छियौ एक बेर। सबके राय विचार एके जेहन रहलौ, थाना फोजदारी मिले गेल छै तब कोइ बढ्का बात नै रहगेलौ। ई आब आपसके बात रैह गेलौ...’ बोल्दाबोल्दै माइजन चुप लाग्यो। घाँटी खसखसाएको गरी एकक्षण खकार्याे अनि भन्यो, ‘मगर एकटा बात। पञ्चायतीके खर्चा महावीर जरे नै माँगिह्या।’
‘हमहुँ अपना मनमे यहा विचार केने रहियै।’
‘तब त ठिके छौ। आदमी सबके कखनो बोलौने छे? आब खबर कर ग।’
पाण्डव मरिकले आफ्ना चारै छोराहरूलाई डाक्यो। मान्छेहरूलाई खबर गर्न जान भन्यो।
‘रे सुन्।’ माइजनले पाण्डवका छोराहरूलाई भन्यो, ‘महावीरके घरे तु सब नै जिहै। ओकर भतिजाके हम कहने छियै। ओकरे जाक भेटिहे। ओहे बोलाक लौतै।’
OOO
असनपुरबाट बसाइँ सरेर घुरहु महतो गोलबजारमा घर बनाउन पुग्यो। त्यहीं उसकी आमाको मृत्यु भयो। असनपुर र गोलबजारको दुवैका लागि लाश जलाउने ठाउँ गागन खोला नै थियो। आगो दिनका लागि घुरहु महतोले महावीर मरिकलाई बोलाउन पठाएको थियो। महावीर मरिकलाई मात्र थाहा थियो कि गोलबजार उसको जिम्दारीभित्र पर्दैन। घुरहु महतो गोलबजारको भइसकेको थाहा थिएन। ऊ सीधै गागन पुग्यो। असनपुरबाट बोलाए जसरी नै ऊ गएको थियो।
आमाको काजकिरिया सकेपछि घुरहु महतोले महावीरलाई जे जे दियो, त्यति कुरा अहिलेसम्म कुनै डोमले पनि पाएको थिएन। अरूले त मृतकका लुगाफाटा र केही रुपैयाँ दिएरै टाल्थे। मरण–हरण भएकोमा उनीहरू खासै अडान पनि लिँदैनथे। विवाहहरूमा भने अडेर असुल्थे।
आमाको काजकिरिया सकेपछि घुरहु महतोले महावीरलाई जे जे दियो, त्यति कुरा अहिलेसम्म कुनै डोमले पनि पाएको थिएन। अरूले त मृतकको लुगाफाटा र केही रुपैयाँ दिएरै टाल्थे। मरण–हरण भएकोमा उनीहरू खासै अडान पनि लिँदैनथे। विवाहहरूमा भने अडेर असुल्थे।
घुरहुले उसकी आमा सुत्ने पुरानो सखुवाको काठको ठूलो पलङ, बाकससँगै आमाको नाक र कानको सुन र दश हजार रुपैयाँ दिएको थियो। त्यो काठको अहिलेको र सुनको मूल्यसमेत गर्दा लाखभन्दा बढीको सम्पत्ति महावीरले पाएको थियो। घुरहु महतोका आफन्तहरूले समेत कुरा काटेका थिए। डोमहरूमा त्यो खबर डढेलो जसरी नै फैलिने भइहाल्यो। महावीरले त चिताएकै थिएन।
सुरुमा त मरण–हरणका लागि मात्र हो भनेर पाण्डव र उसका छोराहरूले खासै वास्ता गरेका थिएनन्। जब महावीरले पाएको सम्पत्तिको चर्चा पूरै गोलबजारभरि हुन थाल्यो, उनीहरू सबैलाई भित्रभित्रै पोल्न थाल्यो।
‘कहने रह्यिै जाउ यैइ, त सबके गोरमे रहे लकवा माइर देने। आव ठिक भेल ने ? गाउँ केकरो? जिम्दारी करे कोई?’ पाण्डव मरिककी स्वास्नीले पोलाइलाई झनै चर्को बनाई।
‘तुहों आब हमर मथ्था नै खो। जायछियै काइल गफ कर। आब ऊ कथि कहै छै तब ने किछो करबै? ओहनाहिते के ना छोरबै? पञ्चायती बैठाब परतै त बैठेबै कि।’ पाण्डवले भन्यो।
OOO
