सिल्भाँ लेभीको नेपाल नाता
कोठाभित्र बसेर पूर्वीय संस्कृतिको अध्ययन गर्ने विद्वान्हरूको त्यस बेलासम्मको चलन तोड्ने पहिलो व्यक्ति सिल्भाँ लेभी भए।
सिल्भाँ लेभी २८ मार्च १८६३ मा जन्मे। उनले सोरबोनमा प्राचीन इतिहासको अध्ययन पूरा गरे। अनि उनी मध्यपूर्वी सभ्यताका विशेषज्ञ अर्नेस्ट रेननको सल्लाह लिन गए। त्यस बेलासम्म फ्रान्समा भारतीय सभ्यताको अनुसन्धानमा कसैले खास ध्यान नदिएको र मानव सभ्यताको दृष्टिले यो सभ्यता अति महत्त्वपूर्ण भएकाले रेननले लेभीलाई त्यही भारतीय क्षेत्रको अध्ययनपट्टि लाग्न सल्लाह दिए। त्यसपछि लेभी सोरबोन विश्वविद्यालयको संस्कृतका प्राध्यापक बर्गेन्य अन्तर्गतको विभागमा काम गर्न थाले।
उनले भारतीय नाटक विषयमा एक शोधग्रन्थ तयार गरे र सन् १८९० मा प्रकाश गरे। अलि पुरानो भए पनि नाटक विषयमा आजसम्म फ्रान्सेली भाषामा लेखिएको यही पुस्तक मात्र उपलब्ध छ। लेभी जेहेनदार व्यक्ति भएकाले विश्वविद्यालयमा चाँडै विद्वान्का रूपमा चिनिए र उनले उन्नति गरे। सन् १८८७ मा २४ वर्षकै उमेरमा पदोन्नति पाई प्रोफेसर भए, साथै आफ्ना गुरु बर्गेन्यको ठाउँ लिए। उनी यस उच्च अध्ययनका लागि व्यावहारिक शिक्षण संस्थान Ecole Pratique des Hautes Etudes को धार्मिक विज्ञान शाखाका निर्देशक बने र पछि यस संस्थाको अध्यक्ष भए। यसरी उनी झन्डै ४० वर्ष 'कलेज द फ्रान्स' का प्राध्यापक पनि भए।
आफ्नो कार्यक्षेत्रमा घुम्न रमाउने वैज्ञानिक लेभी एक शिक्षक हुनुका साथै एक कुशल प्रशासक पनि थिए। जाति र धर्मको वास्ता नगरी उनी सबै विद्यार्थीप्रति एकै किसिमको व्यवहार गर्दथे। त्यसैले उनको लगनशील, कुशल तथा अरूलाई प्रेरणा दिने व्यवहारको सबैले प्रशंसा गर्थे।
कोठाभित्र बसेर पूर्वीय संस्कृतिको अध्ययन गर्ने विद्वान्हरूको त्यस बेलासम्मको चलन तोड्ने पहिलो व्यक्ति सिल्भाँ लेभी भए। एक-दुई जनाबाहेक अध्ययनको सिलसिलामा कुनै विद्वान् पनि जेनेभाभन्दा टाढा पुग्दैनथे। लेभीले सम्बन्धित ठाउँमा आफैं गई विषयबारेको अभिलेख, शिलालेख, पाण्डुलिपि तथा पुरातात्त्विक सूचना खोजतलास गर्नुपर्ने आवश्यकता महसूस गरे।
सन् १८९८ मा उनको पहिलो भ्रमण नेपालका लागि भयो। यस भ्रमणमा नेपाल रहँदा हरेक दिन गरेको कामको Journal de bord पुस्तकमा दिएका छन्। चार महीनाका लागि सन् १९२२ मा र केही दिनका लागि सन् १९२८ मा लेभी पुन: नेपाल आए। बौद्ध धर्ममा बढ्दै गएको उनको चाखले उनलाई दक्षिण तथा पूर्वी एसियाका विभिन्न ठाउँमा लग्यो। उनले सिलोन र भारत प्रशस्त घुमे।
उनको अध्ययनको क्षेत्र विस्तृत हुँदै गयो र उनी भारतवर्षको सभ्यता भएको दक्षिण-पूर्व एसियाका अन्य मुलुकहरूमा पनि पुगे। उनी क्याम्बोज (कम्पुचिया) गए, बोरोबोदरको विशाल स्तूपका मूर्तिहरूको अध्ययन गरे। उनी बाली र जाभा पनि गए। महायान बौद्ध धर्म सम्बन्धी धार्मिक ग्रन्थहरूको चिनियाँ अनुवाद पढ्न उनलाई जापान पनि जानुपर्याे। जापानमा रहँदा उनले चिनियाँ र जापानी स्रोतहरू सङ्कलन गरी बौद्ध धर्म सम्बन्धी इन्साइक्लोपेडिया निर्माण गर्न फ्रान्स तथा जापानको संयुक्त प्रयासको जग पनि बसाए।
