‘स्वास्थ्यकर्मी र प्रहरी हिरो भए, दलहरू फेल’
एक वर्षअघि शुरू भएको कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीका कारण जनधनको क्षतिदेखि कैयौं क्षेत्रले ठूलो मूल्य चुकाउनुपर्यो। संक्रमण रोकथामका लागि चैतमा बन्दाबन्दी (लकडाउन) लागू गरिएपछि मानिसहरू घरघरमै खुम्चिन पुगे, आर्थिक, सामाजिक र सांस्कृतिक डोरीहरू चुँडिए। हाम्रो सामाजिक जीवन कता जान्छ भन्ने अन्योल छायो।
कोरोना कहरपछि नियमित गर्दै आएका धेरै कुरा गुमे पनि संकटसँगै अवसर आउँछ भने झैं नयाँ सोच र सम्भावनाको ढोका पनि खोल्यो। महामारीले समाजमा लुकेर बसेका विभिन्न पाटो उजागर गर्यो।
समाजशास्त्री चैतन्य मिश्र धेरै मूल्य चुकाउनुपरेको यो महामारीले भविष्यका लागि पाठ भने सिकाएको बताउँछन्। बन्दाबन्दीका वेला महामारी नियन्त्रणमा स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले असाध्यै राम्रो काम गर्दा राजनीतिक दल र नेताहरू भने जनताको माझमा नदेखिएको उनको विश्लेषण छ। समाजशास्त्री मिश्रसँग कोभिड–१९ र यसले समाजका विभिन्न अवयवमा पारेको प्रभावबारे हिमालखबरका सन्त गाहा मगरले गरेको संवादको सम्पादित अंशः
कोभिड–१९ रोकथाम गर्न एक वर्षअघि लगाइएको बन्दाबन्दीलाई कसरी स्मरण गर्नुहुन्छ?
लकडाउन जिन्दगीमै पहिलो पटक भोगियो। निकै अचम्मको अनुभव भयो। त्यसअघि मन लागेका ठाउँमा हिंड्न रोकटोक हुँदैनथ्यो। लकडाउनले गर्दा घरभित्रै थुनिएर बस्नुपर्यो। डेढ महीना जति बाहिरै निस्केनौं। त्यसपछि मान्छे कम हिंड्ने ठाउँमा निस्किन थाल्यौं। फर्केर आउँदा प्रहरीले तपाईंहरू यसरी नहिंडे हुने भनेर सम्झाए। दुई दिन त्यसरी भनेपछि अब पनि अटेर गर्नु त अति नै हुन्छ भनेर बाहिर निस्किन बन्द गर्यौं।
हामीले सञ्चारमाध्यममा धेरै ‘विज्ञ’ हरूको धारणा सुन्यौं। डाक्टर, जनस्वास्थ्यविद्हरू विज्ञ त हुन्। तर, कोभिड–१९ महामारीको सन्दर्भमा त्यो विज्ञता मात्रै पर्याप्त नहुँदो रहेछ। विज्ञताको परिभाषा नै विस्तार गर्नुपर्ने देखियो। क्वारेन्टिन स्थापना गर्न सक्ने विज्ञ, संगठन गर्न सक्ने, जनचेतना फैलाउन सक्ने विज्ञको पनि आवश्यकता पर्दो रहेछ।
लकडाउन अवधिभरि घरभित्रै हिंड्ने, कसरत गर्ने गर्यौं। सामाजिक दूरी भने पनि भौतिक दूरी कायम गर्यौं। सामाजिक सम्बन्धहरू भने कायम नै रह्यो। फोन, भाइबर, जूममार्फत संवाद जारी रह्यो। टोल, छिमेकका साथीहरूसँग पनि टेलिफोन र भिडिओबाटै कुराकानी गर्यौं। लकडाउन हाम्रा लागि पनि सहज त थिएन, तर ज्येष्ठ नागरिक र दीर्घ रोगका बिरामीहरूका लागि साँच्चिकै कष्टकर रह्यो। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले लकडाउनमा पनि खटिनुपर्यो।
दुई–चार दिनको बन्दसम्म झेलेका नेपालीहरूले पहिलो पटक त्यति लामो बन्दाबन्दीको सामना गर्नुपर्यो। समाजशास्त्री दृष्टिकोणबाट हेर्दा हाम्रो समाज कस्तो देखियो?
