वायु प्रदूषणले रोकियो त्रिभुवन विमानस्थलमा उडान
काठमाडौंमा वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ।
शुक्रबार दिउँसो २ बजेदेखि उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए।
“आवश्यक भिजिबिलिटी नपुगेर विमान उडान र अवतरण हुनसकेको छैन,” प्रवक्ता कर्णले हिमालखबरसँग भने, “पर्याप्त भिजिबिलिटी कहिले पुग्छ भन्न सकिँदैन।”
चितवन र पर्साको संरक्षित क्षेत्रमा आगलागी हुँदा काठमाडौं उपत्यका लगायतका क्षेत्रमा गत सोमबारदेखि नै बाँक्लो धुँवा देखिएको थियो।
बिहीबार एकै दिन देशभरि झन्डै पाँच स्थानमा डढेलो लागेपछि विमानस्थलमा पनि त्यसको प्रभाव देखिएको वातावरण विभागले जनाएको छ।
शुक्रबार अपराह्न काठमाडौं, भैसेपाटीको एक्यूआई (एअर क्वालिटी इन्डेक्स) ४४३ पुगेको छ।