बिगोनियाकी एक्ली वैज्ञानिक
वनस्पति विज्ञानमा अन्तर्राष्ट्रिय पहिचान बनाएकी प्राडा संगीता राजभण्डारी नेपालकी एक मात्र बिगोनिया (मकरकाँचे) विज्ञ हुन्।त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागमा साढे दुई दशकदेखि प्राध्यापनरत उनलाई सबै मापदण्ड पुगे पनि राजनीतिक पहुँच नभएकै कारण विभाग प्रमुख हुने पालोमा पाखा लगाइयो।
काठमाडौंको न्यूरोड क्षेत्रस्थित दुगम्बहिलमा जन्मिएकी संगीता राजभण्डारीका बुवा ब्यांकर थिए। तर, उनमा पढाइ र करिअरको कुरामा पारिवारिक भन्दा पनि साथीहरूको प्रभाव बढी थियो। धेरै साथीहरू मेडिकल क्षेत्रमा भएका कारण उनी पनि मेडिकल डाक्टर बन्न चाहन्थिन्।
आईएससी पूरा गरेपछि उनले सोच बनाइरहेकी थिइन्, एमबीबीएस पढ्ने। अनुकूलता कस्तो भने, रानी जगदम्बाको नाममा आउने मेडिकल कोटा मार्फत भारतमा पढ्न जाने अवसर उनीसामु थियो। त्यसको फारम उनको घरैमा पुगेको थियो। तर, आमाको स्वास्थ्य समस्याका कारण उनले घर छोड्न सकिनन्, बरु आफ्नो सपना नै बिसाइन्। आमालाई मुटु सम्बन्धी समस्या थियो।
त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्दै आएकी वनस्पतिविद् प्राडा राजभण्डारीले नेपालको एक मात्र बिगोनिया विज्ञ हुन्। नेपालीमा मकरकाँचे भनिने बिगोनिया पानी परेपछि रसिलो ठाउँमा गुलाबी रङको फूल फुल्ने वनस्पति हो, जुन वैशाखदेखि कात्तिकसम्म फुल्छ।
उनी त्रि–चन्द्र क्याम्पसमा बीएससीमा भर्ना भएर वनस्पति विज्ञान पढ्न थालिन्। त्रिविबाट उत्कृष्ट अंकसहित एमएससी उत्तीर्ण गरिन्। त्यसै क्रममा उनले लन्डनको दी नेचरल हिस्ट्री म्यूजियममा ‘नेप्लिज प्लान्ट डाटाबेस’ मा तालिम लिन डार्विन इनिसिएटिभ प्रोजेक्ट अन्तर्गत चार महिनाको (१९९८ अक्टोबर–१९९९ जनवरी) छात्रवृत्ति पाइन्।
त्यसपछि उनी उन्यूमा विद्यावारिधि गर्न भर्ना भइन्। तर, आमाको अस्वस्थताका कारण सम्पूर्ण ध्यान पढाइमा लगाउन नसक्दा दुई वर्षको मिहिनेत खेर गयो। दोस्रो पटक उनले तीन वर्षको डार्विन छात्रवृत्ति (२००३ मार्च–२००६ जनवरी) पाइन्। त्यही बेला उनले आमा गुमाइन्।
मातृवियोगपछि खाली बसिरहेका बेला उनले थाहा पाइन्, बिगोनिया सम्बन्धी काम गर्ने हो भने बेलायतको एमएल म्याकिनटायर बिगोनिया ट्रस्टले छात्रवृत्ति दिने रहेछ। बिगोनियामा विद्यावारिधि गर्न आवेदन पठाइन्। उनले ‘सिस्टमेटिक रिभिजन अफ द जिनस बिगोनिया इन द हिमालयज’ मा विद्यावारिधि गरेकी हुन्।
मकरकाँचेमा रमाएको मन
वनस्पतिविद् प्राडा राजभण्डारीले २९ वर्षयता त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्दै आएकी छन्। उनी नेपालको एक मात्र बिगोनिया विज्ञ हुन्। नेपालीमा मकरकाँचे भनिने बिगोनिया पानी परेपछि रसिलो ठाउँमा गुलाबी रङको फूल फुल्ने वनस्पति हो, जुन वैशाखदेखि कात्तिकसम्म फुल्छ। यसको बोट करीब १२ इन्च अग्लो हुन्छ। पाँचथरमा भने दुई फिटसम्मको बिगोनिया पनि भेटिएको छ।
