किन हुँदै छ राईकै पहिचान मेट्ने बहस ?
राईहरू दुई पटक जाग्छन्, हरेक साल दशैं आउन थालेपछि र हरेक १० वर्षमा राष्ट्रिय जनगणना नजिकिँदै गएपछि। पहिलोमा बहस धर्मसँग जोडिन्छ, दोस्रोमा जातिसँग। २०७८ सालमा जनगणना शुरू हुन गइरहेको सन्दर्भमा यो लेख जातिसँगै सम्बन्धित छ।
हरेक वर्ष दशैं नजिकिँदा बहसमा सहभागी राईहरूले गर्ने प्रश्न निश्चित छन्। दशैं कसको हो, कसको होइन? राईले दशैं मान्न हुने कि नहुने? माने के हुने, नमाने के हुने?
यस्तै हरेक १० वर्षमा राष्ट्रिय जनगणना नजिकिँदै गएपछि राई शब्दमाथि बहस चल्छ। त्यति वेला पनि केही प्रश्न उठ्छन्। जस्तो, राई जाति कि पदवी? राई लेखाउने कि नलेखाउने? राई लेखाउँदा र नलेखाउँदा के हुन्छ? एकता कि विभाजन? तर, निष्कर्ष शून्य।
केही समयको कोकोहोलोपछि बहसकर्ता निद्रामा पर्छन्। दशैं सकिएपछि छोटो निद्रा, जनगणना सकिएपछि लामो निद्रा। उभयचर र सरिसृपहरू हिउँदमा हराउनुलाई जीवशास्त्रीहरू ‘हाइबरनेसन’ भन्छन्, ‘राई प्रवृत्ति’लाई नामकरण गर्नै बाँकी होला।
हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको १२औँ खेप जेठ/असार २०७८ मा हुँदै छ। जनगणना अंकगणितीय तथ्यांक मात्रै नभएर नागरिकको पहिचानसँग पनि जोडिएको हुन्छ। जनगणनाबाट प्राप्त तथ्यांकले १० वर्षसम्म राज्यका नीति तथा कार्यक्रम निर्देशित हुन्छन्।
सामाजिक तथ्यांकको आधारमा राज्यका धार्मिक, भाषिक र जातीय नीतिहरू बन्छन् र फेरिन्छन्। सम्बन्धित तथ्यांकले समुदायको सामर्थ्यलाई पनि प्रस्ट्याउँछ। त्यसैले तथ्यांकमा आफ्नो विषय नछुटोस् र फरक नपरोस् भनेर जातिगत संघसंस्थाहरू सामुदायिक सचेतनामा लागेका छन्।
आगामी जनगणनामा जातिको महलमा कोही 'राई' लेखाउने र कोही उपजातिलाई नै जातिका रूपमा प्रस्तुत गर्नुपर्ने भनिरहेका छन्। कोही ‘राई’ लाई जाति भन्छन्, कोही पदवी। कोही राई हुनुमा गौरव गर्छन्, कोहीलाई रिंगटा लाग्छ। कोही राईलाई एकताको धागो मान्छन्, कोही अहंकारको सिलौटी।
तर, राईहरूको अवस्था सुरताल नमिलेको नाच जस्तो देखिँदै छ। कसैको ताल मिलेको छैन, कसैको सुर। कसैको त दुवै मिलेको छैन। विशेषगरी जातिको महलमा कोही 'राई' लेखाउने र कोही उपजातिलाई नै जातिका रूपमा प्रस्तुत गर्नुपर्ने भनिरहेका छन्। कोही ‘राई’ लाई जाति भन्छन्, कोही पदवी। कोही राई हुनुमा गौरव गर्छन्, कोहीलाई रिंगटा लाग्छ। कोही राईलाई एकताको धागो मान्छन्, कोही अहंकारको सिलौटी।
अघिल्लो जनगणनामा पनि राईहरू यसरी नै विभाजित थिए। परिणाम, दशौंभन्दा एघारौं जनगणनामा राईको संख्या झन्डै ४५ हजारले घटेको थियो। ‘जनगणना प्रतिवेदन–२०५८’ मा राईको जनसंख्या ६ लाख ६५ हजार १५१ छ। २०६८ मा ६ लाख २० हजार चार मात्रै। विवाद जारी रहने हो भने यसपटक जनसंख्या अझैं घट्नेछ, जसले गर्दा राज्यसामु आफ्ना मुद्दा उठाउने सामर्थ्य कमजोर हुनेछ।
चुल्हो छुट्याउने जमर्को
