कोरोनामुक्त भए पनि हटेन स्वास्थ्य समस्या, के हो ‘लङ कोभिड’ ?
कोभिड–१९ लागेर संक्रमणमुक्त भइसकेपछि पनि लामो समय विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याले सताउने ‘लङ कोभिड’ बाट धेरै जना पीडित भइरहेका छन्, तर यस्तो समस्या हुन्छ भनेर सर्वसाधारणलाई थाहा नहुँदा अन्योल र तनाव थपिने गरेको छ।
गत २७ असोजमा काठमाडौंको अनामनगर बस्ने धरानका पूर्ण राई (३७) लाई कोरोनाभाइरस संक्रमण पुष्टि भयो। ९ दिन आइसोलेसनमा बसेर नेगेटिभ रिपोर्ट आएपछि उनी घर फर्किए।
यसको केही समयपछि उनलाई निद्रा नलाग्ने समस्या देखियो। फिटिक्कै ननिदाई उनले कैयौं रात काटे।
एक दिन उनले कोरोना संक्रमण भएर निको भएका एक व्यक्तिको मृत्यु भएको समाचार पढे। त्यसले झन् तनाव थप्यो। “सास फेर्नै गाह्रो हुने, सासै रोकिए जस्तो हुन थाल्यो,” उनी सम्झन्छन्, “मलाई फेरि कोरोनाले भेटेछ भन्ने सोचेँ।”
अनिद्राको समस्याले हैरान पारेपछि उनी अन्ततः काठमाडौं मोडल अस्पताल गए। डाक्टरले ग्यास्ट्राइटिस भएको बताउँदै ‘कोभिड लागेको केही समय राम्ररी निद्रा नलाग्नु, थकाइ लाग्नु सामान्य हो’ भनेर पठाइदिए।
“मलाई राम्रो काउन्सिलिङ मिलेन,” राई भन्छन्, “ग्यास्ट्रिक भएछ भनेर खाना बार्न थालेँ, जाउलो मात्र खाएँ। त्यसले झन् कमजोर बनायो।”
दिन बित्दै गए, तर मन आत्तिने, निद्रा नलाग्ने उनको समस्या बीसको उन्नाइस भएन। उनलाई भीडभाडमा जान डर लाग्ने समस्या पनि हुन थाल्यो। यसरी त भएन भनेर फेरि अस्पताल गए। एक्स–रे, रगत जाँच लगायत अनेक थोक गरे। ‘सोडियमको कमी छ, पानी प्रशस्त पिउनुस्’ भनियो।
तर, यस पटक डाक्टरले उनलाई ‘पोस्ट–कोभिड’ को लक्षण पो हो कि भनेर मानसिक रोग विभागमा रिफर गरे। त्यहाँका डाक्टरले उनलाई ‘एन्जाइटी’ (चिन्ता) भएको बताए। र, निद्रा लाग्ने औषधि खान सुझाए।
“स्लिपिङ ट्याब्लेटले पछिसम्म असर गर्छ भन्ने खालको भ्रम थियो मलाई,” राई भन्छन्, “त्यही भएर औषधि नै खाइनँ। बरु, चौबीसै घण्टा जागा बसेँ।”
कमजोरी, सास फेर्न जस्ता समस्याका कारण कहिलेकाहीँ मध्यरातमा अस्पताल दौडिनुपर्ने स्थिति आउन थाल्यो। घरमा श्रीमती र सात वर्षे छोरी थिए। कोठामा सानो नानीलाई छोडेर जान नमिल्ने, महामारीको बेला सँगै अस्पताल लैजान पनि अप्ठ्यारो! उनी आत्तिए।
त्यस्तो भएपछि राई परिवार काठमाडौं छोडेर घर (धरान) गयो। धरानमा उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराए। मनोचिकित्सकले ‘दबाइ चाहिँ खानुस्’ भनेपछि उनले एक साता स्लिपिङ ट्याब्लेट खाए।
औषधि खान थालेपछि अलि सजिलो हुँदै गयो। तैपनि भीडभाडमा जान डर लाग्ने समस्या छँदै थियो। धेरै जनाको बीचमा बस्दा उनी असिनपसिन हुन्थे।
“त्यस्तो भएपछि मैले युट्युब हेर्दै रिलाक्सेसनका विधि सिकेँ, योग र ध्यान गरेँ,” उनी भन्छन्, “साथीहरूलाई भेट्ने, आफ्नो अवस्थाबारे बताउने गर्न थालेँ। त्यसले निको हुन धेरै मद्दत गर्यो।”