काठमाडौं उपत्यकामा ककनी, दक्षिणकाली, शिवपुरी, फुलचोकी लगायत ठाउँमा बिगोनिया पाइन्छन्।
द लिनियन सोसाइटी अफ लन्डनमा भएको कार्यक्रममा डार्विन इनिसिएटिभ अन्तर्गत द डार्विन एक्सपर्ट कमिटीका अध्यक्ष प्राडा स्टेफन ब्ल्याकमोरले प्रवचन दिने क्रममा ‘तीन पटक डार्विन अवार्ड पाउने व्यक्ति’ भनेर राजभण्डारीलाई चिनाएका थिए। त्यसपछि तत्कालै लिनियन सोसाइटीले उनलाई फेलोसिप दिने घोषणा गरेको थियो।
शुरूआतमा उनी बिगोनिया संकलन गर्न विभिन्न ठाउँ पुगिन्। पहिलो पटक बिगोनिया ट्रिबेनिनसिस तनहुँबाट संकलन गरेकी थिइन्। त्यहाँ बिगोनिया भेटेपछि उनी उत्साहित भइन् र थप खोजीमा लागिन्।
संकलन भएका बिगोनियाको पहिचान गर्न नेपालमा सम्भव थिएन। उनले बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा अनुसन्धानका लागि निवेदन दिएकी थिइन्। त्यो स्वीकृत भएपछि विद्यावारिधिको थप अनुसन्धान उतै गरिन् र सन् २०१० मा विद्यावारिधि हासिल गरिन्।
काम गर्दै जाँदा राजभण्डारीले विश्व प्रतिष्ठित डार्विन इनिसिएटिभ फेलोसिप अवार्ड २०१३ पाइन्। यो उनले डार्विनबाट पाएको तेस्रो छात्रवृत्ति तथा अवार्ड थियो। यो छात्रवृत्तिका लागि संसारभरका वनस्पति विज्ञान पढ्नेहरूले फारम भर्छन्।
लगत्तै अर्को वर्ष उनले ‘फेलो अफ द लिनियन सोसाइटी २०१४’ पाइन्। यो फेलोसिप पाउँदाको उनीसँग रोचक स्मृति छ। द लिनियन सोसाइटी अफ लन्डनमा भएको कार्यक्रममा डार्विन इनिसिएटिभ अन्तर्गत द डार्विन एक्सपर्ट कमिटीका अध्यक्ष प्राडा स्टेफन ब्ल्याकमोरले प्रवचन दिने क्रममा ‘तीन पटक डार्विन अवार्ड पाउने व्यक्ति’ भनेर राजभण्डारीलाई चिनाएका थिए। त्यसपछि तत्कालै लिनियन सोसाइटीले उनलाई फेलोसिप दिने घोषणा गरेको थियो।
त्यसवेलाको क्षण सम्झँदै भन्छिन्, “त्यो कार्यक्रममा मेरो सिफारिशका लागि उठ्नेहरू धेरै थिए। जसले मलाई आफूले पनि केही गरेकी रहेछु भन्ने लागेको थियो।”
बिगोनियाको उत्पत्ति अफ्रिकामा भएको प्राडा राजभण्डारीकै सह–सुपरिवेक्षक, रोयल बोटानिक गार्डेन एडिनबराका डा. मार्क ह्युजले पत्ता लगाएका हुन्। अफ्रिकाबाट भारतको महाद्वीप छुट्दा बिगोनिया सबैभन्दा पहिले मलेसियामा र त्यहाँबाट हिमालयतिर आएको राजभण्डारीको विद्यावारिधिको अध्ययनको निष्कर्ष छ।
विश्वभरि सन् २०१५ सम्ममा १८७० प्रकारका बिगोनिया पत्ता लागेका छन्, जुन छिटै २००० सम्म पुग्ने उनी बताउँछिन्। रोयल बोटानिक गार्डेन एडिनबरामा बिगोनियामा विद्यावारिधि गरेका वनस्पतिविद्हरूको संलग्नतामा संसारभरका बिगोनिया समेटेर २४ लेखकले लेखेको लेख ट्याक्सन जर्नलमा सन् २०१८ मा प्रकाशन भएको छ।
नेपालमा अहिलेसम्म २९ प्रकारका बिगोनिया भेटिएका छन्। राजभण्डारीले अध्ययन गर्नुअघि नेपालका रैथाने चार प्रकारका बिगोनिया थिए। उनले थप १० प्रकारका नयाँ बिगोनिया पत्ता लगाएकी छिन्। उनले पहिचान गरेका बिगोनिया समुद्री सतहबाट १५० मिटरदेखि २९०० मिटर उचाइको बीचमा पाइन्छ। यी रैथाने १४ वटामध्ये हालै सिक्किममा पनि बिगोनिया पाँचथरेन्सिस भेटिएपछि अब नेपालका रैथाने बिगोनिया १३ प्रकारका छन्।