आफ्नो कार्यक्षेत्रमा घुम्न रमाउने वैज्ञानिक लेभी एक शिक्षक हुनुका साथै एक कुशल प्रशासक पनि थिए। जाति र धर्मको वास्ता नगरी उनी सबै विद्यार्थीप्रति एकै किसिमको व्यवहार गर्दथे। त्यसैले उनको लगनशील, कुशल तथा अरूलाई प्रेरणा दिने व्यवहारको सबैले प्रशंसा गर्थे। उनले गर्नुपर्ने प्रशासनिक काम धेरै थियो। 'एसियन सोसाइटी' को अध्यक्ष रहँदा उनले गरेको कामको निकै चर्चा भयो। त्यस्तै, गिमे म्युजियमको स्थापनामा उनको देन निर्णयात्मक थियो। सुदूर पूर्वको फ्रान्सेली स्कूल, भारतीय सभ्यता सम्बन्धी अध्ययन केन्द्र र फ्रान्स-जापान सङ्गठनको विकासका लागि पनि उनको योगदान महत्त्वपूर्ण थियो।
उनको क्रियाकलाप विश्वविद्यालयको परिधिभन्दा बाहिर पनि धेरै हुन्थ्यो। उनको समाजवादसँगको घनिष्ठता सबैलाई थाहा छ। उनी मानवतावादी कामहरूमा पनि उत्तिकै संलग्न थिए। यहुदीहरूको अन्तर्राष्ट्रिय संस्था 'आलियान्स इजराइलिट' को अध्यक्षको कामले उनलाई धेरै व्यस्त राख्यो। नाजीवादको उदयले उनी जीवनका आखिरी वर्षहरूमा केही ओझेलमा परे। उनले जर्मनका यहुदी तथा गैरयहुदी सबै शरणार्थीहरूलाई निपुण ढङ्गले सहायता पुऱ्याए। 'आलियान्स इजराइलिट' एक बैठकको उद्घाटन गरिरहँदा ३० अक्टोबर १९३५ मा ७२ वर्षको उमेरमा उनको अकस्मात् मृत्यु भयो।
बौद्धिक यात्रा
सिल्भाँ लेभीको नेपालप्रति चाख उनको पेसा सम्बन्धी कार्य थालनीको एक खास समयमा शुरू भयो। नेपालको इतिहास सम्बन्धी उनको पहिलो लेख तयार भएको सन् १८८४ र नेपालबारेको कृतिको तेस्रो भाग प्रकाशित भएको सन् १९०८ का बीच १४ वर्ष बितेको पाइन्छ। कुनै क्षणिक समयका लागि मात्र यो रुचि देखिएको हो वा यसको विपरीत यो चाख उनको बौद्धिक यात्राको महत्त्वपूर्ण चरण हो?
पहिलो व्याख्या विचार गरौं- दुई भिन्न शृङ्खलाका कामहरूका बीचको समयमा यो पस्तक 'नेपाल' प्रकाशित भयो। आबेल बर्गेन्यको वैदिक धर्मको अनुसन्धानपछि छोटो समयका लागि उनले हिन्दू धर्म तथा यसको धर्मविधि वा कर्मकाण्डको अध्ययन गरे, अर्थात् भारतीय सभ्यताको अध्ययन गरे। यस कालमा उनको दोस्रो पुस्तक ब्राह्मण प्राणमा यज्ञ बलिको सिद्धान्त (La doctrine du sacrifice dans les Brahmanas) पेरिसबाट सन् १९९८ मा प्रकाशित भयो।
नेपालबारेका पुस्तकहरू बाहेक सिल्भाँ लेभीले बौद्ध धर्म सम्बन्धमा लेखेका उच्चकोटिका महत्त्वपूर्ण कृतिहरू छन्। बौद्ध धर्मका ग्रन्थहरू र यिनीहरूका इतिहास तथा व्याख्या, मानव समाजको इतिहासमा पहिलोपल्ट निस्केको महायान बौद्ध धर्मका दार्शनिक पक्षको अति सूक्ष्म अध्ययन तथा विश्लेषण पनि लेभीबाट भएको छ।
