जसले पाकिस्तानको लडाकु विमान खसाए
सन् १९७१ को भारत–पाकिस्तान लडाइँमा भारतीय सेनाले पाकिस्तानको एमआईजी १९ लडाकु विमान खसाएको थियो। त्यसरी विमान खसाउने व्यक्ति थिए, ७/११ जीआर (गोर्खा राइफल्स)का राइफलम्यान धनबहादुर राई (तामाङ)।
सन् १९७१ मा भारत–पाकिस्तानबीच विभिन्न ठाउँमा युद्ध चलिरहेको थियो। बाङ्लादेश छुट्टै नभई पाकिस्तान अन्तर्गत नै थियो। भारतले ‘चिकेन नेक एरिया’ (सिलिगुडी करिडोर) को पाकिस्तानी क्षेत्र कब्जा गर्ने रणनीति बनाई फौज पठायो। त्यसको अग्रमोर्चामा गोर्खाली फौज (७/११ जीआर) को ‘डेल्टा कम्पनी’ थियो।
उक्त क्षेत्र कब्जा गर्न भारतीय सेनाको तीन वटा बटालियन खटिएका थिए। “६ डिसेम्बर १९७१ बिहान ६ बजे पाकिस्तानी सेनाले राखेको अब्स्ट्राकल (डिफेन्स) पार गरेर चिकेन नेक एरियामा ८० किलोमिटर कब्जा गरी झन्डा गाडियो,” धनबहादुर उवेलाको लडाइँ सम्झन्छन्, “पाकिस्तानतर्फबाट 'काउन्टर अट्याक' आउँछ भनेर बंकर खनेर डिफेन्स बस्यौं।”
तर, त्यस दिन पाकिस्तानले काउन्टर अट्याक गरेन। बरु धनबहादुरको फौजभन्दा पछाडि बसेको ब्याक फोर्सले माथिबाट तोप पड्काइरह्यो।
धनबहादुर भन्छन्, “म एलएमजी वान थिएँ। मेरै माथि पाँच वटा पाकिस्तानी फाइटर जहाज आए। एउटाले मेरो अगाडि बम खसायो। अरूले माथिबाट नियालिरहेका थिए। दिउँसो त मेरै पोस्टमाथि आएर फायर गर्न थाल्यो।”
भोलिपल्ट ७ डिसेम्बर बिहान ३ बजे पाकिस्तानी लडाकु विमान आकाशमा घुम्न थाले। धनबहादुर बंकरमा एलएमजी (लाइट मेसिन गन) लिएर तैनाथ थिए। उनी भन्छन्, “म एलएमजी वान थिएँ। मेरै माथि पाँच वटा पाकिस्तानी फाइटर जहाज आए। एउटाले मेरो अगाडि बम खसायो। अरूले माथिबाट नियालिरहेका थिए। दिउँसो त मेरै पोस्टमाथि आएर फायर गर्न थाल्यो।”
धनबहादुरले आफ्नो पोस्टमाथि फायर गरिरहेको विमान आकाशमा अडिइरहेको देखे। त्यही मौकामा उनले पनि एलएमजी प्रहार गरिदिए। “मेरै टाउको माथिबाट फायर गरेर अडिएको विमानलाई मैले पनि ब्रस्ट फायर हानिदिएँ,” उनी भन्छन्, “त्यसपछि जहाजमा धुवाँ आएको देखियो। एकै छिनमा आगोको मुस्लोसहित जहाज खस्यो। पाइलटले भने प्यारासुटबाट फाल हान्यो। उसलाई अर्को पल्टनले समात्यो र हेडक्वार्टरमा बुझायो।”
पाकिस्तानी लडाकु विमान धनबहादुर रहेको ठाउँबाट एक किलोमिटर टाढा खसेको थियो। उनीहरू हेर्न गए। विमान त भुइँमै भासिएको थियो। उक्त विमानको ककपिटतिरको भाग अहिले पनि उनको पल्टनले सुरक्षित राखेको छ। पल्टनको कोतमा सजाएर राखिएको विमानको अग्रभाग पल्टन जहाँ सर्यो त्यहीँ लैजाने गरिएको छ।
विमान खसाएको दाबी अरूले नै गरेपछि
धनबहादुरले विमान खसाइदिएपछि पाकिस्तानी फौज पछि हट्यो। आक्रमण गर्न फेरि फर्किएर आएन। पल्टनले पनि ठूलो खुशीयाली मनायो। लडाकु विमान खसाएको दाबी गर्नेहरू भने अरू नै निस्किए।
तर, प्यारासुटबाट फाल हानेर बाँचेका पाकिस्तानी पाइलटले सत्य बोले। त्यसपछि धनबहादुरले भारतीय सेनाको प्रतिष्ठित ‘वीर चक्र’ पदक पाए। “शुरूमा मैले झारेको विमानलाई अरूले नै दाबी गरे। तर, पाइलटले ‘यो पोस्टबाट यो डिग्रीमा गोली आएको हो’ भनेर मेरो पोस्टलाई देखाएछ। त्यसपछि अरूको दाबी काम लागेन।”
उनको फौज दुई महीना त्यही ठाउँमा बस्यो। दुई देशबीच वार्ता भएपछि भारतले उक्त भूमि छाड्यो।
त्यसको एक महीनापछि धनबहादुर छुट्टीमा आए। केही समयपछि ‘वीर चक्र’ पदक लिन बोलाइयो। उनी आफ्नी श्रीमती र बाजे (हजुरबुवा) लाई लिएर दिल्ली पुगे। राष्ट्रपति भीभी गिरीको हातबाट सन् १९७२ मा उनले भारतको गौरवका रूपमा रहेको वीर चक्र पदक थापे। उनलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पनि बधाई दिइन्।