प्राडा राजभण्डारीले पहिचान गरेका १० प्रकारका रैथाने बिगोनियामध्ये तीन वटाको बारेमा विस्तृत जानकारीसहितको लेख प्रकाशन भइसकेको छ। जसमा कास्कीको बेगनास ताल नजिकै भरतपोखरीबाट संकलन गरिएको बिगोनिया तालिगेरा (पातको डाँठबाटै जरा पलाउने), पाँचथरबाट संकलित बिगोनिया पाँचथरेन्सिस र नुवाकोटबाट संकलित बिगोनिया नुवाकोटेन्सिस छन्। रोयल बोटानिक गार्डेन एडिनबराको हर्बेरियममा रहेका बाँकी सात प्रकारका बिगोनियाबारे लेख प्रकाशन गर्न बाँकी रहेको उनी बताउँछिन्।
उनले नेपालमा पाइने सबै बिगोनियाको मोलिक्युलरबाट त्यसको उत्पत्तिको समेत अध्ययन गरिसकेकी छन्। उनी भन्छिन्, “हालसम्म नेपालमा भेटिएका सबै बिगोनियाबारे अनुसन्धानको काम भइसकेको छ। अब कसैले नयाँ संकलन गर्यो भने त्यसमा थप काम गर्न सकिन्छ।”
प्राडा राजभण्डारीले बिगोनिया खोज्ने क्रममा स्थानीयले औषधिका रूपमा प्रयोग गर्ने गरेको पत्ता लगाएकी थिइन्। हिलो तथा पानीले खाएको ठाउँमा बिगोनिया माडेर लगाउने, पेटमा जुका पर्दा पिसेर खाँदा सन्चो हुने, अचारका रूपमा पनि खाने गरेको पाएकी थिइन्। यसको डाँठको स्वाद अमिलो हुने भएकाले बच्चाहरूले रुचाउँछन्। नेपालमा बिगोनियाको प्रयोग सम्बन्धमा उनले नेचरल हिस्ट्री म्युजियमबाट ‘नेपालमा बिगोनियाको परम्परागत उपयोग’ शीर्षकको लेख पनि प्रकाशन गरेकी छन्।
योगदानको दायरा
प्राडा राजभण्डारीको नेपालको वनस्पति विज्ञानमा महत्त्वपूर्ण योगदान छ। उनको विज्ञता बिगोनियामा मात्र सीमित छैन, उनले उन्यूबारे पनि गहन अनुसन्धान गरेकी छन्।
प्राडा राजभण्डारीले पहिचान गरेका १० प्रकारका रैथाने बिगोनियामध्ये तीन वटाको बारेमा विस्तृत जानकारीसहितको लेख प्रकाशन भइसकेको छ। जसमा कास्कीको बेगनास ताल नजिकै भरतपोखरीबाट संकलन गरिएको बिगोनिया तालिगेरा, पाँचथरबाट संकलित बिगोनिया पाँचथरेन्सिस र नुवाकोटबाट संकलित बिगोनिया नुवाकोटेन्सिस छन्।
विद्यावारिधिपछि रोयल बोटानिक गार्डेन एडिनबरामा सन् २०१३–२०१४ मा उन्यूमा पोस्ट–डक्टरेट गरेकी उनको अध्ययन अनुसार, नेपालमा ५३४ प्रकारका उन्यू पाइन्छन्। उन्यूको बारेमा विस्तृत अध्ययन गरेर दुई वटा पुस्तक प्रकाशनको तयारीमा रहेको उनी बताउँछिन्।
त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागमा साढे दुई दशकअघिदेखि प्राध्यापनरत राजभण्डारी २०७२ सालमा प्राध्यापक बनेकी हुन्। उनका अनुसार, नेपालको वनस्पतिशास्त्रको कोर्स एडिनबराको भन्दा राम्रो छ। उनी भन्छिन्, “हाम्रो कोर्स एकदमै विस्तृत छ। एडिनबरामा जम्मा एक वर्षको कोर्स हुन्छ र सबै विषयमा थोरैथोरै मात्र पढाइ हुन्छ। तर, हाम्रोमा दुई वर्षको कोर्ष छ र सबै विषय विस्तृतमा पढ्नुपर्छ।” यति हुँदाहुँदै एडिनबराको तुलनामा नेपालमा अवसर कम भएकाले काम गर्न नसकेको उनको भनाइ छ।
