किन हराउँदै छन् भँगेरा?
विगतमा सहजै र प्रशस्तै पाइने हामी मानवको सहजीवी भँगेरा पछिल्लो समय हराउँदै जाँदा यसको संरक्षणका लागि आफ्नो तर्फबाट गरिने ससाना प्रयास उपयोगी हुन सक्छ।
करीब एक/डेढ दशक अघिसम्म हाम्रो घर, आँगन, चौतारीमा जताततै फुर्फुर नाच्दै गरेको देखिने भँगेरा पछिल्ला दशकमा हराउँदै गएको छ। बेलायतमा सन् १९७७ देखि २०१६ सम्म गरिएको घर भँगेराको सर्वेक्षणमा यिनको संख्या ७० प्रतिशतले घटेको पाइएको छ। उक्त ३९ वर्षमा घर भँगेरा त्यहाँका शहर र शहर उन्मुख क्षेत्रहरूमा तीव्र दरमा घटेको पाइए पनि ग्रामीण क्षेत्रहरूमा भने संख्या स्थिर र कतिपय वर्षहरूमा कम दरमा बढेको पनि देखियो।
गत वर्ष प्रकाशित भारतका चराहरूको अवस्था सम्बन्धी प्रतिवेदनमा पनि विगत २५ वर्षमा भारतका ठूला शहरहरू दिल्ली, मुम्बई, ब्याङ्लुरु, चेन्नई, हैदराबाद र कोलकातामा घर भँगेराको तीव्र दरमा ह्रास आएको उल्लेख छ। नेपालमा त्यस प्रकारले घर भँगेराको अवस्थाबारे लामो समयसम्म अध्ययन गरिएको पाइँदैन। यद्यपि आम मानिसको अनुभव र बुझाइमा भँगेराको संख्या दिनानुदिन घटिरहेको छ।
नेपाल पन्छी संरक्षण संघले सन् २०१६ देखि काठमाडौं उपत्यकामा शहरी क्षेत्रमा पाइने चराहरूको अध्ययन गर्दा उपत्यकाका २४ स्थानमा घर भँगेरा १ हजार देखि १५ सय र रूख भँगेरा ३०० देखि ५०० भेटिएका छन्।
नेपाल पन्छी संरक्षण संघले सन् २०१६ बाट वर्षको दुई पटक, गर्मीयाम र जाडोयाममा गरी काठमाडौं उपत्यकामा शहरी क्षेत्रमा पाइने चराहरूको अध्ययन गर्न थालेको छ। काठमाडौं उपत्यकालाई तीन भाग– शहर, शहरउन्मुख र ग्रामीण क्षेत्रमा विभाजन गरी २४ स्थानमा गरिएको अध्ययनमा सबैभन्दा धेरै संख्यामा पाइने चराको प्रजातिमा घर भँगेरा तेस्रो स्थान र रूख भँगेरा छैटौंमा पर्छन्।
पाँच वर्षको उक्त अध्ययनमा उपत्यकाका ती २४ स्थानमा घर भँगेरा १ हजारदेखि १५ सय र रूख भँगेरा ३०० देखि ५०० को संख्यामा भेटिएका उल्लेख छ। निरन्तर जारी राखिएको यस अध्ययनले भविष्यमा भँगेराहरूको घट्दो वा बढ्दो अवस्था देखाउला नै, तर यसको प्रारम्भिक अध्ययनमा विगत पाँच वर्षमा संख्या स्थिर देखाएको छ। अचम्म त के भने, ग्रामीण र शहरउन्मुख क्षेत्रमा भन्दा शहरी क्षेत्रमा घर भँगेराको संख्या बढी देखिएको छ। यसको कारण शहरमा भँगेराको बसाइको लागि अनुकूलित मठमन्दिर र आहारको उपलब्धता हुनसक्छ।
विनाशका कारण
मानिसको नजिकमा बस्न रुचाउने भँगेरा दिनप्रतिदिन हाम्रो घर, आँगन र बस्तीबाटै हराएर जान लाग्दा पनि हामीले यसका कारण र संरक्षणका उपायबारे सोच्न भ्याएका छैनौं। भँगेराहरू मूलतः बासस्थान विनाश र आहाराको अभावले हराउँदै गएका छन्। ग्रामीण क्षेत्रका पुराना र परम्परागत खरको छानो हुने घर–गोठहरूमा भँगेराका लागि बस्न र लुक्न उपयुक्त प्वालहरू हुन्थे। तर, अहिले बन्ने प्रायः टिनले छाएका घरहरू भँगेराको लागि अनुकूलित छैनन्। शहरका पनि पुराना घरहरूमा भँगेराकै लागि प्वालहरू बनाइएका हुन्थे, र चारो खुवाउने चलन पनि थियो। तर, अहिलेका आधुनिक घर, महलहरूमा त्यस्तो संरचना हुँदैन। अझ सिसाका ठूलाठूला घरहरूमा त भँगेरा र अन्य चराहरू ठोक्किएर मर्ने गर्छन्।
