कोरोना कहरबीच सगरमाथातिर आरोही
कोरोना महामारीले एक वर्ष ठप्प भएको आरोहण वसन्तयामको शुरूआतसँगै पुनः लयमा फर्किन लागेको छ। आरोही, पदयात्री, गाइड र सहयोगीको आगमनसँगै नाम्चेबजार गुल्जार बन्न थालेको छ।
सगरमाथा आरोहणका लागि प्रवेशद्वारका रूपमा रहेको सोलुखुम्बुको नाम्चे बजार बिस्तारै गुल्जार बन्न थालेको छ। कोभिड–१९ को महामारीका कारण एक वर्ष ठप्प रहेको पर्यटन क्षेत्रमा चहलपहल बढेसँगै नाम्चे बजार पनि पुरानै लयमा फर्किन लागेको हो।
सगरमाथा आधारशिविर प्रस्थान गर्नुअघि संसारभरका आरोही नाम्चे बजारमा रोकिने गरेका छन्। ३५०० मिटरभन्दा माथिको उचाइमा अभ्यस्त हुन पनि एक–दुई दिन नाम्चे बजारमा बस्ने गरेका छन्।
वसन्तयामको आरोहणको शुरूआत भने सहज बन्न सकेको छैन। तराई–मधेसको जंगलमा आगलागी हुँदा काठमाडौं लगायत पहाडी क्षेत्रमा बाक्लो तुवाँलो लाग्दा उडान नियमित हुन सकेका छैनन्। सिनित्त देखिने आमादब्लम र सगरमाथा पनि तुवाँलोमा छोपिएका छन्।
नाम्चेमा बस्दा धेरैजसो आरोही तथा पर्यटक स्याङ्बोचेस्थित एभरेस्ट भ्यू होटल पुग्ने गर्छन्। उनीहरू साँझ फेरि नाम्चे नै फर्किन्छन्। उच्च हिमाली क्षेत्रको हावापानीसँग अभ्यस्त गराउन पदयात्रा गर्दै आएका छन्।
महामारीका कारण बन्द रहेको खुम्बु क्षेत्र कात्तिकबाट मात्रै खुला गरिएको छ। सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अनुमति दिएसँगै खुम्बु क्षेत्र पनि पर्यटकको स्वागत गर्न तयार भएको हो।
महामारीले गर्दा पर्यटकको आगमन भने घटेको छ। सन् २०१९ मा ११ लाख पर्यटक नेपाल भित्रिएका थिए। तर, सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै आए। यो पनि सरकारले गत चैतमा बन्दाबन्दी गर्नुअघिको संख्या हो। सन् २०२१ को पछिल्लो तीन महीनामा पनि ३५ हजार पर्यटक मात्रै नेपाल भित्रिएका छन्।
तैपनि, वसन्तयामको शुरूआतसँगै खुम्बु क्षेत्रमा भने आरोही र पदयात्रीको चहलपहल बढेको छ। यो याममा सगरमाथा आरोहणका लागि १६७ आरोहण दलले अनुमति पाएका छन्। त्यस्तै, ल्होत्सेका लागि ३९ र नुप्सेका लागि २३ आरोहण दलले अनुमति पाएको पर्यटन विभागले जनाएको छ। आरोहीसँगै गाइड र सहयोगी ७०० जना आधारशिविर पुग्नेछन्।
जसले गर्दा वसन्तयामको शुरूआतसँगै नाम्चे बजार गुल्जार बन्न थालेको हो। महामारीले गर्दा पसल बन्द गरेर काठमाडौं गएका व्यवसायी पनि फर्किएको नाम्चे बजारमा पसल सञ्चालन गरिरहेका सोनाम नोर्बु बताउँछन्। “मैले पसल खोलेको पनि २० दिन भयो। कोरोनाका कारण पसल बन्द गरेर काठमाडौं गएकाहरू पनि फर्किसकेका छन्,” उनी भन्छन्।
प्रायः सगरमाथा क्षेत्रमा पुग्ने आरोही र पदयात्रीका लागि आराम गर्ने स्थल नाम्चे बजार हो। केही आरोही खुम्बु आइसफलतिर लागिसकेका छन् भने केही आउने क्रम जारी छ।
सरकारले जारी गरेको क्वारेन्टिन र कोरोना परीक्षण नीतिका कारण पर्यटक पनि अलमलमा परेका हुन्। गत महीना मात्रै खोप लगाएका पर्यटकले क्वारेन्टिनमा बस्नु नपर्ने र ‘अन अराइभल’ भिसा दिने व्यवस्था गरेपछि केही सहज भएको छ।
त्यसैले नाम्चे पुग्ने आरोही र पदयात्रीको संख्या बढ्दै गएको छ। गत वर्षभन्दा यो वर्ष नाम्चे शान्त रहेको स्थानीय बताउँछन्। कोभिड–१९ को दोस्रो लहरको जोखिम र तराई–मधेसका जंगलमा भइरहेको आगलागीले भने यहाँका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई चिन्तित बनाएको छ।
अहिले देशका मुख्य शहरहरू वायु प्रदूषणको मारमा छन्। केही दिनदेखि वायुको प्रदूषणको स्तर घातक रहँदै आएको छ।
तथापि, नाम्चेका व्यवसायी सोनाम नोर्बु पर्यटन क्षेत्र पुरानै लयमा फर्किन थालेको बताउँछन्। महामारीले थला परेको देशको अर्थतन्त्रलाई पनि पर्यटन क्षेत्रले पुनर्जीवन दिने उनको विश्वास छ।