सिरहाको रोग– क्षयरोग
१० वर्षअघिसम्म क्षयरोग ठूलो स्वास्थ्य समस्याका रूपमा रहेको सिरहामा अहिले पनि शंकास्पद बिरामी परीक्षणका लागि स्वास्थ्य संस्था नजाने, औषधि नियमित नखाने जस्ता समस्याका कारण यो रोगको रोकथाम चुनौती बनेको छ।
सिरहाको गोलबजार नगरपालिका–३ भाङबारीकी रतनीदेवी सदाय (३३) लाई एक वर्षदेखि सुख्खा खोकी लाग्यो। खोकीले धेरै सताएपछि उनले नजिकैको फार्मेसीबाट औषधि किनेर खान थालिन्। तर, खोकी घट्नुको साटो झन् बढ्दै गयो। उनी सुतेको ठाउँबाट उठ्नै नसक्ने भइन्। ज्यान सुकेर ३० किलोको भयो।
त्यसपछि उनी धामीकहाँ पुगिन्। घर बिग्रिएर पो यस्तो भयो कि भनेर परिवारको सल्लाहमा देउतालाई भाकल पनि गरिन्। रतनीको अवस्था दिनदिनै बिग्रिन थाल्यो।
रतनीलाई जँचाउन सल्लाह दिने उषा आफैं क्षयरोगले दुई पटकसम्म थलिएकी थिइन्। उनलाई पहिलो पटक १८ वर्षअघि क्षयरोग भएको थियो। दुई वर्षअघि फेरि बल्झियो। पहिलो पटक क्षयरोग हुँदा उनले ६ महीना औषधि खाँदा निको भएको थियो। तर, बल्झिएपछि पहिले जस्तो छिटो निको भएन।
“खोकी लाग्न थालेपछि प्राण नै निस्केला जस्तो हुन्थ्यो। हिंडडुल गर्न र ओछ्यानबाट उठेर दिसा–पिसाब गर्न जान पनि सक्दिनथेँ,” रतनी भन्छिन्, “जिउ र हात दुखेर राति निद्रा लाग्दैनथ्यो। मेरो हालत र ज्यान देखेर छरछिमेकी कसैले बाँच्छे भनेनन्।”
यस्तैमा उनकी छिमेकी उषा भुजेल रतनीलाई हेर्न गइन्। सुकेको शरीर, बाहिर निस्केलान् जस्ता पिर्लिक्क परेका आँखा, एकोहोरो खोकेको देख्नेबित्तिकै उषाले उनलाई क्षयरोग लागेको शंका गर्दै तुरुन्तै स्वास्थ्य चौकी लैजान सुझाव दिइन्।
नभन्दै रतनीलाई गोलबजार स्वास्थ्य चौकी लगेर जाँच गराउँदा सुख्खा क्षयरोग भएको पत्ता लाग्यो। बन्दाबन्दीको बेला थियो, त्यो। पाँच महीना नियमित औषधि खाएपछि उनको अवस्था सुध्रियो। त्यो अवधिमा उनको तौल ६ किलो बढ्यो।
रतनीलाई जँचाउन सल्लाह दिने उषा आफैं क्षयरोगले दुई पटकसम्म थलिएकी थिइन्। उनलाई पहिलो पटक १८ वर्षअघि क्षयरोग भएको थियो। दुई वर्षअघि फेरि बल्झियो। पहिलो पटक क्षयरोग हुँदा उनले ६ महीना औषधि खाँदा निको भएको थियो। तर, बल्झिएपछि पहिले जस्तो छिटो निको भएन। उनले नौ महीना औषधि खानुपर्यो। खाने औषधिले मात्रै निको भएन, सुई पनि लगाउनुपर्यो। चिकित्सकहरूका अनुसार, क्षयरोग बल्झियो भने ६ महीनादेखि दुई वर्षसम्म औषधि खानुपर्छ। उपचार खर्च पनि महँगो पर्छ।
रतनी र उषा उदाहरण मात्र हुन्, सिरहामा क्षयरोगले विगतदेखि नै धेरैलाई सताउँदै आएको छ। १० वर्षअघिसम्म त यस जिल्लामा क्षयरोग ठूलै स्वास्थ्य समस्याका रूपमा थियो। अहिले पनि जिल्लामा करीब ६५० जना क्षयरोगी रहेकाे जिल्ला स्वास्थ्य कार्यालय सिरहाको तथ्यांक छ। बिरामीले समयमा परीक्षण नगराउने, नियमित औषधि नखाने जस्ता कारणले क्षयरोग नियन्त्रण हुन सकेको छैन। क्षयरोग बल्झिने समस्या पनि उस्तै छ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार, बिरामीले समयमा परीक्षण नगराउने, नियमित औषधि नखाने जस्ता कारणले क्षयरोग नियन्त्रण हुन सकेको छैन। क्षयरोग बल्झिने समस्या पनि उस्तै छ।