मानिस सामाजिक प्राणी भनिंदै आएको हो, महामारीले हामी कति सामाजिक प्राणी रहेछौं भन्ने बुझायो। मेरो त पढाइ पनि समाजशास्त्र परेकाले अलि–अलि बुझेको थिएँ, त्योभन्दा पनि राम्रोसँग बुझाउन मद्दत गर्यो। समाजमा हामी कसरी एकअर्कासँग बाँधिएर बसेका रहेछौं भनेर मास्कको उदाहरणले पनि देखाउँछ। अर्थात्, म मास्क लगाउँछु तपाईंलाई बचाउन, तपाईं लगाउनुहुन्छ मलाई बचाउन। सामाजिक प्राणी हौं भन्ने कुरा धेरै हिसाबले प्रतिविम्बित हुन्छ, तर मास्कको उदाहरणले जन्म–मृत्युमा पनि हामी कसरी एक–अर्कामा भर पर्दा रहेछौं भन्ने देखायो।
उपचार खर्च अभावमा कैयौं बिरामीको ज्यान जाने गरेको सुनिन्छ। कोभिड–१९ ले धनी र गरीब भन्दो रहेछ कि रहेनछ?
अलि–अलि हेर्दो रहेछ, अलि–अलि हेर्दो रहेनछ। सम्पन्न मुलुकमा पनि कोरोना फैलियो। नेपालकै कुरा गर्दा विनोद चौधरीलाई पनि लाग्यो। नेता, पत्रकार र साह्रै गरीबलाई पनि लाग्यो। तर, संसारभरि हेर्दा गरीबलाई नै बढी लाग्यो। एउटै कोठामा धेरै जना कोच्चिएर बस्नुपर्दा एक जनालाई संक्रमण भएपछि अरूलाई पनि सर्ने भयो। सम्पन्न र मध्यम वर्गलाई कम लाग्यो। उपचार पनि सम्पन्नकै राम्रो भयो होला।
घरबाट टाढा–टाढा गएर काम गर्ने श्रमिकहरूलाई यसले धेरै प्रभाव पार्यो। जस्तो, भारतमा निकै ठूलो संख्यामा श्रमिकहरू प्रभावित भएको देख्यौं। बच्चाबच्ची, पोका–पुन्तुरो बोकेर ४००/५०० माइल हिंडेर घर आएको दृश्य देख्यौं। मध्यम वर्गले जे भोग्यो, श्रमिकहरूले त्योभन्दा धेरै दुःख भोगे। दुःख सबैले भोगे, तर हामीभन्दा बढी दुःख भोग्नेहरू धेरै थिए। वंशाणुगत रूपमा यसले पार्ने प्रभाव के हुन्छ भन्ने अध्ययनको निचोड नआइसकेको अवस्थामा हेर्दा सामाजिक–आर्थिक रूपमा गरीबहरूले बढी दुःख भोगे भन्न सकिन्छ।
घरबाट टाढा–टाढा गएर काम गर्ने श्रमिकहरूलाई कोरोना संक्रमण महामारीले धेरै प्रभाव पार्यो। जस्तो, भारतमा निकै ठूलो संख्यामा श्रमिकहरू प्रभावित भएको देख्यौं। बच्चाबच्ची, पोका–पुन्तुरो बोकेर ४००/५०० माइल हिंडेर घर आएको दृश्य देख्यौं। मध्यम वर्गले जे भोग्यो, श्रमिकहरूले त्योभन्दा धेरै दुःख भोगे।
खोप आइसकेपछि पनि आर्थिक असमानताले ठूलो काम गरेको देखियो। कुनै देशमा कुन खोप लगाउने, कुन नलगाउने, कुन खोप कति प्रभावकारी भन्ने चर्चा छ। तर, कतिपय देशमा त हालसम्म खोप नै प्रवेश गरेको छैन।
प्रायः महामारी र संकटका वेला महिला हिंसा पनि बढेको देखिन्छ। लैंगिक हिसाबले कस्तो पाउनुभयो यो महामारी?