माझकिराँतमा एउटा चल्तीको भनाइ छ, ‘१० राई १० खोला, १० भाषा एक चुला।’ यहाँ ‘१०’ ले संख्या मात्र नभएर विविधताको पनि अर्थ दिन्छ। डा. हर्क गुरुङका अनुसार नेपालमा हरेक साना–ठूला खोलापछि बेग्लै संस्कृति प्रचलनमा छ। ६ हजार खोलानाला भएको मान्दा नेपालमा कम्तीमा ६ हजार संस्कृति अस्तित्वमा छन्।
राई परम्परा र संस्कृतिमा खोलाले ठूलो महत्त्व राख्छ। निश्चित खोलाले घेरिएका भौगोलिक इकाइमा निश्चित उपजातिका राईहरूको सघन बसोबास छ। फरक उपजातिका राईको भाषा पनि फरक छ। जातीय छाता संस्था ‘किराँत राई यायोख्खा’को ‘राष्ट्रिय भाषा नीति तथा सुझाव आयोग प्रतिवेदन २०५०’ मा राईहरूका २९ भाषाहरू उल्लेख छन्।
जतिसुकै विविधता भए पनि सबै राई समान हुन्। राईभित्र कुनै किसिमको सोपान वा तहगत संरचना छैन। छुवाछूत छैन, उचनिचको व्यवहार छैन, सांस्कृतिक रूपमा एक हुन्, एक छन्। एक खाले राई र अर्को खाले राईबीच सांस्कृतिक विविधता भए पनि आधारभूत विशेषता समान छन्।
जतिसुकै विविधता भए पनि सबै राई समान हुन्। राईभित्र कुनै किसिमको सोपान वा तहगत संरचना छैन। छुवाछूत छैन, उचनिचको व्यवहार छैन, सांस्कृतिक रूपमा एक हुन्, एक छन्। एक खाले राई र अर्को खाले राईबीच सांस्कृतिक विविधता भए पनि आधारभूत विशेषता समान छन्।
सबै राई प्रकृतिपूजक हुन्। उनीहरूमा स्वर्ग र नर्कको मान्यता छैन। तीन ढुंगाको चुल्होलाई खाना पकाउने थलो मात्रै होइन, पितृको वासस्थान र शक्तिको स्रोतका रूपमा पनि विश्वास गर्छन्। हरेक कर्मकाण्डमा चिन्डो प्रयोग गर्छन्। सोलुका खालिङ, कुलुङ, नाछिरिङ, थुलुङ होस् वा ओखलढुंगाका बाहिङ, वाम्बुले, खोटाङका चाम्लिङ, कोयू, साम्पाङ, दुमी, पुमा, भोजपुरका बान्तवा, बुुङ्लावा, संखुवासभाका लोहोरुङ, याम्थू, मेवाहाङ अथवा धनकुटाका आठपहरिया लगायत करीब तीन दर्जन राईहरूका आधारभूत संस्कृतिमा समानता छ।
केही राई यो शब्द प्रयोग नगर्ने अभियानमा छन्। उनीहरू जनगणना प्रश्नावलीको जातिको महलमा राई होइन, कुलुङ, थुलुङ, नाछिरिङ, चाम्लिङ जस्ता उपजाति लेखाउनुपर्ने बताइरहेका छन्। उनीहरूको प्रमुख तर्क छ, ‘राई’ शब्द पृथ्वीनारायण शाहले गोरखाली राज्य स्वीकार गरेबापत त्यस वेलाका ठूलाबडा बान्तवा, चाम्लिङ, पुमाहरूलाई दिएको पदवी हो। यो शब्दले गोरखा राज्यप्रतिको बफादारी र आत्मसमर्पणलाई बुझाउने उनीहरू बताउँछन्।
गोरखा राज्य विस्तारअघि अहिलेको पूर्वी नेपाल भौगालिक रूपमा वल्लोकिराँत, माझकिराँत र पल्लोकिराँतमा विभाजित थियो। वल्लोकिराँतमा सुनुवार, माझकिराँतमा राई र पल्लोकिराँतमा लिम्बूको बाहुल्य थियो। अहिलेको दृश्यमा केही फेरबदल आए पनि जनसंख्यामा उनीहरूकै बाहुल्य छ। सबै किराँतमा सानासाना थुम राज्य थिए। कसैकसैले गणराज्य पनि भनेका छन्।
