‘कोरोनाको दोस्रो लहरको जोखिममा छौं, लापरवाही नगरौं’
११ चैत २०७६ मा बन्दाबन्दी शुरू हुँदा नेपालमा कोरानाभाइरस (कोभिड–१९) को संक्रमण जम्मा दुई जनामा देखिएको थियो। एक वर्षमा यो संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बुधबार (११ चैत) सम्ममा कोरोना संक्रमणबाट ३ हजार १९ जनाको ज्यान गइसकेको छ। सक्रिय संक्रमितको संख्या १ हजार १८२ छ।
मुलुकमा खोप भित्रिएसँगै एउटा निश्चित संख्याले खोप पनि लगाइसकेका छन्। दिनहुँ थपिने संक्रमितको संख्या घट्दै गए पनि जनस्वास्थ्यविद्हरू भने फेरि दोस्रो लहरको संक्रमण फैलिन सक्ने भन्दै चिन्तित बन्न थालेका छन्।
शुरूदेखि नै कोभिड–१९ का बिरामीको उपचारमा संलग्न काठमाडौं, टेकूस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन दोस्रो लहरबाट जोगिन पहिले झैं मास्क लगाउने, भीडभाडमा नगई भौतिक दूरी कायम राख्ने, साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नुपर्ने बताउँछन्।
नेपाल कोरोनाको दोस्रो लहर नजिक पुगेको हो ? अब पनि जनस्वास्थ्य मापदण्ड पालना गर्नु जरुरी छ ? बन्दाबन्दीले हामीलाई के सिकायो ? भन्ने प्रश्न लिएर हामी सरुवा रोग विशेषज्ञ डा. पुन कहाँ पुग्यौं। हिमालखबरकर्मीको प्रश्नको जवाफ उनले यसरी दिएः
कोभिड संक्रमितको उपचारमा संलग्न चिकित्सकको अनुभवमा संक्रमण रोकथाम गर्न लगाइएको बन्दाबन्दी (लकडाउन) कस्तो रह्यो?
बन्दाबन्दीको आसपासमा संक्रमितको संख्या लुकाएको हल्ला खूब चल्यो। चिनजानकै मानिसहरूले फोन गरेर तिमीहरूले संक्रमित लुकायौ भन्थे। त्यस्तो कुरा सुन्दा हामी छक्क पर्थ्यौं। कतिले त ‘आफ्नै आँखाले कोरोनाबाट मृत्यु हुनेको शव जलाएको देखेँ’ सम्म पनि भन्थे। त्यस्तो कुरा सामाजिक सञ्जालमा भाइरल भएको देख्दा हामी हाँस्थ्यौं।
बन्दाबन्दी शुरू हुनुभन्दा पहिला नै चीनको वुहानबाट आएका खासगरी विद्यार्थीहरूसँगको संवाद स्मरणीय रह्यो। चीनमा कोरोनाले तहल्का मच्चाइसक्दा पनि हामी ढुक्कसाथ बसिरहेका थियौं। बाहिरबाट आउनेहरूले ‘छिमेकमा त्यस्तो भइसक्दा पनि तपाईंहरू केही नभए जसरी बसिरहनुभएको छ’ भन्थे। मैले ओपीडीमा खाली हात काम गरेको देखेर एक जनाले त पन्जा समेत दिएर गए। चीनबाट आएका कोही व्यक्ति छन् भने एकदमै शंकाको नजरले हेरिन्थ्यो, छिःछिः र दुरदुर नै गरिन्थ्यो। बन्दाबन्दी शुरू नहुँदै पनि चिनियाँहरू कुनै रेस्टुरेन्टमा छन् भने अरू मानिस त्यहाँबाट निस्कन्थे।
वुहानबाट आएका विद्यार्थीमा नेपालमा पहिलो पटक कोरोना देखियो। उहाँसँग पनि मैले प्रत्यक्ष कुराकानी गरेँ। नेपालको पहिलो केस भए पनि त्यो विश्वमा चीनबाहिरको तेस्रो ‘केस’ थियो। उहाँको नमुना हङकङ पठाएका थियौं। त्यहाँबाट पनि कोरोना पोजेटिभ रिपोर्ट आएपछि मात्रै नेपालमा पनि कोरोना आउने रहेछ भन्ने भयो।
