इँटाभट्टामा यौन शोषण, गर्भवती र सुत्केरीलाई ज्यानकै जोखिम
इँटाभट्टामा महिला कामदार बस्न बनाइएका झुप्रामा ढोका होइन, पर्दा राखिएका छन्। रक्सी पिएर आउने पुरुष मजदूरले गर्ने यौन दुर्व्यवहार नियमित जस्तै छ। त्यति मात्र नभई गर्भवती र सुत्केरीले लगातार गह्रुंगो भारी बोक्दा ज्यान नै जोखिममा परिरहेको छ।
ललितपुर टीकाभैरव बस्ने रूपा खत्री (नाम परिवर्तन) चार वर्षअघिसम्म मार्बल उद्योगमा काम गर्थिन्। त्यहाँका पुरुष मजदूरले उनीमाथि यौन शोषण गर्थे। तर, उनलाई प्रतिवाद गर्नुपर्ने ज्ञानसमेत थिएन। निरक्षर थिइन्।
खत्री भन्छिन्, “कहिले रक्सी खाएर साथी भन्दै आउँथ्यो, कहिले तँ मेरी बूढी होस् भन्दै जबरजस्ती गथ्र्यो।” त्यही वेला खत्रीको गर्भ बस्यो। गर्भ बसेको थाहा पाएपछि ती व्यक्ति फरार भए। तर, मजदूर युनियनले प्रहरीमा जाहेरी दियो। त्यसपछि पक्राउ परेको उसले बच्चा स्वीकार गर्यो।
तर, ऊ विवाहित रहेछ। घरमा छोराछोरी पनि रहेछन्। प्रहरीमा भनेजस्तो खत्रीलाई श्रीमती स्वीकार गर्न अहिले उनले कानूनी अत्तो थापिरहेका छन्। खत्री उल्टै प्रश्न गर्छिन्, “मेडम, त्यसले छोरी खोसेर लग्छु भन्दै छ। त्यस्तो पाउँछ त?”
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (कावन)ले ललितपुरको एक इँटा उद्योगबाट गर्भवती निरा गिरी (नाम परिवर्तन)लाई बन्दाबन्दीकै वेला उद्धार गर्यो। कावनकी केन्द्रीय सदस्य दुर्गा भण्डारीका अनुसार उनको गर्भको बच्चा कसको भन्ने नै थाहा छैन। उनी अविवाहित हुन् र अहिले आफ्नै घरमा छिन्।
रोल्पाकी रमिला मगर (नाम परिवर्तन) १६ वर्षकी भइन्। उनी पैसा कमाउन घरबाट भागेर ललितपुर आइन्। अहिले हरिसिद्धिको तारा इँटा उद्योगमा काम गर्छिन्। तर, अचेल उनलाई कति वेला घर पुगूँ भएको छ।
रोल्पाकी रमिला मगर (नाम परिवर्तन) १६ वर्षकी भइन्। उनी पैसा कमाउन घरबाट भागेर ललितपुर आइन्। अहिले हरिसिद्धिको तारा इँटा उद्योगमा काम गर्छिन्। तर, अचेल उनलाई कति वेला घर पुगूँ भएको छ।
केही दिनअघि रक्सी खाएर आएका पुरुष मजदूर महिला मजदूर सुतेको झ्याउली (कामदार बस्न बनाइएका झुप्रा) मा पसे। तिनले जबरजस्ती गरे। टँसाएर बनाइएका झुप्रामा ढोका भनेकै पर्दा हुन्। अचेल उनलाई एक्लै सुत्न डर लाग्छ। “हामीलाई काम गर्दा ठेल्ने र तान्ने त कति गर्छन् गर्छन्। फटाहा कुराले बोलाउँछन्,” उनी भन्छिन्, “सास रोकिने गरी भारी बोक्छु, त्यसमाथि पनि डर छ। घर जान पाएँ भने अब म यहाँ कहिल्यै आउँदिनँ।”
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तथ्यांक अनुसार देशभर अहिले १७ लाख २१ हजार मजदूर छन्। आधा संख्या महिलाको भएको यूनियनको अनुमान छ। देशभरका करीब १२ सय इँटा उद्योगमा झन्डै एक लाख ८० हजार मजदूर छन्। ललितपुर क्षेत्रका सात वटा इँटा उद्योगमा १० हजार जनाले काम गर्छन्। तीमध्ये पाँच हजार महिला कामदार रहेको कावनको तथ्यांक छ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदूर यूनियन (क्यूपेक–नेपाल) की केन्द्रीय उपाध्यक्ष शान्ता बस्नेत भन्छिन्, “मजदूर संगठनमा आबद्ध नभएका महिला मजदुरहरू सबैभन्दा बढी हिंसामा परेका छन्। जसको पीडा कहिल्यै खुलेको छैन।” उनी आफैं पनि १० वर्षअघि हिंसामा परेकी थिइन्। साहूले नै हातपात गरेका थिए। उनले उजुरी दिएपछि कारबाही भएको थियो।