गोर्खाली फौजले वि.सं. १८३० मा माझकिराँत कब्जा गर्नुभन्दा ४०० वर्षअघि दोर्पाका हर्कबोली राईले संस्कृतमा कविता लेखेका थिए। रावाखोलाका चमते राईले गोर्खाली फौजको प्रतिकारको नेतृत्व गरेका थिए। हतुवागढीमा सेनापति अटलसिं राई थिए। दक्षिण विजयपुरमा बुद्धिकर्ण राय शासक थिए। धेरै इतिहासकारहरूले उनको थर रोमनमा आरएआई लेखेका छन्।
गोर्खाली फौजको आक्रमणपछि भएको युद्धमा हारेका, तर आत्मसमर्पण गर्न नचाहनेहरू भागेर उत्तर बिहार पुगेका थिए। उनीहरू उतै भारततिर बसे। तिनका सबै सन्तानले आफ्नो नामको पछाडि राई लेख्छन्। उनीहरू चाम्लिङ, बान्तवा, पुमा, साम्पाङ, थुलुङ, कोयूहरू हुन्। यसको आधारमा ‘राई’ शब्द गोर्खालीले दिएको पदवी भन्ने पुष्टि हुँदैन।
गोर्खाली फौजको आक्रमणपछि भएको युद्धमा हारेका, तर आत्मसमर्पण गर्न नचाहनेहरू भागेर उत्तर बिहार पुगेका थिए। उनीहरू उतै भारततिर बसे। तिनका सबै सन्तानले आफ्नो नामको पछाडि राई लेख्छन्। उनीहरू चाम्लिङ, बान्तवा, पुमा, साम्पाङ, थुलुङ, कोयूहरू हुन्। यसको आधारमा ‘राई’ शब्द गोर्खालीले दिएको पदवी भन्ने पुष्टि हुँदैन। दशैं नमानेको कारण राणा सेनाले विसं. १९३३ मा हत्या गरेका धनकुटाका रम्ली र रिदमाको नामपछाडि ‘राई’ शब्द जोडिनुले पनि पदवीको तर्कलाई खण्डन गर्छ। किनभने, गोर्खाली चाड बहिष्कार गर्नेले ‘राई’ शब्द स्वीकार गरेका थिए भन्ने आधार भेट्टाइँदैन।
फरक भाषा बोल्नु राई जातिको विशेषता हो। उत्तरपूर्वी भारतमा दुई दर्जन भाषा बोलिन्छ, भाषिका होइन। सबैले आफूलाई जाति मान्छन्। भाषिक विविधता भएका विश्वका कुनै पनि समाजमा यही नियम लागू हुन्छ। पूर्वी नेपालको यादव मैथिली बोल्छ भने मध्यको भोजपुरी र पश्चिमको अवधी। डोल्पाको मगर काइके बोल्छ, उत्तरी रोल्पाको मगर खाम र तनहुँको मगर काइके र खामभन्दा फरक मगर भाषा बोल्छ। दक्षिण र पश्चिम भोजपुरको जोसुकै राईको भाषा बान्तवा हो। पूर्वी र मध्य खोटाङका सबै खाले राईको भाषा चाम्लिङ हो। राईका उपजाति भाषिक समुदाय हुन्। तापनि भाषा बढी मात्रामा क्षेत्रीय तथा भौगोलिक बनेको छ।
समाजशास्त्रीहरू समुदाय छुट्याउने प्रमुख आधार विवाहलाई मान्छन्। दुई समुदायबीच मागी विवाहको लामो परम्परा भए एउटै जाति, छैन भने अलग जाति हुन्छ। संसारको कुनै पनि जाति वा समुदायमा सजातीय विवाहलाई प्राथमिकता दिइन्छ। अन्तरजातीय विवाहलाई परम्परागत रूपमा स्वीकार गरिँदैन। आधुनिक समाजमा विवाह सम्बन्धी परम्परागत मान्यतामा बदलाव आउनु अर्कै विषय हो।
कुलुङ र बान्तवा, साम्पाङ र चाम्लिङ, मेवाहाङ र कोयू, याम्पू र पुमा आदिबीचको विवाह अन्तरजातीय मानिँदैन। ती सबै राई हुन्। राईहरू तीन दर्जन किसिमका छन्। तीभित्र पनि सयौँ पाछा छन्। सबै खाले राईमा सजातीय बुहारीलाई धामीको अगुवाइमा मुन्धुमी मन्त्रमार्फत चुल्हो देखाएर भित्र्याउने परम्परा छ। विजातीय बुहारीलाई चुल्हो देखाइँदैन। वंशमा चिनाउन ‘दालभात चलाउने’ वा ‘ढिंडो चलाउने’ छुट्टै संस्कार पनि गरिन्छ। जसलाई बान्तवाहरू ओरा पाक्मा, सुनुवारहरू याब्रे चोःचा भन्छन्। भाषापिच्छे फरक नाममा एउटै संस्कार हुन्छ।
