६० वर्षअघिको त्यो सुदूरपश्चिम
राजा महेन्द्रले १ पुस २०१७ मा ‘कू’ गरेपछि त्यतिबेलाका सांसदलाई बडाहाकिम बनाएर विभिन्न जिल्ला पठाएका थिए। म २०१८ सालमा जनगणनाका लागि सुदूरपश्चिम जाँदा प्रायः जिल्लामा पूर्वी नेपाल घर भएकाहरू बडाहाकिम थिए।
जनगणनाका लागि म चैत २०१७ मा कैलालीको कोलमुडा पुगेको थिएँ। २०१८ सालमा छैटौँ जनगणना हुँदै थियो। हाम्रो १४ जनाको समूह थियो।
कैलालीमा असाध्यै बाघ लाग्थ्यो। त्यसमाथि जंगलमा सुत्नुपर्ने भयो। राति सुतेको बेला बाघले नझम्टोस् भनेर तीन चार ठाउँमा आगो बालेर सुतियो। आगो बालेपछि बाघले झम्टँदैन भन्ने सुनेका थियौँ।
तराई भएर पनि कैलालीमा मोटरबाटो थिएन। कच्ची सडक त के कति ठाउँमा भरपर्दो गोरेटोसमेत थिएन। डोटी, बझाङ, अछाम, बाजुरा, डडेल्धुरातिरका मान्छे घ्यू बेच्न र नून, मसला तथा कपडा किन्न धनगढी आउँथे।
कैलालीका बडाहाकिम ताराप्रसाद उपाध्याय थिए। २०१५ सालको प्रतिनिधि सभा निर्वाचनमा गोर्खा परिषद् पार्टीको उम्मेदवार भएका उनी क्षेत्र नं. ५५ चिसापानी इलाका मकवानपुरबाट ८,९७३ मत ल्याई विजयी भएका थिए। रूपचन्द्र विष्ट पनि त्यही क्षेत्रमा प्रत्याशी थिए। उनले जम्मा ४९५ मत पाएका थिए।
२०१७ सालमै राजा महेन्द्रले संसदीय व्यवस्था भंग गरी पञ्चायती शासन लागू गरेपछि पूर्वसांसदहरूलाई विभिन्न पद दिइयो। दलीय व्यवस्था कमजोर पार्न यस्तो रणनीति अपनाइएको थियो। त्यही क्रममा ताराप्रसाद बडाहाकिम भएका थिए।
बडाहाकिम पद निकै शक्तिशाली मानिन्थ्यो। २०१७ सालसम्म धनगढीमा जम्मा दुई वटा पक्की घरमध्ये एउटा बडाहाकिमको र अर्को झ्यालखाना थियो। उपाध्यायसँग मेरो घुमाउरो नाता पनि पर्थ्याे।
हामी धनगढीबाट डोटीको सदरमुकाम सिलगढी जानुपर्ने थियो। धनगढीबाट सिलगढी पुग्न नौ दिन लाग्यो। हामीले चार जना भरिया खोज्यौँ। गेटासम्म लहरी जाँदो रहेछ। बडाहाकिमले खोजिदिएको लहरीमा गेटा पुगेर बास बस्यौँ। भोलिपल्ट कोलमुडा पुगियो। त्यहाँ जंगलको बास भयो।
बाटोमा खाना र बासकै समस्या
त्रिभुवन राजपथ खुलिसकेकाले हामी १४ जना बसबाट रक्सौलतर्फ जाँदै थियौँ। पहिरोले सडक अवरुद्ध रहेछ। एउटै कम्पनीका दुई वटा बस पहिरो वारि र पारि भएछन्। हामीलाई उताको बसमा चढाएर रक्सौलतिर लगे। उताका यात्रीलाई यताको बसले काठमाडौँतिर ल्यायो।
त्यतिबेला मेरा साथी रूपचन्द्र विष्ट त्रिभुवन राजपथमा ट्रक चलाउँथे। उनले हाम्रो झिटीगुन्टा उताको बसमा पुर्याइदिएर सहयोग गरे। हामीलाई गुन लाए।
त्यतिबेला मेरा साथी रूपचन्द्र विष्ट त्रिभुवन राजपथमा ट्रक चलाउँथे। उनले हाम्रो झिटीगुन्टा उताको बसमा पुर्याइदिएर सहयोग गरे। हामीलाई गुन लाए।
भारतको रक्सौलबाट रेल चढ्नुपर्थ्याे। भारतीय रेलमा प्रथम, दोस्रो र तेस्रो श्रेणी थियो। म ‘अफिसर’ भएकोले प्रथम श्रेणीमा यात्रा गर्न पाउँथें। तर, हाम्रो टोलीका खरदारले सबै सरकारी सामान र गुन्टा तेस्रो श्रेणीमा मेरो नाममा बुक गराएछन्। यस्ता कुरामा बुद्धि पुगेन। अन्ततः मेरो प्रथम श्रेणीको रेलयात्रा तेस्रो दर्जाको भयो।
अर्को रोचक घटना गेटामा भयो। चौधरीको घरमा बास बस्यौँ। टोलीमा एक जना बाहुन थिए। उनी अरूले छोएको भात नखाने। धोती फेरेर आफैं पकाउँदै थिए। घरबेटी थरुनीले आगो बलेन भनेर दाउरा मिलाइदिइन्। धोती फेरेर भात पकाउने बाजे जिल्लाराम! बेस्सरी हाँसे र त्यही भात खाए। भोलिपल्टदेखि भान्छाको छुवाछूत हट्यो।
त्यत्रो टोलीको लागि खाना पकाउने भाँडा पाइँदैनथ्यो। त्यसकारण दाल, तरकारी पकाउने ठूलो डेक्चीसहित भाँडा धनगढीमै किनेर लगेका थियौँ। खाना खाने रेस्टुराँ, होटेल कतै थिएनन्। एक छाक खानका लागि पनि सामान बोक्नैपर्थ्याे।
कति ठाउँमा बास पाइने, गाँस नपाइने। कति ठाउँमा त बासै जंगलको। बाटामा चार भरियासहित १८ जनाको भान्सा हुन्थ्यो। मैले २०१८ सालको जनगणना यसरी नै गराएको थिएँ। ती दिन अहिले सम्झँदा आफैँलाई पत्याउन गाह्रो हुन्छ।
‘नत्र कसरी हुन्छ छोराको बिहे?’
