‘सफाइप्रति सहरकै बासिन्दा सचेत देखिंदैनन्’
नेपाल–भारतको सिमानास्थित झापाको मेची पुलबाट ४ वैशाखमा सुरु भएको मेची–महाकाली सफाइ अभियान प्रदेश १ को अस्थायी राजधानी विराटनगर आइपुगेको छ ।
झापाका तीनजना अभियन्ताको अगुवाइमा अभियान मार्फत विभिन्न सहरको सफाइ गरिंदैछ । शुक्रबार बिहान विराटनगरको कन्चनबारीमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितले हातमा कुचो लिएर सडक सफा गरे ।
माटोमुनि पुरिएको प्लास्टिक र फोहोर हातले कोट्याउँदै मन्त्री घिमिरेले भने, “सफाइप्रति सहरकै बासिन्दा सचेत देखिंदैनन् ।”
घिमिरेले सहर सफा राख्न नगरबासीलाई आग्रह गरे । गुट्खाका खोलले सडक र नाला फोहोर देखिएको बताउँदै मन्त्री घिमिरेले सुर्तीजन्य पदार्थमा रोक लगाइनुपर्ने बताए ।
मन्त्री घिमिरेले विराटनगर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल र प्रदेशसभा सदस्य चुमनारायण तबदारको घर अगाडि सफाइ गरे पनि उनीहरू त्यहाँ थिएनन् ।
विराटनगरमा तीन वर्षदेखि सफाइ गर्दै आएको परिवर्तनका लागि हातेमालो अभियानका अध्यक्ष विनोद परियारले मेयर भिम पराजुलीलाई पनि सफाइ अभियानमा सहभागी हुन बोलाइए पनि उनी नआएको बताए । सफाइ गरिएको कन्चनबारीबाट १ किलोमिटरको दूरीमा मेयर पराजुलीको घर छ ।
मेची–महाकाली अभियानका संयोजक विष्णु आचार्यले झापा, मोरङ, सुनसरी र धनकुटाको सफाइ घरबाटै धाएर गरिने बताए ।
त्यसपछिका जिल्लामा स्थानीय अभियन्ताहरूको सहयोगमा सफाइ अभियान चलाइने उनको भनाइ छ । “सबै ठाउँमा हामी पुग्न सक्दैनौं स्थानीय साथीहरूलाई सफाइ अभियान चलाउन लगाउँछौं”, अभियन्ता भरत बस्नेतले भने, “अभियान दैनिक चल्छ महाकाली पुलमा पुगेर सकिन्छ ।”