संक्रमणमुक्त भइसकेर पनि अन्य समस्या देखिएको चार महीनापछि राईलाई अहिले सन्चो भएको छ। एक महीनाअघि काठमाडौं फर्किएर कार्यालयको काम गर्ने लगायत नियमित दैनिकी शुरू गरेको बताए।
कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि पनि कोरोनाका लक्षण वा त्यसले निम्त्याउने अन्य स्वास्थ्य समस्या भोग्ने पूर्ण राई एक्ला व्यक्ति होइनन्। चिकित्सककहाँ यस्ता समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य छ।
काठमाडौं सीतापाइलास्थित शुभेच्छा इन्टरनेसनल हस्पिटलका चिकित्सक डा. दीपकसुन्दर श्रेष्ठका अनुसार, कोभिड–१९ संक्रमण भएर निको भएको ३/४ महीनासम्म पनि स्वाद र गन्ध नफर्कने, ५/६ महीनापछि पनि सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, जोर्नी दुख्ने जस्ता समस्या लिएर बिरामीहरू अस्पताल आउने गरेका छन्।
यसरी संक्रमण भएको लामो समयपछि पनि लक्षण रहिरहने वा कोभिडसँग जोडिएर अन्य स्वास्थ्य समस्या आइपर्ने अवस्थालाई बोलीचालीको भाषामा ‘लङ कोभिड’ भन्ने गरिएको छ। डाक्टरहरू यसलाई ‘पोस्ट एक्युट कोभिड–१९’ पनि भन्छन्।
अहिलेसम्म कति जनामा लङ कोभिड देखा परेको छ, उनीहरूलाई कस्तो लक्षण देखिएको छ, लङ कोभिड कस्ता संक्रमितलाई भएको छ, यसका उपचार विधि के छन् भन्नेमा अध्ययन केन्द्रित रहेको डा. श्रेष्ठले जानकारी दिए।
लङ कोभिडबारे नेपालमा डाक्टरहरूको एउटा समूहले अनुसन्धान थालेको छ। नयाँ बजारस्थित पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा अध्यापनसमेत गर्ने डा. श्रेष्ठ र अमेरिकाको मार्केट विश्वविद्यालयका प्राध्यापक डा. रिचार्ड आर. लभको नेतृत्वमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकू) अस्पतालका चिकित्सकहरू अध्ययनमा संलग्न छन्।
अहिलेसम्म कति जनामा लङ कोभिड देखा परेको छ, उनीहरूलाई कस्तो लक्षण देखिएको छ, लङ कोभिड कस्ता संक्रमितलाई भएको छ, यसका उपचार विधि के छन् भन्नेमा अध्ययन केन्द्रित रहेको डा. श्रेष्ठले जानकारी दिए।
के हो लङ कोभिड ?
चिकित्सा क्षेत्रमा लङ कोभिडको आधिकारिक परिभाषा बनिसकेको छैन। सन् २०२० को अक्टोबरमा प्रकाशित बीबीसीको रिपोर्टमा भनिएको थियो– ‘यसका लक्षणहरू पनि समान छैनन्, व्यक्तिपिच्छे फरक लक्षण देखिन सक्छ। कतिपयलाई वेला–वेलामा लक्षण आउने/जाने हुन सक्छ।’
यद्यपि, उक्त रिपोर्टमा अत्यधिक थकान वा आलस्यलाई यसको प्रमुख लक्षण बताउँदै थप २२ वटा लक्षणको सूची दिइएको थियो। तिनमा सास फेर्न गाह्रो हुने, जोर्नी दुख्ने, खोकी निको नहुने, टाउको दुख्ने, छाती दुख्ने, दृष्टि र श्रवणशक्ति कमजोर हुने, खाना नरुच्ने आदि लक्षण उल्लेख थिए।
क्रोनिक फटिग सिन्ड्रम (अत्यधिक थकान) र ब्रेन फग (भन्न खोजेको कुरा झट्ट याद नआउने) जस्ता मानसिक स्वास्थ्य समस्या पनि लङ कोभिडका लक्षणका रूपमा देखा परिरहेको डा. श्रेष्ठ बताउँछन्।
