एमाले हामीले बनाएका हौं, मैदान छोडेर भागिने छैनः नेपाल
नेकपा (एमाले) का पूर्वमहासचिव माधवकुमार नेपालले निलम्बनमा परे पनि मैदान छाडेर नभाग्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीको साधारण सदस्यबाट समेत ६ महीनाका लागि निलम्बन गरेको सार्वजनिक भए लगत्तै सोमबार नेता नेपालले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन्।
“टुक्राटुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन,” नेपालले लेखेका छन्, “एमाले हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन, दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं।”
विधान विपरीत एकपक्षीय रूपमा २८ फागुनमा गरिएका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कारबाही गर्ने कुनै अधिकार नभएको उनले उल्लेख गरेका छन् ।
आफ्नो पक्षमा उभिएका नेता, कार्यकर्ताहरूलाई विचलित नहुन समेत उनको आह्वान छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भनेका छन्, “नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता, कार्यकर्ताहरूलाई कति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु।”
नेता नेपालसँगै पार्टी सदस्यताबाट निलम्बनमा परेका एमाले उपाध्यक्ष भीम रावलले पनि आफूमाथिको कारबाही अस्वीकार गर्ने बताएका छन्।
“यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनविरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो,” रावलले ट्विटरमा लेखेका छन्, “नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गर्दछु।”
८ चैतमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएकोमा नेपाल र रावलले स्पष्टीकरणको प्रत्युत्तर बुझाएका थिए। उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै सोमबार अध्यक्ष ओलीले दुवै नेतालाई निलम्बन गरिएको पत्र पठाएका हुन्।