त्रिदेशीय टी२० श्रृंखला खेल्न नेदरल्यान्ड्स र मलेसिया नेपाल आउने
त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्न नेदरल्यान्ड्स र मलेसिया नेपाल आउने भएका छन्। प्रतियोगिता आगामी ४ देखि ११ वैशाखसम्म कीर्तिपुरमा हुनेछ।
नेपाल क्रिकेट संघले १३ वैशाखमा एक विज्ञप्ति प्रकाशित गरी तीन देशले ‘बजाज पल्सर ट्राई नेसन्स सिरिज’ खेल्न लागेको जनाएको छ। ‘डबल राउन्ड रोबिन’ का आधारमा हुने प्रतियोगिताको समूह चरणमा सबै देशले एक–अर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकाका शीर्ष दुई टीमले फाइनल खेल्नेछन्।
कोभिड–१९ का कारण डिसेम्बर २०२० देखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपालमा पुनः ल्याउने यो उपयुक्त समय रहेको क्यानले जनाएको छ। प्रतियोगिताअघि सबै खेलाडी र अफिसियलहरूको पीसीआर परीक्षण हुने क्यानको विज्ञप्तिमा उल्लेख छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेदरल्यान्ड्स क्रिकेट र मलेसिया क्रिकेटले छाेटो समयमा यो श्रृंखलाका लागि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन्। नेदरल्यान्ड्सका क्रिकेट प्रशिक्षक रायन क्याम्पबेलले नोभेम्बर २०१९ पछि पहिलोपटक नेपालमा त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लाग्दा उत्साही भएको बताएका छन्।
त्यस्तै मलेसिया क्रिकेटका अध्यक्ष महिन्दा भाल्लिपुरमले एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट पुनः शुरू हुन लागेको बताएका छन्। मलेसियाले पनि मार्च २०२० देखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन।