माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने भएको छ।
बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले अझै दुई-तीन दिन समर्थन फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बरु सरकार गठनका लागि अन्य दलसँग छलफल गरिने उनले बताए। “सरकार गठनको विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निष्कर्षमा पुगेका छौं,” श्रेष्ठले भने।
सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो। बैठकमा सरकारलाई दिएको समर्थनका विषयसँगै नेकपा विघटन गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न दिएकाे निवेदनका विषयमा पनि छलफल भएको छ।
सर्वोच्चले २३ फागुनमा नेकपाको एकीकरण गर्ने निर्णय बदर गरेपछि एमाले र माओवादी केन्द्र अलग भएका छन्। त्यसयता सरकारलाई दिएको समर्थन फिर्ता लिन कार्यकर्ताले माओवादी नेतृत्वलाई दबाब दिँदै आएका छन्।