भाषाको पर्खालमा अनुवादको महत्त्व
अङ्ग्रेजी भाषाको उस्तो चलनचल्ती नभएको रुस तथा पूर्व सोभियत सङ्घका गणतन्त्रहरूलाई समेत ध्यानमा राखी रुसी भाषामा नेपाली साहित्यको प्रकाशनको पनि व्यवस्था गरिनु आवश्यक छ।
मदन पुरस्कार गुठीको साधारण सभाले विदेशमा रहेर पनि नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा कष्टसाध्य रूपमा संलग्न भई चार दशकअघिदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भइरहेबापत संवत् २०५८ सालको 'जगदम्बा-श्री' पुरस्कार मलाई दिने निर्णय गरेकोबाट म अत्यन्तै हर्षविभोर हुन पुगेको छु। मेरो लागि यो अहोभाग्य हो। नेपाली साहित्य जगत्को ज्यादै प्रतिष्ठित र गरिमामय यो महत्त्वपूर्ण पुरस्कार मलाई प्रदान गरिएकोमा मदन पुरस्कार गुठीका मान्यवर सदस्यहरूप्रति आन्तरिक हृदयदेखि आभार तथा कृतज्ञता ज्ञापन गर्दछु।
यहाँनेर कुन कुराको पनि स्मरण गराउन चाहन्छु भने तीन दशकअघि जगदम्बा प्रेस, ललितपुरबाटै ई.स. १८७५ तिर नेपालको सर्वप्रथम अध्ययन भ्रमण सम्पन्न गरी रुसमा नेपालविद्याको जग लगाउने प्रसिद्ध रुसी प्राच्यविद् इभान पाभ्लोभिच मिनायेभ (ई.सं. १८४०: १८९o) को लेखनीबाट नि:सृत नेपाल वृत्तान्तको मेरो अनुवाद पुस्तकाकार रूपमा 'इ.पा. मिनायेभको नेपाल' (वि.सं. २०२८) भन्ने शीर्षकमा प्रकाशित हुन पुगेको थियो। यमरी मेरो एउटा प्रथम प्रकाशित कृति र अहिले मलाई प्रदान गरिएको पुरस्कार जगदम्बाकै नामसित जोडिनुलाई मैले एउटा शुभसूचक प्रतीकको रूपमा लिएको छु।
मेरो जीवनको सर्वस्व भन्नु नै मेरा प्रकाशित र अझै प्रकाशको उज्यालो पाउन नसकेका नेपाली र रुसी भाषामा लेखिएका मेरा रचनाहरू हुन्। केवल कलम चलाएर नै भए पनि नेपाल र रुसका बीच एउटा साहित्यिक सम्पर्क माध्यमको रूपमा देशको किञ्चित् सेवा गर्न सकुँला कि भन्ने मेरो इच्छा हो।
एक कलमजीवीको हैसियतले मैले आफ्नो जीवनको दुईतिहाइ हिस्सा मातृभूमिबाट निकै टाढा रहेर रुसमा बिताएको भए तापनि नेपालको एक लब्धप्रतिष्ठ साहित्यिक संस्थाबाट आफ्नो श्रमको उच्च मूल्याङ्कन भई जगदम्बा-श्री पुरस्काररूपी साहित्यिक सम्मान प्राप्त भएको यस सुखद क्षणमा मेरो मथिङ्गलमा नाना थरीका विचारहरू चक्कराइरहेका छन्। मलाई जगदम्बा-श्री पुरस्कार प्रदान गरिएकोबाट जहाँ रहे तापनि आफ्नो देशको वर्चस्ववृद्धिका लागि आफूसक्दो कार्य गर्ने एक नेपालीको श्रमको उचित कदर कुनै न कुनै दिन मातृभूमिले अवश्य गर्दो रहेछ भन्ने मेरो आन्तरिक भावनामा बल थपिएको छ।
मेरो जन्मभूमि नेपाल हो, जहाँ मेरो जीवनको प्रारम्भिक एकतिहाइ हिस्सा बितेको थियो। रुस चाहिँ मेरो कर्मभूमि बन्न पुगेको छ, जहाँ मेरो जीवनको दुईतिहाइ बितेको छ। मेरो जीवनको सर्वस्व भन्नु नै मेरा प्रकाशित र अझै प्रकाशको उज्यालो पाउन नसकेका नेपाली र रुसी भाषामा लेखिएका मेरा रचनाहरू हुन्। केवल कलम चलाएर नै भए पनि नेपाल र रुसका बीच एउटा साहित्यिक सम्पर्क माध्यमको रूपमा देशको किञ्चित् सेवा गर्न सकुँला कि भन्ने मेरो इच्छा हो। विश्वको जुनसुकै भागमा बसे तापनि एक नेपालीको नाताले आफ्नो सीप र क्षमताको आधारमा मातृभूमि नेपालको सेवा गर्न सकिन्छ भन्ने मेरो धारणा छ।
विश्वको झन्डै ६ खण्डको एक खण्ड भूभागमा फैलिएको संसारको सबभन्दा विशाल देशसँग आकाश छुन लम्किरहेको हिमालयको काखमा अवस्थित आफ्नो मातृभूमिलाई एक साहित्यिक सूत्रले जोड्ने प्रयासमा नै मैले आफूलाई समर्पित गर्ने अठोट गर्दै आएको छु। मेरो सामर्थ्य र क्षमता भन्नु नै रुसी भाषाको ज्ञान हो र मेरो अभीष्ट पनि साहित्य नै हो। नेपाली साहित्यका बिरुवाहरूलाई यथासम्भव रुसमा सार्ने, रुसी साहित्यका फूलहरूलाई नेपाली माटोमा फलाउने मेरो आन्तरिक चाहना रहेको छ। प्रारब्धले नै यो अभिभारा मेरो काँधमा सुम्पेको मलाई अनुबोध हुन्छ। मेरो मातृभूमिले यही अभिभारा बोक्न मलाई रुसी भाषा र साहित्यको अध्ययनार्थ मास्को पठाएको पो हो कि भन्ने मलाई लाग्न थालेको छ।
चार दशकअघि रुसी भाषा सिक्न थाल्दा नै संस्कृतसित सामञ्जस्य राख्ने यस भाषाको रूपलावण्यले मलाई रुसी भाषाप्रति स्नेह उत्पन्न गराएको थियो। रुसी साहित्यको अध्ययन गर्न थालेपछि मैले रुसी भाषाका अमर कृतिहरू नेपालीमा उल्था गर्न थालेको थिएँ। फलतः रुसी महाकवि अलेक्सान्द्र पुश्किनको खण्डकाव्य 'जिप्सी' (वि. सं. २०२५) रुसी भाषाबाट सोझै नेपालीमा अनूदित पहिलो कृतिको रूपमा फुल्कन पुग्यो ...। रुसी साहित्यका कृतिहरूको नेपालीमा र नेपाली कृतिहरूको रुसीमा अनुवादका साथै रुसी भाषामा नेपाल विषयक केही मौलिक कृतिहरू प्रस्तुत गरेबापत रुस लेखक सङ्घको सदस्यता प्रदान गरिनुका साथै रुसी वाङ्मय प्रज्ञा-प्रतिष्ठानबाट मलाई पुश्किन स्वर्णपदकबाट विभूषित गरियो। एक नेपालीलाई रुसी साहित्य जगत्बाट गरिएको कदरलाई मैले नेपालप्रति नै रुसी मित्रहरूको हार्दिक सद्भावनाको रूपमा लिएको छु।
विश्वको झन्डै ६ खण्डको एक खण्ड भूभागमा फैलिएको संसारको सबभन्दा विशाल देशसँग आकाश छुन लम्किरहेको हिमालयको काखमा अवस्थित आफ्नो मातृभूमिलाई एक साहित्यिक सूत्रले जोड्ने प्रयासमा नै मैले आफूलाई समर्पित गर्ने अठोट गर्दै आएको छु। मेरो सामर्थ्य र क्षमता भन्नु नै रुसी भाषाको ज्ञान हो र मेरो अभीष्ट पनि साहित्य नै हो।
