गैरकानूनी रूपमा भारतमा बेचिँदै सौराहाका हात्ती (भिडिओसहित)
चितवनको सौराहामा व्यापारिक प्रयोजनका लागि पालिएका हात्तीलाई भारतमा बिक्री गर्न थालिएको छ।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस) ऐन, २०७३ तथा नियमावली २०७६ विपरीत सौराहाका हात्तीलाई नेपालबाट भारततर्फ लैजान शुरू गरिएको हो। साइटिस ऐन अनुसार संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्तीलाई दर्ताबिना व्यापारिक उद्देश्यले पालेर राख्न पाइँदैन। त्यसमाथि अन्तर्राष्ट्रिय रूपमा व्यापार गर्न त झन् पाइँदै पाइँदैन।
साइटिस ऐन अनुसार संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्तीलाई दर्ताबिना व्यापारिक उद्देश्यले पालेर राख्न पाइँदैन। त्यसमाथि अन्तर्राष्ट्रिय रूपमा व्यापार गर्न त झन् पाइँदै पाइँदैन।
नाम उल्लेख गर्न नचाहने चितवनका एक संरक्षणकर्मीले कोभिड–१९ महामारीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन घटेसँगै हात्ती मालिकहरूलाई पालनपोषणको खर्च जुटाउन गाह्रो भएकाले भारतमा बेचिरहेको बताए। “लकडाउन यता मात्रै कम्तीमा पनि ५ वटा हात्ती भारत पुर्याइएका छन्,” उनले भने।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यले आफूहरूले पनि सौराहाका हात्ती बेचेर भारत पुर्याउने काम भइरहेको सूचना पाएको हिमालखबरसँग पुष्टि गरे। “सौराहाका हात्तीलाई धमाधम बिक्री गरी भारततर्फ पठाइएको भन्दै त्यसलाई रोक्न माग गरी विभागमा निवेदन समेत परेको छ,” उनले भने, “हामीले त्यसै अनुसार सीमाका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूलाई पत्राचार गरेका छौं। टेलिफोन मार्फत पनि तुरुन्तै रोक्नू भन्ने निर्देशन दिएका छौं।”
“हिजो निकुञ्जका वार्डेनले हात्ती किन पठाएको भनेर सोध्नुभएको थियो, मैले ‘भाडा तिर्न सकिएन, निकुञ्जले तिरिदिने भए राखौंला’ भनेँ। घाटा भए पनि हात्ती भारत पठाउन पाउँदैनौ भन्न कोही आयो भने यहाँ आन्दोलन हुन्छ।” - तोकराज खतिवडा, प्रबन्ध निर्देशक, जंगल वर्ल्ड रिसोर्ट, सौराहा
साइटिस ऐन अनुसार, संरक्षित वन्यजन्तुको अन्तर्राष्ट्रिय ओसारपोसारका लागि दुवै देशका ‘साइटिस म्यानेजमेन्ट अथोरिटी’ को स्वीकृति आवश्यक पर्छ। संरक्षित वन्यजन्तुको ओसारपोसार गर्न चाहने व्यक्ति वा संस्थाले स्वीकृतिका लागि निवेदन दिएमा ‘अथोरिटी’ ले कानूनले तोकेका मापदण्ड पूरा भए स्वीकृति दिनसक्छ। तर, व्यापारिक प्रयोजनका लागि त्यसरी स्वीकृति दिनै मिल्दैन। नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘साइटिस म्यानेजमेन्ट अथोरिटी’ का रूपमा काम गर्छ। विभागका प्रवक्ता आचार्यका अनुसार, अहिलेसम्म सौराहाका हात्ती वा अन्य कुनै संरक्षित वन्यजन्तुलाई भारत वा तेस्रो देशमा पुर्याउन निवेदन परेको छैन।
