माथिल्लो तामाकोशीको पहिलो युनिटबाट वैशाखभित्र बिजुली उत्पादन हुने
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना वैशाख अन्तिमबाट सञ्चालनमा आउने भएको छ।
वैशाख दोस्रो साता परीक्षण शुरू गरेर वैशाख अन्तिमसम्ममा आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले बताए। तामाकोशीमा ७६/७६ मेगावाटका ६ वटा युनिट छन्। पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकीबाट क्रमश: उत्पादन हुनेछन्।
अहिले बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसन लगायत संरचनाका सिभिल र मेकानिकलतर्फका अन्तिम चरणका काम धमाधम भइरहेको कम्पनीले जनाएको छ। आयोजनाको माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक भनिने पाइप जडान अन्तिम चरणमा पुगेको छ। बाँकी काम सम्पन्न गरी वैशाखको दोस्राे हप्ताबाट प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ।
मुख्य निर्माणअन्तर्गत बाँध, सुरुङ, विद्युत्गृह लगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरेका थिए। उनले आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरूसँग संयुक्त रूपमा बाँकी रहेका काम शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिकाबारे छलफल गरे।
बाँकी काम आगामी १० वैशाखभित्र सम्पन्न गरी ११ वैशाखबाट पानी पठाएर मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरू गर्ने र बढीमा ९ दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। “भूकम्प, बाढीपहिरो, महामारीजस्ता विभिन्न समस्या झेल्दै आएको आयोजनाबाट अब विद्युत् उत्पादन शुरू गर्न सक्ने अवस्थामा पुर्याएका छौं,” प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, “चालू आर्थिक वर्षभित्रमा सबै युुनिटबाट ४५६ मेगावाट नै विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य छ।”
२०७२ सालको विनाशकारी भूकम्प, बाढीपहिरो, नाकाबन्दी, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट-२) ठेकेदारको कमजोर कार्यसम्पादन लगायत तथा महामारीले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको थियो। एक दशकअघि निर्माण शुरू गरिएको यो आयोजनामा रू.७५ अर्बभन्दा धेरै खर्च भइसकेको छ।