राई जातिभित्र चार तहको पहिचान छ। जस्तै, मेरो जाति राई हो, उपजाति साम्पाङ, पाछा बुल्टिम र सामेत बुक्छामी। मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ पहिला राई, त्यसपछि बान्तवा, त्यसपछि मुकारुङ अनि अन्तिममा छाङ्छा। सबैखाले राईमा त्यस्तै हुन्छ। क्षेत्रीमा पनि चारै तह हुन्छ।
चुल्हो र चिन्डो राईहरूका साझा संस्कार हुन्। एकताका प्रतीक हुन्। त्यसैले ‘एउटै चुल्हो’ भनिएको हो। तर, केही दशकदेखि चुल्हो छुट्याउने प्रयत्नहरू भइरहेका छन्। राईहरूको विविधता र एकताको लामो परम्परालाई विविधता र विखण्डनतिर लगिंदै छ।
पहिचान मेट्ने बाटो
लोकतन्त्रसँगै उठेको प्रमुख मुद्दा पहिचान हो। राज्य पुनर्संरचनामा पहिचानलाई प्रमुख आधार बनाउनुपर्ने आवाज घनीभूत उठेको थियो। पहिचानका विभिन्न आयाममध्ये जातीय पहिचान प्रमुख हो। तर, पहिचान सम्बन्धी मागहरू सम्बोधन भएका छैनन्। त्यसको मतलब शासकहरूलाई पर्याप्त दबाब दिन सकिएन। किनभने, पहिचान माग्नेहरू आफैंमा अलमल थिए। संगठित थिएनन्।
माग्न त सबैले पहिचान मागे। तर, कस्तो पहिचान, कत्रो पहिचान, कसरी पहिचान, कतिलाई पहिचान भन्ने आधारहरू स्पष्ट गर्न सकेनन्। त्यसैले पहिचानको आन्दोलन कोमामा पुग्यो।
राई शब्द नै सरकारी अभिलेखबाट मेटाउने अभियानले पहिचानको आन्दोलनलाई कमजोर बनाउँदै छ। चर्चित उखान ‘काशी जानु कुतीको बाटो’ भनेजस्तै, पहिचानका नाममा पहिचान नै हराउने बाटो हिँड्नु हुँदैन। काशी छ दक्षिणमा, कुती छ उत्तरमा। त्यसैले ठीक बाटो हिंड्नुपर्छ।
पहिचान व्यक्तिगत र सामूहिक हुन्छ। व्यक्तिगत रूपमा आफूलाई कोही जातिगत, कोही थरगत, कोही गोत्रगत अथवा कोही लिखतको नामभन्दा फरक रूपमा चिनाउन चाहन्छन्। २०२० सालको दशकमा राल्फा आन्दोलनमा लागेकाहरू अनौठो लाग्ने नामबाट आफूलाई चिनाउँथे। माओवादी आन्दोलनमा सबै नेता कार्यकर्ताका भूमिगत नाम थिए। गजल लेख्ने पछिल्लो पुस्ता ‘आँसु’, ‘कोपिला’, ‘टुसा’, ‘भंगालो’ जस्ता उपनामबाट आफूलाई चिनाइरहेका छन्।
तर, सामूहिक पहिचान फरक हुन्छ। राई शब्द नै सरकारी अभिलेखबाट मेटाउने अभियानले पहिचानको आन्दोलनलाई कमजोर बनाउँदै छ। चर्चित उखान ‘काशी जानु कुतीको बाटो’ भनेजस्तै, पहिचानका नाममा पहिचान नै हराउने बाटो हिँड्नु हुँदैन। काशी छ दक्षिणमा, कुती छ उत्तरमा। त्यसैले ठीक बाटो हिंड्नुपर्छ।
राईभित्रको विग्रह र विखण्डनले जातिको साझा मुद्दालाई कमजोर बनाउँछ। राईहरूलाई भुरे टाकुरेको युगतिर फर्काउँछ। विग्रह र विखण्डनले केही सीमितलाई अवश्य फाइदा छ। छुट्टै जातिका रूपमा कानूनी मान्यता पाएपछि राज्यबाट सीधै र अन्य दाताबाट परियोजना पाएर आर्थिक लाभ हुन्छ। समग्र समुदायलाई भने घाटै मात्र हुन्छ। विविधतामा एकताको बललाई विविधता मात्र देखाएर कमजोर बनाउनु र समुदायलाई नै पछाडि धकेल्नु ठीक होइन।