द न्यू योर्क टाइम्सको ‘द डेली’ पडकास्टमा लङ कोभिडको कठोर यथार्थबारे स्वास्थ्य पत्रकार पेम बेलक भन्छिन्, “कोभिडको उपचार गराइसकेका विश्वका थुप्रै मानिसमा दिमागी र स्नायुतन्त्रसँग जोडिएका लक्षण पछिसम्म आउने गरेको पाइएको छ। ती प्रायः अरूलाई सर्दैनन्।”
बेलकले यसबारे थुप्रै समाचार लेखेकी छन्। उनले भेटेका एक व्यक्तिले हालै पेरिस घुम्न जाँदाका सबै क्षण बिर्सेको बताएका थिए। रिपोर्टिङका क्रममा उनलाई कतिपय नर्सहरूले भर्खरै भेटेर आएको बिरामीले आफूलाई के भनेका थिए भन्ने नै भुलेको, परीक्षण गर्ने यन्त्रको नाम सम्झना नहुने जस्ता समस्या बताएका थिए।
“हाम्रै कतिपय डाक्टर साथीभाइलाई लङ कोभिड भएको छ,” डा. श्रेष्ठ भन्छन्, “तर, यसबारे उहाँहरूलाई थाहा नभएको देखियो। सर्वसाधारणलाई त झन् थाहा हुने कुरै भएन। आफूलाई के भइरहेको हो, बयान गर्ने शब्दै हुँदैन उहाँहरूसँग।”
न्यूरोडस्थित वेदान्त डेन्टल क्लिनिककी चिकित्सक डा. सिर्जु अग्रवाललाई कोरोना संक्रमण भएको ६ महीनापछि सास फुल्ने, ढुकढुकी बढ्ने, थकाइ लाग्ने, असजिलो महसूस हुने समस्या देखियो। कति दिन त उनी क्लिनिक बन्द गरेर घरमै बसिन्।
“के भयो, भयो बुझ्नै सकिनँ,” यसै साता स्वास्थ्य जाँच गराएकी उनले भन्छिन्, “आत्तिएर अस्पताल गएँ। इसीजी, ब्लड टेस्ट, थाइराइड जाँच गराएँ। सबै रिपोर्ट सामान्य आयो। ब्लड प्रेसर चाहिँ अलि बढेछ। मेरा लक्षणहरू सुनेपछि डाक्टरले लङ कोभिड भएछ भन्नुभयो।” उनले डा. श्रेष्ठसँगै परामर्श लिएकी थिइन्।
आफूलाई के भएको भन्नेबारे थाहा पाएपछि मन अलि शान्त भएको डा. अग्रवालले बताइन्। अहिले सन्तुलित खानामा ध्यान दिइरहेको र व्यायाम गर्ने गरेको उनले सुनाइन्। “म मेडिकल क्षेत्रकै मान्छे त आत्तिएँ भने सर्वसाधारणलाई कस्तो भइरहेको होला,” उनी भन्छिन्, “यसबारे जानकारी र परामर्श बढाइनुपर्छ।”
कसलाई हुन्छ लङ कोभिड ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार (११ चैत) सम्मको तथ्यांक अनुसार, नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ, जसमध्ये २ लाख ७२ हजार १८७ जना संक्रमणमुक्त भएका छन्। यीमध्ये कतिलाई र कस–कसलाई लङ कोभिडका लक्षण देखिए वा कति जना योसँग जुधिरहेका छन् भन्ने तथ्यांक छैन।
ललितपुरस्थित मानभवनका शिवहरि ज्ञवालीलाई कोरोना संक्रमण भएर निको भइसकेपछि पनि झर्को लाग्ने, रिस उठ्ने, निद्रा नलाग्ने, कमजोर महसूस हुने, एकाग्र हुन नसक्ने, आलस्य हुने जस्ता समस्या देखिए। लामै समय त्यस्तो भएपछि उनी डाक्टरकहाँ पुगे। उनलाई ‘पोस्ट–कोभिड एन्जाइटी जस्तो’ भएको बताइयो।
“आइसोलेसनमा बस्दा मनमा एक किसिमको डर भरिँदो रहेछ,” ज्ञवाली भन्छन्, “त्यो वेला आत्मबल भन्ने त कहाँ भाग्छ, भाग्छ! त्यसले मान्छेलाई कमजोर बनाउँदो रहेछ। मेरा साथीहरूलाई पनि त्यस्तो भएको थियो रे।”