यसमा तथ्यांक छैन। त्यसकारण ठ्याक्कै यस्तै भयो भन्ने अवस्था छैन। हाम्रो जस्तो समाजमा महिलालाई पुरुषको तुलनामा अवसर कम हुन्छ। पढाइ छुट्यो भने छुटिहाल्यो। पुरुषले अर्को वर्ष फेरि पढ्न सक्छ। तर, महिलाले फेरि पढ्न पाउने सम्भावना पुरुषको दाँजोमा कम हुन्छ। विवाह गरिदिनतिर लाग्छौं।
यस्तो वेला विवाह ढिलो हुने, पढाइ छुट्ने हुनसक्छ। अर्को कुरा, बच्चाबच्ची कम जन्मिए। महाव्याधि र दुःखको वेला यस्तो हुनु स्वाभाविक हो। कतिलाई कोरोनाको वेला कसरी अस्पताल जानु भन्ने समस्या तथा कतिलाई नोकरी र व्यवसाय गुमेर आर्थिक अभावका कारण पनि त्यसो भयो होला।
कोरोनाबाट नेपालमा हालसम्म पौने तीन लाख हाराहारीमा मानिस संक्रमित भएका छन्। उत्तरी छिमेक चीनबाट कोरोना देखिन थालेको र खुला सिमाना भएको भारत संसारकै दोस्रो बढी संक्रमण भएको हिसाबले हाम्रो मुलुकमा तुलनात्मक रूपमा संक्रमण कम हुनुमा केले काम गरेको होला?
संक्रमण कम भएकै हो, तर कारण थाहा छैन। कृषि पेशा र घर टाढा–टाढा भएकाले संक्रमण कम भएको हुनसक्छ। भीडभाड हुँदैमा सरिहाल्ने रहेछ भन्ने पनि देखिएन। काठमाडौंको पुराना शहरी भागमै संक्रमण कम भयो।
महामारी रोकथाम र नियन्त्रणमा संघीय संरचना अनुसार बनेका गाउँपालिका र नगरपालिकाहरूले निकै राम्रो काम गरे। अझै बढी गर्न सकिन्थ्यो, त्यो अर्को कुरा हो। उनीहरूले जति गरे, राम्रो गरे। ७५३ वटै पालिकाले गरे भनेको छैन, तर अधिकांश पालिकाले क्वारेन्टिन बनाउने, बाहिरबाट आउनेहरूलाई निगरानी गर्ने, गरीबहरूलाई दुई–चार छाक खान दिने, अलपत्र मान्छेलाई घर पुर्याउने, बिरामीलाई स्वास्थ्य चौकी लैजाने काम गरे। यसको थोरै जस केन्द्र सरकारलाई पनि दिन सकिन्छ। कोभिड–१९ लाई पराजित गर्न सेनिटाइजर, औषधि र खोप मात्र पर्याप्त छैन। ठीक किसिमको राजनीति र संगठन पनि उत्तिकै आवश्यक छ भन्ने देखिन्छ।
केन्द्र सरकारले कोभिड–१९ नियन्त्रणका लागि राम्रा काम के–के गरे र कमजोरी के रह्यो?
महामारी रोकथाम र नियन्त्रणमा संघीय संरचना अनुसार बनेका गाउँपालिका र नगरपालिकाहरूले निकै राम्रो काम गरे। अझै बढी गर्न सकिन्थ्यो, त्यो अर्को कुरा हो। उनीहरूले जति गरे, राम्रो गरे। अधिकांश पालिकाले क्वारेन्टिन बनाउने, बाहिरबाट आउनेहरूलाई निगरानी गर्ने, गरीबहरूलाई दुई–चार छाक खान दिने, अलपत्र मान्छेलाई घर पुर्याउने, बिरामीलाई स्वास्थ्य चौकी लैजाने काम गरे।
सरकारले खोप ल्यायो, त्यो राम्रो काम भयो। किनभने, सबै देशमा खोप पुगेको छैन। जनसंख्याको पाँच–छ प्रतिशतले खोप पाए, तर यो पनि उल्लेखनीय हो। कोभिड–१९ सम्बन्धी सूचना प्रवाह जसरी गरियो, त्यो पनि प्रशंसायोग्य कुरा हो भन्ने ठान्छु। अस्पतालहरूलाई पनि राम्रै परिचालन गरियो। यद्यपि यही कारणले तुलनात्मक रूपमा संक्रमण कम भएको हो कि होइन भन्ने चाहिं अहिल्यै भन्न सकिँदैन। सरकार वा प्रधानमन्त्री केपी शर्मा ओलीका कारणले कति फाइदा पुग्यो भनेर ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन।
सरकारको मुख्य कमजोरी कन्ट्याक्ट ट्रेसिङमा देखियो। त्यसैका लागि छुट्टै कर्मचारी व्यवस्थापन पनि गरिएन। संकलित सूचना राम्रोसँग प्रवाह पनि भएन। एउटा चरणमा संक्रमण फैलिनुमा यो पनि कारण थियो।
राजनीतिक दलहरूका संगठन वडा तहसम्म पुगेको देखिन्छ। यी दलहरूले महामारी नियन्त्रणका लागि राम्रो भूमिका खेले कि खेलेनन्?
