सौरभ ज्याेतिकाे 'मोटरसाइकल संग्रहालय'
मोटरसाइकलसँग सौरभ ज्योति (४७) को सदैव गहिरो लगाव रह्यो। हास्य चित्रकथा (कमिक बुक) हरू पढ्ने बानी भएका उनी त्यसका सुपरहिरो पात्रका आकृति जम्मा पार्न पनि उत्तिकै साेखिन छन्। क्याप्ड क्रुसेडर (ब्याटम्यान) को थिममा नेपालकै पहिलो मोटरसाइकल संग्रहालय खोलेर उनले हाल आफ्ना दुवै साेखलाई एक ठाउँमा ल्याएका छन्।
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्योति समूहका तेस्रो पुस्ताका रूपमा हुर्किँदै गर्दा सौरभ सधैंभरि मोटरसाइकलहरूको आसपास रहे। त्यससँगको आत्मीयता उनको पछिल्लो कार्य, मोटरसाइकल संग्रहालयमा प्रतिविम्बित भएको छ। ‘एसजे मोटो’ नाम दिइएकोे उक्त संग्रहालयमार्फत अधिकांश नेपालीको प्रिय वाहनप्रति उनले सम्मान व्यक्त गरेका छन्।
१६ वर्षको हुँदा सौरभ पहिलो पटक होन्डा एनएक्स २५० डोमिनेटर बाइकप्रति आकर्षित भएका थिए। स्याकर ट्रेडिङको सोरुममा राखिएको नीलो रङको उक्त जापानी डुअल–पर्पस बाइकमा लामै समय उनका आँखा अड्किए।
“सोरुमको झ्यालमा नाक टाँसेर म त्यो बाइक हेरिरहन्थेँ,” सौरभ सम्झन्छन्, “मेरा अभिभावकले त्यो बाइक किनिदिन मान्नुभएको थिएन, तर हजुरबुबाले उपहारमा दिनुभयो।”
भारतको बेंगलुरुबाट नेपाल फर्किएपछि सौरभ गराजमा थन्क्याइएका पुराना मोटरसाइकल भेला पारेर तिनको मर्मत गर्न थाले। केही समयपछि नै उनीसँग उहिले–उहिलेका बाइक र सुपरबाइक (स्पोर्ट्स बाइक) हरूको राम्रो संकलन तयार भयो। तिनै बाइकहरू अहिले एसजे मोटो संग्रहालयमा राखिएका छन्।
संग्रहालयलाई ब्लु रिटेल र रेड कर्नर गरी दुई खण्डमा बाँडिएको छ। अघिल्लोमा मर्मत गरिएका बाइकसँगै अहिलेका अत्याधुनिक डुकाटी सुपरबाइक र हायाबुसा, जसको मूल्य रू.६० लाखसम्म पर्छ, समेत उपलब्ध छन्। ब्लु कर्नरका बाइक बिक्री गरिन्छन्। तर, रेड कर्नरमा उपलब्ध क्लासिक बाइकहरू अवलोकनका लागि मात्रै राखिएका हुन्।
सौरभले संग्रहालय र आफ्नो मनमा समेत विशिष्ट स्थान दिएका बाइकमध्येको एक हो, १९६९ होन्डा ड्याक ७० सीसी। “यही बाइक चढेर मेरो बुबा मेरी आमालाई हेर्न पद्मकन्या क्याम्पस जानुहुन्थ्यो रे,” उनी भन्छन्, “म क्याम्पस पढ्ने बेला बुबाले यो बाइक एक जना इन्जिनियरलाई बेच्नुभएको थियो। मैले फेरि ती इन्जिनियरसँग किनेर मर्मत गर्दै राखेको छु।”
