अपांगतासँगै सकिएको एउटा सम्बन्ध
घर पोत्ने माटो लिन गएकी उनलाई ढिस्कोले पुर्याे। डेढ वर्ष अस्पतालमा बसेर ह्वीलचेयरबाट माइती पुगिन्। विदेशबाट फर्किएका श्रीमान्ले भने, ‘मेरो वंश अगाडि नबढ्ने भयो, तँ मेरा लागि काम नलाग्ने भइस्, के म अब यत्तिकै बसूँ?’
२०६८ साल असोज महीना। दशैँले छाइसकेको थियो। जेठानीहरू घर पोत्ने माटो लिन जाने भए। अम्बिका विष्टलाई नजान भन्दै थिए। तर, उनी पनि पछि लागिन्। सप्तरीको बलार्दकी अम्बिकाको त्यही दिनबाट खुशी खोसियो।
बिहे गरेको महीना दिनमै श्रीमान् वैदेशिक रोजगारीमा गएका थिए। उनी क्याम्पस पढ्दै घरको काममा पनि सघाउँथिन्। तर, त्यो दिन माटो लिन गएकी उनी फेरि कहिल्यै त्यही घर फर्किन पाइनन्।
माटो खन्ने क्रममा खसेको ढिस्कोले अम्बिकालाई पुर्यो। उनीसँगै गएका आफन्त र छिमेकीले बल्लतल्ल बाहिर निकाले। अचेत अवस्थामा उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइयो। तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगियो।
माटो खन्ने क्रममा खसेको ढिस्कोले अम्बिकालाई पुर्यो। उनीसँगै गएका आफन्त र छिमेकीले बल्लतल्ल बाहिर निकाले। अचेत अवस्थामा उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा पुर्याइयो। तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगियो।
दुर्घटनापछि माइतीले उनको निकै स्याहार गरे। तर, उनलाई श्रीमान्काे साथ खट्किरह्यो। श्रीमान्ले फोनबाट हालखबर सोध्दा सन्चो महसूस गर्थिन्। श्रीमान्काे फोन आउँदा भाँचिएको मेरुदण्ड बिर्सिएर जुरुक्क उठ्न मन लाग्थ्यो।
काठमाडौंको सिभिल अस्पतालमा लामो समय उपचार भयो। तर, पुरानो शारीरिक अवस्थामा फर्किन सकिनन्। सन्चो भएर घर फर्किने आशामा लगभग डेढ वर्ष अस्पतालमा बिताइन्। तर, बाँकी जीवन ह्वीलचेयरको सहारामा चल्नुपर्ने भयो।
समय बित्दै जाँदा मेरुदण्डसँगै परिवारले पनि साथ छोड्न लागेको उनलाई महसूस हुन थाल्यो। पहिला श्रीमान्काे परिवारले सोधखोज गर्न छाड्याे। अनि श्रीमान्काे पनि फोन आउन कम हुँदै गयो।
कठिन समयमा अम्बिकालाई सबैभन्दा ठूलो भरोसा श्रीमान्कै थियो। फोन गरेर ‘पीर नमान’ भनिदिने आशा गर्थिन्। तर, फोन आउनै कम हुन थालेपछि कामको व्यस्तता होला भन्ने अनुमान लाउँथिन्। र, चित्त बुझाउँथिन्।
दुर्घटनाको दुई वर्षपछि २०७० सालको दशैँमा श्रीमान् नेपाल फर्के। श्रीमान् आउने खबर पाएपछि उनलाई एयरर्पोटमै लिन जाऊँ जाऊँ जस्तो भयो। तर, सम्भव थिएन। बिहे भएको एक महीनामै छुट्टिएका श्रीमान् उनलाई भेटन माइतीमै आउँदा औधी खुशी भइन्।
तर, अम्बिकाको खुशी केही घन्टा पनि टिकेन। श्रीमान्ले अँगालो हालेर ढाडस देलान् भन्ने सोचेकी उनी छाँगाबाट खसे जस्तै भइन्। श्रीमान् त अर्को बिहे गर्ने अनुमति माग्न पो आएका रहेछन्। श्रीमान्ले भनेका थिए, “मेरो वंश अगाडि नबढ्ने भयो, तँ मेरा लागि काम नलाग्ने भइस्, के म अब यत्तिकै बसूँ?”
