सुनाखरी संरक्षणको पहल
संसारमा सबैभन्दा धेरै विविधता र बढी व्यापार हुने वनस्पति सुनाखरी संरक्षणका लागि ग्रीनहुड नेपालले पहल थालेको छ।
मंगलबार राजधानीमा आयोजित एक कार्यशालामा अनुसन्धानकर्मी, जडीबुटी व्यापारी, सरकारी अधिकारी, सञ्चारकर्मी र विद्यार्थीहरुले सुनाखरी संरक्षणका चुनौती र सम्भावनाबारे चर्चा गरे।
कार्यशालाका सहभागीहरू माझ संरक्षणका हिसाबमा प्राथमिकतामा राखिनुपर्ने प्रजातिहरूको पहिचान, व्यापारमा प्रयोग गरिने प्रजातिहरू र व्यापारिक मार्गबारे समेत जानकारी प्रस्तुत गरिएको थियो।
आकर्षक फूल र बहुउपयोगी औषधीय गुण हुने सुनाखरीका ५०० भन्दा बढी प्रजाति नेपालमा पाइन्छन्, जसमध्ये १५० भन्दा बढी औषधीजन्य प्रजाति रहेको तथ्यांक छ।
दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस)को अनुसूची –२ मा सूचीकृत सुनाखरीलाई अनुमतिविना संकलन र व्यापार गर्न पाइँदैन। तर, नेपालमा भने यसको अवैध व्यापारसमेत भइरहेको पाइन्छ।
ग्रीनहुड नेपालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयका डा.एमी हिन्स्ले, लान्कास्टर विश्वविद्यालयका डा.ज्याकोब फेल्प, अमेरिकाको हवाई विश्वविद्यालयका डा.टमारा टिक्टिन, आइयूसीएन अर्किड स्पेसलिस्ट ग्रुप आदिसँगको सहकार्यमा सुनाखरी संरक्षण–अध्ययनको काम गर्ने भएको छ।
अध्ययनको नेतृत्व गरिरहेकी संरक्षणकर्मी रेशु बस्याल कानूनी, गैरकानूनी रूपमा नेपालबाट भइरहेको सुनाखरीको व्यापार आकलन, दिगो संकलन सम्भाव्यता र सचेतना कार्यक्रमद्वारा संरक्षणमा सहयोग पुर्याइने अध्ययनको लक्ष्य रहेको बताउँछिन्।
“संरक्षण भन्ने बित्तिकै हामीकहाँ गैंडा, बाघ जस्ता ठूला जनावरहरू मात्र बुझिने गरिएको छ, लोपोन्मुख सुनाखरीबारे धेरैको ध्यान नै पुगेको छैन,” बस्याल भन्छिन्।
बेलायत सरकारको सहयोगमा दुई वर्षसम्म चल्ने यो अध्ययनमा विशेषज्ञका रुपमा संरक्षणकर्मी कुमार पौडेल र कमल मादेन पनि सहभागी छन्।