रेडियो मास्कोबाट सन् १९६३ को अक्टोबरमा नेपाली भाषाको प्रसारण सुरु भएदेखि नै म यस प्रसारणमा संलग्न रहेको छु। प्रसारणको माध्यमबाट पनि रसियाली तथा सोभियत साहित्यको परिचय नेपालीहरूलाई दिने सौभाग्य मलाई प्राप्त भएको थियो। सन् ६० र ७० को दशकमा रुसमा नेपाली साहित्यिक गतिविधिको एक संस्थापकका रूपमा रहने सौभाग्य मलाई प्राप्त भएको थियो, यद्यपि त्यो रुसी भाषाबाट नेपालीमा सोझै अनुवादको प्रारम्भिक चरण थियो। पछि मास्कोबाट प्रगति प्रकाशन तथा रादुगा प्रकाशनबाट नेपाली भाषामा पुस्तकहरू प्रकाशित हुन थाल्यो। यी प्रकाशनगृहहरूसित सम्बन्धित भएरै मैले नेपालीमा अलेक्सान्द्र पुश्किन, मिखाइल लेर्मोन्तोभ, लेभ तोल्सतोय, इभान तुर्गनेभ, अलेक्सान्द्र ग्रीन, माक्सिम गोर्की, मिखाइल शोलोखोभ प्रभृति विख्यात रुसी लेखक-कविहरूका केही अमर कृतिहरू र रुसी बालसाहित्यका पुस्तकहरूलाई नेपाली पाठकसमक्ष प्रस्तुत गर्ने सम्भावना भएको थियो।
खास गरी रुसी साहित्यका कृतिहरूको प्रकाशनमा रादुगा प्रकाशनको गहकिलो योगदान रहने आशा राखिएको थियो। तर, सोभियत सङ्घको विघटनका साथै नेपालीमा पुस्तक प्रकाशन बन्द हुनुका साथै रुसमा चार दशक यतादेखि संलग्नता रहेको रेडियो मास्कोबाट नेपाली प्रसारण पनि स्थगन गरियो। हाल रुसमा प्रकाशनको स्वतन्त्रता हुनुका साथै कम्प्युटर प्रविधिको उपयोगको सुविधा छ, तर स्रोत र साधनको अभावले गर्दा निजी स्तरमा पुस्तक प्रकाशन गर्ने सम्भावना छैन। अहिलेको यस्तो परिस्थितिमा दुई देशबीच साहित्यिक आदानप्रदानमा नेपाली पक्षको पनि दायित्व हुन्छ भन्ने मलाई लागेको छ।
साहित्य सिर्जनाको निम्ति स्वदेशको परिवेश अनिवार्य हुन्छ भन्ने मेरो धारणा छ। तसर्थ मैले नेपाली साहित्य र संस्कृतिको अनुसन्धानलाई आफ्नो लेखनको मुख्य विषय बनाउनुका साथै रुसी भाषाबाट नेपालीमा साहित्यानुवादको बाँझो खेत जोत्ने किञ्चित् प्रयास गर्दै आएको छु।
नेपाली साहित्यको एक अध्येताको हैसियतले आफूलाई सकभर नेपालका लेखक-कविहरूको निकटमा राख्ने सक्दो प्रयास गर्दै आएको छु। पहिले हरेक तीन वर्षमा नेपाल जाने सम्भावना पाइरहेको थिएँ र नेपाली साहित्यकारहरूसँगको प्रत्यक्ष साक्षात्कारबाट लाभान्वित हुने गरेको थिएँ। स्वदेश पुग्दा तीन वर्षको अन्तरालमा समेत नेपाली साहित्यले निकै लामो फड्को मारिसकेको रहेछ भन्ने म अनुभव गर्दथेँ। साहित्य सिर्जनाको निम्ति स्वदेशको परिवेश अनिवार्य हुन्छ भन्ने मेरो धारणा छ। तसर्थ मैले नेपाली साहित्य र संस्कृतिको अनुसन्धानलाई आफ्नो लेखनको मुख्य विषय बनाउनुका साथै रुसी भाषाबाट नेपालीमा साहित्यानुवादको बाँझो खेत जोत्ने किञ्चित् प्रयास गर्दै आएको छु।
विदेशमा धेरै वर्ष बिताउनुपर्दा देशको वर्तमान साहित्यिक गतिविधिबाट समेत अनभिज्ञ रहनुपर्ने हुन्छ। यो मेरो आफ्नो भोगाइ हो। गत चार दशकभित्र नेपालमा कैयौं साहित्यिक र भाषिक आन्दोलनहरू सम्पन्न भइसकेका छन् र अहिलेको नेपाली साहित्य सन् ५० वा ६० को दशकको भन्दा एकदमै भिन्न भइसकेको आभास हुन्छ। यो विकासको द्योतक हो भन्ने मलाई लाग्छ। साहित्य सधैं एउटै धरातलमा रहिरहन सक्तैन र रहनु पनि हुन्न। पछिल्लो समयमा नेपाली साहित्यमा लेखक र कृतिहरूको सङ्ख्यामा मात्र वृद्धि भएको नभई त्यसमा गुणात्मक वृद्धि भएको छ भन्दा अतिशयोक्ति हुनेछैन।