उनी त श्रीमान्का लागि ‘काम नलाग्ने’ पो भइसकेकी रहिछन्। “श्रीमान्काे कुरा सुनेपछि मलाई बाँच्न मन लागेन, तर मर्न पनि सक्दिनथेँ,” उनी भन्छिन्। श्रीमान्काे प्रेम उनको शरीर र रूपरङसँग मात्र रहेछ।
श्रीमान्काे चाहना बमोजिम उनले अर्को बिहेका लागि अनुमति दिइन्। उनका श्रीमान् यही सुन्न आएका रहेछन्। त्यसपछि तुरुन्तै निस्किहाले। निस्कँदानिस्कँदै दोस्रो बिहे गरे पनि हेरविचार गर्ने र कुनै कुराको अभाव हुन नदिने झूटो वाचा गरे।
पढ्न दिने सर्तमा बिहे
उनी उदयपुरको चाैदण्डी नगरपालिकामा पर्ने सुन्दरपुर गाउँमा ३२ वर्षअघि जन्मिएकी थिइन्। उनी परिवारकी एक्ली छोरी हुन्। पढाइ अब्बल थियो। कक्षामा उनीबाहेक केटी कोही थिएन। गाउँमा छोरी पढाउने चलन थिएन। उनलाई भने पढाइ पूरा गरेपछि गाउँकै विद्यालयमा पढाउने धोको थियो।
उनी शिक्षाशास्त्रमा भर्ना भएर स्नातक दोस्रो वर्षमा पढ्दै थिइन्। परीक्षा नजिकिँदै थियो। अचानक घरमा बिहेको कुरा चल्यो। उनले आफ्नो पढाइ पूरा नहुन्जेल बिहे नगर्ने अडान राखिन्। केटाको परिवारले बिहेपछि पढ्न छुट दिने वाचा गर्यो। अनि उनी पनि राजी भइन्।
बिहेपछि सप्तरीकै एउटा क्याम्पसमा भर्ना भइन्। त्यतिबेला उनलाई एउटै चिन्ता थियो, बच्चा भयो भने पढाइमा अवरोध हुन्छ। तर, बिहे गरेको महीना दिन नपुग्दै श्रीमान् वैदेशिक रोजगारीमा गएपछि यो चिन्ताबाट मुक्त भइन्।
श्रीमान्ले विदेशबाट फोन गर्दा मख्ख पर्थिन्। आफ्नो पढाइबारे सुनाउँथिन्। घरमा पनि सबैकी प्यारी थिइन्। जेठानीहरू घरबाहिरको काम गर्न दिँदैनथे। तर, उनी काम बाँडेर गर्न अघि सर्थिन्। उनको यो खुशी धेरै दिन टिकेन। दशैँमा पोत्ने माटो लिन निस्किएकी उनी फेरि त्यो घर फर्किनै पाइनन्।
अनि सम्बन्धविच्छेद मागिन्
अनि उनले सम्बन्धविच्छेद गर्ने निर्णय गरिन्। बिहेको नौ वर्षपछि गएको अंश दाबी गर्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिन्। “सामाजिक औपचारिकता मात्रको सम्बन्ध किन बाँकी राख्नु?” उनी भन्छिन्। श्रीमान्ले कर्तव्य नबुझेको र जिम्मेवारीबाट पन्छिएकाले आफ्नो अधिकार सम्झिएर अंश मुद्दा पनि हालेको उनी बताउँछिन्।
श्रीमान्ले दोस्रो बिहे गरेपछि बिस्तारै अम्बिकालाई बिर्सिंदै गए। उनले पनि आशा मारिसकेकी थिइन्। तर, हरेक बिहान पूजापाठ गरेर सिउँदोमा सिन्दूर राख्थिन्। रातो पोते लगाउँथिन्।
उनी कहिलेकाहीँ मेसेन्जरमा श्रीमान्सँग च्याट गर्थिन्। श्रीमान् पुरानै वाचा दोहोर्याउँथे। तर, न कुनै सहयोग गर्थे न खर्च नै पठाउँथे। सप्तरीबाट इटहरी बसाइँ सरेको पनि उनलाई सुनाएनन्। “उनलाई बिहे गर्ने अनुमति समेत दिइसकेकी थिएँ, म के उनको बाटोमा तगारो बन्ने थिएँ र? तर, उनको व्यवहारले मेरो मन टुट्यो,” अम्बिका भन्छिन्।
अनि उनले सम्बन्धविच्छेद गर्ने निर्णय गरिन्। बिहेको नौ वर्षपछि अंश दाबी गर्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा हालिन्। “सामाजिक औपचारिकता मात्रको सम्बन्ध किन बाँकी राख्नु?” उनी भन्छिन्। श्रीमान्ले कर्तव्य नबुझेको र जिम्मेवारीबाट पन्छिएकाले आफ्नो अधिकार सम्झिएर अंश मुद्दा पनि हालेको उनी बताउँछिन्।
उनले गएको पुसमा अंशबापत रु.७ लाख लिएर सम्बन्धविच्छेद गरिन्। “उनका श्रीमती, परिवार छन्, त्यसैले जग्गामा मैले दाबी गरिनँ,” उनी भन्छिन्।
अब उनी आफ्नो जीवन एक्लै बिताउन तम्सिएकी छिन्। सानै उमेरमा देखेको शिक्षक बन्ने सपना पूरा गर्न लाग्दै छिन्। त्यसका लागि घर नजिकका विद्यालयहरूमा प्रयास गरिरहेकी छिन्। तर, विद्यालयहरू अपाङ्गमैत्री नहुँदा समस्या भइरहेको छ। त्यसका लागि स्थानीय तह र निकायहरूलाई झकझक्याउन थालेकी छिन्।