उनले आफ्नो सुपरिवेक्षणमा हालसम्म एमएस्सीका ४३ जना विद्यार्थीलाई थेसिस गराइसकेकी छिन्। पछिल्लो समय भने विद्यावारिधिका दुई जना र एमएससीका १० जना विद्यार्थीलाई थेसिस गराइरहेकी छिन्। विद्यार्थीमाझ उनको छवि कडा मिजासको छ। आफ्नो हक्की स्वभावको परिचय दिँदै उनी भन्छिन्, “म नियमभित्र रहेर पढाउँछु। एकदम कडा छु, त्यसैले विद्यार्थी मिहिनेत पनि गर्छन्।”
राजभण्डारी राष्ट्रिय वनस्पति पुरस्कार २०७५ बाट पनि सम्मानित भएकी छन्। हालसम्म उक्त पुरस्कार पाउने ११ जनामध्ये उनी एक मात्र महिला र कम उमेरकी हुन्। यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बाट सन् २०१५ मा नबिल साइन्स एन्ड टेक्नोलोजी अवार्ड पाएकी छिन्।
हालसम्म उनको एउटा पुस्तक र दश वटा सम्पादित पुस्तक प्रकाशित छन् भने ९० को हाराहारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा लेखहरू प्रकाशन भएका छन्।
प्राडा राजभण्डारीले डार्विन अवार्डका साथै अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छात्रवृत्ति तथा अवार्ड प्राप्त गरेकी छिन्। वनस्पति विज्ञानको अध्ययन र अनुसन्धान गर्ने क्रममा राजभण्डारीले राष्ट्रिय स्तरमा पनि विभिन्न पदक र पुरस्कार पाएकी छन्। उनले एमएससी वनस्पति विज्ञानमा प्रथम भएकोमा सन् १९९२ मा महेन्द्र विद्या भूषण ‘क’ र २०१२ मा नेपाल विद्या भूषण ‘ख’ प्राप्त गरेकी छन्।
उनी राष्ट्रिय वनस्पति पुरस्कार २०७५ बाट पनि सम्मानित भएकी छन्। हालसम्म उक्त पुरस्कार पाउने ११ जनामध्ये उनी एक मात्र महिला र कम उमेरकी हुन्। यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बाट सन् २०१५ मा नबिल साइन्स एन्ड टेक्नोलोजी अवार्ड पाएकी छिन्। उक्त अवार्ड पाउने उनी पहिलो व्यक्ति हुन्।
‘महिलाको क्षमताको कदर हुँदैन’
राजभण्डारीको भनाइमा वनस्पति क्षेत्रमा महिलाको महत्त्वपूर्ण योगदान छ। बिगोनियामा आफू एक्लो भए पनि समग्र वनस्पति क्षेत्रमा तुलनात्मक रूपमा महिलाकै संख्या बढी भएको उनको भनाइ छ। तर, महिलाको क्षमता र योग्यताको कदर नहुने तीतो अनुभव उनले सँगालेकी छिन्।
२०४८ सालमा उप–प्राध्यापकबाट प्राध्यापन शुरू गरेकी उनले २०५४ सालमा सह–प्राध्यापक र २०७२ सालमा प्राध्यापक बन्दा लगातार पहिलो स्थान प्राप्त गरेकी थिइन्। २०७५ सालको अन्तिमतिर विभाग प्रमुख हुने पालो उनकै थियो। जसमा आफू कुनै राजनीतिक दलविशेषमा आबद्ध नभएका कारण पाखा लगाइएको उनको ठहर छ।
उनी भन्छिन्, “उप–प्राध्यापक भएदेखि प्राध्यापक हुँदासम्म कुनै पनि विभेदको अनुभव भएन, विभागीय प्रमुख हुने पालो मिचिएपछि भने विभेद महसूस भयो।”