विभिन्न क्षेत्रमा अनुसन्धान कार्यमा पनि नेपाली विद्वान्हरूले पहिलेजस्तो केवल परिचयात्मक लेख र कृतिहरूको मात्र रचना गरेको नभई विश्लेषणात्मक कृतिहरू पनि लेखिन र प्रकाशित हुन थालेका छन्। अब नेपालको विषयवस्तुमा विदेशी अनुसन्धानकर्ताहरूको लेखनमा मात्र हामीले निर्भर हुनुपर्ने अवस्था छैन। यो ज्यादै खुशीको कुरा हो, यद्यपि नेपालप्रति विदेशी विद्वान्हरूको दृष्टिकोणबाट अनभिज्ञ रहन सकिँदैन। विदेशी विद्वान्हरूले अङ्ग्रेजीमा लेखेका नेपाल विषयक पुस्तकहरूबारे नेपालीहरूलाई तुरुन्तै अवगत हुने भए तापनि रसियाली विद्वान्हरूका यस्ता कृतिहरू चाहिँ ओझलमै परिरहेका छन्। रसियाली नेपालविद्हरूका अनुसन्धानमूलक कृतिहरूको नेपाली भाषामा अनुवादको व्यवस्था हुनसके बेस हुने थियो भन्ने ठान्दछु।
हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट सुरु गरिएको नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्ने परम्परालाई विकसित गर्दै लैजाने प्रक्रिया हाल अघि बढिरहेको छ। केही नेपाली साहित्यिक कृतिहरू यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरेका छन्। हालसालै रुस सीआईएस नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री जीवा लामिछानेको प्रकाशनमा अङ्ग्रेजी भाषामा आधुनिक नेपाली कविताहरू तथा निबन्धका गरी तीन सङ्ग्रह प्रकाशित भएका छन्। नेपाली साहित्यलाई विश्वसाहित्यको आँगनमा पुर्याउने यो स्तुत्य कार्य हो।
अङ्ग्रेजी भाषाको उस्तो चलनचल्ती नभएको रुस तथा पूर्व सोभियत सङ्घका गणतन्त्रहरूलाई समेत ध्यानमा राखी रुसी भाषामा नेपाली साहित्यको प्रकाशनको पनि व्यवस्था गरिनु आवश्यक छ भन्ने ठान्दछु। स्मरण रहोस्, तत्कालीन सोभियत सङ्घको ताशकन्द शहरमा सम्पन्न भएको एसिया तथा आफ्रिका लेखक सम्मेलनमा लक्ष्मीप्रसाद देवकोटाद्वारा प्रस्तुत भाषणको रुसी अनुवादका माध्यमबाट नै यस भूखण्डका विद्वान् तथा साहित्यकारहरूले सर्वप्रथम नेपाली साहित्यको परिचय पाएका थिए। फलतः रुसमा नेपालविद्याका संस्थापक इभान मिनायेभको कार्यलाई अगाडि बढाउँदै रुसी विद्वान् तथा विदुषीहरूले नेपाली भाषा, साहित्य, इतिहास, संस्कृतिको क्षेत्रमा सन् ६० को दशकदेखि व्यापक अध्ययन गर्न थालेका थिए। सबै रसियाली नेपालविद्हरूसँग मेरो व्यक्तिगत परिचय हुनुका साथै रुसमा नेपालविद्याको विकासको प्रत्यक्षदर्शी बन्ने सुयोग पनि मलाई प्राप्त भयो। यसैको आधारमा 'रुसमा नेपालको छवि' (वि.सं. २०५६) शीर्षकको पुस्तक प्रकाशमा ल्याउन समर्थ भएँ।
