कृष्णप्रकाशले अनुवाद गर्न नपाएको त्यो लेख
कृष्णप्रकाश श्रेष्ठले रुसी भाषामा अनुवाद गर्ने जानकारी दिएपछि एउटा लेखको परिमार्जन थालेको थिएँ। जब १६ चैतमा काम सकेर फेसबुक खोलें, उनको मृत्युको खबर फैलिइसकेको रहेछ।
करीब डेढ दशकअघि मास्कोबाट कृष्णप्रकाश श्रेष्ठले पठाएको एउटा अप्रत्याशित इमेल पाएँ। सञ्चार माध्यममा प्रकाशित मेरो कुनै लेखको उनले प्रशंसा गरेका थिए। मैले ‘धन्यवाद’ लखेर प्रत्युत्तर पठाएपछि उनीसँग थप संवाद भएन।
पछिल्लो पटक केदार वाशिष्ठको पुस्तक ‘नेपाल विद्या : सिद्धान्त र प्रयोग’ को अनलाइन परिचर्चा कार्यक्रममा उनलाई सुन्न पाएँ। कार्यक्रमको आयोजना गत १६ मंसीर (१ डिसेम्बर २०२०) मा भएकाे थियो। कार्यक्रमपछि अनौपचारिक कुराकानीमा मास्कोबाट कोही पाली भाषा सिक्न नेपाल आउन चाहेको भन्दै जानकारी मागियो। श्रीओम श्रेष्ठ रोदनले मलाई औंल्याए। अनि हाम्रो प्रत्यक्ष र बाक्लै कुराकानी हुन थाल्यो। तर, छाेटो सम्बन्ध पानीको फोका जस्तै भयो। १६ चैत्रमा उनको निधनको खबर आयो।
म उनका लेख तथा पुस्तकहरूको पाठक थिएँ। उनीबारे केही जानकार पनि थिएँ। उनको जन्म १९९५ सालमा काठमाडौंको चुनिखेलमा भएको थियो। तत्कालीन सोभियत संघमा अध्ययन गर्न जाने पहिला खेपका नेपाली विद्यार्थीमध्ये उनी पनि थिए।
उनले मास्को लोमोनोसोभ विश्वविद्यालयबाट सन् १९६३ मा पत्रकारितामा स्नातकोत्तर उपाधि हासिल गरे। त्यसलगत्तै भर्खरै स्थापित रेडियो मास्कोको नेपाली कार्यक्रममा समाचार वाचक नियुक्त भएका थिए। सन् १९९३ मा नेपाली सेवा बन्द नहुँदासम्म उनी अविच्छिन्न सेवारत थिए। त्यसपछि रुसको प्राच्यविद्या संस्थानसँग सम्बद्ध भई त्यसैमार्फत आफ्ना साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहेका थिए।
श्रेष्ठ साहित्यिक अनुवाद क्षेत्रमा स्थापित व्यक्तित्व थिए। विश्वप्रसिद्ध रुसी साहित्यकारहरू लियो टाल्स्टाय, अलेक्सान्द्र पुस्किन, मिखाइल लेर्मोन्तोभ लगायत अन्य कैयन् रचनाहरूको नेपाली भाषामा अनुवाद गरेका छन्। नेपाली साहित्यिक कृतिहरू रुसी भाषामा अनुवाद गरेर रुसमा नेपाली साहित्यको प्रचार गर्न पनि उत्तिकै महत्त्वपूर्ण योगदान दिएका छन्। उनी दुईतर्फी अनुवाद गर्न सक्थे।
श्रेष्ठ साहित्यिक अनुवाद क्षेत्रमा स्थापित व्यक्तित्व थिए। विश्वप्रसिद्ध रुसी साहित्यकारहरू लियो टाल्स्टाय, अलेक्सान्द्र पुस्किन, मिखाइल लेर्मोन्तोभ लगायत अन्य कैयन्का रचनाहरूको नेपाली भाषामा अनुवाद गरेका छन्। नेपाली साहित्यिक कृतिहरू रुसी भाषामा अनुवाद गरेर रुसमा नेपाली साहित्यको प्रचार गर्न पनि उत्तिकै महत्त्वपूर्ण योगदान दिएका छन्। उनी दुईतर्फी अनुवाद गर्न सक्थे।
उनका कैयन् मौलिक रचनाहरू नेपाली भाषामा प्रकाशित छन्। जसमध्ये ‘रुसमा नेपालको छवि’, ‘नेपाली समालोचक र समालोचना’, ‘नेपालभाषा साहित्य’, ‘नेपाली किम्वदन्तीमाला’ आदि प्रसिद्ध छन्। उनका रुसी भाषामा प्रकाशित पुस्तक र अनुवाद कृतिमा ‘नेपालमा पशुपंछीको पूजा’, ‘यमलोकमा जिउँदो मान्छे’ (नेपाली दन्त्य कथा), ‘लङ्गडाको साथी’ (लैनसिंह बाङ्देल), ‘नेवारी साहित्य’ आदि छन्। अनुवाद साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले मास्कोमा विश्वभाषा अनुवाद संस्था पनि स्थापना गरेका थिए।
मार्क्सवादी साहित्यका चर्चित ग्रन्थहरू पनि नेपाली भाषामा अनुवाद गरेर प्रकाशमा ल्याएका छन्। मार्क्स र एन्जेल्सद्वारा प्रतिपादित ‘द्वन्द्वात्मक भौतिकवाद’बारे रुसी भाषामा प्रकाशित पुस्तकहरू र लेनिनका थुप्रै रचनाहरू नेपालीमा अनुवाद गरेका छन्। सोभियत कालदेखि नै त्यहाँको समकालीन राजनीतिक, सामाजिक, साहित्यिक गतिविधि र जनजीवनबारे उनका रचना नेपाल तथा त्यहाँका पत्रपत्रिकामा प्रकाशित भएका छन्।
विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदान बापत उनलाई २०५९ सालको जगदम्बा श्री सम्मान प्रदान गरिएको थियो। त्यस अवसरमा उनले ‘विश्वको जुनसुकै भागमा बसे पनि आफ्नो सीप र क्षमताको आधारमा मातृभूमि नेपालको सेवा गर्न सकिन्छ’ भन्ने धारणा राखेका थिए। रुसमा उनलाई रुसी वाङ्मय प्रज्ञा प्रतिष्ठानले ‘पुस्किन स्वर्णपदक’बाट विभूषित गरेको थियो।
रुसी लेखकहरूसँग उनको सम्पर्कबारे खास जानकारी छैन। तर, नेपाली लेखकहरूसँग राम्रै सम्पर्क थियो। तुरुन्तै घुलमिल हुनसक्ने, सहयोगी र खुलेर बोल्ने बानीका कारण उनको सम्पर्क व्यापक भएको संगत गर्ने जो–कोहीले अनुभूति गरेको हुनुपर्छ। मास्कोदेखि आफैंले फोन गरेर घनिष्ठ र समवयसँग जस्तै कुरा गर्थे।
रुसी लेखकहरूसँग उनको सम्पर्कबारे खास जानकारी छैन। तर, नेपाली लेखकहरूसँग राम्रै सम्पर्क थियो। तुरुन्तै घुलमिल हुनसक्ने, सहयोगी र खुलेर बोल्ने बानीका कारण उनको सम्पर्क व्यापक भएको संगत गर्ने जो–कोहीले अनुभूति गरेको हुनुपर्छ। मास्कोदेखि आफैंले फोन गरेर घनिष्ठ र समवयसँग जस्तै कुरा गर्थे।
उनको एउटा योजना थियो, मास्कोमा नेपाली र रुसी लेखकहरूबीच सेमिनार गराउने। र, त्यसमा भाग लिन मलाई पनि प्रेरित गर्दै थिए। एक दिन मास्कोबाटै फोन गरेर भनेका थिए, ‘‘नेपाली र रुसी लेखकहरूलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्ने मेरो ठूलो धोको त हो नै, तर अहिलेलाई अनलाइनमा भए पनि कार्यक्रम गर्ने योजना बनाएको छु। त्यो कार्यक्रममा तपाईंले नेपालमा बौद्ध धर्मसम्बन्धी अनुसन्धानमूलक लेख प्रस्तुत गर्नुपर्छ है, तयार भएर बस्नुस्।’’
मैले प्रस्तुत गर्ने लेखबारे उनीसँग पटक पटक कुराकानी भयो। लेखको विषयवस्तु परिवर्तन गरियो। उनले मेरो एउटा पुस्तक ‘उत्तरी नेपालमा बौद्ध धर्म’ कै विषयवस्तुमा लेख तयार पार्दा धेरै राम्रो हुने आशय व्यक्त गरेका थिए।
जसरी नेपालको हिमाली क्षेत्रमा तिब्बती बौद्ध धर्मको प्रभाव छ, त्यसरी नै रुसमा पनि तिब्बती बौद्ध धर्मको अभ्यास हुँदो रहेछ। तिब्बती बौद्ध विद्वान्हरू त्यही धर्म र संस्कृति नेपालमा के कसरी अगाडि बढिरहेकाे छ भन्ने कुरामा बढी उत्सुक हुने हुनाले मेरो लेखको विषयवस्तु फेर्न भनेका रहेछन्। सोही अनुसार लेख कार्यक्रममा प्रस्तुत गरें। रुसी भाषामा लेखको सारांश प्रस्तुत गरिनु मेरो लागि सुखद क्षण थियो।
भोलिपल्ट नै फेरि मास्कोबाट फोन आयो। उनले भने, ‘‘लेखलाई रुसी भाषामा अनुवाद गर्छु।’’ मलाई भने लेख अलि परिमार्जन गर्नुपर्ने महसूस भइरहेको थियो। केही समयपछि अन्तिम रूप दिएर पठाउने बताएँ।
उनले अन्तिमपटक फोन गरेर २२ फेब्रुअरीमा मेसेन्जरमा लेख पठाइदिन भनेका थिए। मैले चाँडै पठाउने वाचा गरेको थिएँ। त्यसपछि लामो समयसम्म फोन आएन। म पनि यात्राकै दौडधूपमा थिएँ। फर्केर काठमाडौं आएपछि लेखमा काम गरेर १६ चैतमा सकाएँ। अब रुसी भाषामा अनुवाद हुँदै छ भन्ने सम्झिएर मख्ख परेको थिएँ। त्यसपछि फेसबुक खोल्ने बित्तिकै म खङ्ग्रङ्ङ भए। उनको मृत्युको खबर पो रहेछ।
मास्कोस्थित एक अस्पतालमा उपचार गर्दागर्दै श्रेष्ठको मृत्यु भएको रहेछ। झन्डै एक महीनाअघि उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो। त्यसपछि अन्य स्वास्थ्य समस्याहरू निरन्तर बल्झिँदै गए। अन्ततः ८२ वर्षको उमेरमा उनले मृत्युवरण गर्न पुगेछन्।
चार महीनाको छोटो चिनाजानीमा पनि पछिल्लो एक महिना त सम्पर्कविहिन भइयो। तर, त्यसबाहेक निरन्तर कुराकानी भइरह्यो। उनले मलाई छुट्टै संसारमा जोड्दै थिए, अचानक बिदा भए।