'सुटगढी'देखि 'सुटमान्डु'सम्म
गाउँमा लुगा सिउने गरेकै कारण हजुरबुवा र बुवाले अवहेलना खेप्नुपरेको देखे–भोगेका प्रकाश दर्जीले शहरमा भने त्यही पुर्ख्यौली पेशालाई व्यवसायमा परिणत मात्रै गरेका छैनन्, त्यसलाई ‘ब्रान्ड’ बनाएर प्रतिष्ठा पनि कमाएका छन्।
स्कूल जाँदा प्रकाश दर्जीसँग राम्रो लुगा थिएन। बाल्यकालमा पनि राम्रो लुगाएको याद छैन उनलाई। अझ उनका हजुरबुवा तथा बुवा भने अरूका लागि नयाँ लुगा तयार पारिरहेका हुन्थे।
बुवा–बाजेले सिलाइ पेशा गर्दाको पीडा देखे-भोगेका प्रकाश सोच्थे, ‘म त यो काम कहिल्यै गर्दिनँ।’ त्यही पीडाबोधले उनलाई पुर्ख्यौली पेशालाई फरक तरिकाले अघि बढाउन प्रेरित गर्यो। सुदूरपश्चिमको बझाङबाट महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं पुग्दा उनले सिलाइको कामलाई नै 'ब्रान्ड' बनाएका छन्। धनगढीमा यसलाई उनले ‘सुटगढी’ नाम दिएका छन् भने काठमाडौंमा ‘सुटमान्डु’ बनाएका छन्।
उनी डेढ दशकमै कैयौंलाई रोजगारी दिने व्यवसायी त बनेका छन् नै, आफू पनि लाखौं आम्दानी गरिरहेका छन्। यो कसरी सम्भव भयो? प्रकाशको छोटो उत्तर छ, “पुर्ख्यौली पेशालाई आधुनिकतासँगै जोडेर व्यावसायिक बनाएँ।”
बाली प्रथा छोडेर ज्याला
५२ वर्षीय प्रकाशको पुर्ख्यौली घर बझाङ हो। उनका हजुरबुवा र बुवा गाउँभरिका सिउँथे। त्यसको बदलामा अन्न बाली पाउँथे। उनी सम्झिन्छन्, “हजुरबुवाले बाली लिएर गाउँभरिको लुगा सिउनुहुन्थ्यो। जुन वेला बाली प्रथाको चलन थियो।”
त्यति बेला दुई दाजुभाइ छुट्टिंदा गाउँ नै भाग लाग्थ्यो। गाउँका कसको लुगा कुन कसले सिउने भन्ने तोकिने गरेको उनी बताउँछन्। त्यसबापत पाकेको वेला अन्न बाली पाउँथे।
त्यो कामले हजुरबुवा र बुवाले अवहेलना पनि खेप्नुपरेको उनले देखेका थिए, महसुस गरेका थिए। उनी भन्छन्, “म सानो हुँदा बुवाले सुनाउनुहुन्थ्यो, सिलाई पेशा भएकै कारण अछूत बनाइएका थियौं, धारामा पानी भर्न पाइँदैनथ्याे, छुन पाइँदैनथ्याे।” तर, उनीहरूले सिएका लुगा कपडा भने चल्थे।
त्यसले दैनिकी चलाउन मुश्किल भएपछि २०४२ सालमा प्रकाशका आमाबुवा बझाङको कँडेल गाउँ छोडेर तराईको कञ्चनपुर झरे। उनी पनि आमाबुवासँगै तराई पुगे। त्यहाँ पनि दैनिकी सहज बन्न सकेन। “हाम्रो १५ जनाको परिवार थियो, बुवाको कमाइले मुस्किलले पुग्थ्यो,” प्रकाश सम्झिन्छन्।
वृद्ध बुवालाई उनका जेठा दाइ हिम्मतले सघाउन थाले। केही वर्षपछि त परिवारको जिम्मेवारी टाउकोमा आयो। “मेसिन भाडामा लिनुभयो। एक दिनको २५ आना भाडा दिनुहुन्थ्यो,” उनी सुनाउँछन्, “कपडा पसलको अगाडि मेसिन राखेर काम गर्नुहुन्थ्यो। दिनमा तीन–चार रुपैयाँ कमाउनुहुन्थ्यो।”
द्वन्द्वले खोस्यो जागीर
संयुक्त परिवार, कपडा पसलअगाडि सिउने काम। यसले परिवारको आर्थिक अवस्था सुध्रिन सकेन। उसै पनि प्रकाशलाई पुर्ख्यौली पेशासँग वितृष्णा नै थियो। र, उनले २०४९ नेपाल प्रहरीमा भर्ना हुने विचार गरे। “तयारी गरेको थिएँ, त्यसैले प्रहरीमा निस्किहालें,” उनी भन्छन्।
उनका दाइ घनश्याम पनि जागीरे भए। दुई दाइभाइको जागीरले परिवारको अवस्थामा सुधार आयो। छोराछोरीलाई पढाउन, घर खर्च चलाउन सहज भएको उनी बताउँछन्।