तत्कालीन सोभियत सङ्घको तासकन्द शहरमा सम्पन्न भएको एसिया तथा अफ्रिका लेखक सम्मेलनमा लक्ष्मीप्रसाद देवकोटाद्वारा प्रस्तुत भाषणको रुसी अनुवादका माध्यमबाट नै यस भूखण्डका विद्वान् तथा साहित्यकारहरूले सर्वप्रथम नेपाली साहित्यको परिचय पाएका थिए।
गत चार दशकभित्र रुसी नेपालविद्हरूको अनुसन्धानको परिणामस्वरूप नेपाल सम्बन्धी दशौं पुस्तकहरू प्रकाशित भएका छन्। नेपाली दन्त्यकथा, कथा र कविताहरूले पनि रुसी भाषामा पुनर्जन्म पाएका छन्। अहिलेसम्म रुसी भाषामा नेपालको इतिहास, अर्थतन्त्र, राजनीति, संस्कृति एवं साहित्य सम्बन्धी अनुसन्धानात्मक कृतिहरूका अतिरिक्त 'नेपाली कविहरू' (ई.सं. १९८५), 'नेपाली कविहरूका कविता' (ई.सं. १९६२), लक्ष्मीप्रसाद देवकोटाका ‘सङ्कलित रचनाहरू' (ई.सं. १९९८), कथासङ्ग्रह 'आमाको ममता', (वि.सं. १९६७) दन्त्यकथासङ्ग्रह 'यमलोकमा जिउँदो मान्छे', (ई.सं. १९७५), 'स्वस्थानी' (ई.सं. १९९६) शीर्षकमा अनूदित कृतिहरू प्रकाशमा आएका छन्। 'नेपाली रुसी शब्दकोश' (ई.सं. १९६८) तथा 'रुसी नेपाली शब्दकोश' (ई.सं. १९७५) का साथै नेपालको साहित्यकै विषयमा चाहिँ 'नेपाली साहित्य' (ई.स. १९६४), 'नेपाली कविताको कथा' (ई.स. १९७०), 'आधुनिक नेपाली काव्यमा मानव, समाज, धर्म' (ई.सं. १९८५), 'नेवारी साहित्य' (ई.सं. १९९५) आदि पुस्तकहरू प्रकाशित भएका छन्।
यस समयावधिमा रुसमा नेपाली भाषा र साहित्यको अध्ययन तथा अनुवादको फाँटमा मैले पनि केही श्रम लगाउने मौका पाएको कुरा उल्लेख नगर्न सक्तिनँ। तर, इतिहासविद् इल्या रेद्को, अर्थशास्त्री गेन्नाडी याकोभ्ल्योभ, भाषाविद् निकोलाई कोरोल्योभ, साहित्यविदुषी ल्युदमिला आगानिना, कलाविदुषी येभेलिनजा गानेभ्स्काया प्रभृति लब्धप्रतिष्ठित नेपालविद्हरूको देहावसानपश्चात् रुसमा नेपालविद्याको विकास केही हदसम्म अवरुद्ध भएको प्रतीत हुन्छ। रुसको वर्तमान अवस्थामा नेपालविद्हरूका कृतिहरूले प्रकाशनको अवसर पाइरहेका छैनन्। रुसी भाषामा प्रकाशनार्थ मैले तयार पारेका नेपाली दन्त्यकथासङ्ग्रह, नेपाली किंवदन्ती सङ्ग्रह, नेपाली उत्सवपर्व, नेपाली कथासङ्ग्रह, नेपाली स्रष्टा र साहित्य आदि कतिपय पुस्तकहरू पनि अप्रकाशित नै रहेका छन्।
पछिल्लो समयमा रुसमा नेपालविद्याको विकासका लागि विभिन्न अनुसन्धान संस्थानहरूमा कार्यरत रुसी नेपालविद्हरूलाई एकबद्ध गरी नेपालविषयक अनुसन्धानलाई अगाडि बढाउने सम्भावना रहेको छ र म यस क्षेत्रमा संलग्न पनि छु। यसको परिणामस्वरूप 'नेपालको संस्कृतिः परम्परा र आधुनिकता' (ई.