कार्यालयको तीन वर्षयताको तथ्यांक हेर्दा, सिरहामा आर्थिक वर्ष २०७४/७५ मा ६१३ जना क्षयरोगी भेटिएका थिए, जसमध्ये क्षयरोग बल्झेका २१ जना थिए। यस्तै, आव २०७५/७६ मा ५९३ जनामा पहिलो पटक क्षयरोग देखियो भने २९ जनामा रोग बल्झिएको थियो। उक्त वर्ष सिरहाका १७ वटा पालिकामध्ये गोलबजार नगरपालिकामा सबैभन्दा बढी ७६ जनालाई क्षयरोग देखिएको थियो। यस्तै, लहान नगरपालिका र धनगढीमाई नगरपालिकामा ७१/७१ जना क्षयरोगी भेटिएका थिए।
गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सरोज कर्ण भने नगरपालिकामा बिरामीहरूको परीक्षण दर बढी भएकाले क्षयरोगी धेरै देखिएको बताउँछन्। तर, संख्या बढ्नुमा अरू पनि कारण छन् कि भनेर नयाँ तरिकाले विश्लेषण गर्नुपर्ने उनी स्विकार्छन्।
गएको आर्थिक वर्ष २०७६/७७ मा भने कोरोनाभाइरस संक्रमण महामारी र बन्दाबन्दीका कारण अन्य रोगका बिरामी अस्पताल नजाँदा परीक्षण घटेर क्षयरोगीको संख्या पनि केही घटेको देखियो। सिरहाको उत्तरी भेग जम्दह, मुसर्निया, मुक्सार, निपनिया, बुढी जम्दह, धरमपुर, लालपुर लगायत ठाउँमा क्षयरोगी धेरै छन्। यस्तै, धनगढीमाई नगरपालिकाको विष्णुपुरकट्टी, नैनपुर र चैनपुर, लहान नगरपालिकाको तरिगाना लगायत ठाउँमा यो रोगको संक्रमण बढी छ।
नेपालमा क्षयरोग
विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा हरेक वर्ष क्षयरोगका ४५ हजार बिरामी थपिन्छन्। तर, पछिल्ला वर्षहरूमा क्षयरोगका बिरामी योभन्दा पनि बढेको विभिन्न सर्वेक्षणले देखाएका छन्।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सन् २०२० मा सार्वजनिक गरेको राष्ट्रिय क्षयरोग प्रिभलेन्स सर्वेक्षण, २०७५/७६ का अनुसार, नेपालमा बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन्। ५५ जिल्लामा गरिएको सर्वेक्षण अनुसार, देशमा एक लाख १७ हजार क्षयरोगी रहेको आकलन गरिएको छ।
केन्द्रका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ५५ हजार ३७१ जना सम्भावित क्षयरोगीको परीक्षण गर्दा २७ हजार ७४५ जना नयाँ बिरामी पत्ता लगाई उपचार गरिएको थियो। क्षयरोगका नयाँ बिरामी थपिने र पत्ता लागेर उपचारमा आउनेको तथ्यांकबीचको अन्तर हेर्दा उपचारको दायरामा नआएका नयाँ बिरामीको संख्या करीब ४१ हजार देखिन्छ। जसले राष्ट्रिय क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा नआएका बिरामी पत्ता लगाई उपचारमा ल्याउनु चुनौती रहेको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले सन् २०२० मा सार्वजनिक गरेको राष्ट्रिय क्षयरोग प्रिभलेन्स सर्वेक्षण, २०७५/७६ का अनुसार, नेपालमा बर्सेनि क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन्। ५५ जिल्लामा गरिएको सर्वेक्षण अनुसार, देशमा एक लाख १७ हजार क्षयरोगी रहेको आकलन गरिएको छ।