गायिका कुन्ती मोक्तानकी छोरी शीतलले कोरोना संक्रमण भएको केही समयसम्म सानोतिनो काम गर्दा नै थाकेजस्तो हुने, आलस्य भएको अनुभव सुनाइन्। “तर, त्यो मेरो सोचाइ हो जस्तो लाग्छ,” उनी भन्छिन्, “त्यति वेला खाने, बस्ने मात्रै गरियो। व्यायाम गरिएन। त्यही भएर त्यस्तो हुनु सामान्य नै होला।”
डा. श्रेष्ठका अनुसार, कतिपय अवस्थामा सोचाइकै कारण पनि असहजता हुन सक्छ। तर, त्यसो भन्दैमा साँच्चिकै समस्या हुने अवस्थालाई बेवास्ता गर्न मिल्दैन।
“मुख्य कुरा त लङ कोभिड भन्ने पनि हुन्छ है भनेर बुझ्नु आवश्यक छ,” डा. श्रेष्ठ भन्छन्, “सोचाइकै कारण मात्र थकित भएको, जिउ दुखेको नहुन सक्छ। कोभिड संक्रमण भएका वा होम आइसोलेसनमा बसेका मान्छेहरूको एउटा उल्लेख्य समूह वास्तवमै लङ कोभिडसँग जुधिरहेको छ। यसले गर्दा उनीहरूको दिनचर्या बिग्रेको छ। कार्य क्षमतामा ह्रास आएको छ। यो गम्भीर कुरा हो।”
पुरुषभन्दा महिलामा बढी समय
विदेशमा गरिएका केही अध्ययनले कोरोना संक्रमण भएर निको भएकामध्ये २० देखि ३० प्रतिशतलाई लङ कोभिडको लक्षण देखिने गरेको जनाएका छन्। तसर्थ, यो लामो अवधिको समस्या हुन सक्ने द डेली पडकास्टमा स्वास्थ्य पत्रकार बेलकले बताएकी छन्।
डा. श्रेष्ठहरूको प्रारम्भिक अनुसन्धानले हामीकहाँ पुरुषभन्दा महिलामा यो समस्या बढी समय रहने देखाएको छ। “हामीले सर्वेक्षण गरेका एक हजार जना पुरुषमध्ये २७ देखि २८ प्रतिशतलाई ३ महीनापछि पनि लक्षण देखिएका छन्,” उनी भन्छन्, “महिलामा ६ महीनापछि पनि कतिलाई यस्तो समस्या देखियो भनेर अहिले अनुसन्धान गर्दै छौं।”
यो समस्या हुन्छ भनेर जानकारी गराउनु आफूहरूको पहिलो उद्देश्य भएको डा. श्रेष्ठले बताए। “यस्ता कति केस होलान्, जो पहिचान नभएका वा अर्थोकै रोग ठानिएका होलान्,” उनी भन्छन्, “हाम्रोमा अहिलेकै तथ्यांक अनुसार २० प्रतिशतलाई मात्रै लङ कोभिड भयो भने पनि ५० हजारलाई हुने भयो। यसमा वर्किङ पपुलेसन बढी पर्छन्। यत्रो संख्याका मानिस समस्यामा परे भने आर्थिक विकास र समग्र देशकै विकासमा असर पर्छ।”
विदेशमा पोस्ट–कोभिड क्लिनिक सञ्चालन गर्ने गरिएका छन्। फिजियोथेरापी, डाइटिसियन, फोक्सोको डाक्टर, फिजिसियन, मनोचिकित्सकको संयुक्त टोली त्यस्ता क्लिनिकमा हुन्छन्। बेलायतको वेल्समा केही समयअघि लङ कोभिडका बिरामीले एकै ठाउँबाट सबै किसिममा स्वास्थ्य सेवा पाउने गरी ‘वान–स्टप–सप क्लिनिक’ को माग गरेका थिए। सरकारले उनीहरूलाई विशेष ध्यान दिने बताएको थियो।
द डेली पडकास्टमा पत्रकार बेलकले लङ कोभिडसम्बन्धी एउटा आशा लाग्दो कुरा बताएकी छन् । उनी भन्छिन्, “ब्रेन फग हटाउने कुनै ओखती त छैन, तर लङ कोभिडको समस्या भएका केही व्यक्तिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाएपछि स्वास्थ्यमा सुधार आएको, लक्षणहरू कम वा पूरै हराएको समेत बताएका छन् ।"