इँटा उद्योगमा सबैभन्दा बढी यौन दुर्व्यवहार हुने उनी बताउँछिन्। शरीरका विभिन्न अंगमा छुने, तान्ने, ठेल्ने, राति रक्सी खाएर पिट्ने, जबरजस्ती गर्ने घटना सामान्य जस्तै हुने उनी बताउँछिन्। अव्यवस्थित हुँदा शौचालयभित्रै पसेर पनि जबरजस्ती हुने गरेको उनको भनाइ छ।
ललितपुरको तारा इँटा उद्योग सञ्चालक प्रेम गोपाल भने महिला हिंसा, यौन दुर्व्यवहारको घटना आजसम्म जानकारीमा नआएको बताउँछन्। “त्यस्तो घटना भएमा प्रहरीलाई जानकारी गराउँछौं, तर यस्तो केही भएको छैन,” उनी भन्छन्।
ललितपुरको तारा इँटा उद्योग सञ्चालक प्रेम गोपाल भने महिला हिंसा, यौन दुर्व्यवहारको घटना आजसम्म जानकारीमा नआएको बताउँछन्। “त्यस्तो घटना भएमा प्रहरीलाई जानकारी गराउँछौं, तर यस्तो केही भएको छैन,” उनी भन्छन्।
मजदूरहरूले हिंसात्मक घटनाबारे प्रहरीमा उजुरी गर्ने आँट नै नगर्ने कावनकी ललितपुर जिल्ला संयोजक सपना तामाङ बताउँछिन्। इँटा उद्योगमा बालशिक्षा कार्यक्रम गर्दा अभिभावकसँग घुलमिल भएपछि मात्र महिलाहरूले यौन दुर्व्यवहारका घटना सुनाउने गरेको उनको अनुभव छ।
महानगरीय प्रहरी प्रभाग हरिसिद्धि ललितपुरकी प्रहरी नायब निरीक्षक वाल्मीकि ओली प्रहरीमा उजुरी नै नआउने बताउँछिन्। “बाहिरबाट यौन दुर्व्यवहारका घटना भएको सुनिन्छ। तर, उजुरी भने श्रीमान्ले रक्सी खाएर रातदिन पिटेकोबारे मात्र आउँछन्,” उनी भन्छिन्। मिलेमतोमै सहवास हुने र समस्या भएपछि झगडा हुँदा मात्र प्रहरीसम्म आइपुग्ने उनको भनाइ छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ भने संगठनमा आबद्ध मजदूरमाथि हिंसा नहुने बताउँछन्। संगठनमा आबद्ध भएपछि महिलाहरू शिक्षित भएर प्रतिकार गरेको घटना पनि भएको उनको भनाइ छ। “संगठनमा नभएका लागि पनि हिंसा हुँदा एकजुट भएर आवाज उठाउने गरेका छौं,” उनी भन्छन्, “यसबारे महिलालाई अभिमुखीकरण कार्यक्रम गरे पनि हिंसा लुकाउने धेरै छन्।”
इँटाभट्टामा गर्भवती र सुत्केरी मजदूर
ललितपुरको हरिसिद्धिस्थित न्यू भैरव इँटा उद्योगकी मजदूर विना शर्मा (नाम परिवर्तन) सात महीनाकी गर्भवती छिन्। तर, उनलाई आरामभन्दा कामको चटारो छ। सामान्य हिँडडुल गर्दा पनि उनका पाइलाभन्दा पेट अघि जान्छ। ढाड नसमाई हिँडन सक्दिनन्। तर, अझै दुई महीना काम गरेर केही आम्दानी गरेपछि मात्र सल्यानस्थित घर फर्कने उनी बताउँछिन्। “मलाई गाह्रो छैन। काम त गर्नैपर्छ। गाह्रो छ भन्दैमा तपाईंले सघाउने पनि हैन। आफ्ना दुःख आफैंसँग।”
राति २ बजे अलिसा विकका आँखा खुल्छन्। उनलाई बिहान घाम झुल्की नसक्दै इँट्टा बनाउने माटोे तयार गर्न हतार हुन्छ। काखमा सुताइरहेको नौ महीनाको छोरालाई ओछ्यानमै छाडेर निस्कन्छिन्। तर, उनका आँखा वेलावेलामा झ्याउली मा पुगेका हुन्छन्।