उनी जागीरे भएको तीन वर्षपछि माओवादीले सशस्त्र द्वन्द्व थाल्यो। त्यसको असर सुरक्षाकर्मीका परिवारमा नपर्ने कुरै थिएन। केही वर्ष त उनले काम गरे, तर परिवारलाई समस्या हुन थालेपछि जागीर छोडे। “द्वन्द्वका कारण परिवारमा अप्ठ्यारो हुन थालेपछि प्रहरीको जागीर छोडें,” प्रकाश भन्छन्।
जब प्रकाश दर्जी सिलाइको काममा फर्के, उनले त्यसलाई व्यावसायिक बनाउने सोचाइ बनाए। महेन्द्रनगरको ‘मोडर्न पसल’लाई साँच्चिकै मोडर्न बनाए। नयाँ–नयाँ डिजाइनमा लुगा तयार गर्न थाले।
त्यसपछिका केही वर्ष अन्य ठाउँमा पनि काम गरे। संयुक्त राष्ट्रसंघमा पनि काम गरेको उनी बताउँछन्। तर, त्यो लामो समयको जागीर थिएन, तीन वर्षजति। “पुर्ख्यौली पेशालाई नै नयाँ ढंगले गरौं कि जस्तो लाग्यो,” उनी त्यो बेलाको मनोभाव सुनाउँछन्।
पुर्ख्यौली पेशालाई यसरी बनाए व्यावसायिक
प्रकाशका दाइ हिम्मतले कपडा पसलअगाडि मेसिन राखेर सिउने काम गरे पनि अर्का दाइ दीपकले भने सटरमा काम गर्न थालेका थिए। उनले २०५१ सालमा सडकबाट सटरमा सारेका थिए, पुर्ख्यौली पेशा। पसलको नाम दिएका थिए, ‘मोडर्न सिलाइ पसल’।
जब प्रकाश त्यही काममा फर्के, उनले त्यसलाई व्यावसायिक बनाउने सोचाइ बनाए। महेन्द्रनगरको ‘मोडर्न पसल’लाई साँच्चिकै मोडर्न बनाए। नयाँ–नयाँ डिजाइनमा लुगा तयार गर्न थाले। “महेन्द्रनगर भन्दा धनगढी अलि अगाडि छ, त्यसैले धनगढीमा शाखा खोल्यौं,” उनी भन्छन्।
२०६४ सालमा धनगढीको एलएन चोकमा पसल खोलेर ‘मोडर्न तयारी पोशाक’ नाम दिए। पसलबाट पोशाकमा सरेको उनको व्यवसाय तीन वर्षपछि धनगढीमै ‘मोडर्न महिला फेसनजोन’मा परिणत भयो। त्यसलाई पनि अझ फराकिलो नाम दिँदै २०७० सालमा ‘सुटगढी’ बनाए। धनगढीलाई जोडेर सुटगढी बनाएका उनी भन्छन्, “पुर्ख्यौली पेशालाई व्यावसायिक बनाउने त्यही टर्निङ प्वाइन्ट बन्यो।”
उनी पुर्ख्यौली पेशामा जस्तै लुगा सिउने मात्रै गर्दैनन्, नयाँ डिजाइन पनि तयार गर्छन्। जस्तो, सुदूरपश्चिम प्रदेश सभाका मर्यादापालकको ‘ड्रेसकोड’ उनले नै तयार गरेका हुन्। कैलाली उद्योग वाणिज्य संघको ‘ड्रेसकोड’ पनि उनैकाे डिजाइन हो।
धनगढीमा सफलता पाएपछि उनी काठमाडौंतिर लागे। र, २०७४ मा पुतलीसडकमा सुटमान्डु खोले। त्यसको दुई वर्षपछि महाराजगन्जमा सुटमान्डुको शाखा खोले। कोरोना भाइरसको महामारीसँगै पुतलीसडकमा बन्द गरे पनि महाराजगन्जमा भने राम्रोसँग चलिरहेको उनी बताउँछन्। उनले ४७ जनालाई रोजगारी पनि दिएका छन्।
उनी पुर्ख्यौली पेशामा जस्तै लुगा सिउने मात्रै गर्दैनन्, नयाँ डिजाइन पनि तयार गर्छन्। जस्तो, सुदूरपश्चिम प्रदेश सभाका मर्यादापालकको ‘ड्रेसकोड’ उनले नै तयार गरेका हुन्। कैलाली उद्योग वाणिज्य संघको ‘ड्रेसकोड’ पनि उनैकाे डिजाइन हो। “हरेक काममा समय अनुसार चल्न सक्नुपर्छ, म पनि समयसँग चल्ने कोशिश गरिरहेको छु,” उनी भन्छन्।
उस्तै काम भए पनि बझाङमा हजुरबुवा र बुवाले जस्तो पीडा सुटमान्डुमा उनले भोग्नुपरेको छैन। कामकै आधारमा अवहेलित हुनुपरेको छैन। त्यसैले पनि होला, उनलाई अहिले भने आफ्नो पेशाप्रति गर्व अनुभूति भइरहेको छ। “हिजोका दिनमा विभेद गर्थे, अहिले त्यस्तो छैन,” सुटमान्डुका सञ्चालक प्रकाश भन्छन्, “समय पनि बद्लियो, मान्छे पनि बद्लिए, काम गर्ने तौरतरिका पनि बद्लिएको छ। पुर्ख्याैली पेशालाई नै व्यवसायमा परिणत गरेर पहिचान बनाउनु पाएकोमा खुशी छु।”