चीनबाट आएको कोरोनाविरुद्धको खोप लगाउन शुरू (तस्वीरहरू)
चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाउन शुरू गरिएको छ।
चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप २३ वटा खोप केन्द्रबाट लगाउन थालिएको हो। जसमा काठमाडौं उपत्यकामा १४ वटा अस्पतालमा खोप केन्द्रको व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चीन सरकारबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेरका व्यक्तिसँगै चीनमा छात्रवृत्तिमा अध्ययन गर्न जाने १८ वर्षमाथिका विद्यार्थीलाई लगाइने योजना छ।
खोप लगाउन पाउनेमा प्राध्यापक, शिक्षक, शिक्षण संस्थाका कर्मचारी, अत्यावश्यक सेवामा संलग्न व्यक्ति, हिमालयपार व्यापारमा संलग्न व्यक्ति, होटल, इन्टरनेट, विज्ञापन, औषधि, तरकारी लगायत क्षेत्रमा काम गर्ने व्यक्ति रहेका छन्।
खोप लगाउन परिचयपत्रसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।