मधेसमा गरीबको ज्यान लिँदै विषालु रक्सी
विषाक्त खानेकुरा बनाउन र बेच्न नपाइने भए पनि मधेसका गाउँमा विषालु रक्सी उत्पादन, बिक्री वितरण मात्रै भइरहेको छैन, त्यसबाट कैयौंको ज्यान समेत गएको छ। तर, ज्यान गुमाउनेका परिवारले न न्याय न त क्षतिपूर्ति नै पाउने गरेका छन्।
कोरोनाभाइरसको महामारीले देशै त्रासमा रहेका बेला २०७७ वैशाखमा महोत्तरीको भंगाहा नगरपालिकामा अनौठो व्यथाले १३ जनाको ज्यान लियो। त्यसको एक महीनाअघि छेउकै जिल्ला धनुषामा यस्तै खालको घटनामा १६ जनाको ज्यान गयो।
“सबैको लुगा फुकालेर हेर्दा पूरै शरीर पहेँलो थियो। आँखा पनि पहेँलो थियो। कति जना त खाना खाँदाखाँदै मरेका रहेछन्।”
केही दिनपछि थाहा भयो, विषाक्त घरेलु रक्सी खाएकाले उनीहरूको मृत्यु भएको रहेछ। ज्यान गुमाउनेमध्येका महोत्तरीको भंगाहा नगरपालिकास्थित मेघनाथ गोहाना गाउँका महेन्द्र चौधरी खेतीपाती र मजदूरी गर्थे। उनी राति अचानक बिरामी भए। “टाउको दुख्यो, टाउको दुख्यो भन्नुहुन्थ्यो। टाउकोमा तेल लगाइदिएँ, तर पनि ठीक भएन,” गाह्रै भएपछि अस्पताल लगेको बताउँदै उनकी पत्नी अनभौरी चौधरी भन्छिन्, “अस्पतालमा पानी चढायो। के के भयो? ठीक भएन, बित्नुभयो। बित्ने बेला म अस्पताल जान सकिनँ।”
महेन्द्रलाई बर्दिबासको अस्पताल लगिएको थियो। त्यहाँ उपचार गर्दागर्दै उनको मृत्यु भयो। उनी बितेको भोलिपल्ट त्यही गाउँका मोहन चौधरीलाई उस्तैउस्तै खालको लक्षण देखियो। मोहनका दाइ दशरथ चौधरी भन्छन्, “अस्पतालमा गएर हेर्दा त अन्तिम अवस्था भइसकेको थियो।”
दशरथलाई भाइ बिरामी भएको पनि थाहा थिएन। उनकी बुहारीले भनेपछि मात्रै उनी अस्पताल पुगेका थिए। भाइको के कारणले मृत्यु भयो भन्ने पनि उनलाई राम्ररी थाहा छैन। “धेरै अल्कोहल भएर मृत्यु भयो। त्यसमा के मिसाइदिएको थियो। मलाई त्यो पनि थाहा छैन,” दशरथ भन्छन्।
बर्दिबास अस्पतालमा उपचार हुन नसकेपछि उनलाई जनकपुर लाने तयारी हुँदै थियो। तर, एम्बुलेन्स खोज्दासम्म उनको मृत्यु भइसकेको थियो।
महेन्द्र र मोहनको मृत्यु भएको केही दिनमा मेघनाथ गोहाना गाउँका १२ जना र छिमेकी बर्दिबास नगरपालिकामा एक जनाको मृत्यु भयो। कोरोना फैलिएपछि बन्दाबन्दी भएको एक महीना मात्रै पुगेको थियो। कोरोना संक्रमण हुँदा के हुन्छ भन्ने राम्ररी थाहा नभएका बेला यसरी भकाभक मानिस मरेपछि गाउँमा आतंक फैलियो।
“केही दिनको अन्तरालमा १३ जनाको मृत्यु भएको देखियो। कोभिडको संक्रमणको बेला भएकाले त्यसले पो हो कि भन्ने आशंका थियो। परीक्षण गर्दा कोभिड देखिएन,” डीएसपी विष्ट भन्छन्, “त्यसमध्ये अधिकांश मान्छेहरू अत्यधिक मादकपदार्थ सेवन गर्ने भन्ने देखिएको छ।”