औषधि प्रतिरोधी क्षयरोग (डीआरटीबी) का बिरामीलाई उपचारमा सहजता ल्याउन नेपाल सरकारले उपचार अवधिका लागि यातायात र पोषण सहयोगबापत मासिक रू.३ हजार दिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। तर, यसले पनि क्षयरोगीलाई उपचारमा समेट्न सकेको छैन। धेरै जना उपचारको दायरामा आउन नसकेका कारण पनि क्षयरोगीको संख्या बढिरहेको प्रिभलेन्स सर्वेक्षणले औंल्याएको छ।
रोकथाम चुनौतीपूर्ण
क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो। जसको समयमा परीक्षण गराएर औषधि नियमित खानुपर्छ। तर, सिरहामा क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिंदा रोगको रोकथाममा चुनौती थपिएको छ।
क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन्। अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या बढ्ने गरेको छ।
स्वास्थ्य कार्यालय सिरहाका अनुसार, एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ। क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको छ।
क्षयरोग घटाउन काम गरिरहेको संस्था बागमती सेवा समाज, सिरहाका पूर्व संयोजक उमेश यादवका अनुसार, क्षयरोग लागेका मानिसलाई समाजमा छि:छि: र दुरदुर गर्ने प्रवृत्ति नै यो रोग रोकथाम हुन नसक्नुको प्रमुख कारण हो। “टीबी लागेको पहिचान भयो भने समाजले हेला गर्छ भनेर बिरामीले परीक्षण नगराई बस्छ। परीक्षण गराइहाले पनि लुकाएर राख्ने चलन छ। जसले गर्दा परिवार र उसको सम्पर्कमा आएकाहरूलाई रोग सर्छ,” यादवले बताए।
"टीबी लागेको पहिचान भयो भने समाजले हेला गर्छ भनेर बिरामीले परीक्षण नगराई बस्छ। परीक्षण गराइहाले पनि लुकाएर राख्ने चलन छ। जसले गर्दा परिवार र उसको सम्पर्कमा आएकाहरूलाई रोग सर्छ।" - उमेश यादव, पूर्व संयोजक, बागमती सेवा समाज, सिरहा
यादवका अनुसार, क्षयरोगका बिरामी नघट्नुको अर्को कारण हो, बिरामीले औषधिमाथि विश्वास नगर्नु। स्वास्थ्य चौकीबाट निःशुल्क पाएको औषधि हो, के निको होला र ? भन्ने धारणा छ। स्वास्थ्य संस्थाले बिनाकारण औषधि खुवाइरहेको छ भन्ने सोचाइले पनि बिरामीले बीचैमा औषधि छोड्ने गर्छन्। यसले गर्दा ६ महीनामा निको हुने क्षयरोग दीर्घकालसम्म रहने गरेको छ।
क्षयरोग पहिचान भएर औषधि खान थालेपछि प्रत्येक दुई महीना, पाँच महीना र ६ महीनामा मापदण्ड अनुसार परीक्षण गर्नुपर्छ। तर, दुई पटक परीक्षण गर्दा क्षयरोग देखिएन भने निको भयो भनेर औषधि बीचमै छोड्ने गरेकाले पनि क्षयरोग बल्झिने र दीर्घरोग बन्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग फोकल पर्सन चन्द्रकिशोर यादव। “दुई महीना औषधि खायो भने क्षयरोगका लक्षण देखिन छोड्छन्। त्यसपछि बिरामीले रोग निको भयो भनेर औषधि खान छोडिदिँदा क्षयरोग जटिल बन्ने र अरूमा फैलिने गरेको छ,” उनी भन्छन्।
