बिस्का जात्रा रोकिएको विरोधमा भक्तपुरमा प्रदर्शन (तस्वीरहरू)
भक्तपुरमा मनाइने बिस्का जात्रा (बिस्केट जात्रा) र मध्यपुर थिमीको मेःचः प्वा खानेगु जात्रा यसपटक पूजामा सीमित हुने भएपछि स्थानीय विरोधमा उत्रिएका छन्। भक्तपुरका स्थानीयले २३ चैतमा ङातापोल (पाँचतले मन्दिर) परिसरमा प्रदर्शन गरेका छन्।
उनीहरूले विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरेका हुन्। उनीहरूले राजनीतिक कार्यक्रम गर्न रोक नलगाए पनि संस्कृति मनाउन कोरोनाको बहानामा रोक लगाएको आरोप लगाएका छन्।
भारतका विभिन्न प्रान्तहरूमा कोरोना संक्रमण फैलिरहँदा नेपालमा पनि जोखिम बढेको भन्दै २२ चैतमा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले पुजारीलाई मात्र राखेर पूजा गर्ने निर्णय गरेको थियो। यो वर्ष रथ तान्ने र लिंगो ठड्याउने काम नगर्ने निर्णय भएको थियो। गत वर्ष पनि पूजाविधि मात्र गरेर बिस्का मनाइएको थियो।