वसन्तको स्वागतमा ढकमक्क चेरी (तस्वीरहरू)
चैतको शुरूआतसँगै काठमाडौंको भृकुटीमण्डपमा ढकमक्क फुलेका गुलाबी चेरीले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ।
आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा,
लाई कैल्यै पनि नसकिने प्रिती नौ लाख मेरा।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले 'वैशाख' कवितामा भने झैं फेरि चैत आएको छ, अर्थात् वसन्तको आगमन भएको छ। बोटबिरुवामा पालुवा पलाउन थालेको छ, फूल फुल्न थालेका छन्।ठ्याक्कै यस्तै वसन्तको बहार महसूस गर्न सकिन्छ, काठमाडौंको भृकुटीमण्डपमा। ढकमक्क फुलेको गुलाबी चेरीले भृकुटीमण्डपको वातावरण नै रंगीन बनाएको छ।
चेरी फुल्नु वसन्त आगमनको संकेत हो। जापानको राष्ट्रिय फूल भएकाले यसलाई जापानी चेरी पनि भन्ने गरिन्छ। भृकुटीमण्डपमा फुलेको भने गुलाबी चेरी हो।
त्यहाँ पुग्ने बटुवाहरू चेरीसँग रमाइरहेका देखिन्छन्। कोही फूलको दृश्यावलोकनमा मग्न हुन्छन् भने कोही फोटो र सेल्फीमा रमाइरहेका हुन्छन्।