खेलेनन्। हाम्रो राजनीतिक, सांस्कृतिक जीवनमा हात हाल्ने दलहरू कोरोना नियन्त्रणको मामिलामा पूर्ण रूपमा विमुख रहे। स्थानीय सरकारले राम्रो काम गरेको हुनाले त्यहाँ पनि दलका मान्छेहरू छन् भन्नु सही हो। तर, दलको नेतृत्व लुकेर बस्यो। उनीहरूले कोभिड–१९ बारे एक शब्द उच्चारण गरेनन्।
अरू सबै ठाउँमा अघि सर्ने दलहरू ‘कोरोना नियन्त्रणको नेतृत्व म गर्छु’ भनेर अघि सरेनन्। दुःखको घडीमा नेताहरू जनताको साथमा भएनन्। व्यक्तिगत रूपमा केही नेताले गरे होलान्, तर दलीय रूपमा आफ्ना कार्यकर्तालाई महामारी नियन्त्रणमा लाग्न प्रेरित गरेनन्।
बेलायत जस्तो स्वास्थ्य प्रणाली राम्रो भएको देशमा पनि धेरै मान्छे मरे। तर, हाम्रो स्वास्थ्य प्रणालीले राम्रो काम गर्यो। जनस्वास्थ्य, महिला स्वास्थ्य स्वयंसेविकाहरूले राम्रो गरे। उनीहरूको दाँजोमा राजनीतिक दल र नेतृत्वले केही गरेनन्। यो कसीमा जाँच्दा दलहरू फेल खाए।
सुरक्षाकर्मीको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ?
बेलायत जस्तो स्वास्थ्य प्रणाली राम्रो भएको देशमा पनि धेरै मान्छे मरे। तर, हाम्रो स्वास्थ्य प्रणालीले राम्रो काम गर्यो। जनस्वास्थ्य, महिला स्वास्थ्य स्वयंसेविकाहरूले राम्रो गरे। उनीहरूको दाँजोमा राजनीतिक दल र नेतृत्वले केही गरेनन्। यो कसीमा जाँच्दा दलहरू फेल खाए।
क्वारेन्टिन व्यवस्थापन, राहत वितरण, जुलुस लगायतका भीडभाड नियन्त्रण आदिमा सुरक्षाकर्मीले राम्रो काम गरे। सुरक्षाकर्मीहरूमा पनि खासगरी प्रहरीले गरेका कामको प्रशंसा भयो।
स्वास्थ्यकर्मीहरूको भूमिका त झनै प्रशंसायोग्य थियो होइन ?
विराटनगर, पाटन लगायत थुप्रै अस्पतालका स्वास्थ्यकर्मीहरूले नेतृत्वदायी भूमिका खेले। कोभिड–१९ एक्कासि आएको महामारी थियो। तर पनि, हाम्रा स्वास्थ्यकर्मीहरूले साँच्चै राम्रो काम गरे। डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, सफाइकर्मी, कर्मचारी सबैले काम गरेर देखाए। यस्तो वेला मान्छेहरू डराएर भाग्छन्। तर, हाम्रा स्वास्थ्यकर्मीहरूले निडर भएर आफ्नो जिम्मेवारी वहन गरे।
कोभिड–१९ को सन्दर्भमा हामी कहाँ यस्ता नेता छन् भनेर सम्झिन लायक नेता भेटेनौं। जब कि सम्झन लायक स्वास्थ्यकर्मी धेरै भेट्यौं। प्रहरी पनि धेरै भेट्यौं। उनीहरू कोभिड कालका हिरोहरू हुन्।
सार्वजनिक सरोकारको विषयमा नागरिक समाजले पनि बोल्ने गरेको सुनिन्छ। कोरोना कहरमा नागरिक समाजलाई कहाँनेर पाउनुभयो ?
नागरिक समाज भन्दा हाम्रो दिमागमा जुन चित्र बन्छ, उनीहरूलाई महामारी जस्तो संकटको वेला काम गर्ने हाम्रो इतिहास र परम्परा छैन भन्ने लागेको हुनसक्छ। कोभिडको सन्दर्भमा नागरिक समाजको भूमिका के हुनुपर्छ भन्ने नै थाहा भएन जस्तो लाग्छ। म नागरिक समाज भन्दा पनि नागरिक समूह भन्न रुचाउँछु। सचेत नागरिक समूहहरूले यस्तो महामारीको समयमा खेल्नुपर्ने भूमिका के हो भनेर छलफल गर्नुपर्ने वेला भएको छ।
सञ्चारमाध्यमको भूमिका कस्तो पाउनुभयो ?