सं. २००१) र 'नेपाल सहस्राब्दीहरूको संघारमा' (ई. सं. २००२) शीर्षकमा दुई गहकिला लेखसङ्ग्रहहरू प्रकाशमा आएका छन्। भाषाका पर्खालले गर्दा नेपालको विषयमा रुसी भाषामा निस्कने नेपालविद्हरूका कृतिहरू नेपालीहरूले पढ्न नपाउने स्थिति छ भने रुसी विद्वान्हरू पनि नेपाली भाषामा प्रकाशित कृतिहरूबाट अनभिज्ञ नै रहेको पाइन्छ। यस स्थितिमा परिवर्तन ल्याउन रुसी भाषाका कृतिहरूको अनुवाद र प्रकाशनको चाँजोपाँजो मिलाउनु आवश्यक छ। अहिले रुसको अवस्थामा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपाल तथा एसियाली अध्ययन संस्थान, मदन पुरस्कार गुठी जस्ता प्राज्ञिक तथा शैक्षिक संस्थाहरूको सहभागितामा नेपाल पक्षबाट पहल गरिनु जरुरी छ भन्ने लागेको छ। नेपाल र रुसका विद्वान्हरूको कृतिहरूको संयुक्त प्रयासबाट यो सम्भव हुने ठान्दछु। यसै गरी नेपाली र रुसी लेखक-कविहरूका कृतिहरूका पनि पारस्परिक अनुवाद संयुक्त सङ्कलनहरूको प्रकाशनको व्यवस्था गर्न सके हुन्थ्यो। म यस दिशामा प्रयासरत छु।
भाषाका पर्खालले गर्दा नेपालको विषयमा रुसी भाषामा निस्कने नेपालविद्हरूका कृतिहरू नेपालीहरूले पढ्न नपाउने स्थिति छ भने रुसी विद्वान्हरू पनि नेपाली भाषामा प्रकाशित कृतिहरूबाट अनभिज्ञ नै रहेको पाइन्छ। यस स्थितिमा परिवर्तन ल्याउन रुसी भाषाका कृतिहरूको अनुवाद र प्रकाशनको चाँजोपाँजो मिलाउनु आवश्यक छ।
इन्टरनेटको यस युगमा अहिले मलाई ती दिनहरूको अनायासै सम्झना भइरहेको छ, जतिखेर मातृभूमिबाट निकै टाढा रहनुपर्दा दैनिक जीवनमा नेपाली भाषाको उपयोग विरलै हुनुका साथै नेपाली पत्रपत्रिका र पुस्तकहरूको अध्ययनको समेत अभावमा नेपाली भाषाका विरल शब्दहरू नै बिर्सन बेर नलाग्ने अनुभव हुन थालेको थियो। कथंकदाचित् यस्तो नहोओस् भन्ने उद्देश्यले मास्कोमा अध्ययनरत नेपालीहरूले हस्तलिखित रूपमा नै भए पनि सुरुमा 'किरण' नामक साहित्यिक पत्रिका प्रकाशित गर्न थालेका थिए। तत्पश्चात् पूर्व सोभियत संघका विभिन्न शहरहरूबाट समेत ज्योति, राँको, ज्वाला, फिलिङ्गा, झिल्को, सिरेटो, कोसेली, पालुवा, रारा, नौलो मुस्कान, सङ्घर्ष, प्रगति, कवितैकविता, पल्पसा, जनमैत्री, तिमीमा आदि शीर्षकहरूमा पत्रिकाहरू झुल्केका थिए। सोभियत रुसमा प्रकाशनमा राज्यको पूर्ण नियन्त्रण हुँदा मास्कोमा नेपाली भाषामा नेपाली छात्रसंघको मुखपत्र र अन्य पत्रिका समेत टंकणयन्त्रको सहायताबाट केही प्रति मात्र निकाल्न सकिन्थ्यो। त्यतिखेरको अवस्थामा काठमाडौंबाट मुद्रित रूपमा 'किरण' पत्रिकाका केही विशेषाङ्कहरू प्रकाशमा ल्याउन सकिएको थियो। यसै परम्परालाई कायम राख्दै हाल रुस सीआईएस नेपाल उद्योग वाणिज्य सङ्घको मुखपत्र 'सार्थवाह' प्रकाशित हुने गरेको छ। यस वाणिज्यदूत पत्रिकाको सम्पादनको अभिभारा म वहन गर्दै छु।
