गीति एल्बम ‘सेवान्ने’ सार्वजनिक
दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीति एल्बम ‘सेवान्ने’ सार्वजनिक भएको छ। उक्त एल्बमका गीत साहित्यकार राजन मुकारुङ र हाङयुग अज्ञातले लेखेका छन्।
काठमाडौँमा भएको एल्बम सार्वजनिकीकरण कार्यक्रममा एउटा गीतको म्युजिक भिडिओसमेत सार्वजनिक गरिएको छ। एल्बममा सातवटा गीत छन्।
तीमध्ये तीन गीतमा राजन मुकारुङको र दुई गीतमा हाङयुग अज्ञातको शब्द छ। दुई गीतलाई महिला र पुरुष दुवैका स्वरमा फरक फरक रेकर्ड गरिएको छ।
एल्बमका दुई गीतमा राजेशपायल राईको स्वर छ। त्यसैगरी सुनिता थेगिम, अशोक मुकारुङ, झुमा लिम्बू, ज्वाला राई र मिलन नेवारले पनि स्वर दिएका छन्।
उक्त एल्बमको गीत ‘मैले फूललाई माया गरेँ’ को म्युजिक भिडिओ पनि शनिबारै सार्वजनिक भएको छ। विज्ञान राईले निर्देशन गरेको म्युजिक भिडिओमा दिवाहाङ बान्तवा र नग्मा श्रेष्ठको अभिनय छ।
युट्युबमा अघिल्लो वर्ष नै सार्वजनिक भएको गीत ‘हुरुक्कै भएँ म’ पनि एल्बममा राखिएको छ। राजन मुकारुङको शब्द र राजेशपायल राईको शब्द भएको यो गीत अहिलेसम्म २७ लाख पटक हेरिएको छ।