सञ्चारमाध्यमले सूचित गर्यो, भय पनि फैलायो। पत्रकार आफैंले र विज्ञ खडा गरेर पनि भय सिर्जना गरियो। विज्ञको अन्तर्वार्तामा दुई कुरा गरिएका हुन्थे। एउटा, स्थिति भयावह हुनसक्ने, र अर्को चेतावनी। भयावह हुनसक्छ भनिसकेपछि त १५ दिनभित्र हुनुपर्यो नि। किनभने, कोरोनाको चक्र त दुई सातामा पूरा हुन्छ। विज्ञहरूले गहन कारणसहित भन्न सक्नुपर्थ्याे, उहाँहरू तर्कसहितको भविष्य द्रष्टा हुनसक्नुपर्थ्याे। तर, पत्रकारहरूको नेतृत्वमा विज्ञताको दुरुपयोग भयो।
हामीले सञ्चारमाध्यममा धेरै ‘विज्ञ’ हरूको धारणा सुन्यौं। डाक्टर, जनस्वास्थ्यविद्हरू विज्ञ त हुन्। तर, कोभिड–१९ महामारीको सन्दर्भमा त्यो विज्ञता मात्रै पर्याप्त नहुँदो रहेछ। विज्ञताको परिभाषा नै विस्तार गर्नुपर्ने देखियो। क्वारेन्टिन स्थापना गर्न सक्ने विज्ञ, संगठन गर्न सक्ने, जनचेतना फैलाउन सक्ने विज्ञको पनि आवश्यकता पर्दो रहेछ। सानो कुरामा ध्यान पुर्याउन नसक्दा हामीले कोरोना फैलाउन सक्ने रहेछौं। लकडाउन गरिराख्दा आर्थिक रूपमा कसरी टिकाइराख्ने भन्ने विज्ञता पनि चाहिँदो रहेछ। त्यो पक्षमा ध्यान नदिएकै कारण रोगले होइन भोकले मर्ने स्थिति आयो भन्ने कुरा आए। लकडाउनको विरोध हुनुको कारण पनि त्यही थियो।
यति धेरै जनधनको क्षतिपछि यो एक वर्षमा हामी के सिक्नुपर्थ्यो ? के सिक्यौं ?
दुःखको कुरा, यो महामारीले हामीलाई जति पाठ सिकायो त्यसलाई पर्गेल्ने र थिग्य्राउने प्रयास भएको छैन। सरकार, नागरिक समाज, बौद्धिक जमात कसैको पनि ध्यान त्यता गएको देखिँदैन। कोभिड–१९ ले व्यक्तिगत रूपमा मलाई के सिकायो? केन्द्र सरकारलाई के सिकायो? स्थानीय सरकारलाई के सिकायो? कामदारलाई के सिकायो? स्वास्थ्यकर्मीलाई के सिकायो? त्यसको छलफल हुनु जरुरी छ।
कोभिड–१९ एक्कासि आएको महामारी थियो। तर पनि, हाम्रा स्वास्थ्यकर्मीहरूले साँच्चै राम्रो काम गरे। डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी, सफाइकर्मी, कर्मचारी सबैले काम गरेर देखाए।
कोरोनाले धेरै दुःख दियो, दुःख पाएर धेरै थोक सिक्यौं पनि। तर, कसले के सिक्यौं त भनेर जुन रूपमा विश्लेषण हुनुपर्थ्यो, त्यो भएको छैन। यस्तो विश्लेषण हुनु नितान्त जरुरी छ। किनभने, तुरुन्तै कोभिड–१९ को दोस्रो लहर पनि आउन सक्छ। अथवा, अरू महामारी आउनसक्छन्। किनभने, यस्तो महामारी पहिलेभन्दा छिटो–छिटो निम्तिन थालेको छ। जसरी हामीले पर्यावरणलाई घात पुर्याएका छौं, त्यसले त महामारी अझै बढ्ने देखाउँछ। एक हिसाबले कोरोनाभाइरस पनि मानवीय गतिविधिकै उपज हो। त्यसैले व्यक्ति, समाज, सरकार र संसारले नै सिक्नुपर्ने कुरा धेरै छन्।
जस्तो, यस पटक राम्रो काम गरेका पालिकाहरूबाटै सिक्न सकिने भयो। राम्रो गर्ने पालिकाले कसरी गरे, अर्को पटक महामारी आयो भने फेरि त्यस्तो गर्न सकिन्छ कि सकिँदैन, राम्रो गर्न के के सुधार गर्नुपर्छ भन्ने प्रश्न गर्न र त्यसको जवाफ खोज्न आवश्यक छ। रोग नियन्त्रणका लागि दत्तचित भएर लागेका पालिकाहरूले शिक्षामा पनि त्यस्तै दत्तचित्त भएर काम गर्न सक्छन्। सिकाइ त एउटा क्षेत्रबाट अर्कोमा पनि सार्न सकिन्छ।
एक वर्षको अनुभव हेर्दा हामीले के सिक्यौं, के सिकेनौं?