रुसमा उच्च शिक्षा हासिल गर्ने साहित्यप्रेमीहरूले नै सर्वप्रथम रुसी भाषाबाट सोझै नेपाली भाषामा अनुवादको शुभारम्भ पनि गरेका हुन् भन्न पाउनु कम गर्वको कुरा होइन। रुसी भाषाको केही ज्ञान हासिल भइसकेपछि सम्पन्न रुसी साहित्यका केही कृतिहरूको नेपाली भाषामा अनुवाद गर्ने ध्येयले विश्व साहित्यानुवाद संस्थानको सञ्चालन गर्ने निर्णय लिई रुसी साहित्यका केही कृतिहरूको नेपालीमा रूपान्तरण र काठमाडौंबाट प्रकाशन पनि गरिएको थियो। त्यसताका यसरी साहित्यिक अभ्यास आरम्भ गर्नेहरूमध्ये हाल मेरा केही साहित्यिक बन्धुहरूले आ-आफ्नो विषयका पुस्तकहरू नेपाली भाषामा मात्र नभई अङ्ग्रेजी तथा रुसी भाषामा समेत प्रकाशित गराउनुका साथै रुसी साहित्यको प्रचारप्रसार गरी मौलिक कथा, कविता, निबन्ध र उपन्यासहरू समेत प्रकाशित गर्न थालेको देख्न र सुन्न पाउँदा खुसी लाग्नु स्वाभाविकै हो। यस परिप्रेक्ष्यमा श्री आनन्दबहादुर थापा, श्री नीलाम्बर आचार्य, श्री सोमनाथ पौडेल, श्रीमती मीना आचार्य, डा. बलराम अर्याल, डा. महादेव साह स्वर्णकार, डा. लोकेन्द्र शर्मा, डा. भीष्म आचार्य, श्री चन्द्रकान्त आचार्य, श्री कन्हैया नासनानी, श्री विष्णुबहादुर सिंह, डा. जंगब चौहान, डा. मधुकृष्ण श्रेष्ठ प्रभृतिको नामोल्लेख गर्न चाहन्छु। यसरी रुसी भाषाका ज्ञाता मेरा साहित्यिक बन्धुहरूले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याइरहेकोबाट मलाई विशेष गर्वको अनुभव हुन्छ।
नेपाली साहित्यको सिर्जनामा रुसको भूमि पनि उर्वर नै रहेको छ। यहाँ अध्ययन गर्ने साहित्यप्रेमी नेपाली विद्यार्थीहरूका रचनाहरूका अतिरिक्त बेलाबेलामा रुसको यात्रा भ्रमणमा आएका बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, विजय मल्ल, भूपी शेरचन, भीमनिधि तिवारी, दौलतविक्रम विष्ट प्रभृति हाम्रो दिवङ्गत मूर्धन्य लेखक-कविहरू र अहिले पनि हाम्रो माझमा रहनुभएका स्वनामधन्य कविवर श्री माधवप्रसाद घिमिरे, श्री कुमार ज्ञवाली, श्री दिनेश अधिकारी, श्री लक्ष्मण लोहनी, डा. बानीरा गिरी, श्री भीम उदास, श्रीमती रञ्जना उदास प्रभृतिको लेखनीबाट रुसको भूमिमा रचिएका कृतिहरू उल्लेख्य छन्। नेपाली लेखक-कविहरूको लेखनीबाट मास्को बसाइकालमा रचिएका कृतिहरूको सङ्कलन पनि कुनै दिन प्रकाशमा आउला भन्ने आशा छ।
भूमण्डलीकरणको अहिलेको युगमा विश्वव्यापी इन्टरनेटको माध्यमबाट नेपाली वाङ्मयको प्रचार-प्रसारको व्यापक सम्भावना देखापरेको छ। यसका साथै परम्परागत पुस्तक प्रकाशनको औचित्य यथावत् नै छ। विश्वको ६ खण्डको एक खण्ड भूभाग ओगट्ने रुसमा पनि हामीले नेपाली साहित्य र संस्कृतिको परिचय दिनु आवश्यक छ भन्ने मेरो ठनाइ रहेको छ।
रुस सीआईएस नेपाल उद्योग वाणिज्य सङ्घ एक साहित्यिक संस्था नभए तापनि केही नेपाली उद्यमी तथा साहित्यप्रेमी नेपालीहरूको सत्प्रयासबाट र साहित्यानुरागी शाही नेपाली राजदूत श्री लीलाप्रसाद शर्मा, रुसमा विश्व खाद्य कार्यक्रमका वरिष्ठ संयोजक नेपाली कवि श्री भीम उदास प्रभृतिको तत्परताबाट हाल मास्कोमा नेपाली साहित्यिक गतिविधि जारी नै रहेको छ। अहिले यस्तो गतिविधिमा गुणात्मक परिवर्तन समेत देखापरेको छ भन्न सकिन्छ। गत समयमा रुसी लेखक-कविहरूसँग मिलेर नेपाल रुस साहित्य गोष्ठीहरूको आयोजना गरिनुका साथै रुसी नेपालविद्हरूको समेत सहभागितामा विभिन्न सन्दर्भमा नेपाली संस्कृति आदि विषयक सम्मेलनहरूको पनि आयोजना हुने गरेको छ।
