गाउँपालिकाद्वारा तीन सय परिवारको नि:शुल्क बीमा
तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीका तीन सय घरपरिवारको स्वास्थ्य बीमा गरिदिएको छ ।
आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी बीमा गरिदिएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।
हरेक वडाबाट ५० घरधुरी छनोट गरी स्वास्थ्य बीमा गराइएको छ । स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु सात लाख ५० हजार लगानी गरेको छ ।
उनीहरुको वार्षिक रु सात लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्नेछ ।
तनहुँमा १ भदौ २०७४ देखि स्वास्थ्य बीमा शुरुआत भएको थियो । जिल्लाभरी हालसम्म १० हजारभन्दा बढी घरधुरीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयलेले जनाएको छ ।
बीमा गरेकाहरुलाई दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा निःशुल्क स्वास्थ्यसेवा लिन सकिने व्यवस्था गरिएको छ ।