व्यक्तिगत सिकाइको कुरा गर्ने हो भने भौतिक दूरी कायम गर्ने, साबुन–पानीले हात धुने, उचित तरिकाले मास्क लगाउने, अत्यावश्यक नपरी भीडभाडमा नजाने जस्ता जनजीवनमै घुलेका विषयको पनि महत्त्व नभएको होइन। किनभने नगरपालिकाहरूमै मान्छेहरू मास्क नलगाई हिंडे, कतिपय संवेदनशील देखिएनन्। त्योभन्दा बढी केन्द्रीय सरकारले सिक्नुपर्यो। पालिकाहरूले सिक्नुपर्यो, स्वास्थ्यकर्मीहरूले सिक्नुपर्यो।
राम्रो गरेका कुराको सूची तयार पारौं। के हुँदा राम्रो गर्न सकिँदो रहेछ, विश्लेषण गरौं। २०७६ माघमा भाइरस परीक्षणका लागि हङकङ पठाउनुपर्ने अवस्था थियो। पछि, नेपालमै प्रयोगशाला बन्यो। त्यो पनि एउटा सिकाइकै रूपमा आयो। कमी–कमजोरी के के भए? त्योभन्दा राम्रो के गर्न सकिन्थ्यो, त्यो हेर्नुपर्यो। कमी–कमजोरी कसैलाई दोष लगाउन होइन, सिक्नका लागि केलाऔं।
कोरोना महामारीबाट व्यक्तिले के सिक्ने ? संस्थाले के सिक्ने ?
कोभिड लागेका आफन्त र छिमेकीलाई मैले खाना लगिदिएँ। मैले जस्तै अरू धेरैले गर्नुभयो होला भन्ने ठान्छु। हरेक मान्छेले सहयोग गर्यो भने त पुगिहाल्यो नि। यस्तो वेला सहयोग गर्नुपर्छ भन्ने कुरा विद्यालय तहको पाठ्यक्रममै राख्न जरुरी छ। व्यक्तिगत रूपमा यस्तो महामारी विरुद्ध लड्न आफैं तयार हुनुपर्ने रहेछ। भौतिक दूरीमा बस्ने, साबुन–पानीले हात धुने, मास्क लगाउने, स्वस्थ खानेकुरा खाने, नियमित व्यायाम गर्ने, छिमेकी लगायत सबैलाई सकेको मद्दत गर्ने।
महामारीका लागि वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म र राजनीतिक दलहरूले पूर्वतयारी नगरी नहुने देखियो। कोरोना जस्तो महामारीका लागि त विश्वस्तरको तयारी पनि चाहियो। किनभने, एउटा देशको मात्रै तयारीले नपुग्ने भयो।
कोरोनाको विषयमा कतिपयले अनावश्यक अफवाह पनि फैलाए। भगवान्को चाहनाले भएको हो, त्यस कारण खोपको काम छैन भन्ने हल्ला पनि गरे। पुरुषत्व जोगाउने हो भने खोप लगाउनुहुन्न भन्नेहरू पनि निक्लिए। त्यसको विरुद्धमा पनि लड्नुपर्छ। यस्ता कुरा पाठ्यक्रममै राख्नुपर्छ। जल्दाबल्दा विषयहरू कोरोना, खोप, महिला हिंसा, बलात्कार लगायत विषयमा विद्यालयहरूमा पर्याप्त छलफल हुनुपर्छ। पाठ्यक्रममा राखियो र छलफल भयो भने नै निचोड निस्किने हो।
तस्वीरहरू: अमित मचामसी / हिमालखबर