यसपछि H. Hubert र M. Mauss को यज्ञ (बलि) को महत्त्व र प्रकृति विषयको निबन्ध 'Essai sur la nature et la fonction du sacrifice' (Paris, Année sociologique no. 3, 1898) ले फ्रान्समा महत्त्वपूर्ण विचारधाराको प्रवाह सुरु भएको दर्शाउँछ। फ्रान्सेली समाजशास्त्र र मानवशास्त्रको क्षेत्रमा लेभी स्ट्रसको समयसम्म, मोस (Mausse) मार्फत सिल्भाँ लेभीकै ज्ञानहरूको सम्पदालाई मानिन्थ्यो। खास गरी Robert Lingat, Louis Dumont, Madeleine Biardeau र अन्य फ्रान्सेली विद्वान्हरूले यही बाटो लिए। यी विचारधाराका विद्वान्हरू भारतीय सभ्यताको ऐतिहासिक पक्षका काम लाग्ने आयाम अध्ययन नगरी यसको विपरीत हिन्दू पौराणिक कथा, पूजाविधि इत्यादिको अध्ययनपट्टि लागे।
नेपालबारेका पुस्तकहरू बाहेक सिल्भाँ लेभीले बौद्ध धर्म सम्बन्धमा लेखेका उच्चकोटिका महत्त्वपूर्ण कृतिहरू छन्। बौद्ध धर्मका ग्रन्थहरू र यिनीहरूका इतिहास तथा व्याख्या, मानव समाजको इतिहासमा पहिलोपल्ट निस्केको महायान बौद्ध धर्मका दार्शनिक पक्षको अति सूक्ष्म अध्ययन तथा विश्लेषण पनि लेभीबाट भएको छ। भावी पुस्ताका लागि लेभी सर्वप्रथम बौद्ध धर्म सम्बन्धी अध्ययनका गुरुका रूपमा चिनिन्छन्।
यस सिद्धान्तलाई मानेमा यो 'नेपाल' पुस्तक उनको जीवनमा एक अस्थायी क्षणिक चरणको एक साक्षी हो जस्तो देखिन्छ। लेखकको चाख शुरूमा हिन्दू धर्मका पूजाविधि इत्यादि अनि पछि बौद्ध धर्मका सिद्धान्तमा गएकाले अलि ढिलाएर मात्र यो कृति हिन्दू अधिराज्यको इतिहास बाहिर आयो। समकालीन विचारधाराहरूको भिन्नतामा आधारित यस व्याख्याले लेभीको कृतिको गुरुत्वाकर्षण केन्द्र देख्न सकेन। लेभीको तालिम इतिहासमा थियो। इतिहासको विद्यार्थी भएकाले भारतको इतिहास तयार पार्ने र यसको आधारमा भारतीय महाद्वीपको इतिहास प्रस्तुत गर्ने उनको सबैभन्दा ठूलो चिन्ताको विषय थियो। उनको नाटक सम्बन्धी पुस्तक र युनान (ग्रीस) सम्बन्धी भारतीय परम्परा जस्ता शोधकार्यले इतिहासकारको अठोटप्रति विश्वासघात गर्यो।
आफ्नो कार्यकालको आखिरतिर लेभीले बौद्ध धर्मको अध्ययनमा आफूलाई बढी केन्द्रित गरे। भारतवर्षको इतिहास निर्माण गर्ने लक्ष्यमा पुग्न बौद्ध धर्मको अध्ययन तथा अनुसन्धान मूल बाटो हो भन्ने लेभीले ठाने। सन् १८८७ नै सोरबोनमा दिएका भाषणहरूमा उनी भन्ने गर्थे- महायान बौद्ध धर्मका ग्रन्थहरूको इतिहास तथा त्यस धर्मका धार्मिक कुराहरूभित्र रहेका परम्परा, चालचलन जाँच गरिएमा सुदूर पूर्व भारतीय सभ्यताको इतिहास पत्ता लाग्छ।
त्यस्तै, अर्कोतर्फ भारतवर्षको धर्म, आस्था, संगठन, साहित्य तथा कला जस्ता क्षेत्रमा विदेशीहरूको प्रभावले नयाँ स्थिति कसरी ल्याएछ भन्ने थाहा पाइन्छ। उनले यस्तो नयाँ युगको शुरू गरेर संसारभरिका शिष्यहरूलाई साथै लिएर आफ्ना कार्यकलाप अघि बढाए र अन्त्यमा आफू पनि यसका प्रमुख पक्षपाती भए। प्राचीन भारतवर्षका सबै समस्याहरू बौद्ध धर्मको अध्ययनको वरिपरि नै पाइन्छन्। (J. Bloch, Sylvain Levi et la linguistique indienne, lecon inaugurale lue au college de France, Paris, 1937, Adrien Maisonneuve, pp. 10-11)
लेभीका कृतिहरूमध्ये 'नेपाल' पुस्तक महत्त्वपूर्ण कोसेढुङ्गा हो। उनले नेपाल छान्नमा दुई कारणहरू छन् र यी दुवैबीच घनिष्ठ सम्बन्ध छ- बौद्ध धर्म तथा इतिहास। नेपाल नै हो त्यस्तो ठाउँ जहाँ भारतीय बौद्ध धर्मका आखिरी हाँगा जीवित रहेको छ।
