कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ?
अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभई अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र महत्त्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ।
‘झोला झोला झोला,
ए जोगीले बोक्ने झोला
झोलामा के–के होला?
ए दुईटा कोला होला,
कसले खाने होला?
ए जोगीले खाने होला।’
बालविकास कक्षादेखि अंग्रेजी तथा नेपाली बालगीत सुन्दै/गाउँदै कक्षा यूकेजी पुगेका निनाम्मा राई, अंकिता चौधरी र एलिशा शर्मा आफैंले बालगीत रचे। कनिकुथी रचेको यही गीत गाउँदै उनीहरू नाच्न थालेका छन्।
कतिपय यस्ता बालगीत हामी शिक्षक आफैंले पनि रच्ने गरेका छौं। उनीहरूले जानी/नजानी रोजेका शब्दलाई बालगीतको लयमा राख्न सहजीकरण पनि गरिदिन्छौं। दिन, बार, जनावर, फलफूल, तरकारी लगायत विषयमा रचिएका नेपाली र अंग्रेजी भाषाका बालगीत गाउँदा उनीहरूले शब्दको सही उच्चारण जान्दछन्। ती शब्द सम्झिरहन सक्छन्। अर्थ सम्झनसमेत बालगीतले सहयोग गर्छ।
यसर्थ बालगीत बालबालिकाका लागि औपचारिक शिक्षामा प्रवेश गर्ने बिन्दु पनि हो। पूर्वप्रावि तथा प्रावि तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा बालगीतले महत्त्व राख्छ। यस्ता गीत बालबालिकाले अभ्यास गर्ने जुनसुकै भाषामा बनाउन सकिन्छ।
बहुसंख्यक विद्यालयले बालगीतलाई त्यति महत्त्व दिएको पाइँदैन। प्रायः संस्थागत विद्यालयका मन्टेसरी र पूर्वप्राथमिक तहका विद्यार्थीलाई नेपालीभन्दा अंग्रेजी बालगीत गाउन सिकाइन्छ। ती गीत अरूले नै रचिदिएका हुन्छन्। त्यसैले हाम्रो परिवेशमा मिल्दैन। कतिपय गीतका शब्द त बालबालिकाले बुझ्दै बुझ्दैनन्। शब्दभन्दा संगीत बढी भरिने हुँदा गीतको सन्देश गौण बन्न पुग्छ।
पछिल्लो समय बनेका नेपाली बालगीतका शब्द र संगीत कर्णप्रिय छन्। तर, संस्थागत विद्यालयमा कठिन शब्दका अंग्रेजी बालगीतकै बोलवाला छ। यी बालगीतले बालबालिकाको सर्वाङ्गीण विकासमा खास टेवा दिँदैनन् भने प्रभाव पनि क्षणिक हुन्छ।
पछिल्लो समय बनेका नेपाली बालगीतका शब्द र संगीत कर्णप्रिय छन्। तर, संस्थागत विद्यालयमा कठिन शब्दका अंग्रेजी बालगीतकै बोलवाला छ। यी बालगीतले बालबालिकाको सर्वाङ्गीण विकासमा खास टेवा दिँदैनन् भने प्रभाव पनि क्षणिक हुन्छ।
छिमेकी भारत लगायत अन्य देशमा बालबालिकालाई बालगीतको माध्यमबाट धेरै कुरा सिकाइन्छ भन्ने थाहा पाउन सामाजिक सञ्जाल एकछिन चहारे पुग्छ। विषयगत रूपमा रचिएका कतिपय बालगीत कर्णप्रिय त हुन्छन् नै, बालबालिकाले टपक्क टिपेर गुनगुनाउन पनि थाल्छन्।
अभिनय गर्दै गाइने बालगीतले बालबालिकाहरूमा एकाग्रता बढाउँछ। कुन शब्द कति बेला कसरी उच्चारण गर्ने भन्ने कला पनि सिक्छन्। त्यति मात्र नभई कक्षाका सबै बालबालिका सँगसँगै गाउन प्रेरित हुँदा एकअर्काबाट गाउन पनि सिक्छन्।
जुनसुकै विषयको कक्षा शुरू गर्नुअघि गाइने विषयगत बालगीतले बालबालिकालाई विषयवस्तुमा केन्द्रित हुन प्रत्यक्ष र परोक्ष सहयोग गर्छ। अभिनय गर्दै गाइने विषयगत बालगीतले वस्तु चिन्न र बुझ्न सघाउँछ। केही वर्षअघि फलफूलको नाम भन्न र यसको महत्त्व बुझाउन मैले रचेको बालगीत बालबालिकाले निकै रुचाए। जुन यस्तो छः
‘कबाट केरा, स स्याउ
अबाट आँप, म मेवा
काँचो आँप हरियो, पाकेको पहेँलो
काँचो आँप अमिलो, पाकेको गुलियो
यी सबै फलफूल हामी खाने
खाएपछि हामी बलियो हुने।’
यस्ता बालगीतबाट पाठ पढाउन शिक्षकलाई सहज पनि हुन्छ। विशेषगरी साना विद्यार्थीका लागि विज्ञान र सामाजिक अध्ययनका पाठहरू पढाउँदा नयाँ–नयाँ शब्दको उच्चारण र हिज्जे सिकाउनुपर्छ। तर, बालगीतको माध्यमबाट जस्तोसुकै गाह्रो शब्दको उच्चारण सहजताका साथ हुन्छ।
बालगीत गाउन अभिरुचि राख्ने अधिकांश विद्यार्थी पढाइमा पनि राम्रा हुन्छन्। यस अर्थमा बालगीत गाउने कलाले उनीहरूको पढाइसँगै नयाँ शब्द सिक्ने अभिरुचि जगाउँछ। गीत–संगीत र अन्य अतिरिक्त क्रियाकलापका लागि प्रेरित हुनसक्छन्। कालान्तरमा उनीहरू आफैं पनि कनिकुथी बालगीतका लागि शब्द चयन गर्न सक्छन्। यस्तो बेला बालगीतमा चासो राख्ने शिक्षकहरूले सहजीकरण गरिदिनुपर्छ।
कतिपय बालबालिकाहरू आफूलाई मनपर्ने शिक्षकलाई आफूले रचेको गीत घरीघरी सुनाइरहन्छन्। शिक्षकले पनि झर्को नमानी सुनिदिने र सहजीकरण गरिदिने हो भने थप उत्साहित हुन्छन्।
कतिपय बालबालिकाहरू आफूलाई मनपर्ने शिक्षकलाई आफूले रचेको गीत घरीघरी सुनाइरहन्छन्। शिक्षकले पनि झर्को नमानी सुनिदिने र सहजीकरण गरिदिने हो भने थप उत्साहित हुन्छन्।
पछिल्लो समय विषयगत नेपाली बालगीतहरूको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा प्रशस्तै पाइन्छन्। तर, कतिपय शब्द र लय उमेर अनुसार नहुँदा बालबालिकाको रुचिभित्र पर्दैनन्। उमेर अनुसारको बालगीत नहुँदा र बजारीकरणको कमीले पनि कतिपय नेपाली बालगीतहरू सबै बालबालिकासम्म पुग्न सकेका छैनन्।
मन्टेसरी र संस्थागत विद्यालय मातहत सञ्चालित पूर्वप्रावि र प्रावि तहका बालबालिकाले सकेसम्म अंग्रेजी भाषामै कुराकानी गरून् भन्ने चाहना अभिभावक, शिक्षक र विद्यालय सञ्चालकको हुन्छ। यसकारण पनि नेपाली बालगीतहरू ओझेलमा परेका छन्।