उनीहरूको के कारणले मृत्यु भएको हो भन्ने यकिन नहुँदा गाउँमा त्रास फैलिएको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रवक्ता गिरेन्द्रकुमार झा बताउँछन्। “एकातिर कोभिडको चपेटा, अर्कातिर यी मान्छेहरूको मृत्यु। गाउँलेहरू त देवीदेवताका कारणले यस्तो हुनसक्छ भनिरहेका थिए,” झा सम्झिन्छन्। कोरोना हुनसक्ने आशंकामा तीन वटा शवको पोस्टमार्टम र कोरोना परीक्षण गरिएको उनी बताउँछन्।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्ट अनुसन्धान गर्दा मदिरा सेवनबाट मृत्यु भएको पाइएको बताउँछन्। “केही दिनको अन्तरालमा १३ जनाको मृत्यु भएको देखियो। कोभिडको संक्रमणको बेला भएकाले त्यसले पो हो कि भन्ने आशंका थियो। परीक्षण गर्दा कोभिड देखिएन,” डीएसपी विष्ट भन्छन्, “त्यसमध्ये अधिकांश मान्छेहरू अत्यधिक मादकपदार्थ सेवन गर्ने भन्ने देखिएको छ।”
त्यसको अनुसन्धान गर्दा मर्नेहरू सबैले केही दिनअघि एकै ठाउँको एकै पसलमा घरेलु रक्सी खाएको पाइएको थियो। स्वास्थ्य कार्यालयका प्रवक्ता झा भन्छन्, “उनीहरू घरेलु रक्सी खाँदा रहेछन्। घरेलु मदिरा खाएकाले मृत्यु भएको देखियो।”
यहाँका हाटबजारमा रक्सीको बेचबिखन गर्ने र खाने चलन धेरै छ। हरेक हप्ता लाग्ने बजारमा रक्सीको खपत प्रशस्तै हुने गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख नरेन्द्रकुमार चौधरी भन्छन्, “जाँडरक्सी खाने काम एउटा प्रमुख जनस्वास्थ्य समस्या हो। यसबाट सामाजिक समस्या नित्याउँछ, शारीरिक समस्या निम्त्याउँछ। यो पहिले पनि भइराखेको हो,” चौधरी भन्छन्।
कोरोना फैलिएकाले देशभर बन्दाबन्दी भएको थियो। त्यतिबेला अधिकांश पसल बन्द थिए। गाउँमा रक्सी खुवाउने लालबाबु सिंहको पसल पनि बन्द थियो। एउटा अस्थायी भट्टी भने खुला थियो। आफ्नो रक्सी पसल बन्द गरेका लालबाबुसहित धेरै मानिसले त्यही अस्थायी भट्टीमा रक्सी खाएका थिए।
“बिहानै दिसापिसाब गरेर आउनुभयो, अनि टाउको दुखिराछ भन्नुभयो। मैले निम्स ल्याएर दिएँ, खानुभयो। केहीबेरमा बारीमा जानुभएको थियो। मुख रातो, कालो भइसकेछ। अस्पताल लग्यौं, तर उपचार गर्दागर्दै मृत्यु भयो।”
रक्सी खाएलगत्तै उनीहरूलाई एकै खालका लक्षण देखिएको स्थानीय बासिन्दा बताउँछन्। “हामी त बन्दाबन्दीमा भट्टी बन्द गरेर घरमै थियौं। त्यसबेला बाहिरबाट आएकी एक महिलाले रक्सी बेची। त्यही रक्सी खाएर मान्छे मरे,” विषाक्त रक्सी खाएर मृत्यु भएका लालबाबुकी पत्नी राजमतीदेवी सिंह भन्छिन्, “यही नजिकैको कोठामा बेचेकी थिई। उसैको नास्ता, रक्सी खाएर मेरो श्रीमान्को मृत्यु भएको हो।”
मोहनका छोरा कमल चौधरी पनि त्यही रक्सी खाएर बाबुको मृत्यु भएको बताउँछन्। “बिहानै दिसापिसाब गरेर आउनुभयो, अनि टाउको दुखिराछ भन्नुभयो। मैले निम्स ल्याएर दिएँ, खानुभयो,” कमल त्यो दिन सम्झिन्छन्, “केहीबेरमा बारीमा जानुभएको थियो। मुख रातो, कालो भइसकेछ। अस्पताल लग्यौं, तर उपचार गर्दागर्दै मृत्यु भयो।”