पाण्डव मरिक र उसका छोराहरू पुग्दा महावीर सुँगुरहरूलाई खोरमा हुलिरहेका थिए। बिरजु बाँस ताछ्दै थियो। उनीहरूले खोरनजिकै महावीरलाई घेरे। बाँस ताछ्न छोडेर बिरजुले उनीहरूको गतिविधि हेर्न थाल्यो।
‘रे महावीर, जब बुझहै छेलही ई तोहर जिम्दारीमे नै छेलौ त तु आइग दैला केनँ चैल गेलही?’ कुरा पाण्डव मरिकले आफै कोट्यायो।
‘तोरा मालुम रहौ त आव परै छेलौ ने? वेहा दिन चैल एैता।’
महावीरलाई थाहा थियो कि घुरहुले दिएको सम्पत्तिकै कारणले यिनीहरू आएका हन्। मुखभरि जबाफ पाएपछि पाण्डव चुप लाग्यो।
‘ओना नै हो त। पञ्चायती बैठब तब तोरा मालुम हो त?’ पाण्डवको कान्छो छोराले सन्किँदै भन्यो।
‘त एते दिनसे कथि पकरै छेलही? बापके...?’ पञ्चायतीको नाम सुनेर महावीर झनक्क भयो।
पाण्डव मरिकको कान्छो छोराले महावीरलाई धक्का दिइहाल्यो। कुरा भइन्जेल त बिरजु हेरेरै बसेको थियो। बुवालाई धक्का दिएपछि भने सहन सकेन। दौडँदै आयो र उसले पाण्डवको कान्छो छोरालाई धकेलेर हुत्याइदियो। तब पाण्डवका बाँकी छोराहरू बिरजुमाथि जाइ लागिहाले।
पाण्डव मरिकको कान्छो छोराले महावीरलाई धक्का दिइहाल्यो। कुरा भइन्जेल त बिरजु हेरेरै बसेको थियो। बुवालाई धक्का दिएपछि भने सहन सकेन। दौडँदै आयो र उसले पाण्डवको कान्छो छोरालाई धकेलेर हुत्याइदियो। तब पाण्डवका बाँकी छोराहरू बिरजुमाथि जाइ लागिहाले।
झगडा हुने कल्पना त पाण्डव स्वयंले गरेको थिएन। आवेशमा कोही कसैले केही सुनेन। न पाण्डवका कुरा उसका छोराहरूले सुने, न त महावीरको कुरा बिरजुले नै सुन्यो। बिरजु कुटिन थालेपछि उसकी आमा फुलियाले चिच्याउँदै गाउँ गुहार्न थालिन्। कसो कसो बिरजु त्यहाँबाट उम्कियो। ऊ बाँस काट्ने कट्टी लिएर दौडँदै आयो। कट्टी देखेपछि पाण्डवका छोराहरू भागाभाग भए। बस, पाण्डव मरिक मात्रै त्यहाँ रह्यो। बिरजु कट्टी लिएर पाण्डवतिरै बढ्यो। नजिकै गएर कट्टी उज्याउँदै ऊ करायो– ‘भागबे अइजसे काइट दियौ तोरो...’
बिरजुले यति भन्दाभन्दै पाण्डवको ठूलो छोराले इँटाले बिरजुको टाउकोमा पछाडिबाट हिर्काइहाल्यो। बिरजुले ‘अइया’ पनि भन्न पाएन। ऊ त्यहीं ढल्यो।
रिस र आवेगको आँखा हुँदैन। हुन्थ्यो भने त पाण्डवको जेठो छोराले त्यसरी हिर्काउने नै थिएन। गर्दनभन्दा माथि, टाउकोभन्दा अलि तल जहाँ खप्परको भाग र मेरुदण्ड जोडिन्छ, जहाँ सुषुम्ना हुन्छ। बिरजुलाई त्यहीँ लागेको थियो। रगत बग्न थालेपछि महावीर जोडले चिच्याउँदै बिरजुतिर बढ्यो। पाण्डवको जेठो छोरा आत्तिएर त्यहाँबाट भागिहाल्यो। पाण्डव र अरू छोराहरू भने भागेनन्।
‘हे महावीर, पहिने एकरा जल्दी अस्पताल लचल।’ पाण्डवले भन्यो।
महावीरको दिमागले काम गर्नै छोडेको थियो। अस्पतालको कुरा त उसले सोचेकै थिएन। पाण्डवले नै आफ्ना बाँकी छोराहरूलाई बोक्न लगाएर अस्पताल पुर्यायो।