केही समययतादेखि मास्कोमा रहेका केही साहित्यप्रेमीहरूको प्रयासबाट डा. मधुकृष्ण श्रेष्ठको सम्पादकत्वमा पाँच भाषे (नेपाली, अङ्ग्रेजी, रुसी, हिन्दी तथा नेवारी) साहित्यिक इन्टरनेट पत्रिका फ्रीनेपाल को सञ्चालन भएको छ। यसै पत्रिकाका प्रायोजक श्री शम्भुप्रसाद रिजालको सहयोगमा काठमाडौंमा कवि भीमदर्शन रोकाको सम्मान गरी उहाँका कविताहरूमा आधारित गीतहरूको क्यासेट "घाम डुबी तारा नउदाएको आकाश" पनि विमोचन गरिएको थियो। मलाई यस इन्टरनेट पत्रिकाको एक सल्लाहकारको कार्यभार सुम्पिएको छ। भूमण्डलीकरणको अहिलेको युगमा विश्वव्यापी इन्टरनेटको माध्यमबाट नेपाली वाङ्मयको प्रचार-प्रसारको व्यापक सम्भावना देखापरेको छ। यसका साथै परम्परागत पुस्तक प्रकाशनको औचित्य यथावत् नै छ। तर, यसका लागि व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन, संस्थागत प्रयास पनि हुनु आवश्यक छ। विश्वको ६ खण्डको एक खण्ड भूभाग ओगट्ने रुसमा पनि हामीले नेपाली साहित्य र संस्कृतिको परिचय दिनु आवश्यक छ भन्ने मेरो ठनाइ रहेको छ।
मदन पुरस्कार गुठीको तर्फबाट मलाई जगदम्बा-श्री पुरस्कार प्रदान गरिनुलाई मैले रुसमा रहेका नेपाली बन्धुहरूको साहित्यिक गतिविधिको उच्च मूल्याङ्कनको द्योतक मानेको छु। मलाई यस पुरस्कारले भविष्यमा अझ केही गर्न सकूँ भन्ने प्रेरणा प्रदान गरेको छ र यस विचारलाई अवश्य पनि म एक्लैले नभई सबैको सामूहिक प्रयासबाट मात्र साकार तुल्याउन समर्थ हुनेछु। निःसन्देह नै जुनसुकै कार्यको सफलताका लागि पनि देशमा शान्ति र स्थिरताको वातावरण अनिवार्य हुन्छ। देश कुरुक्षेत्रतर्फ उन्मुख भइरहेको स्थितिमा सिर्जनात्मक क्रियाकलापहरू ठप्प हुने कुरा निर्विवाद नै छ। तसर्थ नेपालमा चिरशान्ति कायम होस् र देशको चौतर्फी विकासको ढोका खुलोस् भन्ने आभ्यान्तरिक कामना व्यक्त गर्दै मदन पुरस्कार गुठीप्रति हार्दिक कृतज्ञता ज्ञापनसहित यो छोटो मन्तव्य यहीं टुङ्ग्याउने अनुमति माग्दछु।
(रुसमा बसेर नेपाली भाषा र साहित्यमा टेवा पुर्याउँदै मूलत: रुसी-नेपाली भाषामा अनुवाद आदानप्रदानमा काम गर्दै आएका कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा १६ चैतमा निधन भएको छ। श्रेष्ठ २०५९ सालको जगदम्बा-श्री सम्मानबाट सम्मानित भएका थिए। मदन पुरस्कार गुठीले ११ असोज २०६० मा आयोजना गरेको समारोहमा जगदम्बा-श्री ग्रहण गरेपछि श्रेष्ठले व्यक्त गर्नुभएको प्रवचनको सम्पादित अंश।)