मोहनका छिमेकी नथुनी महरालाई पनि त्यस्तै भएको थियो। “बेलुका रक्सी खाएर आउनुभएको थियो,” उनकी बुहारी ममता महरा भन्छिन्, “राति १–२ बजेदेखि व्यथाले च्याप्न थाल्यो। बिहानपख त मृत्यु भइहाल्यो।”
त्यही पसलमा रक्सी खाएर बिरामी परेका शुकदेव महरालाई पनि अस्पताल लगिएको थियो। रक्सी खाएर आएदेखि नै टाउको दुख्ने समस्या देखिएको उनकी पत्नी रामरतीदेवी महरा बताउँछिन्। “दिउँसो ३ बजेदेखि नै टाउको दुख्यो भन्दै हुनुहुन्थ्यो। राति खिचडी खानुभयो,” रामरती भन्छिन्, “राति २ बजेदेखि च्याप्यो। बिहान गाडी बोलाएर बाहिर लग्यौं। अस्पतालमै मृत्यु भयो।”
भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साह सबैमा एकै किसिमको लक्षण देखिएको बताउँछन्। “टाउको दुख्ने, एक्कासि बान्ता हुने र मृत्यु हुने भयो,” साह भन्छन्। एक–दुई जनाको मृत्यु हुँदा सामान्य रूपमा लिएको भए पनि धेरैको ज्यान जान थालेपछि गम्भीर रूपमा लिएर पोस्टमार्टम गरिएको उनी बताउँछन्। रक्सीकै कारण मृत्यु भएको पाइएको उनको भनाइ छ।
इथानोल खाने रक्सी हो भने मिथानोल औद्योगिक काममा प्रयोग हुन्छ। मिथानोल थोरै खायो भने पनि नसासम्बन्धी समस्या आउँछ, आँखा बन्द हुन्छ। मान्छेको ज्यान समेत जान सक्छ।
“पहिले गाउँमा कोदो, सख्खर, मौवा, चामल आदिबाट रक्सी बनाइन्थ्यो। अहिले विभिन्न पदार्थ मिसाएर विषाक्त रक्सी बनाइन्छ। थोरै खाँदा पनि छिटै नशा लागोस्, मानिसहरू आकर्षित होऊन् भनेर यसो गरिएको हो।”
सामान्यतया अन्नबाट बनाइने परम्परागत रक्सी विषाक्त हुँदैन। आजभोलि धेरै मात्रामा र बिक्री गर्ने उद्देश्यले बनाइने रक्सीमा घातक पदार्थ प्रयोग गरिन्छ। रक्सीलाई कडा बनाउन विभिन्न पदार्थ मिसाइने गरेको पाइएको महोत्तरीका पत्रकार राजकर्ण महतो बताउँछन्। “पहिले गाउँमा कोदो, सख्खर, मौवा, चामल आदिबाट रक्सी बनाइन्थ्यो,” महतो भन्छन्, “अहिले विभिन्न पदार्थ मिसाएर विषाक्त रक्सी बनाइन्छ। थोरै खाँदा पनि छिटै नशा लागोस्, मानिसहरू आकर्षित होऊन् भनेर यसो गरिएको हो।”
यहाँका मानिसले के शंका गरिरहेका छन् भने ती मानिसले खाएको रक्सीमा केही खराबी थियो। जसले गर्दा यति धेरैको ज्यान गयो। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता झा पनि रक्सी विषाक्त भएको बताउँछन्। “विषाक्त भएको हुनसक्छ। रक्सी बनाउँदा इथानोल बन्नुपर्नेमा मिथानोल पनि बन्छ, जुन विषाक्त हुन्छ । यस्तो हुँदा कहिलेकाहीँ यस्ता समस्या आउँछन्,” उनी भन्छन्।
उनी भन्छन्, “सामान्यतया मान्छेले रक्सी खान्छ, अहिले विषाक्त रक्सीले मान्छेलाई खाइरहेको छ।”
यसरी विषाक्त रक्सी खाएर मर्नेहरू प्रायः गरीब र अशिक्षित छन्। आफूले खान लागेको रक्सी विषाक्त छ भन्ने उनीहरूलाई थाहा नहुने गरेको महतो बताउँछन्। घरमा प्रहरीले निगरानी गर्न थालेपछि उखुबारी, बास झ्याङमा रक्सी बनाउने गरेको पाइएको छ।