खुशीको कुरा, नेपालको पहिलो संक्रमितबाट कसैमा पनि कोरोना सरेको देखिएन। त्यति मात्रै होइन, हाम्रै उपचारबाट उहाँ ठीक हुनुभयो। त्यसबेलाको शुरूआती अवस्थामा यो गर्व गर्ने विषय थियो। त्यो सफल उपचारको हामीले कहिले पनि ‘हाइलाइट’ गरेनौं वा गर्न सकेनौं। वास्तवमै नेपाल कोभिड–१९ को सफल उपचार गर्ने अग्रणी देशहरूमध्ये एक हो।
यो २०७६ माघ पहिलो साताको कुरा हो। त्यति वेलासम्म हामीले मास्क, पन्जा र सेनिटाइजर प्रयोग गर्दैनथ्यौं। त्यसपछि मात्रै स्वास्थ्यकर्मीले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) लगाउनुपर्ने कुरा आउन थाल्यो। मानिसहरूले एक–अर्कालाई शंकाको दृष्टिले हेर्न थाले। त्यसको करीब दुई महीनापछि फ्रान्सबाट फर्केकी एक बहिनी अस्पताल आउनुभयो। उहाँको रिपोर्ट पोजेटिभ आएपछि ११ चैत २०७६ मा बन्दाबन्दी शुरू भयो।
बन्दाबन्दीको आसपासमा संक्रमितको संख्या लुकाएको हल्ला खूब चल्यो। चिनजानकै मानिसहरूले फोन गरेर तिमीहरूले संक्रमित लुकायौ भन्थे। त्यस्तो कुरा सुन्दा हामी छक्क पर्थ्यौं। कतिले त ‘आफ्नै आँखाले कोरोनाबाट मृत्यु हुनेको शव जलाएको देखेँ’ सम्म पनि भन्थे। त्यस्तो कुरा सामाजिक सञ्जालमा भाइरल भएको देख्दा हामी हाँस्थ्यौं।
बन्दाबन्दीको दुई–तीन सातासम्म पनि थप संक्रमण देखिएन। किनभने भाइरसको संक्रमण हुने १४ दिनको चक्र हुने भएकाले त्यति वेलासम्म त संक्रमित भएको भए देखिइसक्नुपर्ने थियो।
भारतबाट फर्केका नेपालीहरूको उचित व्यवस्थापन गर्न सकेनौं। निकै ठूलो संख्यालाई व्यवस्थापन गर्न सजिलो पनि थिएन। त्यसपछि बिस्तारै संक्रमितहरू बढ्न थाले। विदेशबाट फर्केका एक जनाबाट कैलालीमा आफन्तमा संक्रमण सरेपछि नेपाल कोरोनाको दोस्रो (लोकल ट्रान्समिसन) चरणमा प्रवेश गर्यो।
एकथरीले कोरोना भनेको केही होइन भन्ने अफवाह फैलाउँथे भने अर्कोथरीले एकदमै डरलाग्दो हो भनेर त्रास सिर्जना गर्थे। हामी स्वास्थ्यकर्मीहरूले यी दुवैथरी अफवाह चिर्नु जरुरी थियो। र, यो विषयमा सक्दो मात्रामा जनचेतना फैलायौं। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फोहोरमैला व्यवस्थापन, पानी ढुवानी लगायतका अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीहरूले राम्रोसँग काम गरे।
काठमाडौंको पेप्सीकोलास्थित एक हाउजिङमा बस्ने बेलायतबाट फर्केका परिवारका तीन सदस्यमा पोजेटिभ देखियो। त्यो घटनाले काठमाडौंलाई कति तरंगित बनायो भने हाम्रो अस्पताल अगाडि परीक्षण गराउन आउनेको भीड लाग्न थाल्यो। संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीसँग पनि मानिसहरू टाढिन थाले। २०७६ भदौमा मध्यबानेश्वरमा स्वास्थ्यकर्मीहरू बसेको घरमा स्थानीयले ढुंगामुढा गरे। हामीले मानिसहरूलाई कोरोनाभाइरस के हो भनेर बुझाउन नसक्नुको परिणाम पनि थियो त्यो।
तपाईंले फ्रन्टलाइनमा बसेर कोभिड–१९ सँग लड्नुभयो। एक वर्षपछि फर्केर हेर्दा राम्रा अभ्यास के–के भए जस्तो लाग्छ?
