नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा
शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। आइतबार परिसूचक २५.७१ अंकले बढेर २ हजार ६५७.७१ बिन्दुमा पुगेर बन्द भएको हो।
यसअघि नेप्से गत ९ फागुनमा २ हजार ६४० बिन्दुको उचाइसम्म पुगेको थियो। आइतबार निर्जीवन बीमा समूह र वित्त समूह अन्तर्गतका शेयरको मूल्य सबैभन्दा धेरै बढेका छन्।
निर्जीवन बीमा समूह ३.९७ र वित्त समूह ३.६६ प्रतिशतले बढेका छन्। जलविद्युत समूह १.५ प्रतिशत, विकास ब्यांक समूह ०.८४ र ब्यांकिङ समूह ०.८१ प्रतिशतले बढेका छन्। तर, व्यापार, होटल र पर्यटन, उत्पादमूलक, म्युचुअल फन्ड र लगानी समूह भने घटेका छन्।
आइतबार वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स कम्पनी, राधी जलविद्युत, आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त र सान्जेन जलविद्युत् कम्पनीका शेयर मूल्य झन्डै १० प्रतिशतले बढेका छन्। यद्यपि, साल्ट ट्रेडिङ, सपोर्ट माइक्रोफाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनी, स्वाभिमान लघुवित्त लगायतका कम्पनीको शेयर मूल्य भने घटेका छन्।
कारोबार भएकामध्ये ११० कम्पनीको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य घटेको छ। १२ कम्पनीको शेयर मूल्य यथावत् हुन पुगेकाे छ।
आइतबार २१२ कम्पनीकाे रू.८ अर्ब ७७ करोड ७४ लाख मूल्य बराबरका शेयर किनबेच भएकाे छ।