विषालु रक्सी बनाउने चलन महोत्तरी र धनुषामा मात्रै छैन, प्रदेश २ भरि नै देखिन्छ। भंगाहा नगरपालिका प्रमुख साह भन्छन्, “गाउँगाउँमा लोकल रक्सीको समस्या छ। यो समस्या मधेसभरि नै छ।”
२०७७ वैशाखमा विषालु रक्सीले १३ जना मर्नुभन्दा एक महिनाजति अघि २९ फागुनदेखि ५ चैत, २०७६ मा धनुषाको क्षिरेश्वर नगरपालिकामा विषाक्त रक्सी सेवनले १६ जनाको ज्यान गएको थियो। त्यस्तै, २०७५ मा महोत्तरीकै रामगोपालपुर नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो।
क्षिरेश्वर नगरपालिकाको रमदैया भवानीगाउँका राजाराम मण्डल भन्छन्, “सबैको लुगा फुकालेर हेर्दा पूरै शरीर पहेँलो थियो। आँखा पनि पहेँलो थियो। कति जना त खाना खाँदाखाँदै मरेका रहेछन्।”
तराई–मधेसमा विषालु रक्सी खाएर सर्वसाधारण अनाहकमा ज्यान गुमाइरहेका छन्। विषालु रक्सी बनाउनु र बेच्नु कत्तिको गम्भीर अपराध हो? यस्तो काम गर्नेलाई के कस्ता सजाय हुन्छ? उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा अधिवक्ता ज्योति बानियाँ यस्तो गर्न नपाइने बताउँछन्। “राज्य कमजोर भएकाले यस्तो भइरहेको छ,” अध्यक्ष बानियाँ भन्छन्।
लाइसेन्स लिएर वा नलिएर विषालु रक्सी उत्पादन गर्ने र बिक्री गर्नेलाई कारबाही गर्न कानून पनि बनेका छन्। यसमा मुलुकी अपराध संहिताको ज्यान सम्बन्धी कसूर र मदिरा सम्बन्धी ऐन अनुसार कारबाही गर्न सकिने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी बताउँछन्। “विषालु रक्सीको सेवनले मान्छे मर्यो भने के गर्ने भन्ने लेखेको छैन। कुनै पनि मानिसलाई मार्ने मनसायले कुनै पनि काम गर्दछ भने जन्मकैदको सजाय हुन्छ,” प्रवक्ता रेग्मी भन्छन्, “यस्तो काम गर्दा मानिसको मृत्यु हुन्छ भनेर जानी जानी कसैले कुनै काम गर्छ भने त्यसमा पनि जन्मकैद हुन्छ।”
त्यस्तै, यसमा आकर्षित हुने अर्को कानून मदिरा सम्बन्धी हो। प्रवक्ता रेग्मी भन्छन्, “कसैले पनि इजाजत नलिईकन मदिराको उत्पादन, बिक्री वितरण, निकासी, पैठारी केही पनि गर्न पाइँदैन।” यस्तोमा फौजदारी अभियोगमा कारबाही हुने उनी बताउँछन्। यसका लागि रक्सीकै कारणले मृत्यु भएको हो वा त्यस्तो विषादी छ कि छैन भनेर परीक्षण गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, मुलुकी अपराध संहितामा रक्सीलाई गैर खाद्यपदार्थ भनिएको छ। अनुमति नै नलिईकन कसैलाई केमिकल खुवाइयो भने १० वर्षसम्म सजाय हुने व्यवस्था रहेको उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष बानियाँ बताउँछन्। “अहिलेसम्म मुद्दा चलेन। रक्सी समातेर ल्याउने र पोख्ने मात्रै भयो। पोखेकैलाई सजाय भयो भन्ने सोचियो,” बानियाँ भन्छन्।