त्यो दिन सम्झिँदा अझै रमाइलो लाग्ने बताउँछन्। उनी भन्छन्, “अरूले दाबी गरेको पदक पनि मैले पाउने कर्म रहेछ, त्यसैले तिनीहरूले खोस्न सकेनन्।”
पदकपछि एक तह बढुवा भएर उनी लेस नायक भए। सन् १९७६ मा नायक भए। योबीचमा जम्मुकाश्मीर, लद्दाख, दार्जीलिङ लगायत ठाउँमा ड्युटी गरे।
सेवा प्रवेश गरेको १६ वर्ष पुगेपछि उनी अवकाश चाहन्थे। किनकि, त्यसभन्दा माथि बढुवा हुन उनको शैक्षिक योग्यताले दिंदैनथ्यो। अवकाशका लागि निवेदन दिए, तर स्वीकृत भएन। पदक विजेतालाई समय नपुगी जान दिइँदैनथ्यो।
सन् १९८० मा उनको पल्टन वीरपुर पुगेको थियो। त्यही वेला हेडक्वार्टरबाट ‘शैक्षिक योग्यता नपुग्नेहरू स्वैच्छिक अवकाशमा जान सक्ने’ सूचना आयो। उनी पनि अवकाश भएर फर्किए।
तामाङ थिए, राई बनाइए
संखुवासभाको नुनढाकीमा २००१ मा जन्मिएका धनबहादुर तामाङ गाउँमै खेती किसानी गर्दै हुर्किए। पढ्नलाई स्कुल थिएन। घाँस दाउरा र खेतीपातीमै दिनचर्या बित्थ्यो।
गाउँमा युवाहरू खोज्दै गल्लावाल आउँथे। २०२० सालमा धनबहादुर पनि गल्लावालको पछि लागे। विभिन्न गाउँबाट जम्मा गरेका युवालाई इलाम हुँदै तीन दिन हिँडाएर दार्जीलिङको घुमपहाड पुर्याइयो। नापजाँचमा पास भएपछि धनबहादुरलाई तालिमका लागि लगियो।
११ महीने कठोर तालिमपछि उनको सैन्य परिचय बन्यो, ‘७/११ जीआर–९४०८८३३’। सैनिक जीवनमा नामभन्दा सैन्य नम्बरबाट चिनिन्थ्यो। तामाङ भए पनि भर्ती लाग्दा गल्लावालले थर ‘राई’ लेखिदिएछन्। किनकि, सेनामा तामाङभन्दा राई प्राथमिकतामा पर्थे।
उनले जागिर खाएपछि मात्र नागरिकता बनाए। जसमा ‘धनबहादुर तामाङ’ नै उल्लेख छ। उनका सात छोरा र एक छोरी छन्। उनीहरूको नागरिकतामा पनि तामाङ थर छ।
धनबहादुरले आफू अवकाशमा आएपछि छोराहरूलाई पनि भर्तीमा लगाउन चाहेका थिए। तर, भारतीय सेनामा उनको थर ‘राई’ उल्लेख भएको र छोराहरूको तामाङ भएकाले मिलेन। २०३८ सालमा छोराहरूको थर ‘राई’ नै बनाएर पनि भर्तीमा पठाउने कोशिश गरेका थिए। त्यो पनि सम्भव भएन।
पदक भारतमा राखियो
७७ वर्षीय धनबहादुर अहिले संखुवासभामै अलैंची खेती गर्छन्। उनलाई शहर मन पर्दैन, गाउँ नै प्यारो लाग्छ। छोराहरू भने धरानमा व्यापार गर्छन्। उनीहरूले बाबुको सम्मानमा पसलको नाम ‘भिआरसी मिट मार्ट’ राखेका छन्।
उनी पेन्सन बुझ्न बेलाबेला धरान झर्छन्। उनले वीर चक्र पदकको भत्ता मासिक करीब रू.११ हजार पाउँछन्। शुरूमा ५० रुपैयाँ भारुदेखि बढ्दै हाल सात हजार भारु पुगेको छ। पदकको भत्ता र पेन्सन गरी मासिक झन्डै रू.४८ हजार हात पर्छ।
पदक भने अहिले उनीसँग छैन। पल्टनले सुरक्षित राख्ने भनेर मागेपछि दिएका छन्। उतै गएका वेला हेर्छन् र चित्त बुझाउँछन्।
६ वर्षअघि श्रीमती बितेपछि एक्लिएका उनले यही वर्ष परिवार र आफन्तको सल्लाहमा कान्छी श्रीमती ल्याएका छन्। उनी भन्छन्, “वर्षमा १४ मनसम्म अलैंची फलाउँछु। गाउँ नै रमाइलो लाग्छ, छोराहरूलाई पनि सकुन्जेल गाउँमै बस्छु भनेको छु।”
भारतीय सेनामा वीर चक्र पाउने नेपालीमध्ये कतिपयको मृत्यु भइसकेको छ, कति भारतमै बसोवास गर्छन्। नेपालमा हाल आफू मात्र रहेको उनी बताउँछन्। उनलाई पल्टनले विशेष अवसरहरूमा सम्मान स्वरूप भारत बोलाउँछ। त्यसबेला पल्टन गएर आफूले खसालेको विमानको टुक्रा र आफूले पाएको पदक अनि फोटाहरू हेरेर फर्किन्छन्।