सिरहा, सप्तरीसहितका तराईका जिल्लाका धेरै मानिस मजदूरीका लागि भारतको दिल्ली, पन्जाब, हरियाणा, चण्डीगढ लगायत ठाउँमा जान्छन्। काम गर्ने ठाउँमा क्षयरोग रोग लाग्ने र उनीहरू फर्किएर आएपछि परिवार र छरछिमेकमा सर्ने गरेको बागमती सेवा समाजका पूर्व संयोजक यादवको विश्लेषण छ।
त्यस्तै, नेपाल–भारतमा हुने वैवाहिक सम्बन्ध तथा नातेदारहरूबाट पनि क्षयरोग सरेको पाइएको छ। गोलबजार नगरपालिका–३ भाङबारीकी रतनीको माइतीघर भारतको बिहार हो। गत वर्षको दशैंमा माइतीघर गएका बेला हजुरआमाबाट क्षयरोग सरेको उनले बताइन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका २७ प्रतिशत क्षयरोगी भारतमा छन्। त्यहाँ बर्सेनि क्षयरोगका ३० लाख नयाँ बिरामी थपिने गरेका छन्।
परिवार नै आर्थिक दबाबमा
क्षयरोग स्वास्थ्य र सामाजिक समस्या त हो नै, यसले पारिवारिक समस्या पनि निम्त्याउने गरेको उदाहरण तराईका घरघरमा भेटिन्छ। अर्थात्, परिवारका एक जनालाई क्षयरोग लाग्यो भने त्यसको असर बाँकी सदस्यको गुजारामा पर्ने गरेको छ। क्षयरोग लागेका बिरामीले काम गर्न नसक्ने भएपछि परिवारमा आर्थिक चाप पर्ने र बालबालिकाको पालनपोषण र शिक्षामा असर निम्तिने गरेको छ।
रतनी र उनका श्रीमान्ले ज्यालादारी काम गरेर घर खर्च जुटाउने गरेका थिए। रतनी गाउँघरमै काम गर्थिन्, श्रीमान् मजदूरी गर्न दिल्ली जान्थे। तर, रतनी बिरामी भएपछि श्रीमान् दिल्ली जान पाएनन्। जसका कारण उनको परिवारलाई हात–मुख जोड्न समस्या भएको छ। रतनीका दुई र सात वर्षका दुई छोरी र चार वर्षे एक छोरा छन्। फुसको सानो छाप्रोबाहेक उनीहरूको जग्गा–जमीन केही छैन।
रतनीका श्रीमान् कारी सदायले भने, “श्रीमती बिरामी भएपछि म उनकै उपचार र रेखदेखमा लाग्नुपर्दा कमाउन जान पाइनँ। त्यसयता छोराछोरीले पेटभरि खान पाएका छैनन्।”
औषधि सेवन नियमित नगरी लापरवाही गरे क्षयरोग बल्झिन्छ। आर्थिक वर्ष २०७५/७६ को तथ्यांक अनुसार, सिरहामा १९ पुरुष र १० महिला गरी २९ जनामा क्षयरोग बल्झिएको थियो। औषधि नियमित खाँदा निको हुने क्षयरोग लापरवाही गरे दीर्घरोग हुन्छ। जसका कारण क्षयरोगको औषधोपचार निःशुल्क व्यहोर्ने नेपाल सरकारलाई उपचार खर्चको थप भार बढ्छ।
क्षयरोग लागेका कतिपय मानिसलाई छरछिमेकले मात्र हैन, परिवारले समेत हेलाहोचा गर्छन्। तर, रतनीले परिवारबाट अरू बेलाभन्दा धेरै माया पाइन्। जेठानी श्यामदेवीले बन्दाबन्दीको बेला उनलाई स्वास्थ्य चौकी लगेर परीक्षण गराउँदा क्षयरोग भएको थाहा भयो। आफैंले पानी सारेर पनि खान नसक्ने कमजोर भएकी रतनीलाई खुवाउने–पियाउने, दिसापिसाब गराउने, छोराछोरीको रेखदेख गर्ने लगायत सबै काम श्यामदेवीले नै गरिन्।
रतनी जेठानीको परिवार पनि आफूहरू जस्तै ज्याला मजदूरी गरेर खाने भएकाले कति दिन भरथेग गर्न सक्लान् र भनेर चिन्ता मान्छिन्।