विषालु रक्सी खाएर धेरै मान्छे मरिसक्दा पनि यस्तो रक्सी उत्पादन गर्ने र बिक्री गर्नेलाई कारबाही हुने गरेको छैन। महोत्तरी र धनुषाका यी घटना भएको एक वर्षसम्म कसैलाई कारबाही भएको छैन। यस्तो अपराध गर्नेहरू निर्धक्कसँग आफ्नो धन्दा गरिरहेका छन्।
“डरलाग्दो, चिन्ताजनक अवस्था छ। स्थानीय प्रहरी, प्रशासन, स्थानीय, प्रदेश र संघीय सरकार जबसम्म कडा एक्सनमा आउँदैनन्, जबसम्म जनता सूचना दिँदैनन्, त्यतिन्जेलसम्म केही गर्न सकिँदैन। अहिले हामी ख्यालख्यालमा लिइराखेका छौं। भोलि भयंकर अवस्था आउँछ, धेरै ठूलो समस्या आउँछ।”
महोत्तरीका डीएसपी विष्ट यस्तो अपराध गर्नेलाई कानूनी दायरमा ल्याउने गरेको बताउँछन्। सूचना पाउने बित्तिकै एक्सनमा जाने गरेको बताउँछन्। उनी भन्छन्, “तराईका जिल्लाहरूमा लुकीछिपी गर्ने, प्रहरीको आँखा छल्ने, प्रहरीको गस्ती पातलो भएको ठाउँतिर गर्ने गरिएको छ।”
नगरपालिका प्रमुख साह घटना घट्नुभन्दा पहिल्यै कडा रूपमा प्रस्तुत हुनुपर्ने बताउँछन्। यसलाई पहिले नै गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ। “मान्छे मरिसकेपछि अलि दिन कडाइ गर्ने, त्यसपछि छोडिदिने गरिन्छ। जबसम्म यो प्रवृति अन्त्य हुँदैन, तबसम्म रोकिन असम्भव छ,” साह भन्छन्।
महोत्तरीमा ज्यान गएको घटनामा प्रमाणका अभावमा कारबाही गर्न नसकिएको डीएसपी विष्टको भनाइ छ। “अहिले एक जनाको पसल भन्ने आएको छ। रक्सी पसल त हो, तर त्यही रक्सीले हो कि होइन, यकिन छैन,” डीएसपी विष्ट भन्छन्, “त्यतिखेर सामान्य सोधपुछ भएको थियो। प्रमाण भेटिएको भए कारबाही हुन्थ्यो। अहिले पनि केही बिग्रिएको छैन। त्यो रक्सी विषाक्त थियो वा त्यसले गर्दा मृत्यु भएको हो भन्ने आयो भने भोलिका दिनमा पनि कारबाहीको दायरमा ल्याउन सकिन्छ।”
स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी र जनप्रतिनिधि भने यति धेरै मानिस मर्दा पनि कसैलाई कारबाही नभएकाले यो समस्या घट्ने नदेखिएको बताउँछन्। “डरलाग्दो, चिन्ताजनक अवस्था छ। स्थानीय प्रहरी, प्रशासन, स्थानीय, प्रदेश र संघीय सरकार जबसम्म कडा एक्सनमा आउँदैनन्, जबसम्म जनता सूचना दिँदैनन्, त्यतिन्जेलसम्म केही गर्न सकिँदैन,” नगरपालिका प्रमुख साह भन्छन्, “अहिले हामी ख्यालख्यालमा लिइराखेका छौं। भोलि भयंकर अवस्था आउँछ, धेरै ठूलो समस्या आउँछ।”
“कमाएर खाने हो, त्योभन्दा अरू के भन्नु? कोदालो खन्ने, कसैको हलो जोतिदिने, काम त्यही छ हजुर। गरीब मान्छेको के हुनु”
विषाक्त रक्सी खाएर मर्नेहरू सबैजसो गरीब थिए। थोरै खेती र मजदूरीमा निर्भर थिए। काम गर्ने मानिस मरेपछि उनीहरूको परिवारमा धेरै किसिमका असर परेका छन्। कमाउने मानिस मरेपछि उनीहरूको परिवारलाई शोकमाथि अप्ठ्यारो थपिएको छ। बर्दिबासको अहिमानपुरकी बिन्दैदेवी सदा भन्छिन्, “गरीबको त त्यही त समस्या छ नि। कमाउन सक्यो भने खान पाइयो। नकमाए के खाने?”