कोभिड एकदमै नौलो विषय थियो। त्यसैले यसलाई रोकथाम र नियन्त्रण गर्दा केही न केही समस्या आउनु स्वाभाविक नै हो। एकथरीले कोरोना भनेको केही होइन भन्ने अफवाह फैलाउँथे भने अर्कोथरीले एकदमै डरलाग्दो हो भनेर त्रास सिर्जना गर्थे। हामी स्वास्थ्यकर्मीहरूले यी दुवैथरी अफवाह चिर्नु जरुरी थियो। र, यो विषयमा सक्दो मात्रामा जनचेतना फैलायौं। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फोहोरमैला व्यवस्थापन, पानी ढुवानी लगायतका अत्यावश्यक क्षेत्रमा काम गर्ने कर्मचारीहरूले राम्रोसँग काम गरे। उनीहरूले हिम्मत नदेखाएको भए सबैतिर ठप्प हुनसक्थ्यो। यिनै राम्रा अभ्यासका कारण स्थिति अझै खराब हुनबाट बच्यो। रोकथाम र उपचार दुवै हिसाबले राम्रो भयो भन्ने लाग्छ।
मानिसहरू डरत्रासमा रहेका वेला स्वास्थ्यकर्मीहरू अगाडि सरेर आफ्नो कर्तव्य पालना गरे। त्यस्तो जोखिम उठाएर काम गर्ने हिम्मत कसरी आउँदो रहेछ?
डाक्टर, नर्स, कर्मचारी कसैले पनि डर लाग्यो, काम गर्दिनँ भनेनन्। परिवार र आफन्तले जोखिम हुन्छ काम नगर्नू भन्दा पनि कसैले आफ्नो कर्तव्य भुलेनन्।
आफ्नै उदाहरण दिन्छु। मेरा काम नै बिरामीको सेवा गर्नु हो भनेर सम्झिएपछि मनबाटै डर हराउँदो रहेछ। महामारीमा जागिर छोडेर घरभित्र बस्नुपर्छ भन्ने सोच आउँदो रहेनछ। म दुई दशकदेखि सरुवा रोगको क्षेत्रमा काम गरिरहेको छु। हैजाले अस्पताल भरिएर घण्टामै ४०/५० जनालाई डिस्चार्ज गर्ने बेलामा पनि आफ्नो कर्तव्य पूरा गर्नैपर्छ भन्ने लाग्थ्यो।
संयोगवश २००३ मा सार्स–कोरोना भाइरस देखिँदा पनि मैले यही अस्पतालमा बिरामीको उपचार गरेको थिएँ। लामो समय सरुवा रोग नियन्त्रणमा काम गरेपछि अभ्यस्त पनि हुँदै गइने रहेछ। बिरामीलाई परामर्श दिन पाउँदा, नयाँ–नयाँ कुरा सिक्न पाउँदा त्रस्तभन्दा पनि उत्साहित थिएँ।
पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ। केही जिल्ला प्रशासन कार्यालयहरूले पनि विभिन्न आदेश जारी गरेका छन्। के साँच्चै हामी कोरोनाको दोस्रो लहरको नजिक छौं?
बन्दाबन्दीका वेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द थियो। त्यसो हुनाले कोरोनाको लहर भारततिरबाट आएको अनुमान गर्न सकिन्छ। राम्रो व्यवस्थापन गर्न नसक्दा कोरोनाको पहिलो लहर भोग्नुपर्यो। खुला सिमाना हुनु र पर्याप्त हेल्थ डेस्क नहुँदा भारतमा देखिने सरुवा रोग विगतमा पनि नेपाल प्रवेश गरेको देखिन्छ। गत वर्ष कोरोनाको सन्दर्भमा त्यो दोहोरिएको मात्रै हो।
भारतमा संक्रमितको संख्या बढ्दै गयो र बन्दाबन्दी शुरू हुन थाल्यो भने अघिल्लो वर्ष जस्तै त्यहाँ रहेका नेपाली कामदारहरू फर्कन थाल्छन्। त्यसले पहिले झैं संक्रमणको अर्को लहर फैलाउन सक्छ। तर, संक्रमण फैलाउने नफैलाउने भन्ने कुरा तपाईं–हाम्रै हातमा छ। भारतबाट फर्केका व्यक्तिले म भारतबाट आएँ, यस्तो यस्तो लक्षण छ वा छैन भनेर जानकारी दिने र आवश्यकता अनुसार क्वारेन्टिनमा बस्ने हो भने कोराना फैलिनबाट रोक्न सकिन्छ।