जनगणनामा तथ्यपूर्ण विवरण संकलन गर्ने मुख्य जिम्मा गणकको हुन्छ। गणकले घरपरिवार विवरण फाराम र व्यक्तिगत फाराम भर्दा एक जना बराबर चार पैसा पाउँथे। तर, जिम्मेवार गणक पाउनै मुस्किल। ‘चार पैसो त हो नि!’ भनी एक जना मात्रको विवरण भरेर बाँकी परिवारको विवरण लिएनन् वा ‘चारचार पैसो पो आउँछ’ भनी परिवार संख्या बढाए भने शुद्घ लगत नआउने हुन्थ्यो।
गाउँका स्कूलका शिक्षकलाई गणकमा नियुक्त गरिएको थियो। दार्चुलाको व्यास, गर्खाको नाबी, बुँदीतिर स्कूल पनि नभएकाले बेँसीका स्कूलका शिक्षकलाई फकाएर लानुपर्थ्याे। २०१८ सालमा स्कूलको संख्या नै साह्रै कम। खरदार र मुखियाले निकै परिश्रम गरी गणक खोजेका थिए।
गाउँका स्कूलका शिक्षकलाई गणकमा नियुक्त गरिएको थियो। दार्चुलाको व्यास, गर्खाको नाबी, बुँदीतिर स्कूल पनि नभएकाले बेँसीका स्कूलका शिक्षकलाई फकाएर लानुपर्थ्याे। २०१८ सालमा स्कूलको संख्या नै साह्रै कम। खरदार र मुखियाले निकै परिश्रम गरी गणक खोजेका थिए।
तथ्यांक संकलनको एउटा अर्को घटना पनि उल्लेखनीय छ। कृषि गणना भएको कुनै वर्ष हो, ठ्याक्कै बिर्सें। पर्वतको फलेबास गाउँ राम्रो धान खेती हुने ठाउँ हो। कृषि गणनाका गणक एक घरमा गए। हुनेखानेको घर रहेछ। त्यही घरमा गाउँकी विपन्न महिला ज्यालामा काम गर्न आएकी रहिछन्। उनको घरको मूली नै उनै रहिछिन्।
उनको घरको कृषि तथ्यांक पनि त्यहीँ लिने सल्लाह भएर गणकले फाराम भर्न थालेछन्। ‘धान कति हुन्छ’ भन्ने प्रश्नमा ती गृहिणीले आठ मुरी भनिछिन्। तथ्यांक टोली गएपछि त्यो घरको कसैले सोधेछ, “भाउजूको खेतै छैन, किन आठ मुरी धान हुन्छ भनी लेखाउनुभएको?’
भाउजूले भनिछिन्, ‘नलेखाएर के गर्ने त? छोराको बिहे गर्नु छ। एक गेडा पनि धान हुँदैन भन्यो भने कसले दिन्छ छोरी?’ तथ्यांकलाई मानिसहरू यसरी पनि बुझ्थे।
बजारको नाम असन, इन्द्रचोक!
