डिजिटल कलामार्फत न्यायको माग
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्र परिसरमा रहेको भान गग कक्षमा यो साता कार्टुन र संगीतको मेल देख्न सकिन्छ। कलाकार राजेश बुढाथोकी (२०) ले सिर्जना गरेको ‘म्युजिकल कार्टुन थिम’ का १३ वटा चित्र त्यहाँ सजाइएका छन्।
डिजिटल आर्ट विधाको प्रदर्शनीमा राजेशका ‘समूह’, ‘अन्हार्मोनियस म्यान’, ‘ड्रेड’, ‘ब्लु’, ‘अग्ली टोड’ लगायत शीर्षकका कृतिहरू अवलोकनका लागि राखिएका छन्।
राजेशको यो पहिलो प्रदर्शनी भएकाले उनका कृतिलाई अन्डा कोरलिन लागेको अर्थ दिने गरी सेतो बक्सभित्र पहेँलो फ्रेममा सजाइएको छ। यसरी सजाउने काम क्युरेटर उजेन नोर्बु गुरुङले गरेका हुन्।
“अन्डाबाट भर्खर बाहिर निस्किँदै गरेको भन्ने थिम हो रे,” राजेश भन्छन्, “कला क्षेत्रमा मेरो जन्म भएको अर्थ दिन खोज्नुभएछ।”
ढोकाकै छेउमा राखिएको ‘समूह’ शीर्षकको कृतिमा राजेशले गिटारहरूका टाउकामा कार्टुनका आकृति बनाएका छन्। अर्को चित्रमा सबै अस्तित्वले अर्थ राख्ने भन्दै न्यायको माग दर्शाइएको छ। जसमा गीतका नोट (ध्वनि) हरूले ‘अल लाइफ म्याटर्स’ र ‘जस्टिस’ लेखिएका प्लाकार्ड बोकेपछि जिल्ल परेका जे फ्राई (फ्युचरामा कार्टुनका पात्र) को रमाइलो भाव देख्न सकिन्छ।
टुलिका कलाले ३० माघ २०७७ बाट आयोजना गरेको ‘खोलो २.०ः अ साइकल अफ लाइफ’ कला प्रदर्शनी अन्तर्गत भान गग कक्षमा हरेक साता विभिन्न कलाकारको सिर्जना प्रदर्शनी हुँदै आएको छ। अर्को साता समीर महर्जनको डिजिटल आर्ट समावेश गरिनेछ। यसअघिका साता रूपेश डंगोल र असीम शाक्यका डिजिटल कृति राखिएका थिए भने त्यसअघि फोटोग्राफी विधाको प्रदर्शनी भएको थियो।
“असीम शाक्यले पहिलो पटक आफ्नो कला प्रदर्शनी गर्नुभएको रहेछ,” को–क्युरेटर समीक्षा श्रेष्ठ भन्छिन्, “उहाँको प्रदर्शनी हेर्न धेरै जना आउनुभयो।”
राजेशको कला प्रदर्शनीपछि सेरामिक विधाको प्रदर्शनी हुने समीक्षाले जानकारी दिइन्।
प्रदर्शनीको यो शृंखला ११ भदौ २०७८ सम्म चल्नेछ। सात महीनाको यो अवधिमा फोटोग्राफी, डिजिटल आर्ट, सेरामिक, प्रिन्ट मेकिङ, कन्टेम्पोररी, ट्रेडिसनल र स्कल्पचर गरी सात वटा विधाका २८ कलाकारका कलाकृति प्रदर्शनीमा राखिनेछन्।