पुरुष टोलीको गोलको खडेरीबारे ‘गोल मशीन’ सावित्रा भन्छिन्– गोलको भोक हुनुपर्छ
अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ३८ गोल गरिसकेकी, दक्षिण एसियाली महिला फूटबलमै ‘गोल मशीन’ कहलिएकी सावित्रा भण्डारी ‘साम्बा’ का अनुसार, नेपाली पुरुष टोलीले गोल गर्न नसक्नुमा कोरोना महामारीले बिथोलेको खेल गतिविधि, खुम्चिएको अन्तर्राष्ट्रिय प्रतियोगिता जस्ता कारण जोडिन्छन्।
थ्री नेसन्स कप अन्तर्गत नेपालले सोमबार बाङ्लादेशसँग फाइनल खेल्दै छ। लिग चरणको खेलमा किर्गिस्तानको २३ वर्षमुनिको टोलीसँग पहिलो खेल बराबरी (०–०) खेलेको नेपालले शनिबार बाङ्लादेशसँग पनि गोलविहीन बराबरी नै गर्यो।
पहिलो खेलमा किर्गिस्तानलाई १–० ले पराजित गरेको बाङ्लादेश यसअघि नै फाइनल पुगिसकेको थियो, त्यसैले नेपाललाई पछिल्लो खेलमा बराबरीले मात्र पनि फाइनल पुर्याउन सक्थ्यो।
घरेलु मैदान दशरथ रंगशालामै भइरहेको प्रतियोगितामा नेपाल फाइनल पुगे पनि दर्शक, फूटबल शुभचिन्तक मात्र होइन, अखिल नेपाल फूटबल संघ (एन्फा) का पदाधिकारीलाई पनि एउटा कुराले बिझाइरहेको छ, त्यो हो– गोलको खडेरी। नेपाली टोलीले गएको आठ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा एउटा पनि गोल गर्न सकेको छैन।
खेलाडीको मनोविज्ञानका आधारमा भन्ने हो भने, कुनै पनि फरवार्डलाई गोल नगरौं भन्ने नै हुँदैन। जति धेरै गोल गर्यो, जित उति पक्का हुने हो। त्यसमाथि पनि घरेलु मैदानमै खेल्दा आत्मविश्वास बलियो हुन्छ। आत्मविश्वासले लक्ष्य प्राप्तिमा ठूलो सहयोग गर्छ।
किन पुरुष टोलीले गोल गर्न सकिरहेको छैन ? गोलविहीन यात्राका कारक तत्त्व के के हुनसक्छन् ? नेपालबाट अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ३८ गोल गरिसकेकी, दक्षिण एसियाली महिला फूटबलमै ‘गोल मशीन’ कहलिएकी सावित्रा भण्डारी ‘साम्बा’ के भन्छिन् त ? हिमालखबरसँगको छोटो कुराकानीमा भण्डारीको भनाइ उनकै शब्दमाः
नेपाली महिला टोलीभन्दा पुरुष टोली प्राविधिक, सेवा–सुविधा सबै हिसाबले धेरै माथि छ। इतिहास पनि लामो छ। त्यसैले दर्शकले गोलको अपेक्षा गर्नु अस्वाभाविक होइन।
नेपाली टोलीले गोल गर्न नसक्दा म पनि चिन्तित छु, एउटा दर्शकको नाताले पनि र महिला फूटबलरको नाताले पनि।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने, महिला फूटबलको तुलनामा पुरुष फूटबल अलि कठिन नै हुन्छ, खासगरी शारीरिक हिसाबले। त्यसैले पुरुष फूटबलबारे सोझो टिप्पणी गरिहाल्नु मलाई उपयुक्त लाग्दैन। तर, एक फूटबलरका हिसाबले म गोलको मनोविज्ञान बताउन सक्छु जस्तो लाग्छ।
मैले किर्गिस्तानको यू–२३ को राष्ट्रिय टोली र बाङ्लादेशसँगका हाम्रा दुवै खेल हेरेँ। खेल हेर्दा नेपालले किर्गिस्तानलाई ३/४ गोल गर्नुपर्थ्यो, अनि बाङ्लादेशलाई २/३ गोल। तर, दुवै खेलमा नेपालले गोल गर्न सकेन। किन त ? यसबारे खेलाडी, स्टाफ अनि एन्फाका पदाधिकारीको मनमस्तिष्क खाइरहेकै होला। यो स्वाभाविक पनि हो।
खेलाडीको मनोविज्ञानका आधारमा भन्ने हो भने, कुनै पनि फरवार्डलाई गोल नगरौं भन्ने नै हुँदैन। जति धेरै गोल गर्यो, जित उति पक्का हुने हो। त्यसमाथि पनि घरेलु मैदानमै खेल्दा आत्मविश्वास बलियो हुन्छ। आत्मविश्वासले लक्ष्य प्राप्तिमा ठूलो सहयोग गर्छ।
तर, घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दाको अर्को दबाब पनि हुन्छ– राम्रो खेल्नुपर्ने, जित्नैपर्ने। जितका लागि गोल गर्नुपर्यो, जुन सबैभन्दा गाह्रो काम हो। गोलका लागि खेलाडीमा पर्ने दबाब घरेलु मैदान वा घरमा बसेर हेरेर कल्पना गर्न सकिन्न। यसबाहेक प्रतिस्पर्धी को छ भन्ने कुराले पनि गोल गर्न कति गाह्रो छ भन्ने निर्धारण हुन्छ।
हाम्रो पुरुष टोलीले यसबीचमा कति अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, अरूले कति खेले, कति एक्सपोजर पायो भन्ने कुराले पनि गोल गर्न किन नसकेको भन्ने जवाफ देला। कोरोना संक्रमण महामारीका कारण खेल गतिविधि नहुनुले पनि असर पक्कै परेको छ, यतातिर पनि हामीले ध्यान दिनुपर्छ।
हाम्रो पुरुष टोलीले यसबीचमा कति अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, अरूले कति खेले, कति एक्सपोजर पायो भन्ने कुराले पनि गोल गर्न किन नसकेको भन्ने जवाफ देला। कोरोना संक्रमण महामारीका कारण खेल गतिविधि नहुनुले पनि असर पक्कै परेको छ।
मैले अन्तर्राष्ट्रिय खेलहरूमा अहिलेसम्म ३८ गोल गरेकी छु। भारतको व्यावसायिक लिगमा ३१ गोल गरेँ। भर्खरै सकिएको महिला राष्ट्रिय लिगमा पनि ४१ गोल गरेँ। जम्माजम्मी कति गोल गरेँ, स्वयंले हिसाब गरेको छैन। तर पनि, के भन्छु भने गोल हुनु, गर्नु एक्लो खेलाडीका कारण सम्भव हुने कुरा होइन।
गोलका लागि टिमवर्क चाहिन्छ। सधैं सकारात्मक सोच चाहिन्छ। यसबाहेक गोलको भोक चाहिन्छ, जुन निरन्तर हुनुपर्छ।
किर्गिस्तानसँगको खेलमा भन्दा बाङ्लादेशसँगको खेलमा नेपालले सुधार गरेको छ। र, अबको खेलमा थप सुधारसँगै नेपालले कम्तीमा दुई गोल गर्छ भन्ने मलाई लागेको छ।