‘वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको छ’
वैशाख (१–७) मा वन्यजन्तु सप्ताह मनाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, “वन्यजन्तु संरक्षणका लागि युवा लक्षित कार्यक्रमलाई जोड दिएका छौं।”
वन्यजन्तु सप्ताह किन ?
समुदायमा जैविक विविधता र वन्यजन्तुको महत्व बुझाउन, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न साथै सचेतना जगाउन ‘वन्यजन्तु सप्ताह’ मनाउन थालिएको हो । हामीले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र आसपासका युवा लक्षित कार्यक्रममा जोड दिएका छौं ।
मानव र वन्यजन्तुबीच द्वन्द्व किन हुन्छ ?
हाम्रा संरक्षित क्षेत्र र राष्ट्रिय निकुञ्ज मानव बस्तीकै माझ छन् । यी क्षेत्र समुदायले उपभोग गर्ने प्राकृतिक स्रोतका क्षेत्र पनि हुन् । आ–आफ्नो जीवन निर्वाहका लागि गरिने कामकै बीच जब मानव र वन्यजन्तुबीच भेट हुन्छ वा एकले अर्काको क्षेत्रमा अतिक्रमण थाल्छ तब द्वन्द्व शुरु हुन्छ । आहाराका लागि वन्यजन्तु मानव बस्तीमा पुगेपछि वा घाँस दाउराका लागि स्थानीय समुदाय वन पस्दा वन्यजन्तुसँग भेट भएपछि हुने द्वन्द्व यसकै उदाहरण हुन् ।
यस्तो द्वन्द्व बढिरहेको छ ?
मानवीय क्रियाकलापले वासस्थानमा असर पुग्दा द्वन्द्वका घटना बढेका छन् । मानिसको बसोबास वन र वन्यजन्तुको वासस्थान अतिक्रमण गरेर भएको हो । मानवीय अतिक्रमणका कारण वन्यजन्तु सीमित ठाउँमा खुम्चिएका छन्, कतिपय लोप भइसके । यिनै वन्यजन्तु आफ्नो आहाराका लागि विचरण गर्दा द्वन्द्व बढ्नु स्वाभाविक हो ।
द्वन्द्व न्यूनीकरणका लागि विभागले के गरिरहेको छ ?
हामीले सचेतना कार्यक्रमलाई बढी जोड दिएका छौं । त्यसबाहेक राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा तारबार, साइरन जडान गर्ने लगायतका काम भएका छन् । वन्यजन्तुलाई निकुञ्ज भन्दा बाहिर आउनुपर्ने अवस्था अन्त्यको उपायमा हाम्रा कार्यक्रम केन्द्रित छन् ।
वन्यजन्तुको वासस्थान जोगाउँदा मानिसलाई के फाइदा ?
पृथ्वीका सबै कुरा एकआपसमा सम्बन्धित छन् । बाघ, भालु, गैंडा लगायत वन्यजन्तुको अस्तित्व उनीहरुको आफ्नो जीवनसँग मात्र सम्बन्धित छैन, समग्र पारिस्थितिकीय प्रणालीसँग जोडिएका कारण अन्य जीव र मानिससँग समेत सम्बन्धित छ । वन्यजन्तुको वासस्थान जोगाउँदा अनेक प्रकारका जीवजन्तु र वनस्पति पनि जोगिन्छन्, जुन मानवजातिको अस्तित्वकै लागि आवश्यक छन् ।