हामी कोलमुडाबाट बास बस्न बयला पुग्यौँ। खारबाट जोरायल, दिपायल हुँदै सिलगढी पुगिन्थ्यो। सिलगढी ढुङ्गा धेरै भएको ठाउँ रहेछ। ठाडो उकालोमा ढुङ्गा छापेको बाटोमा। घरहरूको गारो र छानु पनि ढुङ्गाकै।
दक्षिण–पश्चिम फर्केको लामो बजार। बजारमा असन, इन्द्रचोक भन्ने ठाउँ रहेछन्। बजारको बीचमा झ्यालखाना। डिठ्ठाको ठूलो पसल पनि। त्यहाँ हरेक सामान पाइन्थ्यो। काठमाडौँमा अहिलेको विशाल बजारजस्तो। त्यहीँ नजिक एउटा घर पाइयो। जनगणनाको कार्यालय राख्न र हाम्रो टोली बस्न मिल्ने, ठूलो घर थियो।
त्यो घर चार महीनालाई भाडामा लियौँ। अनि काम शुरू भयो। विभिन्न क्षेत्रका खरदार आवश्यक फाराम र कागतपत्र लिएर खटिएका ठाउँतिर गए। लेखा हेर्ने खरदार धर्मनाथ गजुरेल, म र सुशीला त्यहीँ बस्यौँ। मसँग सुशीला पनि गएकी थिइन्।
हामी पुगेको केही दिनपछि बडाहाकिम भएर मक्करबहादुर बान्तवा आइपुगे। उनी कडा स्वभावका थिए। धनगढीबाट सिलगढीमा सहायक बडाहाकिमसँग कुरा गरेछन्। बान्तवाले आकाशवाणीबाट चर्को स्वरमा कुराकानी गरेकाले सिलगढी बजार सन्न! ‘नयाँ बडाहाकिम निकै कडा रहेछ, आकाशवाणीमा त यसरी कड्केर कुरा गर्छ’ भनेर बजारका जाली फटाहा थर्कमान भएछन्।
बडाहाकिम बान्तवा सिलगढी आइपुगेपछि मलाई त्यहाँ देखेर छक्क परे। उनी भक्तपुरमा मेजिस्ट्रेट भएर काम गरिसकेकाले मलाई चिन्थे।
हिँडेरै पहाडी जिल्लाहरू घुमें
शाखा अधिकृतको मासिक तलब रू.२२५ थियो। मेरो पद शाखा अधिकृत सरह थियो। अनि रू.२२५ नै ‘फिल्ड’ भत्ता थियो।
मैले श्रीमती सुशीलालाई सगरमाथा संवाद समितिको प्रतिनिधि बनाएर लगेको थिएँ। बडाहाकिमहरूको अन्तर्वार्ता लिएर पठाउँथ्यौँ। काठमाडौँका अखबारहरूमा छापिन्थ्यो। केही त रेडियो नेपालले पनि भन्थ्यो। अरू जिल्लाका बडाहाकिमहरूको खबर नआउने, म गएका जिल्लाको खबर आउने।
म पनि जनगणनाकै लागि अन्य जिल्लातर्फ हिँडें। मसँग दुई जना सहायक थिए। डडेल्धुरामा खरदार रामप्रसाद पौडेललाई भेटेँ। भएका कामको रिपोर्ट लिएँ, गर्नुपर्ने काम अह्राएँ। बडाहाकिम देवेन्द्रबहादुर तुम्बाहाम्फेलाई भेटेँ। उनी पूर्व तेह्रथुमका थिए। मलाई देखेर खुशी भए।
त्यहाँबाट बैतडीतिर लागेँ। त्यहाँ पनि खरदारलाई भेटेर कामबारे छलफल गरेँ। बैतडीमा बडाहाकिम सत्यनारायण झा थिए। झा प्रजापरिषद् समानान्तरका नेता थिए। राम्रो चिनजान थियो। उनले जनगणनाबारे रुचिपूर्वक सोधे।
मैले श्रीमती सुशीलालाई सगरमाथा संवाद समितिको प्रतिनिधि बनाएर लगेको थिएँ। बडाहाकिमहरूको अन्तर्वार्ता लिएर पठाउँथ्यौँ। काठमाडौँका अखबारहरूमा छापिन्थ्यो। केही त रेडियो नेपालले पनि भन्थ्यो। अरू जिल्लाका बडाहाकिमहरूको खबर नआउने, म गएका जिल्लाको खबर आउने। त्यसैले मसँग खुशी थिए।
बैतडीबाट भारतको पिथौरागढ धार्चुला हुँदै दार्चुला गएँ। खरदार ऋषिराज द्विवेदी व्यास, गर्खातिर गएका रहेछन्। भेट भएन। दार्चुलाबाट बझाङ गएँ। खरदार खड्गबहादुर पनि फिल्ड गएकाले भेट भएन। बझाङको सत्यवादी हाइस्कूलका प्रधानाध्यापक भारतीय नागरिकलाई भेटेको थिएँ। उनको नाम राम दत्त भएजस्तो लाग्छ। त्यतिबेला नेपाली शिक्षक नपाइने हुनाले भारतीयहरू पढाउन आउँथे।
थलारा र खप्तडको फेदी हुँदै १५ दिनमा सिलगढी फर्कें। अब डोटीको दक्षिण बोक्टानतिर खरदार भेट्न गएँ। त्यता पनि काम सञ्चालन भइरहेको रहेछ। बोक्टानबाट अर्का खरदार भेट्न गढाशिरा गएँ।
२०१८ सालमा सुदूरपश्चिम निकै विपन्न थियो। पढेलेखेका मान्छे कम थिए। प्रायः घरहरू कच्ची थिए। टिनको छाना भएका सेता घर भेटिए भने ती स्कूल हुन्थे।