पूर्वप्रधानमन्त्री नेपाललाई ‘राष्ट्रहित विपरीत कार्य’ गरेको गम्भीर आरोपसहित ओलीले सोधे १० प्रश्न
नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘अवाञ्छित तत्त्वहरूसँग साँठगाँठ गरेर राष्ट्रहित विपरीत कार्य गरेको/गराएको’ गम्भीर आरोप लगाएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई पार्टीले सोधेको स्पष्टीकरणमा ‘राष्ट्रहित विपरीत कार्य’ गम्भीर आरोप लगाएको हो। एमाले महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रको दशौं बुँदामा ‘राष्ट्रहित विपरीत कार्य गरेको/गराएको’ भनिए पनि के कस्तो कार्य गरेकाे हाे भन्ने खुलाएको छैन।
तीन दिनभित्र चित्तबुझ्दो लिखित जवाफ नआए विधान बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ। वरिष्ठ नेता नेपाललाई पत्रमा ‘दशौं महाधिवेशन राष्ट्रिय आयोजक समिति सदस्य’ भनेर सम्बोधन गरिएको छ।
उनीसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई समेत स्पष्टीकरण सोधिएको छ। उनीहरूलाई ‘७ चैतको केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार’ भनेर स्पष्टीकरण पठाइएको छ।
स्पष्टीकरण पत्रमा सोधिएका यस्ता छन् १० प्रश्न :
१) तपाईँले साबिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक तथ्यहीन, शत्रुतापूर्ण, आरोप तयार गर्न पार्टी विधानको व्यवस्था विपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो?
२) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान विपरीत सडक तथा अनधिकृत स्थानमा बसी अनधिकृत र कानून विपरीत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के कुन आधारमा सडकबाटै कथित निष्कासनको निर्णय गर्नु गराउनुभएको हो?
३) निर्वाचन आयोगमा पार्टी विधान र हित विपरीत पटक पटक तपाईँ र तपाईँ समेत उपस्थित भई विभिन्न प्रकारका निवेदनहरू के–कति कारणले गर्नु गराउनुभएको हो?
४) पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिह्न र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र प्रयोग गर्ने र गराउने उद्देश्यका साथ विभिन्न कथित निवेदन लिई निर्वाचन आयोगमा पटक पटक किन जानुभएको हो? र, पार्टी फुटाउँदा के कुन उद्देश्य हासिल हुने हो?
५) पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टी नाम, चिह्न र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत ४ र ५ गते कथित राष्ट्रिय भेला गरेको, विभिन्न अन्य भेलाहरू निरन्तर गरिरहेको, विभिन्न पार्टी कमिटी तथा भ्रातृ संगठनहरूको भेला गरी अनधिकृत रूपले विभिन्न कार्यहरू गरी/गराई पार्टी फुटाउन नेतृत्व र अगुवाइ किन गर्नुभएको हो?
६) तपाईँले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरेको लोकप्रिय सरकारका विरुद्ध संसद्, सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेको र आफ्नै सरकारका विरुद्ध आफ्नै नेता एवं प्रधानमन्त्रीलाई थाहै नदिई छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गरेको, प्रतिनिधि सभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षर समेत गरी मिति २०७७ पुस ५ गते संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने जस्तो गर्नै नहुने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो?
७) सम्मानित सर्वोच्च अदालतको मिति २०७७ फागुन २३ गतेको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय समितिको दशौं, एघारौं र बाह्रौं बैठक र संसदीय दलका बैठकहरूमा समेत उपस्थित हुनुको साटो पार्टीको विधान र निर्देशन विपरीत पार्टी र जनसंगठनहरूको नाम, झण्डा र चिह्नको दुरूपयोग गरी समानान्तर संगठन निर्माण गर्ने र कथित राष्ट्रिय कार्यकर्ता भेला तथा विभिन्न नामका कथित भेलाहरू आयोजना गर्नु र पार्टी र पार्टीको एकताविरोधी प्रस्ताव प्रस्तुत एवं पारित गर्नु र गराउनुको कारण के हो?
८) विपक्षी राजनीतिक दलहरूसँग गठबन्धन गरी आफ्नो पार्टीको अध्यक्ष एवं दलका नेता केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो?
९) ‘माधव नेपालहरू सके नेकपा (एमाले) कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न आउनुहुन्छ’ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाइहरूप्रति तपाईँको मौन समर्थन रहनुको रहस्य वा कारण के हो? यसबीचमा पनि पुष्पकमल दाहालसँग निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो?
१०) माथि उल्लिखित क्रियाकलापहरूका साथै तपाईँले पार्टी हित विपरीत पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टी विधान तथा निर्णय विपरीत गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टीप्रतिको निष्ठा र विश्वास च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे/गराएको, पार्टी कमिटीको गोपनीयता भंग गरे/गराएको, पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको, केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको/गराइरहेको र यस्ता अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको/उक्साएको, अवाञ्छित तत्त्वहरूसँग साँठगाँठ गरी राष्ट्रहित विपरीत कार्य गरेको/गराएको, पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लिखित कर्तव्यहरूको उल्लंघन गरे/गराएको समेत प्रष्ट देखिएकाले यस्तो क्रियाकलाप निरन्तर गरी/गराई पार्टी हित विपरीत, पार्टीको एकता, अक्षुण्णता र अग्रगामी कार्यको विरुद्ध, पार्टीले राष्ट्रहित तथा जनहितका लागि गरिरहेको र गर्नुपर्ने कार्यलाई रोक्ने र पार्टी जीवन तथा समग्र पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरू गरे/गराएको देखिएकाले त्यस्ता विभिन्न क्रियाकलापहरू के–कति कारणले निरन्तर गर्नु/गराउनुभएको हो?