आफूले इँटा बोक्ने काम मात्र जानेको उनी बताउँछिन्। तर, गर्भवती भएको वेला यस्तो काम गर्नु हुन्न भनिदिने कोही छैन। उनका श्रीमान् पनि त्यही इँटाभट्टामा काम गर्छन्।
राति २ बजे अलिसा विकका आँखा खुल्छन्। उनलाई बिहान घाम झुल्की नसक्दै इँट्टा बनाउने माटोे तयार गर्न हतार हुन्छ। काखमा सुताइरहेको नौ महीनाको छोरालाई ओछ्यानमै छाडेर निस्कन्छिन्। तर, उनका आँखा वेलावेलामा झ्याउली मा पुगेका हुन्छन्।
उनले १५ वर्षको कलिलो उमेरमै विवाह गरिन्। १६ वर्षको हुँदा अप्रेसनमार्फत बच्चा जन्माइन्। “गह्रुंगो भारी बोक्दा र माटो मुछ्दा पेटमा सुईले जस्तै घोच्छ। मूच्र्छा पर्छु जस्तै हुन्छ,” उनी भन्छिन्। सुत्केरी भएको दुई महीनामै उनले काम थालेकी थिइन्। “खान लाउन नपुगेको वेला मेरो घाउ दुखेको सुनाए पनि उपचार हुने हैन। त्यसैले कसैलाई सुनाएकी छैन,” उनी भन्छिन्।
निता परियार (नाम परिवर्तन) लाई पनि उस्तै सकस छ। पेटमा पाँच महीनाको गर्भ छ। टाउकोमा १२÷१३ वटा इँटाको भारी हुन्छ। बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक हजार देखि १५ सयसम्म इँटा बोक्छिन्। उनका श्रीमान पनि यहीँ काम गर्छन्। “गर्भमा बच्चा भए पनि दिनभरि काम गर्नुपर्छ। कहिलेकाहीँ रक्सी खाएर श्रीमान्ले पिट्छन्। अस्ति आँखा रातो हुने गरी कुटेको थियो,” उनी भन्छिन्।
स्वास्थ्यमा कति हानिकारक?
शल्यक्रियाबाट बच्चा जन्माएका महिलाले उचित आराम नपाउँदा चिरिएको घाउ दुख्ने, पोल्ने हुन्छ। कहिलेकाहीँ दुख्नु सामान्य हो। तर, रातदिन दुख्छ। “वास्तवमा महिलाहरूलाई कलिलो उमेरमै आङ खस्ने समस्या हुने रहस्य यही हो। तर, यसतर्फ चासो कसको छ र?” स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्।
केही वर्षअघि मार्बल र टायल क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य समस्या अध्ययन गर्दा यही समस्या देखिएको डा. रिजाल बताउँछन्। “यस्ता अध्ययन अनुसन्धान हरेक निर्माण क्षेत्रमा हुन आवश्यक छ। महिलाहरूको स्वास्थ्यमा खेलबाड भएको छ। अध्ययनका लागि खोइ कसको चासो?” उनी भन्छन्।
सुत्केरी अवस्थामा हरेक महिलाको पाठेघर फुलेको हुन्छ। ठीक ठाउँमा आउन समय लाग्छ। अझ शल्यक्रियाबाट बच्चा जन्माएका महिलाले कम्तीमा ६ महीना आराम गर्नैपर्ने हेल्पिङ हेन्ड अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शीला बर्मा बताउँछिन्। उनी भन्छिन्, “ठीक ठाउँमा नआई भारी काम गर्दा पाठेघर खसेका धेरै बिरामीको म आफैंले उपचार गरेकी छु।”
नेपालको कानूनले गर्भवती श्रमिक महिलालाई प्रसूतिअघि वा पछि १४ हप्ता बिदा दिएको छ। “तर यसरी बिदा बस्दा मजदूरले तलब सुविधा पाएका छैनन्,” क्युपेक नेपालकी केन्द्रीय उपाध्यक्ष शान्ता बस्नेत भन्छिन्। तारा इँटा उद्योगका सञ्चालक प्रेम गोपाल भने गर्भवतीले आफ्नो भट्टामा कहिल्यै काम नगरेको दाबी गर्छन्।
इँटा उद्योग संघ नेपालका महासचिव कृष्णप्रसाद अवाले भन्छन्, “मजदूरले आफ्ना समस्या खुलेर सुनाउँदैनन्, बढी आम्दानी गर्ने चाहनाले आफैंले नीति नियम तोडेर काम गर्छन्।”
अपाङ्गता भएको बच्चा जन्मन सक्छ !
