रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड
भारतीय अभिनेता रजनीकान्तलाई दादा साहेब फाल्के अवार्डबाट सम्मान गरिने भएको छ। यो अवार्डलाई भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ।
बिहीबार (१९ चैत) भारतका केन्द्रीय सूचना एवम् प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्वीट मार्फत ५१औं दादा साहेब फाल्के अवार्डको घोषणा गरेका हुन्।
मन्त्री जावडेकरले पाँच सदस्यको जुरीले अवार्डका लागि सर्वसम्मत रूपमा रजनीकान्तको नाम सिफारिश गरेको उल्लेख गरेका छन्। जुरीमा आशा भोसले, सुभाष घई, मोहन लाल, शंकर महादेवन र विश्वजित चटर्जी थिए।
यो अवार्ड सन् २०१९ को हो। कोरोनाभाइरस संक्रमण महामारीका कारण पछिल्लो समय सबै पुरस्कार र सम्मानको घोषणामा ढिलाइ भएको हो।
७१ वर्षीय रजनीकान्त विगत पाँच दशकदेखि भारतीय फिल्म क्षेत्रमा राज गरिरहेका छन्। उनले आफ्नो अभिनय यात्राको शुरूआत के. बालाचन्द्र निर्देशित सन् १९७५ को तमिल फिल्म 'अपूर्व रागंगल' बाट गरेका थिए।
रजनीकान्तको नामबाट फिल्म क्षेत्रमा प्रसिद्धि कमाएका उनको वास्तविक नाम भने शिवाजी राव गायकवाड हो। मुख्य रूपमा उनी तमिल फिल्ममा काम गर्छन्। दक्षिण भारतमा उनलाई प्रशंसकहरूले भगवान् नै मान्ने गरेका छन्। तमिल फिल्मको इतिहासमा उनी दिग्गज अभिनेता एमजी रामचन्द्रनपछि सबैभन्दा बढी कमाउने अभिनेता हुन्।
१२ डिसेम्बर १९५० मा बेंगलुरुको एक सामान्य मराठी परिवारमा जन्मिएका रजनीकान्तले तमिल फिल्म उद्योगमा मात्र नभई बलिउडमा पनि सफलता हासिल गर्दै ख्याति कमाए।