अहेब रामचन्द्र यादव अस्पतालकाे इन्चार्ज थियो। उसले उनीहरूलाई परैबाट देख्यो। त्यहीँकाे जयराम चौधरी कम्पाउन्डर थियो। रामचन्द्रकै निर्देशनमा जयरामले उनीहरूलाई अस्पतालको माथि चढ्न दिएन। अगाडिको चौरमा रहेको चौतारामै राख्न लगायो। जयरामलाई नै के भएको छ भनेर हेर्न भन्यो।
‘पछाडिसे कपारमे चोट है हजुर। लगै है खुन बहुते बहल है।’ जयरामले अवस्था बतायो।
‘जो घाउके साफ कैरके पट्टी लगा दिहे।’ रामचन्द्रले केही बेटाडिन, कपास र बाँध्नलाई पट्टी दिँदै जयरामलाई अह्रायो। आफू त हेर्नसमेत गएन।
जयरामले घाउ सफा गर्दागर्दै बिरजुका दाँतहरू कटकटाए।
‘हौ बाऊ, दाँती लगैहै।’ पाण्डवको छोरा चिच्यायो।
जयराम आत्तियो। रामचन्द्र दौडँदै नजिक गयो।
‘साहेब, दाँती लैग गेलै ओकरा। लगैहै मगजमे चोट लगल है।’ जयरामले भन्यो।
रामचन्द्र आत्तियो। पाण्डवका छोराहरू दाँती खुलाउन लागिपरेका थिए, सकिरहेका थिएनन्। रामचन्द्रले हतारहतार उनीहरूलाई हातको कैंची दियो। बिरजुको दाँतभित्र जबर्जस्ती कैंची छिराएर उसको दाँती रोकियो। रामचन्द्रले आँखा खोल्न भन्यो। आँखा रगताम्मे भएजसरी राता थिए।
रामचन्द्र आत्तियो। पाण्डवका छोराहरू दाँती खुलाउन लागिपरेका थिए, सकिरहेका थिएनन्। रामचन्द्रले हतारहतार उनीहरूलाई हातको कैंची दियो। बिरजुको दाँतभित्र जबरजस्ती कैंची छिराएर उसको दाँती रोकियो। रामचन्द्रले आँखा खोल्न भन्यो। आँखा रगताम्मे भएजसरी राता थिए। उसले बिरजुलाई पल्टाउन लगायो। चोट हेर्यो। यसबेलासम्ममा आफूले भने एक पटक पनि छोएन।
‘मगजके चोट हौ। अइज नै समहरतौ। एम्बुलेन्स कैरके धरान नैत विराटनगर जल्दी लजो।’ यति भनेर रामचन्द्र त्यहाँबाट हिँड्यो।
एम्बुलेन्स कहाँ पाइन्छ? कसरी बोलाइन्छ? रामचन्द्रले केही बताएन। पाण्डव मरिकले आफैं जयरामसँग बुझ्यो। जयरामले ‘धमिनी नर्सिङ होम’मा पाउन सक्छ भनेपछि पाण्डवले छोरालाई पठायो।
आधा घण्टापछि मात्रै पाण्डवको छोरा फर्क्यो। एम्बुलेन्सको ड्राइभरले उनीहरूलाई लग्नै मानेन। बिरजुले दुई पटक रगतको बान्ता गर्यो। अस्पताल थर्किने गरी फुलिया रोइरहेकी थिइन्।
अरू दुईचार गाउँका डोमहरू भेला भए। प्रहरीहरू आए। सबैका अगाडि बिरजुले आफ्नो अन्तिम सास छोडेर बन्द गर्यो।
प्रहरीले पाण्डव लगायत अरू सबै छोराहरूलाई समातेर लग्यो। महावीर, फुलिया र अरू डोमहरूले बिरजुको लाशलाई त्यहाँबाट लिएर गए।
सबै घटना थाहा पाएपछि माइजन आफैं विसनाथलाई भेट्न गएको थियो। उसैले थानामा सईलाई यो उनीहरूको निजी र जातिगत मामिला हो भनेर मनायो। त्यहाँको सामाजिक संरचनाको पाठ पढायो। पाण्डवलाई भनेर पैसासमेत दिन लगायो। कुरा सल्टियो। पाण्डव र उसका छोराहरू थानाबाट निस्किए।
OOO
‘काका पञ्चायती सुरु होव लगलै। सब कोई चैल आइल है। सब तोरे पेरा ताकै ह।’