जसरी गत वर्ष भारतमा कोरोनाको उतारचढावको असर नेपालमा देखियो, यो वर्ष पनि त्यहाँ देखिएको दोस्रो लहर हामीकहाँ आइपुग्ने सम्भावना बढी छ। त्यसकारण गत वर्षको गल्तीबाट सिकेर अगाडि बढ्नुपर्छ। त्यहाँ संक्रमितको संख्या बढ्दै गयो र बन्दाबन्दी शुरू हुन थाल्यो भने अघिल्लो वर्ष जस्तै त्यहाँ रहेका नेपाली कामदारहरू फर्कन थाल्छन्। त्यसले पहिले झैं संक्रमणको अर्को लहर फैलाउन सक्छ।
तर, कोरोनाभाइरस फैलाउने नफैलाउने भन्ने कुरा तपाईं–हाम्रै हातमा छ। भारतबाट फर्केका व्यक्तिले म भारतबाट आएँ, यस्तो यस्तो लक्षण छ वा छैन भनेर जानकारी दिने र आवश्यकता अनुसार क्वारेन्टिनमा बस्ने हो भने कोराना फैलिनबाट रोक्न सकिन्छ।
यति वेला सबैको ध्यान खोपमा केन्द्रित भएको देख्छु। खोप लगाउनेहरूले अब मलाई कोरोना लाग्दैन भनेर मास्क नलगाई हिंडेको देखियो। यस्तो भ्रम र सोचाइले खोपपछि झनै जोखिम बढ्न सक्छ। १०० जनालाई खोप लगाउँदा १०० जनालाई नै काम गर्दो रहेनछ भन्ने त अनुसन्धानले देखाइसकेको छ। खोपले १०० प्रतिशत प्रतिरक्षा गर्छ नै भन्ने पनि हुँदैन। अथवा जसले खोप लगाएको छ उसलाई नलागे पनि अरूलाई सार्ने माध्यम त बन्नसक्छ।
ठूलो संख्याका दीर्घरोगी र ज्येष्ठ नागरिकहरूले त अझै पनि खोप पाएका छैनन्। हामीले लापरवाही गर्यौं भने गत वर्ष जस्तै हाम्रो स्वास्थ्य पूर्वाधारले नधान्ने अवस्था आउन पनि सक्छ। किनभने अस्पतालको शय्या बढेको छैन, डाक्टरहरू पनि लगभग त्यति नै छन्। त्यसकारण अब इतिहास नदोहोर्याऔं।
कोरोनाबाट मृत्यु हुनेहरू हेर्दा अधिकांश ज्येष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरू छन्। खोपको पहिलो प्राथमिकतामा प्रोटोकल अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी प्राथमिकतामा परे होलान्। तर, दीर्घ रोगका बिरामी र ज्येष्ठ नागरिक नै प्राथमिकतामा पर्नुपर्थ्याे। उहाँहरू सबैले खोप पाएको भए केही हदसम्म भए पनि ढुक्क हुन सकिन्थ्यो।
गत वर्षको बन्दाबन्दीका वेलामा जस्तै सावधानी अपनाउन आवश्यक छ भन्न खोज्नुभएको हो?
हो। त्यति वेलाभन्दा अहिले जोखिम कम भएको छैन। भौतिक दूरी, मास्कको प्रयोग, साबुन–पानीले हात धुने कार्यलाई निरन्तरता दिनुपर्छ। सकेसम्म हुलमुलमा जानु हुँदैन।
कोरोना संक्रमण टरिसकेको हैन, संक्रमितको संख्या मात्रै घटेको हो। दैनिक सय–पचास जनामा त अझै पनि संक्रमण देखिएकै छ। संख्या घट्दैमा मख्ख परेर बस्ने अवस्था छैन। यो त विदेश जान वा कतै जागीर खान आदि निश्चित उद्देश्यले परीक्षण गराउनेहरूको संख्या मात्रै हो।
कोरोनाको दोस्रो लहर त्यति जोखिमपूर्ण हुँदैन भन्ने कुरा सही हो ?