यस्तै विगत सम्झाउने उनको अर्को प्रिय बाइक चाहिँ यमाहाको इन्डियन राजदूत, टु–स्ट्रोक मोटरसाइल हो, बेंगलुरु बस्दा खूब दौडाउँथे। “यो बाइक मेरो गौरव र उमंग दुवै हो,” उनी भन्छन्, “नेपाल आउनुअघि बाइक बेचेकोमा धेरै पछुतो लाग्यो। यहाँ आएपछि किन्नुपर्यो भनेर धेरै ठाउँमा खोजेँ, तर कतै भेटिएन।”
लामो समयको सोधिखोजीपछि सौरभले एक दिन पोखराको एउटा गराजमा राजदूत थन्किएको खबर पाए। तुरुन्तै पोखरा गएर उनले उक्त बाइक कार्गो गरी काठमाडौं पठाए। त्यसपछि भारतको लुधियानाबाट पाटपुर्जा मगाएर उनले त्यसलाई कुदाउन मिल्ने हालतमा फर्काएका थिए।
सुपरबाइकहरूमा होन्डाको सीबीआर ११०० लाई सौरभ सबैभन्दा प्यारो मान्छन्। तर, यस्ता महँगा दुईपांग्रे सवारी नेपालमा खासै चर्चित छैनन्। वर्षको एक दर्जन जति मात्रै बिक्री हुने गरेको बताए।
संग्रहालयका मोटरसाइकललाई सौरभले आफ्ना मनपर्ने सुपरहिरो पात्र र तिनका सामग्रीहरूसँग घुलमिल गराएर राखेका छन्। त्यहाँ ब्ल्याक प्यान्थर हेलमेट, स्पाइडरम्यानको जालो शैलीमा रंग्याइएको बाइक, मान्छे जत्रै उचाइको डेडपुलको आकृति, ट्रान्सफर्मर अटोबोट्स र त्यसका पात्र, आइरनम्यान हार्ट र ब्याटमोबिल आदि राखिएका छन्।
कमिक पात्रहरूको प्रभाव संग्रहालयको क्याफेमा समेत परेको छ। त्यहाँ वन्डर चकलेट र सुपरम्यान मफिन्स उपलब्ध छन्। लख मरी र हव मरी जस्ता नेवाः परिकार पनि राखिएको छ भने नेपाली कफीको मीठो वास्ना वरिपरि मगमगाइरहेको हुन्छ।
“संग्रहालयमा जो कसैले निःशुल्क भ्रमण गर्न सक्छन्। यहाँ मैले बाइकसँगको मेरो उत्साह साझा गरेको छु। आफूभित्रको केटाकेटीपन कायम राख्दै ठूलो सपना देख्न यसले मान्छेलाई प्रेरित गर्छ भन्ने लाग्छ। यहाँ आउँदा हाललाई दुइटा कुरा अनिवार्य गरिएको छ– मास्क र मुस्कान,” सौरभ भन्छन्।
एसजे मोटो संग्रहालयलाई मार्भल र डीसी (कमिक/सुपरहिरो रचना निर्माण गर्ने अमेरिकी कम्पनी) का सामान वा संग्रहणीय वस्तुहरूको नेपालका लागि आधिकारिक विक्रेता बनाउने सौरभको योजना छ।
संग्रहालयमा प्रदर्शनीका लागि राखिने बाइकहरू हरेक महिना हेरफेर गरिने सौरभ बताउँछन्। अन्य बाइकप्रेमीले भेला पारेका नौला र भिन्टेज मोडलहरू पनि पालैपालो राखिनेछन्। जर्मन एनएसयू फक्स मोटरबाइक चाँडै नै डिस्प्लेमा राखिनेछ।
योसँगै सौरभ दम्पती हाल आफूहरूको बाइक यात्रा पूरा गर्ने तरखरमा पनि छन्। उनीहरू बाइक चलाएर नेपालका विभिन्न विकट गाउँ पुगिरहेका छन्। मनाङ ट्रेल जस्तै कतिपय ठाउँ निकै जोखिमपूर्ण हुने गरेको सौरभ बताउँछन्। उनीहरूको आगामी यात्रा लोमन्थाङ र राराको हुनेछ।