जवानी अवस्थामा सोचिएको यो कार्यक्रम विचार गर्दा बलिको सिद्धान्त (La doctrine du sacrifice) जस्तो खास महत्त्व नभएको पुस्तक प्रकाशन एक संयोग मात्र देखिन्छ। मोस (Mauss) यो पुस्तक विशेष परिस्थितिको उपज हो भन्छन्। 'यज्ञ बलिको प्रकृति र यसका गुणहरू' (Essai sur la nature et la fonction du sacrifice) को सिलसिलामा सन् १८८६-८७ मा लेभीले पढाएका कुराहरू पुस्तकको रूपमा निकालिएको हो। लेभीको यसमा त्यति ठूलो चाख थिएन। यो सधैंको जस्तो गुरुको उदारता हो। तर, यो पुस्तक आफैंमा अति विशिष्ट छ र लेभीका कृतिहरूमा यसको विशेष महत्त्व छ (J. Bloch, op.cit. p. 9)।
तर, यो पुस्तक नेपाल चाहिँ त्यस्तो होइन, लेभीका कृतिहरूमध्ये यो महत्त्वपूर्ण कोसेढुङ्गा हो। उनले नेपाल छान्नमा दुई कारणहरू छन् र यी दुवैबीच घनिष्ठ सम्बन्ध छ- बौद्ध धर्म तथा इतिहास। नेपाल नै हो त्यस्तो ठाउँ जहाँ भारतीय बौद्ध धर्मका आखिरी हाँगा जीवित रहेको छ। यसै देशमा वीएच हजसनले (सन् १८२० देखि १८४३ सम्मका ब्रिटिस रेजिडेन्ट) महायान बौद्ध धर्मका संस्कृतमा लेखिएका धार्मिक ग्रन्थ इत्यादि पत्ता लगाए। यिनै धार्मिक लेखहरू Burnoff पेरिसमा लगेर अनुवाद गरे। लेभीले पनि यहीँका भारतीय बौद्ध धर्मका आखिरी समुदायको अध्ययन निरीक्षण गर्न चाहे। पहिलो काम राम्ररी नै भयो पनि। दोस्रो प्रेरणा थियो, भारतीय इतिहासका लागि चाहिने एक परिच्छेद यहाँ पूर्ण गर्नु। भारतको इतिहास नेपाल, कश्मीर र सिलोन जस्ता सीमावर्ती क्षेत्रहरूमा राम्ररी सुरक्षित छन् भन्ने कुरा लेभीले बुझेका थिए। भारतीय महाद्वीपको इतिहास लेख्न सामग्री जुटाउने सिलसिलामा लेभीको नेपाल प्रवेश भएको थियो। सिल्भाँ लेभी भन्दछन्:
भारतवर्षले भोगेका अनुभव र नियतिहरू सूक्ष्म रूपमा नेपालमा दोहोरिएको जस्तो देखिनाले पृथ्वीको यस सानो कुनामा भएका असाधारण कुराहरू जम्मा गर्नु र अध्ययन गर्न पाउनु मेरा लागि राम्रो मौका थियो। यस परिप्रेक्ष्यमा नेपालको इतिहास हेर्दा यो स्थानीय घटनाहरूको सङ्कलन मात्र नभएर भारतवर्षको इतिहासको पूर्वाभास जस्तो देखिन्छ। (नेपाल पहिलो भाग पृष्ठ ३७-३८)। यही प्रेरणाको फलस्वरूप यो पुस्तक जन्मियो।
लेभीको यो उत्कृष्ट कृति जति विशिष्ट छ, उत्तिकै सुरुचिपूर्ण छ। यो नेपाल पुस्तक तसर्थ न कुनै संयोग हो, न लेभीले गर्न खोजेको कामको अपवाद हो: इतिहासको रूपमा तयार हुन लागेको कृतिको दृष्टिले एक प्रारम्भिक चरण अर्थात् कोसेढुङ्गा हो।
[सिल्भाँ लेभी (२८ मार्च १८६३ - ३० अक्टोबर १९३५) को १५८औं जन्मजयन्तीको अवसरमा लेभीको पुस्तक 'नेपाल: हिन्दू अधिराज्यको इतिहास'(सन् २००५)' को प्रस्तावनाको एक अंश। पहिलोपल्ट सन् १९०५ मा फ्रान्सेली भाषामा दुई खण्डमा प्रकाशित याे पुस्तककाे नेपाली भाषामा अनुवाद डिल्लीराज उप्रेतीले अनुवाद गरेका हुन् भने प्रकाशन हिमाल किताबले गरेको हो। ]