काठमाडौँको वायु अत्यधिक प्रदूषित भएकाले घरबाहिर ननिस्कन सरकारको आग्रह
काठमाडौंको वायु अत्यधिक प्रदूषित भएको भन्दै सरकारले घरबाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी घरबाहिर खुल्ला स्थानमा नबस्न, नखेल्न र ‘मर्निङ वाक’ नगर्न अनुरोध गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले घरभित्रै शारीरिक व्यायाम गर्न सुझाएका छन्। “सकेसम्म घरबाहिर ननिस्कौं, ननिस्की नहुने छ भने मास्कको प्रयोग र कोभिड–१९ बाट जोगिने सम्पूर्ण उपाय अपनाऔं,” डा. अधिकारी भन्छन्।
शुक्रबार काठमाडौँको वायु संसारकै सबैभन्दा प्रदूषित भएको पाइएको छ। काठमाडौंको एक्युआई (एअर क्वालिटी इन्डेक्स) १९३ पुगेको प्रदूषण मापन गर्ने एनुएल क्वालिटी एसुरेन्स रिपोर्ट (एक्युएआर)ले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। देशका विभिन्न भागमा लागेको डढेलो वायु प्रदूषणको प्रमुख कारण रहेको जानकारहरू बताउँछन्। धुवाँ, धूलो उड्ने व्यवसाय नगर्न, फोहोर नजलाउन र अत्यावश्यकबाहेक सवारी साधन नचलाउन मन्त्रालयको अनुरोध छ।
वायु प्रदूषणले भिजिबिलिटी कम भएपछि शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भयो। दिउँसो २ बजेदेखि भिजिबिलिटी नभएर जहाज उडान र अवतरण प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण बताउँछन्।