स्त्रीरोग विशेषज्ञ डा. बर्माका अनुसार भट्टामा काम गर्दा इँटाको धुलोधुवाँयुक्त रसायन गर्भवतीको पेटभित्रको बच्चासम्म पुग्छ। त्यहीकारण बच्चा जन्मँदै मानसिक रोगी हुन सक्ने उनको भनाइ छ। धुलोधुवाँको रसायन आमाको श्वास नलीबाट रगतमा मिसिने र पेटभित्रको बच्चा पूर्ण विकास नुहने उनी बताउँछिन्। “महिनौंसम्म भारी बोक्दा बच्चा कुनै पनि वेला खेर जाने सम्भावना पनि हुन्छ,” डा. बर्मा भन्छिन्।
न्यू भैरव इँटा उद्योगकी मजदूर बिना शर्मा (नाम परिवर्तन)लाई डाक्टरले आगामी २७ वैशाख बच्चा जन्मने दिन बताएका छन्। तर, दुई महिनाअघि पनि उनी दैनिक १० घण्टा इँटा बोक्छिन्। डा. बर्मा भन्छिन्, “यो अवस्थामा बच्चा कुनै पनि वेला झर्न सक्छ। सात महीनामा त बच्चा जन्मन्छ नै, आमाको ज्यानलाई पनि उत्तिकै जोखिम छ।”
डा. बर्माका अनुसार महिलाहरूलाई बच्चा जन्माउने समयमा ढाडमा ‘स्पाइनल एनेस्थेसिया’ दिइएको हुन्छ। त्यसकारण गर्भवती मात्र नभएर सुत्केरी र एक पटक आमा भएकाले पनि गह्रुंगो काम गर्दा ढाडको समस्या हुन्छ। त्यसबाहेक युवा अवस्थामै श्वासप्रश्वास र रक्तसञ्चारको समस्या पनि ल्याउन सक्छ।
इँटा उद्योगमा पुरुषभन्दा महिला कामदार धेरै हुन थालेको कावनकी ललितपुर जिल्ला संयोजक सपना तामाङ बताउँछिन्। “भट्टाको काम ६ महीना मात्र हुने हुँदा सबै मजदूरले रातदिन नभनी काम गर्छन्,” उनी भन्छिन्, “त्यसैले यहाँ गर्भवती र सुत्केरी अवस्थामा पनि खटेर काम गर्छन्।”
श्रम ऐनले मजदूरका अधिकार सुनिश्चित गरे पनि पालना भने नभएको जिफन्ट अध्यक्ष श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “मजदूरलाई सुरक्षा दिन पहिला संगठित हुनुपर्छ। हामी पहिला उनीहरूलाई संगठनमा ल्याउन प्रयासरत छौँ।” उनले भने जस्तो संगठनको सदस्य बन्नेबित्तिकै महिलाका समस्या समाधान भइहाल्ने अवस्था छैन। राज्यले नै कानूनको पालना गराउने र गर्भवती तथा सुत्केरीका लागि विशेष व्यवस्था गर्नुपर्ने हुन्छ।