अनुमति नलिई हात्तीहरूलाई सौराहाबाट भारत लैजाँदै गरेको जानकारी पाएपछि वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था ‘जनहित संरक्षण मञ्च’ र ‘डिफेन्डर अफ नेचर’ले ४ चैतमा नेपाल र भारतका सरकारी अधिकारीहरूलाई पत्र लेखेर ‘हात्तीको अन्तर्राष्ट्रिय ओसारपसार रोक्न’ माग गरेको छ। ती संस्थाले नेपाल र भारतका प्रधानमन्त्री, गृहमन्त्री, वन तथा वातावरणमन्त्री, बिहार र उत्तर प्रदेशका मुख्यमन्त्री, काठमाडौंस्थित भारतीय दूतावास, इन्टरपोल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत निकायको ध्यानाकर्षण गराएका छन्। त्यसैका आधारमा विभागले राष्ट्रिय निकुञ्जहरूलाई पत्र लेखेको हो।
मञ्चका एक कानून अधिकृतले पछिल्लो समय ५ चैत राति १० बजे सौराहाबाट ट्रकमा राखेर एक हात्तीलाई भारततर्फ लगिएको सूचना आफूहरूले पाएको बताए। उनले उपलब्ध गराएको भिडिओमा ना ४ ख २८२७ नम्बरको ट्रकमा राखेर हात्तीलाई लैजाँदै गरेको देख्न सकिन्छ।
करीब ५० वर्षकी आशाकली नामको उक्त हात्ती सौराहाको ‘जंगल वर्ल्ड रिसोर्ट’ को हो। उक्त रिसोर्टका प्रबन्ध निर्देशक तोकराज खतिवडाले आफूले उक्त हात्ती मासिक रू.८० हजारमा भाडामा ल्याएको र कोभिड–१९ महामारीले पर्यटक घटेसँगै घाटा भएकाले फर्काइदिएको बताए।
“अहिले हामीले हात्ती फर्काउन थालेपछि वन्यजन्तुको अधिकारको कुरा गर्नेहरू निस्किन थालेका छन्, तर लकडाउनको एक वर्षसम्म कसैले एक मुठी घाँस र एक माना चामल दिन आए? निकुञ्जले पनि दिएन,” खतिवडाले भने, “हिजो निकुञ्जका वार्डेनले हात्ती किन पठाएको भनेर सोध्नुभएको थियो, मैले ‘भाडा तिर्न सकिएन, निकुञ्जले तिरिदिने भए राखौंला’ भनेँ। घाटा भए पनि हात्ती भारत पठाउन पाउँदैनौ भन्न कोही आयो भने यहाँ आन्दोलन हुन्छ।”
“हात्तीलाई अन्तर्राष्ट्रिय व्यापार गर्ने मात्र होइन, घरपालुवा बनाएर राख्ने काम पनि गैरकानूनी हो। होटल मालिक र सञ्चालकहरूले वन्यजन्तुको हितका लागि बनेका कानून मान्दैनौं भन्न पाउँदैनन्।” - संजीवनी योञ्जन, निर्देशक, वन्यजन्तु संरक्षण संघ नेपाल
साइटिस ऐन अनुसार हात्तीलाई घरमा पालेर राख्न अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। साइटिस नियमावली, २०७६ को दफा १२ मा नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र दर्ता गर्नुपर्ने व्यवस्था छ। ९ मंसीर २०७६ देखि लागू भएको उक्त नियमावली अनुसार ढिलोमा पनि ८ मंसीर २०७७ सम्ममा दर्ता भइसक्नुपर्ने हो। तर, अहिलेसम्म हात्ती लगायतका कुनै पनि वन्यजन्तु कसैले पनि दर्ता नगरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