रोग बल्झिँदा राज्यलाई खर्चको भार
सरकारले क्षयरोग निदान गर्न विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणाली मार्फत ४ हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला, ७२ वटा जिन एक्सपर्ट केन्द्र र दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको परीक्षण तथा पहिचान हुन्छ। सबै प्रकारका क्षयरोगको औषधि सरकारले नि:शुल्क उपलब्ध गराउँछ।
औषधि सेवन नियमित नगरी लापरवाही गरे क्षयरोग बल्झिन्छ। आर्थिक वर्ष २०७५/७६ को तथ्यांक अनुसार, सिरहामा १९ पुरुष र १० महिला गरी २९ जनामा क्षयरोग बल्झिएको थियो। औषधि नियमित खाँदा निको हुने क्षयरोग लापरवाही गरे दीर्घरोग हुन्छ। जसका कारण क्षयरोगको औषधोपचार निःशुल्क व्यहोर्ने नेपाल सरकारलाई उपचार खर्चको थप भार बढ्छ।
गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सरोज कर्णका अनुसार, नियमित औषधि नखाएर क्षयरोग बल्झिँदा पहिले आएको औषधि पचाएर कीटाणु शक्तिशाली भइसकेको हुन्छ, यस्तो अवस्थामा पुगेको क्षयरोग निकै जटिल हुन्छ।
कर्ण भन्छन्, “पहिलो पटक क्षयरोग देखिएका बिरामीलाई ६ महीना उपचार गर्दा ३० देखि ३५ हजार रुपैयाँको औषधिले निको हुन्छ। तर, औषधि नखाए वा बीचैमा छोडे क्षयरोग बल्झिन्छ र त्यस्ता बिरामीलाई ९ महीनादेखि दुई वर्षसम्म उपचार गर्नुपर्छ।” रोग बल्झिए एक जना बिरामीका लागि रू.१ लाख ५० हजारदेखि दुई लाखसम्म खर्च गर्नुपर्छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार, देशभर जटिल खाले क्षयरोगका ७२० जना बिरामी छन्।
कसलाई लाग्छ क्षयरोग ?
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका क्षयरोग फोकल पर्सन चन्द्रकिशोर यादवका अनुसार, नेपालमा हरेक १० जनामध्ये आठ जना मानिसको शरीरमा क्षयरोगका कीटाणु हुन्छन्। तर, ती सबैलाई क्षयरोग हुन्छ भन्ने छैन। रोग प्रतिरोधी क्षमता भएका मानिसलाई यो रोग लाग्दैन। हरेक सय जना मानिस बराबर १० जनामा क्षयरोग लाग्न सक्ने उनी बताउँछन्।
क्षयरोग भन्नेबित्तिकै फोक्सोमा लाग्ने बुझ्ने गरिए पनि यो रोग कपाल र नङबाहेक शरीरका सबै अंगमा लाग्छ। त्यसै गरी, बालबालिकादेखि युवा वृद्धवृद्धा सबैमा यो रोग लाग्न सक्छ। पोषणको अवस्था कमजोर भएका, दीर्घरोगी, दम, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौलाको समस्या भएका व्यक्तिमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनीहरूमा क्षयरोगको जोखिम बढी हुन्छ।
औषधि नियमित खाने, चिकित्सकको सल्लाह अनुसार खानपानमा ध्यान दिने, पोषिलो खानेकुरा खाने र सरसफाइमा ध्यान दिने हो भने क्षयरोग निको हुन्छ।