उनका छिमेकी शिवनारायण महतो पनि समस्या भएको बताउँछन्। “कमाएर खाने हो, त्योभन्दा अरू के भन्नु? कोदालो खन्ने, कसैको हलो जोतिदिने, काम त्यही छ हजुर। गरीब मान्छेको के हुनु,” उनी भन्छन्।
बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की त्यहाँ अत्यधिक गरीबी रहेको बताउँछन्। गरीबीको रेखामुनि मात्रै नभएर घरबार नै नभएका धेरै भएको बताउँछन्। “आफ्नो आवास नभएका, जग्गा नभएका, घर बनाउने जमीनै नभएका मानिसहरू १० प्रतिशत छन्,” कार्की भन्छन्।
अझै पनि मृतकका आफन्तहरू आफूलाई अन्याय गरेको कुरा उठाउन सक्ने अवस्थामा छैनन्। त्यसैले उनीहरू मरेको एक वर्षसम्म पनि कारबाही अघि बढेको छैन।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ मुद्दा हाल्नुपर्ने बताउँछन्। उनी भन्छन्, “यसमा मुद्दा चलाउने बित्तिकै टुंगो लाग्छ।”
मृतकका परिवारलाई अलिकति पैसा दिएर सरकारले उनीहरूको मुखमा बुजो लगाएको छ। यस्ता घटनामा कारबाही हुन नसक्ने भन्ने होइन। २०६५ मा सिन्धुपाल्चोकमा विषाक्त रक्सी खाएर मान्छे मरेको र आँखा बन्द भएको घटनामा अदालतमा मुद्दा परेको थियो। त्यसमा सहयोग गरेका उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष एवं कानून व्यवसायी बानियाँ भनछन्, “हामीले नै क्षतिपूर्तिको मुद्दा गर्यौं। १६ लाख रुपैयाँ भराइदियौं।”
ऐन छ, कानून छ। ऐन कार्यान्वयन गर्ने निकाय छ। तैपनि विषाक्त रक्सी बेचेर मान्छेको ज्यान लिने अपराध भइरहेको छ। यो अपराध कसरी रोकिएला? भंगाहा नगरपालिका प्रमुख साह कारबाही गर्नुपर्ने बताउँछन्। “यस्तो गलत कार्य भइरहेको छ र स्थानीय सरकारका प्रतिनिधि, जस्तो वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्षसम्मले जानकारी दिएनन् भने बर्खास्त गर्ने व्यवस्था गर्नुपर्छ, ७५ प्रतिशत सुधार हुन्छ,” प्रमुख साह भन्छन्, “यस्तो कार्य गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ।”
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँ मुद्दा हाल्नुपर्ने बताउँछन्। उनी भन्छन्, “यसमा मुद्दा चलाउने बित्तिकै टुंगो लाग्छ।” तर, विषालु रक्सी उत्पादन गर्नेहरूविरुद्ध मुद्दा हाल्ने र सजाय दिलाउने काम कसले गर्ला?
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन 'सग्लो समाज'को १४औं अंक ‘विषालु रक्सी ज्यान मार्ने छुट'मा आधारित सामग्री।)