किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित
राष्ट्रिय फुटबल टोलीका क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।
एसियाली फुटबल महासंघ (एएफसी)काे अनलाइन मत सर्वेक्षण ‘एएफसी इन्टरनेसनल प्लेअर अफ दी विक’मा चेम्जोङ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। एएफसीले मत सर्वेक्षणका लागि आफ्नो वेबसाइटमा १० जना खेलाडीको नाम राखेको थियो। त्यसमध्ये ५५.६९ प्रतिशत मत प्राप्त गर्दै चेम्जाेङ उत्कृष्ट खेलाडी घोषणा गरिएका हुन्।
यसमा साउदी अरेबियाका सलेह अल–सेहेरीले दोस्रो स्थानमा छन्। उनले २०.७२ प्रतिशत मत पाएका छन्।
त्यस्तै, इराकका अल अली हवई तेस्रो भएका छन्। उनले १०.१६ प्रतिशत मत पाएका छन्।
चेम्जाेङकै नेतृत्वमा नेपालले ‘थ्री नेसन्स कप’ को उपाधि जितेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा तीन खेलमा चेम्जोङले एक गोल मात्रै खाएका थिए।
एएफसीको ‘प्लेअर अफ दी विक’ का लागि ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराइनका मोहमेद मरहुन, इराकका अला अली महावी, साउदी अरेबियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र युएईका अली मब्खोतुन छनोट भएका थिए।