क्षयरोग भन्नेबित्तिकै फोक्सोमा लाग्ने बुझ्ने गरिए पनि यो रोग कपाल र नङबाहेक शरीरका सबै अंगमा लाग्छ। त्यसै गरी, बालबालिकादेखि युवा वृद्धवृद्धा सबैमा यो रोग लाग्न सक्छ। पोषणको अवस्था कमजोर भएका, दीर्घरोगी, दम, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौलाको समस्या भएका व्यक्तिमा रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनीहरूमा क्षयरोगको जोखिम बढी हुन्छ।
क्षयरोग पत्ता लगाउने सबैभन्दा भरपर्दो उपाय खकार परीक्षण हो। यो सेवा स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ। सिरहामा क्षयरोग पहिचानका लागि १० वटा माइक्रोस्कोपी सेन्टर छन्। यद्यपि माइक्रोस्कोप विधिबाट मात्र सबै क्षयरोगीको रोग पहिचान हुन नसक्ने र अधिकांश सम्भावित क्षयरोगी छुट्न सक्ने क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले औंल्याएको छ। मोलिक्युलर विधि अर्थात् जीन एक्सपर्टबाट रोग निदान गर्दा माइक्रोस्कोपीले भन्दा बढी क्षयरोग पहिचान भएको पाइएको छ। त्यसैले माइक्रोस्कोपबाट पत्ता लाग्न नसकेका र औषधि शुरू गरेका बिरामीहरूमा क्षयरोगका कीटाणुको अवस्था आधुनिक प्रविधि जीन एक्सपर्ट मशीनबाट जाँच गरिन्छ।
सिरहामा जीन एक्सपर्टबाट क्षयरोग निदान प्राथमिक स्वास्थ्य चौकी मिर्चैयामा गरिन्छ। क्षयरोगको उपचार केन्द्र धनुषाको लालगढमा छ। साथै, यो रोगको उपचार लहान अस्पताल, मिर्चैया र जिल्ला अस्पताल सिरहामा पनि हुन्छ।
स्वास्थ्य कार्यालय सिरहाबाट सञ्चालन भएको क्षयरोग सम्बन्धी कार्यक्रममा बागमती सेवा समाज संस्थाले सघाइरहेको छ। यो संस्थाले जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा संकलन गरिएका बिरामीको नमुना माइक्रोस्कोपी सेन्टरसम्म पुर्याउने, क्षयरोग भएका बिरामीसँग सम्पर्क भएका मानिस पत्ता लगाउने, औषधि सेवन गरिरहेका बिरामीलाई जीन एक्सपर्ट मशीनमा परीक्षण गराउने लगायतमा सहयोग गर्दै आएको छ।
क्षयरोग नियन्त्रणका लागि सरकारले परीक्षण र औषधि निःशुल्क उपलब्ध गराउने त छँदै छ, औषधि खान थालेको एक, दुई र पाँच महीनामा जाँच गराउनेलाई मासिक रू.५०० का दरले प्रोत्साहन भत्ता पनि दिने गरेको छ। यो सुविधा खकार परीक्षणबाट क्षयरोग पत्ता लागेका बिरामीले पाउँछन्। यस्ता बिरामीको उपचार प्रक्रिया सात महीनाको हुन्छ।
राष्ट्रिय क्षयरोग प्रिभलेन्स सर्वेक्षणको रिपोर्टले प्रत्येक पालिकाले नमुना परीक्षण गराउने परिमाण तोकेको छ। सिरहाको गोलबजार नगरपालिकाले यो लक्ष्य पूरा गर्न गोलबजारका सबै स्वास्थ्य चौकीमा उपचारका लागि आउने शंकास्पद बिरामीहरूको एक्सरे, खकार परीक्षण, जीन एक्सपर्ट मशीनबाट परीक्षण र माइक्रोेस्कोपी सेन्टरमा पठाएर नयाँ बिरामी पत्ता लगाउने काम थालेको छ। गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा संयोजक कर्णले क्षयरोगी बढी भएका ठाउँ पत्ता लगाई ती स्थानमा बृहत् शिविर सञ्चालन गर्ने योजना समेत रहेको बताए।
नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखेको छ। यस्तै, सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य छ।