पुरातात्विक सम्पदा पुनर्निर्माणको अवलोकनमा प्रधानमन्त्री
सरकार पनि भूकम्पबाट लागेको घाउमा मलम लगाउने प्रयासमा जुटिरहेको छ । पुरातात्विक महत्वका संरचना अहिले उठ्ने क्रममा छन् । यस्तैमध्येको एक संरचना काठमाडौंको त्रिपुरेश्वरमा रहेको ललितत्रिपुरासुन्दरी मन्दिर पनि हो ।
राजा रणबहादुर शाहकी पाँचौं श्रीमती ललितत्रिपुरासुन्दरीले उनको स्मृतिमा बनाएको मन्दिर भूकम्पले क्षतविक्षत बनाएको थियो ।
पुनर्निर्माणका क्रममा रहेको उक्त मौलिक र पुरातात्विक क्षेत्रको सम्पदा क्षेत्रमा शिल्पकारहरू काठमा विभिन्न आकृतिका बुट्टा कुँद्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पुगे ।
बिहान ११ः१० बजे मन्दिर प्रवेश गरेका उनले २५ मिनेट बिताएर त्यहाँको पुनर्निर्माणको अवस्थाबारे जानकारी लिए ।
उनलाई काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजु र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अवस्थाबारे जानकारी गराए ।
त्यहाँ कोही मजदूर आरा चलाउँदै थिए, कोही काठमा बुट्टा कुँद्दै थिए भने कोही भित्ता उठाउँदै थिए । अधिकांश क्षेत्रमा आधाआधी काम भइसकेको देखिन्थ्यो ।
पुनर्निर्माणले गति लिएकामा प्रधानमन्त्री ओलीको मुहारमा चमक देखिन्थ्यो । कलाकार तथा मजदूरको कामका गतिविधिबारे चाखपूर्वक अवलोकन गरेका प्रधानमन्त्री ओलीलाई आज नौमती र धिमेबाजा बजाएर स्वागत गरिएको थियो । आजै प्रधानमन्त्री ओलीले काठमाडौंको भूगोलपार्क र वसन्तपुर क्षेत्रको पुनर्निर्माणको अवस्थाबारेमा समेत स्थलगत निरीक्षण गरेका थिए ।
त्यहाँको पुनर्निर्माण परियोजना निर्देशक लोचन रिजालले भने, “प्रधानमन्त्रीले आज अवस्थाबारे निरीक्षण गर्नुभयो, उहाँ अर्काे पटक आउँदा यो पूरा गर्ने हाम्रो प्रतिबद्धता छ ।”
पुरातात्विक सम्पदालाई विश्वविद्यालयमार्फत अनुसन्धान र प्रयोगमा ल्याई शिक्षा दिने उद्देश्यले काठमाडौं विश्वविद्यालयले पुनर्निर्माणको अगुवाइ गरिरहेको छ । “मुख्यतः कला संगीतको दिगो विकास गर्ने नै हो, परम्परागत सीप र ज्ञानलाई प्रयोगमा नल्याउने हो भने यसको महत्व हुँदैन, समुदायलाई क्याम्पसमा जोड्न मात्रै खोजेको हो”, रिजालले थपे ।
यहाँको क्षेत्र भूकम्प अगाडि दुरुपयोग भएको थियो । अहिले परम्परालाई नमासिने गरी सुन्दर उद्यानसहितको पुनर्निर्माणको काम जारी छ । अहिलेसम्म ३० प्रतिशत निर्माण भएको जनाइएको छ ।
पुनर्निर्माणमा बाजा बनाएर कमाएको रु १९ लाख तथा विश्वविद्यालयको रु दुई करोड छ भने थाई नागरिकबाट संकलन भएको रु १७ करोड नेपाल सरकारमार्फत आएको छ । “सरकारलाई ठूलो धन्यवाद किन दिनुपर्छ भने ज्ञान र यहाँको मूर्त संरचनालाई जोडेर नयाँ शिक्षा र सिकाइ दिन खोजिएको छ”, रिजालले भने ।
झण्डै १५ रोपनी जग्गामा फैलिएको यहाँ नौ रोपनी क्षेत्रमा शिवको मन्दिर छ । आकर्षक उद्यानसहितको पुनर्निर्माणको काम पाटन दरबार स्क्वायरको डिजाइन गर्ने कलाकार डा रोहित रञ्जितकारको डिजाइनमा काम भइरहेको छ ।
प्राधिकरणका अनुसार ७७३ सांस्कृतिक सम्पदामध्ये २२४ पुनर्निर्माणको क्रममा रहेका र २१२ पुरानै अवस्थामा फर्किसकेका छन् ।
–नारायण ढुंगाना