कोरोना संक्रमण टरिसकेको हैन, संक्रमितको संख्या मात्रै घटेको हो। दैनिक सय–पचास जनामा त अझै पनि संक्रमण देखिएकै छ। संख्या घट्दैमा मख्ख परेर बस्ने अवस्था छैन। यो त विदेश जान वा कतै जागीर खान आदि निश्चित उद्देश्यले परीक्षण गराउनेहरूको संख्या मात्रै हो।
सन् २०१८ मा इन्फ्ल्युएन्जा आउँदा पहिलोभन्दा दोस्रो लहर कडा देखिएको थियो। त्यसमा युवाहरू धेरै प्रभावित भएका थिए। कोभिडमा पनि त्यही नै हुन्छ भन्न खोजेको होइन। हरेक भाइरसको क्रिया–प्रतिक्रिया गर्ने क्षमता फरक–फरक हुन्छ। यूरोप लगायतमा दोस्रो लहरमा अलिकति कम क्षति भएको देखिन्छ। त्यसलाई आधारमा मान्दा पहिला जस्तो क्षति नहुने देखिन्छ। तर, ठाउँ अनुसार मृत्युदर छुट्टाछुट्टै भएकाले यसै हुन्छ भन्न सकिँदैन। भाइरसले स्वरूप परिवर्तन गरेको कुरा पनि आइरहेकाले यसले खोपलाई पनि चुनौती दिन लागेको त होइन भन्ने प्रश्न पनि खडा गरेको छ।
नेपालमा कुल संक्रमितमध्ये २ लाख ७० हजारभन्दा बढी संक्रमणमुक्त भइसकेका छन्। दोस्रो लहर नियन्त्रणमा ‘हर्ड इम्युनिटी’ को भूमिका कस्तो होला?
समुदायका धेरैभन्दा धेरै व्यक्तिमा रोग प्रतिरोधी क्षमताको विकास भएको अवस्थालाई ‘हर्ड इम्युनिटी’ भन्छौं। स्वीडेनले ‘हर्ड इम्युनिटी’ मा भर परेर बन्दाबन्दी गरेन, तर त्यो विधि प्रभावकारी देखिएन। खोपले विकास गर्ने रोग प्रतिरोधी क्षमता प्राकृतिकभन्दा राम्रो हुन्छ कि भन्ने बहस छ। धेरैभन्दा धेरैले खोप लगाउन पायौं भने त्यसको सकारात्मक प्रभाव नै पर्ला।
दोस्रो लहर रोक्न बन्दाबन्दी आवश्यक पर्छ कि पर्दैन?
खासगरी बन्दाबन्दी कोरोनाको ‘चेन ब्रेक’ गर्नका लागि हो। हामीकहाँ बन्दाबन्दी गर्दा पनि कोरोना फैलियो। यो अन्तिम विकल्प हो, तर प्रिय विकल्प होइन। यसले पार्ने आर्थिक, सामाजिक प्रभाव ठूलो छ। नागरिकहरूले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने हो भने हामी फेरि बन्दाबन्दीमै फर्कनुपर्छ जस्तो लाग्दैन।
महामारीको एक वर्षे अनुभव हेर्दा हामीले सिक्नुपर्ने कुरा के के छन्?
तपाईंको अगाडि कसैले चौरासी व्यञ्जन ल्याएर राख्यो रे। तपाईंले खाँदै खानुभएन भने त्यसको कुनै महत्त्व हुँदैन। सरकारले जतिसुकै राम्रो योजना ल्याए पनि तपाईं–हामीले पालना गरेनौं भने कोरोनाबाट जोगिन सकिँदैन। स्वास्थ्य मापदण्ड पालना नगर्दा के फरक पर्दो रहेछ भन्ने त अमेरिका जस्तो विकसित देशमा पनि देखियो।
त्यसकारण दोस्रो लहरबाट बच्न शुरूआत आफैंबाट गर्नुपर्छ। जनस्वास्थ्यको मापदण्ड पालना सजिलो र धेरै सस्तो पनि छ।
भारतबाट फर्कनेहरूलाई व्यवस्थापन गर्ने सबैभन्दा सजिलो उपाय के होला?
खुला र धेरै नाका भएकाले सिमानामा हेल्थ डेस्क राख्न सम्भव नहोला। राखिहाले पनि सबैले परीक्षण गराएर आउँछन् भन्ने पनि छैन। त्यसकारण हरेक पालिकाले आफ्नो वडामा भारतबाट आएकालाई १० दिन क्वारेन्टिनमा राख्ने र पीसीआर वा एन्टिजेन परीक्षण गराएर मात्रै अरूसँग घुलमिल हुने व्यवस्था गर्न सकिन्छ। तर, यसको शुरूआत ठूलो समूहमा देखिनुभन्दा अगाडि नै गर्नुपर्छ। महामारीका बेलामा राम्रो भूमिका खेलेका स्थानीय सरकारहरूको काँधमा अहिले पनि ठूलो जिम्मेवारी आएको छ। जनप्रतिनिधि र प्रत्येक नागरिकले आफ्नो दायित्व पूरा गर्ने हो भने दोस्रो लहरबाट जोगिन सकिन्छ।
तस्वीरहरूः अमित मचामसी / हिमालखबर