महावीर असोरामै अडेस लागेर निदाएको थियो। सपनामा बिरजुलाई नै देखेको थियो होला। भतिजोको आवाज सुनेपछि झस्कियो। भतिजोलाई देखेर उसका आँखाबाट आँसु झर्न थालिहाले।
‘बेटा त खेलकै हमर। कहिया हमरें सबके खाजो।’ फुलिया जागै थिइन्। पाण्डव मरिकका छोराहरू बोलाउन आएको आभास हुनासाथ डाँको छोड्दै चिच्याइन्।
महावीरले रुन्चे आँखाले फुलियालाई हेर्यो। गम्छालाई झट्कार्दै धुलो टकटकायो। काँधमा हाल्यो अनि भतिजको पछि लाग्यो।
मान्छेहरू भेला भइसकेका थिए। सबैले मलहानको पत्तामा मासु–चिउरा खाइरहेका थिए। सबैको अगाडि गिलास भरिभरि रक्सी थियो। कोही कोही त मातिसकेका नै थिए। माइजन आफैं उठेर नजिक आयो र महावीरको हात समात्दै आफ्नै अगाडि बसायो।
मान्छेहरू भेला भइसकेका थिए। सबैले मलहानको पत्तामा मासु–चिउरा खाइरहेका थिए। सबैको अगाडि गिलास भरिभरि रक्सी थियो। कोही कोही त मातिसकेका नै थिए। माइजन आफैं उठेर नजिक आयो र महावीरको हात समात्दै आफ्नै अगाडि बसायो। पाण्डवको एउटा छोराले पातमा मासु लिएर आयो। महावीर भक्कानिएर रुन थाल्यो।
पञ्चायती सुरु भयो। घटनाको बेलिबिस्तार पाण्डव मरिकले गर्यो। इँटाले प्रहार गर्ने उसका जेठा छोरा अगाडि उभ्याइयो। घटनाको विषयमा महावीरसँग सोधियो। ऊ बोल्न सक्ने अवस्थामै थिएन। न त उसले पाण्डवले के भन्यो भन्ने नै सुनेको थियो। ऊ त उपस्थिति जनाउन मात्र आएको थियो।
‘महावीर भाइ, यते कोई आयल है। किछो त कही।’ माइजनले भन्यो।
‘हमर जवान बेटा मैर गेलै। हम कथि कहु?’ महावीरले भन्यो।
अब महावीरलाई कसैले केही सोधेन। वातावरण निकै बोझिल भयो।
‘अइज उपस्थित सभे कोई अपने पञ्च छियै। घटना सबके मालुके छियै। आव अई विषयमे केक्तो फरक विचार ह्या त कहल जाऊ! मुदा ई घटनाके कारण सब हमरे अहँ भि छियै। आ एकर फैसला हमही अहँ सबके कर परत।’ माइजनले भन्यो।
पञ्चायती धेरै लम्ब्याउन ठीक थिएन। सबै कुराहरू लगभग तय नै थियो। पाण्डव र उसका छोराहरूको नियत बिरजुको हत्या गर्ने थिएन। अर्काको जिम्दारी गएर काम गर्ने गल्ती महावीरकै थियो। नहुनुपर्ने घटना भयो, जुन फर्केर आउन सक्दैनथ्यो। सबैले यो घटनाबाट पाठ सिक्नुपर्ने भन्दै माइजनले पञ्चायती टुङ्गायो। अन्त्यमा ‘कसैलाई केही भन्नु छ?’ भनेर सोधेको थियो, तर कसैले केही बोलेन। सबैले माइजनकै कुरामा सहमति जनाए।
मान्छेहरू हिँड्न थाले। भतिजोले कोट्याएपछि महावीर झस्कियो।
‘पञ्चायती सइठ गेलौ नै?’ महावीरले भतिजसँग सोध्यो।
भतिजो बोलेन, उसले टाउको मात्रै हल्लायो।
महावीर उठ्न खोज्दा लडखडायो। भतिजोले उसलाई सम्हाल्यो। उसले उसरी नै गम्छा टकटकायो। उसरी काँधमा राखेर ऊ हिँड्यो। माइजन र पाण्डव त्यहीं थिए, उसले कसैलाई केही सोधेन। बरु सबैले अपराधीले झैं महावीरलाई नै निकैबेरसम्म हेरिरहे।
(२७ चैतमा विमोचन हुन लागेकाे श्याम साहको कथासंग्रह ‘पथेर’बाट।)