यति मात्र होइन, प्रदूषण, कृषिमा अत्यधिक कीटनाशक विषादीको प्रयोगका कारण अन्न र त्यहाँका कीराफट्यांग्रा खाने भँगेरा पनि प्रभावित भइरहेका छन्। धान, कोदो जस्ता अन्नको उत्पादनमा नियन्त्रण र भण्डारण तथा खपतमा आएको परिवर्तन जस्ता कारणहरूले यस प्रकारका काँचो अन्नमा भँगेराको पहुँच पुगिरहेको छैन। यस्तै, विकसित प्रविधिको मारमा भँगेरा लगायतका पक्षी पर्ने गरेका छन्। बेल्जियमको ‘रिसर्च इन्स्टिच्युट फर नेचर एन्ड फरेस्ट’ र बेलायतको ब्रिस्टल विश्वविद्यालयका अनुसन्धान प्रतिवेदनहरूले मोबाइल फोनको विकिरण ‘इलेक्ट्रोम्यागनेटिक रेडिएसन’ बाट पनि भँगेराहरूको जीवन र प्रजननमा असर गरिरहेको उल्लेख गरेका छन्।
विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर भँगेरा, रूख भँगेरा, कैलो भँगेरा, पीतकण्ठे भँगेरा र चित्रपृष्ठ भँगेरा गरी पाँच प्रकारका मात्र पाइन्छन्। यीमध्ये घर र रूख भँगेरा तपाईं हाम्रो घर, बस्ती र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन्।
विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर भँगेरा, रूख भँगेरा, कैलो भँगेरा, पीतकण्ठे भँगेरा र चित्रपृष्ठ भँगेरा गरी पाँच प्रकारका मात्र पाइन्छन्। यीमध्ये घर र रूख भँगेरा तपाईं हाम्रो घर, बस्ती र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन्। घर भँगेराले मूलतः मानवनिर्मित घर, भवन र मठमन्दिरमा गुँड बनाएर बच्चा कोरल्छ भने बाँकी तीन प्रजातिले प्रायः रूखमा गुँड बनाउँछन्। चित्रपृष्ठ भँगेरा भने नेपालका लागि फिरन्ते प्रजाति हो।
पोखिएका वा छरिएका अन्न खाने, अन्नबालीमा लाग्ने कतिपय हानिकारक कीराफट्यांग्रा र लार्भालाई खाइदिने र घर वरपरको पर्यावरणीय स्वस्थता र सन्तुलनको सारथि भँगेरा गाउँ–शहर सबैतिर हराउँदै जानु प्रकृति संरक्षणको क्षेत्रमा चिन्ता र खोजको विषय हो।
घट्दै गएका भँगेराको संरक्षणका लागि चेतना प्रवाह गरी आम सरोकारको विषय बनाउने उद्देश्यले सन् २०१० बाट हरेक वर्ष २० मार्चका दिन विश्व भँगेरा दिवस मनाइन्छ। नेपालमा सन् २०१२ देखि मात्र मनाउन थालिएको यस दिवसको मुख्य उद्देश्य भँगेराको महत्त्व, अवस्था, घट्नुको कारण र बासस्थान तथा सुरक्षित आहारको सुनिश्चितताका लागि संरक्षणमा आम सहभागिताबारे जनचेतना जगाउनु हो।
विगतमा सहजै र प्रशस्तै भेटिने भँगेरा अहिले छिटफुट मात्र देखिँदै जाँदा भविष्यमा लोप हुने अवस्थामा नपुग्लान् भन्न सकिँदैन। यसको संरक्षणका लागि हामीले नवनिर्मित घर तथा भवनहरू भँगेरा जस्ता चरामैत्री बनाउन र घरका कौशी तथा बरन्डामा यिनका लागि आहारा र पानीको व्यवस्था गर्न सक्छौं। बगैंचा र करेसाबारीमा भएका ससाना रूखहरू पनि जोगाऔं, जहाँ भँगेरा जस्ता चरा लुक्न र बस्न सक्छन्। कविवर माधवप्रसाद घिमिरेको ‘भँगेरा र भँगेरी कुरा गर्छन् कसरी’ कविता वाचन गर्दै हुर्किएको हाम्रो पुस्ताले यो कवितासँगै भँगेराहरू पनि भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।
(भुसाल पन्छीविज्ञ हुन्।)