वन तथा वातावरण मन्त्रालयका अनुसार, नेपालमा १२८ वटा निजी हात्ती छन्। नेपालमा जंगली हात्तीको गणना नभए पनि हात्ती सम्बन्धी अनुसन्धानकर्ता अशोक राम र विभागका प्रवक्ता (इकोलोजिष्ट) आचार्य २०० देखि २२७ वटासम्म रहेको अनुमान गर्छन्। साइटिसको एक प्रतिवेदनमा १३५ देखि २५० वटा जंगली हात्ती रहेको र २१६ वटा घरपालुवा हात्ती रहेको उल्लेख छ। घरपालुवा हात्तीबारे वन तथा वातावरण मन्त्रालय र साइटिसको यो प्रतिवेदनको तथ्यांक फरक पर्नुको कारण मन्त्रालयको विवरणमा निजी हात्तीको मात्र संख्या राखिएको र साइटिसले सबै घरपालुवा हात्ती (सरकारी समेत) को विवरण राखेकाले हुनसक्छ।
वन्यजन्तु संरक्षण अभियन्ता सृष्टिसिंह श्रेष्ठले सौराहाका होटलहरूले हात्तीलाई नाफा कमाउने वस्तुका रूपमा मात्र व्यवहार गरेको बताइन्। उनले अन्य अभियानकर्मीहरूसँग मिलेर हात्तीलाई प्राकृतिक बासस्थानमा फर्काउन पहल गर्दै आएकी छन्।
त्यस्तै, वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक संजीवनी योञ्जन भन्छिन्, “हात्तीलाई अन्तर्राष्ट्रिय व्यापार गर्ने मात्र होइन, घरपालुवा बनाएर राख्ने काम पनि गैरकानूनी हो। होटल मालिक र सञ्चालकहरूले वन्यजन्तुको हितका लागि बनेका कानून मान्दैनौं भन्न पाउँदैनन्।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धी पिल्लर ४ का प्रमुख रहिसकेका प्रवीण पोखरेल अहिले रूपन्देहीका प्रहरी प्रमुख छन्। उनले सौराहाका हात्तीहरूलाई भारत पुर्याउन थालिएको भन्ने जानकारी आफूले पनि पाएको र त्यसै अनुसार निगरानी बढाएको बताए।
चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा व्यापारीले हात्तीलाई घरपालुवा जनावरको रूपमा पाल्दै र त्यसको व्यापारिक प्रयोग गर्दै आएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत शिव गैरे ५ चैतमा हात्ती भारत लगिएकोबारे जानकारी नभएको बताउँछन्। “हिजोको घटनाबारे त हामीले जानकारी पाएनौं, तर यसअघि सौराहाका घरपालुवा हात्तीलाई बिक्री गरी भारत पठाउन थालेको सूचना पाएका थियौं,” उनले भने, “त्यसपछि हामीले होटल सञ्चालकहरूलाई जंगली जनावरको किनबेच गर्नु गैरकानूनी हुन्छ। बेचबिखन गर्नुभयो भने त्यसको कारबाही भोग्नुपर्ला भनेर सचेत भने गराएका छौं।”
चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा व्यापारीले हात्तीलाई घरपालुवा जनावरको रूपमा पाल्दै र त्यसको व्यापारिक प्रयोग गर्दै आएका छन्। संकटापन्न वन्यजन्तुको सूचीमा रहेका हात्तीलाई घरपालुवा जनावरका रूपमा प्रयोग गर्ने काम गैरकानूनी हुँदाहुँदै पनि त्यसलाई रोक्न सरकारी निकायले कुनै भूमिका नखेलेकोमा वन्यजन्तु अपराध सम्बन्धी अनुसन्धानकर्ता कुमार पौडेल आश्चर्य व्यक्त गर्छन्।
“साइटिसको अनुसूचीमा रहेको हात्तीलाई घरपालुवा रूपमा राख्नै नदिने गरी पहिल्यै नियन्त्रण गर्नुपर्थ्यो,” उनले भने, “परम्परागत रूपमा हात्ती पाल्दै आएका व्यक्तिहरूलाई साइटिस नियमावलीले दर्ताका लागि एक वर्षको समय दिएको थियो। उक्त अवधिमा पनि दर्ता नगर्ने र अहिले त झन् अन्तर्राष्ट्रिय बजारमा व्यापार नै गर्ने काम खुल्लमखुला भइरहेको छ। यसलाई तत्कालै नियन्त्रण गर्नुपर्छ।”