२०४८ सालमा उप–प्राध्यापकबाट प्राध्यापन शुरू गरेकी राजभण्डारीले २०५४ सालमा सह–प्राध्यापक र २०७२ सालमा प्राध्यापक बन्दा लगातार पहिलो स्थान प्राप्त गरेकी थिइन्। २०७५ सालको अन्तिमतिर विभाग प्रमुख हुने पालो उनकै थियो। जसमा आफू कुनै राजनीतिक दलविशेषमा आबद्ध नभएका कारण पाखा लगाइएको उनको ठहर छ।
उनका अनुसार, वनस्पतिशास्त्र केन्द्रीय विभागमा बायोडाइभर्सिटी एन्ड इन्भाइरोमेन्टल म्यानेजमेन्ट कोर्सको कोअर्डिनेटर रहेकी उनी विभागीय प्रमुख हुने रोलक्रममा थिइन्। तर, राजनीतिक दाउपेच र महिला भएकै कारण आफूलाई जिम्मेवारी नदिइएको उनको बुझाइ छ।
विभाग प्रमुख हुने बेला उनलाई राजनीतिक व्यक्तिहरू भेट्न सुझाव दिइएको थियो। तर, उनलाई आफ्नो योग्यता र क्षमतामा विश्वास थियो, र त्यसको मूल्यांकन हुने कुरामा ढुक्क थिइन्। त्यसैले कतै धाइधपेडी पनि गरिनन्। तर, निर्णय उनले सोचेजस्तो भएन।
“विभाग प्रमुख हुने पालो मेरो थियो। तर, त्यसलाई मिचेर अरूलाई नै बनाइयो, जो मेरा विद्यार्थी पनि हुन्,” उनी भन्छिन्, “विभाग प्रमुख बन्न नसक्नुको एउटै मात्र कमजोरी म कुनै पनि राजनीतिक दलमा आबद्ध थिइनँ। राजनीतिक पहुँचबाहेक त मेरो योग्यता पुगेकै थियो नि।”
विभाग प्रमुखमा कनिष्ठ व्यक्ति पुगेपछि उनले तत्काल कोअर्डिनेटरबाट राजीनामा दिइन्। अहिले प्राध्यापकका रूपमा मात्रै कार्यरत उनी साताको दुई दिन पढाउँछिन्।
राजभण्डारीको बुझाइमा, राजनीतिक आस्था र आबद्धताबारे बाहिर नखुल्ने भएकाले महिलाहरू राजनीतिकरणको शिकार भएका छन्। उनी भन्छिन्, “महिलालाई समानताको नाममा नभई दक्षता र क्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने हो। यद्यपि महिला र जनजाति भएका आधारमा उक्त पदको पहिलो दाबेदार पनि म नै थिएँ। त्यति हुँदा पनि मलाई बनाइएन।”
त्रिविले समेत महिलालाई समान अवसर नदिनु विडम्बना भएको उनी बताउँछिन्। अहिले त्रिविको विज्ञान संकाय अन्तर्गतका १२ वटा विभागमध्ये दुई वटा विभाग वातावरण र तथ्यांकमा मात्रै विभागीय प्रमुख महिला छन्।
विभाग प्रमुख हुन नसके पनि विभिन्न क्षेत्रमा आबद्ध भएर आफ्नो विशेषज्ञता देखाउन सकिरहेकोमा उनी खुशी छिन्। अहिले उनी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का निम्ति नेपाल राष्ट्रिय आयोग विज्ञान समितिको सदस्य, त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको अनुसन्धान समितिको सदस्य लगायत जिम्मेवारीमा रहेर काम गरिरहेकी छन्।
अध्ययन तथा कामको सिलसिलामा उनी विभिन्न देश पुगिन्। विदेशमै बसेर काम गर्ने आकर्षक अवसर र प्रस्ताव पनि उनलाई नआएको होइन। तर, उनको मन विदेशमा रमाएन। काठमाडौंमा जन्मे पनि उनले वनस्पति अध्ययनका क्रममा नेपालका धेरै ठाउँ घुमेकी छिन्। यहाँको प्राकृतिक सुन्दरताले उनलाई सधैं लोभ्याउँछ। विदेश गएपछि नेपाल फर्कन हतार भइहाल्छ।
उनी भन्छिन्, “आफूले पढेको र जानेको कुरा आफ्नै देशका युवा र यो क्षेत्रमा केही गरौं भन्नेलाई सिकाउनुपर्छ भन्ने सोच गढेर बस्यो। त्यसैले विदेशको कुनै पनि प्रस्ताव स्विकार्नै सकिनँ।”